PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अरुण सदाको संघर्ष, हजुरबुवाको हत्यासँगै विद्रोहको शंखनाद



स्वेच्छा राउत

अरुण सदाको संघर्ष, हजुरबुवाको हत्यासँगै विद्रोहको शंखनाद

काँधसम्म पुग्नेगरी अग्ला भएका मकै बारीभित्र मान्छेको भीडले घेरिएको थियो एउटा शरीर। सेतो धोती र सेतै रङको कमिजभित्रको शरीर मकैबारीभित्र पसारिएको थियो। कोही रुँदै थिए, कोही कराउँदै। अनि त्यही कोलाहलमा केही चर्को विवाद गर्दै थिए।

बारीभित्र मारिएका व्यक्ति अरुण सदाका माइला हजुरबुवा थिए। जीविकोपार्जनका लागि हरुवा-चरुवा बनेर जिन्दगीको ६० वर्षभन्दा बढी बिताएका उनले एउटा साहुलाई छाडेर अर्काकोमा काम थालेका के थिए, त्यही निहुँमा निर्घात कुटाइ खाए। पुरानो साहुले उनको हत्या नै गरे। मकैबारीको त्यो विभत्स दृश्य हेर्न सबै पुगेका थिए।

‘म मेरो हजुरबुवाको उमेर सम्झन्न तर उहाँमा काम गर्न सक्ने उर्जा सायदै बाँकी थियो। तर, पनि उहाँलाई कुटेर मारे। मर्ने बेलामा उनले लगाएको कमिज सायद साहुले नै दिएका थिए,’ अरुण सम्झन्छन्।

गाउँमा सन्नाटा छाएको त्यो बिहान आमाले उनलाई भीडमा अरूले जस्तैगरी शव हेर्न दिइनन्। पुलिस, प्रशासनको खेल चल्दै रहेछ - फेरि अर्को हुरी चर्कियो, मकैबारीबाट हजुरबुवाको शव गायब भयो।

‘अन्तिम संस्कारका लागि पीडकले पाँच हजार दिए। हत्याको बदला पैसा! त्यही पैसाले घरमा 'पार्थी भोज' हुने भयो। तर, कोही आएनन्।

अरुण त्यतिखेर भर्खर ७/८ वर्षका हुँदा हुन्। अरुको घरमा भोज हुँदा मान्छेको भीड, रमझम देखेका थिए। उनले आफ्नो घरमा भोज हुँदा पनि कोही नआएको र आएकाहरु पनि भागेको देखेर बुवालाई सोधेका थिए- ‘बाबा किन भोजबाट मान्छेहरु भागेको?’

बुवाले भने- 'पुलिस आउने डरले। पुलिस आयो भने समात्छ र हजुरबुवाको मारेको बारे सोध्छन्।' हत्याबारे कसैले कुरा गर्न नदिएको अवस्थामा पुलिसको 'पावर' देखेर उनले भने- 'म पनि पुलिस बन्छु नि।'

‘पुलिस बन्न त पढ्नु पर्छ।’ बुवाको जवाफ सुनेपछि उनले पढ्ने हठ लिए।

तर, मुसहर, त्यसमाथि हरुवा चरुवा बस्ने परिवारको छोरा स्कूल जान असम्भवजस्तै थियो। त्यसैले अरुणले घरमै बसेर तयारी गरे।

‘हजुरबुवाको हत्याले मलाई चोट दिएको थियो। त्यसैले मैले पुलिस बन्न मेहनत गरेँ। एकैचटी चार कक्षा भर्ना भएर परीक्षा दिएँ। पास पनि भएँ,’ उनले सम्झिए।

अरुण स्कूल जान थालेपछि नै गाउँमा सदा समुदायका अन्य केहीले पढ्न थाले। त्यसपछि 'सक्दैनौ' भन्नेहरुको मुख थुनियो।

पुलिस बन्न पढेका अरुणले एसएलसी दिँदासम्म भने पुलिसले आफ्नो समुदायप्रति देखाउने क्रूर र विभेदपूर्ण व्यवहार भोगिसकेका थिए।

एकपटक उनी कामको सिलसिलामा गाउँ डुल्दै थिए। वनको पुछारमा थियो घर। घरभित्र तीन दिने सुत्केरी थिइन्, बच्चासहित। अचानक प्रहरी आए र उनलाई भित्रै थुनेर आगो लगाइदिए। आरोप थियो- सामुदायिक वनभित्र घर बनाउनु। घटना सम्झेर भक्कानिएका उनले भने, ’केही गर्न नसक्दा सोचेँ- बाँचेर यस्तो देख्नुभन्दा बरु गोली लागेर मर्नु राम्रो। तर, दुर्भाग्यवस् पुलिसको शक्तिको अगाडि केही लागेन।’

अर्को घटना - पाहुना आएकी प्रतिभा नामकी एक युवतीलाई इनार छोएको निहुँमा इनारमै डुबाउने निर्णय भयो गाउँमा। प्रहरीमा खबर हुँदासमेत उनीमाथिको दुर्व्यवहार रोकिएन।

त्यसपछि अरुणमा प्रहरीप्रतिको वितृष्णा जाग्यो। उनी पुलिस नबन्ने मुडमा पुगे। किनकि उनलाई दलित हुनुका कारण, गरिब भएकै कारण अरु सुत्केरीहरु जलाइनु र मारिनु हुन्न भन्ने भएको थियो।

त्यसो त उनले सरकारी जागिरको बाटो पनि नरोजेका होइनन्। खरिदारको परीक्षा दिएका उनले घरेलु उद्योग कार्यालयमा नाम पनि निकाले। तर, त्यहाँ पुगेर पनि बोल्न नपाउने थाहा पाए।

काम गर्दै पढ्दै गर्दा भोगेका अपमान र अवहेलनाले नै उनीमा उत्पीडन र विभेदविरुद्ध चेतना पनि बढ्दो थियो।

'समुदायले भोगेको विभेद, अभाव, दबाब मेरामात्र समस्या थिएनन्। मैले जागिर त खान्थेँ होला तर खुसी भएर कहिले पनि बाँच्न सक्ने थिइनँ। त्यसैले सरकारी जागिर खाने होइन समाजको लागि काम गर्ने निधो गरेँ।'

त्यसयता २०६३/६४ सालदेखि उनले दलित अगुवाको रूपमा काम गर्न थाले। कृषि र बाटो बनाउने, पोखरी खन्ने लगायत माटोको अन्य काम गर्दै आएको सदा समुदाय जग्गा सरकारले आफ्नो नाममा गरेपछि भूमिविहीन भयो उनको परिवार। र, हरुवा चरुवा बसेर छाक टार्न सुरु गरे। जीवनको पाँच वर्ष अरुणले पनि अरुको घरमा गोठालो बसेरै बिताएका हुन्।

उनले विभेदको त्यस्ता थुप्रै घटना देखेका थिए। ती मध्ये केही घटनाले उनलाई आफ्नो समुदायको आवाज बन्नका लागि झनै हौस्यायो। हरुवा-चरुवा बसेकाको परिवार प्रायः साहुको घरको गोठमा बास हुन्थ्यो। उनी काम गर्ने घरकै छिमेकमा अर्को परिवार हरुवा-चरुवा बसेका थिए।

त्यही परिवारका १३/ १४ वर्षीया छोरीलाई पहिलो रजस्वला भयो। उनले प्रयोग गरेका कपडाहरु धोएर साबिकै सुकाउने ठाउँमा सुकाइन्। 'रजस्वला भएका कपडा सुकाएको निहुँमा उनलाई साहुले आघात पिटे। प्रतिवाद गर्ने शक्ति कसैको थिएन। चुप लाग्नुको विकल्प पनि भएन,' घटना सुनाइरहँदा उनको आँखामा पीडाको आँसु देखियो। आँसु झर्न नदिँदै भने, 'त्यो बहिनीको पक्षमा बोल्ने शक्ति जुटेन। तर निश्चित भयो म सदा समुदायको बाँच्ने अधिकारको लागि लड्छु भन्ने।'

अरुण सदा यस्ता धेरै पीडादायी घटनाको साक्षी भए।

'तपाईँहरू समाचारमा पढ्नु होला। अध्ययन गर्नु होला। एक दुईपटक विभेद, हक, अधिकारको लागि बोल्नु पनि होला तर असलमा यी सब सामाजिक समस्या भोग्नुको पीर लड्नुको चुनौती नि? हामीले मात्र महसुस गर्न सक्छौँ,' उनको निचोड।

प्रमाणपत्र तहमा पढ्दापढ्दै उनले बहुसङ्ख्यक सदा समुदाय सामाजिक, आर्थिक साथै शैक्षिक रूपमा पछि पर्नुको कारण पहिल्याउन लागे। स्थायी बसोबास नहुँनु र एक ठाउँबाट अर्को ठाउँ सर्नु पर्ने बाध्यतालाई मुख्य कारक ठाने यसमा। स्थायी नहुँनुले पहिचान भएन। पहिचान अर्थात् नागरिकता भएन। नागरिकता नहुँनुले केही भएन।

त्यसपछि उनी आफ्नो समुदायको भूमि अधिकारका लागि लड्न थाले।

उनका अनुसार सदा समुदायको कुल जनसङ्ख्यामा मात्र ०.२ प्रतिशतसँग आफ्नै जग्गाको स्वामित्व रहेको छ। बाँकी सबै सुकुम्बासी।

यिनै सुकुम्बासीहरुको हक अधिकारका लागि 'इन्द्रेणी सेवा समाज’सँग जोडिए जसले मुसहर शिक्षाको क्षेत्रमा काम गर्थ्यो। संस्थासँग आबद्ध रहेर उनी आफ्नो समुदायमा चेतनास्तर वृद्धि गर्न चाहन्थे। र, आफ्नो समुदायलाई आफ्नो अधिकारको लागि लड्न आवाज दिन चाहन्थे। विद्यार्थी त स्कुल जान थाले नै साथै बस्ती बस्तीमा प्रौढ शिक्षा पनि सञ्चालन गरे।

यस्ता संघ संस्थामा आबद्ध रहेरै र स्थानीय तहमा काम गर्दा गर्दै उनी २०६३ सालमा भूमि अधिकार मञ्चमा जोडिए। जग्गा भएमात्र नागरिकता हुने थाहा पाए। र, जग्गाकै मुद्दामा एकत्रित भए। तर, अन्य सामाजिक कार्यमा पहल भने रोकिएको थिएन।

सोही वर्ष उनले मुसहर बस्तीमै पोखरी निर्माणमा सक्रिय रहे जसलाई समुदायमा हस्तान्तरण गरियो। उक्त पोखरीबाट केही रकम संकलन हुन्छ र त्यो सामुदायिक हितका लागि नै प्रयोग हुँदै आएको थियो।

दु:खद् त के रह्यो भने, हाल नगरपालिकाले सार्वजनिक जग्गामा खनिएको भन्दै उक्त पोखरीबाट उनीहरुको हक खोस्ने प्रयासमा छ। गाउँका सबैले पानी पिउन् भन्ने आशयले पोखरी खनाएका अरुणको घरमै ताकेर जातीय आतंक समेत मच्चाइयो। सोचमा परिवर्तन नआएसम्म दमन रोकिन्न भन्ने उनको बुझाइ छ।

'मलाई यसपटक गहिरो चोट पर्‍यो। सार्वजनिक माफी नमगाई छाडिनँ,' उनले भने। यही घटनामा उनकी श्रीमती कुटिइन्। आत्मसम्मानमाथि घटना गहिरो चोट बन्यो। 'म्याडमका लागि आफ्नै समाजबाट बाहिरिन त तयार म साहुलाई किन छाड्थेँ?,' यो सुनाइरहँदा उनको मुहारमा क्रोध र मुस्कान एकैपटक मिसियो।

प्रेम र विवाहको हकमा उनी क्रान्तिकारी निस्किए। सामाजिक काम गरेर एउटा स्तरको प्रतिष्ठा कमाएका, इज्जत पाएका अरुणले कक्षा ९ देखिको प्रेमलाई विवाहमा परिणत गरे। भागी विवाह। मिजार समुदायकी हिरालाई सदा बनाए।

'मिजारलाई दलितभित्रको पनि 'तल्लो जात' भन्ने बुझाइ छ। न उनको परिवार खुसी भयो, न मेरो समुदाय। तर अरूको खुसीको लागि म मेरो विभेद हटाउने कामबाट पछि हट्ने पक्षमा थिइनँ। आफैंबाट सुरु गर्नुजस्तो शक्तिशाली कदम अरू के हुन सक्थ्यो र?'

अन्ततः: परिवारले स्वीकारे जसका कारण सदा समुदायले परिवारलाई नै ५ महिना बहिष्कार गर्‍यो। पानी समेत नचल्ने गरी।

अरुणले समुदायको निर्णय स्वीकारे। उनले सुरु गरेका अभियान अलपत्र पर्न थालेपछि भने गाउँलेहरू उनीप्रति नरम हुन बाध्य भए। गाउँलेले नसियत स्वरूप भोज खुवाउन भने।

तर, अरुणले त्यसो गरेनन्। ‘भोलि मेरो बच्चा जन्मिए भोज खुवाउँला। तर, यो कुरीतिको पक्षमा केही गर्दिन बरु बहिष्कृत नै ठीक छु', आफूले दिएको जवाफ गर्वका साथ सुनाए।

समुदाय झुक्यो, त्यसपछि उनको परिवारमात्र होइन 'मिजार' हिरा पनि समाजमा स्वीकृत भइन्। अन्य सदाहरुको अन्तरजातीय विवाह भयो। त्यसपछि सदा समुदायले बहिष्कारको बाटो अपनाएन। जुन खुसीमा अरुण सदा र हिरा मिजारले आफ्ना दुई सन्तानको नाम ‘प्रयास’ र ‘परिवर्तन’ राखेका छन्। नामहरू सुनाउँदा अरुणको मुहारको चमक तेज लाग्छ।

विभेद कम हुँदैछ। शिक्षा र स्वास्थ्यमा मुसहर समुदाय क्रमशः: अगाडि आउँदैछ। साहुहरुसँग आफ्नो अधिकार माग्न सक्ने भएका छन्। यस्ता परिवर्तनहरु बिस्तारै सम्भव छ। तर, असम्भव लाग्ने समस्या त जग्गाको स्वामित्वमा पुगेर अड्केको छ। ५५ घरधुरी रहेको बस्तीका २/३ परिवारमात्र आफ्नो जग्गामा छन्। यी परिवारहरुले धेरै ठूलो सपना देख्न पाउँदैनन्। कारण- डर। डर उठिबासको।

हाल अरुण भूमि अधिकार मञ्च सिराहाका जिल्ला संयोजक छन्। उनी उठिबास र सामाजिक उत्पीडनको डर बोकेकाहरुलाई आशा दिँदै हिँड्छन्। उनले झुटा आश्वासन त पक्कै दिएका होइनन् किनकि उनकै नेतृत्वमा दुई हजार मोही किसानहरुले जग्गा प्राप्तिको लागि आवेदन दर्ता गरेका छन्।

‘गाउँ-गाउँ डुलेर मोही अधिकारबारे बुझाउँदै थिएँ। काठमाडौँ आउनु पर्‍यो। फर्केर पुन: उही काममा लाग्नु पर्छ,’ उनले भने।

यतिमात्र नभएर उनी महिलालाई पनि जग्गा मालिक बनाउने अभियानको नेतृत्व गर्दैछन्। जसको नतिजा- सिराहामा करिब ५०० जना महिलाले संयुक्त पूर्जा प्राप्त गरिसकेका छन्।

'यो मेरो समुदायको प्राप्ति हो। मैले एक कदम अघि बढाउँदा काँध र हात दिनेहरुको मेहनतको फल हो,' बोल्दागर्दा थोरै रोकिन्छन्। र थपे, 'तर, अझै पनि हामीसँग आफ्नो जग्गा छैन। सरकारले पनि आश्वासन बाहेक केही दिएको छैन। हामी लड्न भने छोड्दैनौँ।'

उनको यही लगनशीलताको सम्मान भयो। सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय’ दर्नाल अवार्डमा उनी पनि सम्मानित भए। अमेरिकामा सडक दुर्घटनामा परी ज्यान गुमाएका अधिकारकर्मी सुवास दर्नालको स्मृतिमा अरुणको समुदायप्रतिको देनको कदर भयो।

खुसी व्यक्त गर्छन्, ‘यो अवार्डले हामीलाई हौसला दिएको छ। हाम्रो कामको मुल्याङ्कन भएको महसुस गराएको छ। यो प्रेरणा हो- अझ सशक्त बन्ने।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell