PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कश्ती कश्तीमा कथा : कहीँ प्रेमको संघर्ष त कहीँ जीवनकै जोहो

कश्ती कश्तीमा कथा : कहीँ प्रेमको संघर्ष त कहीँ जीवनकै जोहो

स्वेच्छा राउत/पहिलोपोस्ट


गाढा नीलो सर्ट, सेतो जिन्सको बेली पाइन्ट। सर्टको कलरबाट देखिने गर्दनको ट्याटु। जेल हालेर माथितिर फर्काइएको कपाल। फेसनका सौखिन देखिने यी युवा हुन् बनारसका दीपक सहानी। उमेर २६ वर्ष। डुंगा व्यवस्थापन यिनको पेशा। बेला मौकामा यहाँ आएका पर्यटकका गाइड बन्न पनि भ्याइहाल्छन् यिनी। अनि बनारस शहर घुम्न आएकाहरुलाई त्यहाँका मन्दिर, घाट, गल्ली घुमाउँछन्। यसरी काम गर्न थालेको केही महिनामात्र भयो। काम गर्नुको पछाडि जोडिएको छ उनको प्रेमकथा। हामीसँग गफिँदै गर्दा भन्छन्, 'विवाहको चक्करले डुंगाको म्यानेजर बनाइ दियो।' 

दीपकको लक्ष्मी साहसँग प्रेम भयो। सामाजिक मान्यताले दीपकलाई माथिल्लो जातका। लक्ष्मीलाई कथित तल्लो। उनको गाउँमा यी दुईबीचको विवाहवारी मान्य भएन। तर, दीपकका बुवा जातको हकमा उदार निस्किए। 

'पापाले प्यार जोसँग हुन्छ उसैसँग जीवन बिताउनु पर्छ भन्नु भयो,' दीपक केही धकाउँदै सुनाए, 'मेरो परिवारले मानेपछि उसको घरमा पनि हाम्रो सम्बन्ध स्वीकार्नु हुन्छ भन्नेमा ढुक्क थिएँ।' 

तर, भइदियो उल्टो। 

लक्ष्मीको बुवाले बेरोजगार केटालाई छोरी न दिने बताए। 

'तत्काल अरु काम पाउन सम्भव थिएन। त्यनसैले डुंगा चलाउन सिक्ने सोचेँ। काम सिक्दै गर्दा धेरै डुंगाका मालिकले म्यानेजर बन्न भने। त्यसै गरेँ,' जीवनमा आएको टर्निङ पानीको बहाव झै सुनाए। 

अहिले उनी साहुका डुंगाहरुलाई पालै पालो सवारीका लागि पठाउँछन्। दैनिक काम गरे बापत् उनले मासिक पाँच हजार रुपैयाँ पाउँछन्। त्य सबाहेक गाइड गरेको पैसा र पर्यटकले दिएको टिप्स बेग्लै। 

'केही समयपछि तलब बढ्छ। जनवरीमा विवाह हो, त्यसको लागि पनि खर्च जुटाउँदैछु।' 

*** 

बनारसकै राज सहानी नर्स थिए। डाक्टर पुरुषोत्तम जोशीको स्थानीय मेडिकलमा उनी डाक्टरको सहयोगी बनेर काम गरे। प्रमाणपत्र तहमा पुग्दो ग्रेड ल्याउन नसकेपछि उनको वकिल बन्ने सपना पूरा भएन। र, १८ महिने तालिम लिएर नर्स बने। 

त्यहाँ उनले मासिक तीन हजार तलब पाउँथे। बुवा आमा, बहिनी भाइ र राज- परिवार चलाउन उनको कमाइ पर्याप्त थिएन। त्यसपछि उनले डुंगा रोजे। उनको बुवाको जिउनलाल सहानीको स्वास्थ्य र शरीरले साथ दिन छोडेपछि डुंगा थन्काए र हलुवाई बने। तर, उनको पनि कमाइ न्युन। 

‘डुंगामा कमाइ राम्रो हुने थाहा थियो। कम्तिमा घर चल्छ भन्ने भयो। त्यसैले नर्सिङ छोडेर डुंगा खियाउन सिकेँ,’ उनले आफ्नो कथा सुनाए। 
हाल डुंगाबाट मासिक २० हजारसम्म आम्दामी हुने सुनाउँछन् उनी। 

‘अहिले मेरी बहिनीले स्कूलमा दिनहुँ खाजा लान्छे। उसले किताब कापीको लागि छुट्टै काम गर्नु पर्दैन।’ 

गाइड बन्न सके मासिक ३० हजार आम्दामी हुने अड्कल काटेका छन् उनले। तर गाइड बन्न कुनै फरक भाषा सिक्नुपर्छ। जसका लागि अहिले उनीसँग समय र पैसा दुवै छैन। राजले केही समय अघिमात्र हातले खियाउने डुंगा बेचेर मोटर बोट किनेका छन्। ‘केही महिनापछि लोन तिरिसक्छु। अनि त्यसपछि मासिक खर्च कटाएर स्पेनिस भाषा सिक्छु,’ उनी निर्धक्क सुनिए। 

यसबीचमा उनले स्नातक अध्ययन पूरा गरेका छन्। 
*** 
राज सहानीजस्ता धेरै युवाका लागि रोजगारको माध्यम बनेको छ वाराणसीको गंगा नदीमा डुंगा सवारी जहाँ दुई सयभन्दा बढी डुंगा संस्थागत र व्यक्तिगत रुपमा संचालित छ।

डुंगाबाट राम्रो आम्दानी हुने देखिएपछि कतिले त बिहान बेलुकाका लागि मात्र भए पनि डुंगा खियाउने पेशा अपनाएका छन्। बब्बु सहानी बनारसको पापड कम्पनीमा काम गर्छन्। तलवी जागिरे उनी साँझको समयमा डुंगा चलाउने काम गर्छन्। उनको आफ्नै डुंगा छ। ज्याला दिएर डुंगा खियाउने मान्छे राखेका छन्। 

‘हरेक साँझ बेलुका भने आफै चलाउँछु। यसो गर्दा एक/ दुई टिपको ज्याला माझीलाई दिनु पर्दैन,’ उनले सुनाए। 

डुंगाबाट हुने आम्दामीले खाद्यान्नको खर्च जोहो गर्छन् उनी। ‘अरु त के भनम्। हामी सहानीहरुको पुस्ताको पेशा हो। डुंगासँग छुट्टै मोह छ,’ उनले थपे। 
*** 
जय डोमका लागि डुंगा व्यापारिक हब र डुंगाका यात्रु ग्राहक हुन्। उनी आफ्नो सानो डुंगा एक्लै खियाउँछन्। र अन्य डुंगाका यात्रुका लागि नदीमा पानी, फूल लगायत सामाग्रीहरुको व्यापार गर्छन्। 

बेलुकी गंगा आरतीको समयमा भेटिएका उनलाई सोधियो- 'आरती भइरहँदा पानी कसले पिउँछ?' उनले जवाफ दिए - 'डुंगामा मान्छे आरती कम मनोरञ्जनका लागि ज्यादा चड्छन्। मनोरञ्जनका लागि चड्नेको ध्यान आरतीमा हुँदैन। हो उनीहरुले पिउँछन् पानी।' 

उनका अनुसार पर्यटक धेरै भएको दिन ८ सयसम्म कमाइ हुन्छ। नत्र चार पाँच सय मात्र। गंगा नदीमा जयजस्तै डुंगामा बसेर डुंगाकै यात्रुका लागि फूल, पानी र चिया बेच्नेहरु धेरै छन्। यस्ता व्यापारीहरुलाई कतिपटक डुंगा व्यवस्थापन, गंगा नदी संरक्षण समितिहरुले चेतावनी दिइसकेका छन्। पानीका बोत्तल, कागज, प्लास्टिकको गिलास आदिले नदी फोहोर हुनुको कारण उनीहरुको डुंगाको व्यापारलाई देखाइयो।

‘पिएर बोतल नदीमा फाल्नु त हाम्रो दोष होइन नि। तर, पनि हामी गंगा माँको उपर देखिएको फोहोर सकेसम्म आफै टिप्छौं। छोड्दैनौं,’ उनले भने। 

१६ वर्षीय शिवशंकर सहानीलाई सबैभन्दा बढी खुशी विदेशीले दिने टिप्सले दिन्छ। ‘मैले टिप्स लगेको दिन आमा बहुत खुशी देखिनु हुन्छ। त्यही पैसाले उहाँले कतिपटक नयाँ लुगा किन्नु भएको छ’, उनी खुशी देखिन्छन्। युरोपेली पर्यटकले धेरै टिप्स दिने उनको अनुभव छ। 

‘मलाई डुगा खियाउन आउँदैन थियो भने मैले यति उदार दिल भएको मान्छे भेट्दिन थिएँ, ’ शिव भन्छन्, ’म सानो भएर पनि होला अरुलेभन्दा ज्यादा माया पाउँछु।’ 

कक्षा ९ मा पढ्दै गरेका उनी बेलुकाको एक समय डुंगा खियाएर जुटेको पैसाले कापी कलम किन्छन्। साथीहरुसँग खेलेर बित्ने समय काम गर्नमा खुशी छन्। भन्छन्- 'मैले मेरो बुवा हजुरबुवाले गर्नु भएको यही पेशालाई निरन्तरता दिन पनि सक्छु। यदि म ठूलो मान्छे भएँ भने पनि डुंगा खियाउन बिर्सिन्न। यसको मतलब म कहिले पनि डुब्दिन। 

*** 

डुंगा व्यवस्थापकको रुपमा काम गर्दै आएका दीपक सहानीका अनुसार डुंगा खियाउनु युवाहरुको लागि रोजगारको राम्रो अवसर बनेको छ। बढ्दो पर्यटक र डुंगा सवारीको क्रेजले आम्दामी राम्रो हुनु यसको प्रमुख कारण हो। ‘अहिले यहाँ पुस्ताको पेशा अंगाल्ने सहानी बाहेक अन्य जात र धर्ममाहरु पनि डुंगा चालक छन्। यो व्यवसायको रुपमा मौलाएको छ,’ उनले भने। पटक पटक हुने दुर्घटनाका कारण भने माझीहरु त्रसित छन्। 

’डुंगा डुब्ने घटनाहरु भइरहेपछि उनीहरु सुरक्षाको माग गर्न थालेका छन्। किनकि पैसाभन्दा ठूलो जिन्दगी हो,’ दीपक तर्क अघि सार्छन्, ’संस्थागत हिसाबमा काम गर्नेका लागि त इन्सुरेन्स बगेराको जुवान दिइएको छ। व्यक्तिगत रुपमा काम गर्नेहरुका लागि त्यो पनि छैन।’


ट्रेन्डिङ पोस्ट

Ncell