PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

टीकापुर घटनाका वादी र प्रतिवादीलाई घटनाका साक्षी उपस्थित गराउन आदेश



पासाङ ठकुल्ला

टीकापुर घटनाका वादी र प्रतिवादीलाई घटनाका साक्षी उपस्थित गराउन आदेश

धनगढी : कैलाली जिल्ला अदालतले टीकापुर घटनाका वादी र प्रतिवादीलाई घटनाका साक्षी उपस्थित गराउन आदेश दिएको छ। टीकापुर घटनाको करिब तीन वर्ष पछिको पहिलो पेशीले उक्त आदेश दिएको छ।

न्यायाधीश पर्शुराम भट्टराईको इजलासले भदौ २४ गते वादी प्रतिवादीलाई साक्षीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको जिल्ला अदालका श्रेष्तेदार इन्द्र बहादुर कठायतले जानकारी दिए।

करिब तीन वर्षपछि टीकापुर घटनाको पहिलो पेशी साउन २४ गते तोकिएको थियो। जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या र टीकापुर घटनाको मुद्दा अदालतको साप्ताहिक मुद्दा पेशीको तालिकामा नचढेको कारण देखाउँदै पेशी बुधवारका लागि सारिएको थियो।

घटनाका ६ जना फरार प्रतिवादीका नाममा म्याद पुर्जी जारी हुन ढिलाई भएकोले उनीहरुलाई अदालतमा पेश गर्न ढिलाई भएको बताइएको छ। 

‘थुनछेक आदेश फरार प्रतिवादिका नाम म्याद जारी आदेश भएको थियो। छ जना प्रतिवादीका नाममा वतन स्पष्ट नभएकाले पटक पटक जारी गरेको वारेन्ट र म्याद पुर्जी तामेल हुन सकेको थियन। उनीहरुको नाममा म्याद पुर्जी जारी नभइकन तत्काल पेश गर्न नसकिएको हो। अहिले फरार ६ जनाको नाममा म्याद पुर्जी जारी भएर आएको छ। उनीहरुलाई उपस्थित हुने म्याद भुक्तानी भए पश्चात हामीले मुद्धा पेशीमा चढाएका हौ,’ श्रेष्तेदार कठायतले भने।  

राजपाका नेता रेशमलाल चौधरी सहित ५८ जना यस घटनामा प्रतिवादी रहेका छन्। ५८ जना मध्ये अहिले २६ जना थुनुवामा छन्।

२३ जना जिल्ला अदालत कैलालीमा थुनुवामा छन् भने दुई जना नाबालक पोखरामा छन्। यस्तै एक जना रेशमलाल चौधरी काठमाडौंमा रहेका छन्।

यस घटनाको वादी पक्ष सरकार रहेको छ। उनीहरुलाई दुवैलाई घटनाका साक्षीलाई अदालतमा उपस्थित गराउन पहिलो पेशीले आदेश दिएको छ।

थरुहट/थारुवान आन्दोलनको क्रममा २०७२ साल भदौं ७ गते टीकापुरमा हिंसात्मक झडप हुँदा आठ सुरक्षाकर्मी र एक बालक सहित नौ जनाको ज्यान गएको थियो। सरकारले ५८ जना विरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी मुद्दा लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell