PahiloPost

Sep 23, 2018 | ७ असोज २०७५

अब शरीर दान गर्न पाइने : के लाशमा होला मुलुक आत्मनिर्भर?


सागर बुढाथोकी

अब शरीर दान गर्न पाइने : के लाशमा होला मुलुक आत्मनिर्भर?

मृत्युपछि शरीर दान गर्ने घोषणाका चर्चा चुलिइरहँदा केही समयअघि फोरेन्सिक विधाका 'ब्राण्ड' डाक्टर हरिहर वस्तीले प्रश्न गरेका थिए : 'कानुन नै नबनेको देशमा शरीर दान गर्छु भन्दै आउन सम्भव छ र?’ 

त्यतिखेर हामीसँग उनले भनेका थिए - 'बेवारिसे लाश धेरै भए पनि ती मेडिकल स्टुडेण्ट अभ्यासको लागि उपयुक्त छैन। मेडिकल स्टुडेण्ट एउटैमात्र लाश कोट्याएको भरमा डाक्टर बनिरहेका छन्।'

सामाजिक सञ्जालदेखि सार्वजनिक समारोहहरुमा समेत मृत्युपछि लाश जलाउन नदिने र दान दिने भन्नेहरु बढिरहँदा चिकित्साशास्त्र अध्ययन गर्नेसामु हाहाकार रहेको - शव। कानुन नै नहुँदा पनि मानिसहरु आफ्नो शरीर दान गर्न प्रेरित हुन थालिसकेका थिए। पुरातन सोचबाट केही माथि उठ्न सक्ने परिवारले शव दानलाई सहयोग पनि पुर्‍याए। केही व्यक्तिले कानुन बन्नुअघि नै शव दान गर्नु पछाडि पारिवारिक साथ नै प्रमुख कारण थियो।

अब भने वैधानिक तबरमा नै शरीर दान सम्भव भएको छ। भदौ एक गतेबाट लागू हुने मुलुकी देवानी संहिता ऐनले शरीर दान गर्न पाउने व्यवस्था गरेको छ। देवानी संहिता ऐनको दफा ३८ को उपदफा १ मा, 'कुनै पनि व्याक्तिले आफ्नो मृत्युपछि आफ्नो शव, शरीरको कुनै अंग वा त्यसको कुनै अंश खास कामको लागि प्रयोग गर्न वा गराउन दान दिने गरी लिखित रुपमा इच्छा व्यक्त गर्न सक्नेछ' भनेर उल्लेख गरिएको छ।

उपदफा २ मा, 'दफा एक बमोजिम इच्छा व्यक्त भएकोमा हकवालाले पनि मर्ने व्याक्तिको शव, शरीरको अंग वा त्यसको अंशको प्रयोग 'मर्ने व्यक्ति'को इच्छा बमोजिम गर्नुपर्नेछ' भनिएको छ।

यो कानुन अनुसार शरीर दान हुने हो भने चिकित्साशास्त्र पढिरहेका विद्यार्थीहरुले अभ्यासको अवसर बढी पाउनेछन्। विशेषज्ञता हासिल गर्न यसले मद्दत पुर्‍याउने प्राध्यापकहरु बताउँछन्। 

****

गत साउन २६ गते साहित्यकार तथा चर्चित रेडियो प्रस्तोता दाहाल यज्ञनिधिको शव शिक्षण अस्पतालमा बुझाइयो। उनको इच्छा अनुसार परिवारले शरीर अस्पताललाई दान दिएका थिए। त्यसैले उनको शरीरमा फुलमाला र अविर समेत लगाइएन।

पाँच वर्षअघि दिवंगत पूर्व मन्त्री तथा साहित्यकार क्षेत्रपताप अधिकारीको शव बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेज धरानलाई बुझाइयो। अधिकारीले मर्नुभन्दा अघि अस्पतालसँग शरीर दान गर्ने सम्झौता गरेका थिए। अधिकारीको इच्छालाई सम्मान गर्दै उनका छोरा अजर र अमनले शव दाहसंस्कार नगरी अस्पतालमा बुझाए।

तीन वर्षअघि आत्महत्या गरेका पूर्व न्यायाधीश भरतराज उप्रेतीको शव पनि महाराजगञ्ज टिचिङ शिक्षण अस्पतालमा बुझाइयो। उप्रेतीले सुसाइड नोटमै शरीर दानको इच्छा व्यक्त गरेका थिए।
 
योगमा चर्चित डाक्टर योगी विकासानन्दले आफ्नो आमाको शव त्यसैगरी महाराजगञ्ज मेडिकल कलेजको लागि दिए। पत्रकार भैरव रिसाल र उनकी पत्नी सुशीलाले  मरणोपरान्त शरीर दान गर्ने निर्णय गरेको सात वर्ष भयो। 

उनीहरुको शरीर दानको एउटै उद्देश्य थियो– आफ्नो शरीर मेडिकल साइन्सका विद्यार्थीहरुको अभ्यासको लागि काम लागोस्। 

‘शव समेत विदेशबाट किन्नुपर्छ। कम्तिमा लाशमा त आत्मनिर्भर बनौं। राज्यले शरीर दान गर्न पाउने नियम बनाउनुपर्छ,’ शरीर दान गर्ने घोषणा गरेपछि रिसालले यसै भनेका थिए। उनी अहिले ९१ वर्षका भए।

मेडिकल साइन्स पढ्ने विद्यार्थीहरुलाई शव (क्याडभर) अभाव भएकाले उनीहरुले कानुन नै नबन्दै उत्प्रेरित हुँदै शव दानको निर्णय गरेका थिए। अब भने उनीहरुको त्यही सत्कर्मलाई पछ्याउँदै यससम्बन्धि कानुन बनेको हो।

कानुन नै नबनी उनीहरुले कसरी गरे त शरीर दान?

सम्भव हुनुको कारण थियो – मृतकको इच्छा, उनीहरुका स—परिवारको स्वीकृति र कानुनी कारवाहीको लागि उजुरी नगर्ने सम्झौतापत्रमा हस्ताक्षर।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज एनोटोमी विभागका प्राध्यापक डा निर्जु रञ्जित कानुन नबने पनि आवश्यकताका कारण दान गर्नेहरुको शरीर लिएको बताउँछन्। मेडिकल विद्यार्थीको अभ्यासका लागि शव हाहाकार भएकाले दान गर्न इच्छा राख्ने र परिवारले सहमति दिने भएपछि लिने गरेको उनको कथन छ। '

बेवारिसे शवले मेडिकल स्टुडेण्डलाई नपुग्ने भएकाले मृतकका परिवारको इच्छालाई सम्मान गर्न लिएका हौं,’ रञ्जितले सुनाए।

***

प्राध्यापक डा रञ्जित अबको कानुनले शरीर दान गर्नको लागि प्रस्ट बाटो खुलाएको बताउँछन्। विद्यार्थीले अब पर्याप्त अभ्यास पाउने उनको विश्वास छ। भन्छन्, 'अब मेडिकल स्टुडेण्टहरुले बेवारिसे लाशमा भर पर्नुपर्दैन। मृतकले चाहेमा निजी मेडिकल कलेजमा पनि शरीर दान गर्न सक्छन्।'
 

किन चाहिन्छ मृत शरीर (क्याडभर)?

दक्षिण एसियाका भारत र बंगलादेशमा शरीर दान समान्यजस्तै छ। त्यस्तै बेलायत र अमेरिकामा पनि। नेपालमा शरीर दानको आवश्यकताको महसुस धेरै पहिलादेखि नभएको होइन। नेपालमा मेडिकल पढ्ने विद्यार्थीका लागि क्याडभर अभाव हुँदै आएकै हो।
त्यो अभाव अहिलेसम्म छँदैछ। 

मेडिकल साइन्सका विद्यार्थीहरुलाई अभ्यासका लागि क्याडभर अनिवार्य छ। विभिन्न अंग चिरफार (डाइसेक्सन) अध्ययनको एउटा महत्वपूर्ण अंग हो। शवमा गरिने अभ्यासबाटै उनीहरु चिरफारमा दक्ष हुने हुन्।

मेडिकल साइन्सका जानकारहरुका अनुसार डाक्टर बन्नका लागि क्याडभर डाइसेक्सनको विकल्प अहिलेसम्म छैन। मतलब यसमा अभ्यास नगरी डाक्टर बन्न सकिँदैन। एमबीबीएसको ‘एनोटोमी’ कोर्समा यसलाई अनिवार्य राखिएको छ। त्यसैले, सामान्य डाक्टर होस् या शल्यक्रिया विशेषज्ञ, पढाईमा 'क्याडभर डाइसेक्सन'को अभ्यास अनिवार्य छ।

अझै पनि धेरैजसो मानिसहरुलाई ‘एमबीबीएस पढ्ने विद्यार्थीहरुको अभ्यासको लागि क्याडभर कहाँबाट आउँछ? जानकारी छैन। मेडिकल स्टुडेण्टहरुले यस्तो अभ्यास गर्नुपर्नेबारे अभिभावक पनि जानकार छैनन्। प्राध्यापक डाक्टर गोविन्द केसीको अनशनको मागभित्र विद्यार्थीको पर्याप्त अभ्यास अटाएको थियो, जुन क्याडभर डाइसेक्सनसँग सम्बन्धित पनि हो।
 

कानुन राम्रो, कठिनाई अझै यथावत

त्रिवि शिक्षण अस्पताल फोरेन्सिक डिपार्टमेण्टका निर्देशक प्रमोद कुमार श्रेष्ठका अनुसार राज्यले कानुन राम्रो बनाए पनि तत्कालै लागू हुन कठिन छ। राज्यले गृहकार्य नगरी कानुन ल्याएकाले प्रभावकारी नहुने सम्भावना उत्तिकै छ। भौतिक पूर्वाधार र आवश्यक तयारीबिना कानुन आएको छ। 

जस्तो कि त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागमा बेवारिसे लास राख्ने ठाउँ नभएर वर्षौदेखि बिजोक छ। बेवारिसे लाश व्यावस्थापन गर्ने ठाउँ पूरै दुर्गन्धित छ। 'शव राख्ने भवन खै, डिप फ्रिज खै, त्यसको लागि दक्ष जनशक्ति खै?,' श्रेष्ठ प्रश्न गर्छन, 'सरकारलाई हामीले शव व्यवस्थापन र पूर्वाधारका लागि पटक—पटक भन्यौं तर अहिलेसम्म केही व्यवस्था भएको छैन। कानुन मात्र बनेर के हुन्छ?'

अहिले भएका शवहरु 'डिस्पोज' गर्ने ठाउँ नबनाइ यस्तो कानुनको औचित्य नहुने श्रेष्ठको कथन छ। 

त्यस्तै एनोटोमी विभागका प्राध्यापक रञ्जित कानुन तत्कालै प्रभावकारी हुन नसक्ने बताउँछन्। पूर्वाधार निर्माण र दक्ष प्राविधिकहरु यसमा तगारो हुने उनको पनि तर्क छ। 

रञ्जितका अनुसार मेडिकल स्टुडेण्डको लागि मृत शरीर किताब हो। लाशको पनि इज्जत हुन्छ। जहाँ पायो त्यही सडाउन कसैले शरीर दान गर्दैन। रञ्जित भन्छन्, 'जबसम्म राज्यले मृत शरीर व्यावस्थापन गर्ने व्यवस्था गर्दैन तबसम्म शरीर दानको प्रावधान कागजमै सीमित हुन्छ।'

अर्कोतिर दाहसंबस्कार नगरी मृतकको आत्माले शान्ति पाउँदैन भन्ने विश्वास सबै धर्ममा छ। यतिसम्म कि लाश नहुँदा कुशको प्रतीमा बनाएर दाहसंस्कार गर्ने हिन्दु परम्परा छ। धार्मिक मनोविज्ञानको कारणले पनि नेपालमा शरीर दान प्रभावकारी हुन कठिन छ। निर्देशक श्रेष्ठ भन्छन्, 'धर्म संस्कारलाई च्यालेन्ज गरेर आउने एकदम कम भेटिन्छन्। जति आउँछन तिनीहरुको व्यावस्थापन गर्न समेत गाह्रो छ।'

रञ्जित भन्छन्, 'यो कानुन आफ्नो शरीर मरेपछि पनि काम लागोस् भन्नेहरुका लागिमात्र हो। धर्म संस्कार मान्दिन भन्नेका लागि हो। सबैले शरीर दान गर्नुपर्छ भन्ने हैन।'

भौतिक पूर्वाधार, शव राख्ने घर र प्रयोगमा नीतिगत प्रस्टता भएमा नेपालको मेडिकल शिक्षा थप सुधार हुने चिकित्सकहरुको दावी छ।
 

एउटा शवको मूल्य ७ हजार

त्रिवि शिक्षण अस्पताल महाराजगंजमा बेवारिसे लाश ल्याइन्छ। बेवारिसेका आफन्तको खोजी प्रहरीले गर्छ। २८ दिनसम्म खोजिसक्दा पनि आफन्त नभेटिए लाशलाई प्रहरीले फोरेन्सिक मेडिसिन विभागमा बुझाइदिन्छ। तीमध्ये मेडिकल साइन्सका विद्यार्थीहरुको लागि उपयुक्त नहुने शव प्रहरीले नै नष्ट गर्छ।

महाराजगंज मेडिकल क्याम्पसका उप प्राध्यापक डाक्टर मणि मर्हजनका अनुसार फोरेन्सिक मेडिसिन विभागमा विभिन्न मेडिकल कलेजहरुले क्याडभर माग गरेर निवेदन दिने गरेका छन्। निवेदन प्राप्त भएपछि प्रहरीलाई फोरेन्सिक मेडिसिन विभागले त्यसबारे जानकारी दिन्छ। प्रहरीले स्वीकृति दिएपछि मेडिकल कलेजहरुले अभ्यासको लागि क्याडभर पाउँछन्। उनले भने, ‘मेडिकल कलेजले एउटा क्याडभर लगेबापत सात हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ। यो दर नेपाल सरकारले तोकेको हो।’

उनका अनुसार २०५७ सालभन्दा अगाडि नेपालमा मेडिकल पढ्ने विद्यार्थीहरुको अभ्यासको लागि क्याडभर भारतबाट आउँथ्यो। २०५७ सालमा फोरेन्सिक मेडिसिन विभाग खुलेपछि भारतबाट क्याडभर ल्याउनुपर्ने झन्झट हटेको हो।

एउटा कलेजलाई वार्षिक ७ देखि १२ वटासम्म क्याडभर आवश्यक पर्दा २० वटा कलेजलाई वर्षमा १६० वटा भन्दा बढी क्याडभर चाहिन्छ। वर्षमा कसरी र कहाँबाट त्यतिधेरै बेवारिसे लाश पाइन्छ? पाइएका बेवारिसे लाशहरु मेडिकल साइन्सका विद्यार्थीहरुलाई पर्याप्त छ त?

एनोटोमी विभागका प्राध्यापक रञ्जितका अनुसार बेवारिसे शव धेरै आउन सम्भव हुँदैन। बेवारिसे लाश धेरै आउनु भनेको अपराध बढ्नु हो। विद्यार्थीको लागि सबै उपयुक्त हुन्न पनि। त्यसैले विद्यार्थीका लागि क्याडभर पर्याप्त छैन। उनी भन्छन्, ‘धेरै मेडिकल कलेजमा क्याडभर अभ्यास राम्रो नभएको सत्य हो। टिचिङबाट क्याडभर नलाने कलेजहरु धेरै छन्। तर, अब बनेको कानुनले यी सबै समस्याहरु हल गर्छ।’
शिक्षण अस्पतालबाट क्याडभर नलाने कलेजहरुले अस्पतालमा आएका बेवारिसे लाश प्रहरीको स्वीकृतिमा  प्रयोग गर्न सक्छन्। तर, सबै अस्पतालमा ‘डिप फ्रिज’ नभएकाले त्यो सम्भव देखिन्न।
 

एउटा क्याडभरमा कामचलाउ पढाइ

जनशक्ति पर्याप्त भए पनि आवश्यकताअनुसार क्याडभर नहुने भएकाले धेरै मेडिकल कलेजका विद्यार्थीहरु सैद्धान्तिक ज्ञान मात्रै लिइरहेका रञ्जित बताउँछन्।

दुई वर्षसम्म एउटा क्याडभर कोट्याएर पढेको विद्यार्थी दक्ष डाक्टर बन्न नसक्ने उनको तर्क छ। लाश कोट्याएर हेरेको भरमा अपरेसन गर्न सक्दैनन्। 

फोरेन्सिक डिपार्टमेन्टका डाक्टर हरिहर वस्ती जे नहुनुपर्ने हो त्यही भइरहेकाले राज्यले कानुन बनाएको बताए। कानुन प्रभावकारी हुने नहुनेमा भने उनमा शंका अझै छ। राज्यले नीति कार्यन्वयन गरेर शरीर दान गरेका शवहरु मेडिकल कलेजमा पठाउने हो भने ५० जनाभन्दा बढी विशेषज्ञ डाक्टरले रोजगार पाउने बताउँछन्। 'सबैभन्दा ठूलो उपलब्धी विद्यार्थीहरुले अभ्यास गर्न पाउँछन्,’ वस्तीले सुनाए।

***

शरीर दान कसरी गर्ने?

शरीदान गर्न इच्छुकहरुले परिवारका सम्पूर्ण सदस्यहरुसँग स्वीकृति लिएर अस्पतालसँग सम्पर्क गर्न सक्छन्। अस्पतालमा व्यवस्थापन गर्ने स्थान भएमा त्यो सम्भव हुन्छ। 
  
राम्रो पढाई हुने बंगलादेशका मेडिकल कलेजमा एमबीबीएस सकेर फर्केका विद्यार्थीहरु बंगलादेशमा क्याडभर डाइसेक्सनको पर्याप्त अभ्यास गर्न पाउने बताउँछन्। उनीहरुका अनुसार बंगलादेशमा क्याडभर सक्कली पाइन्छ। बोन, मुटु, तथा अन्य आन्तरिक अंगहरु सक्कली नै हुन्छ। क्याडभरमा धेरै भन्दा धेरै डाइसेक्सन गर्न पाइन्छ। किनकि, त्यहाँ शरीर दानको प्रावधान छ। मेडिकल पढ्ने विद्यार्थीका लागि क्याडभरको कमी कहिल्यै हुँदैन।

बंगलादेशको कलेजमा एउटा समूहले डाइसेक्सनको लागि एउटा क्याडभर बढीमा २ देखि ३ महिना मात्र चलाउँछन्। त्यसपछि नयाँ क्याडभर उपलब्ध हुन्छ। थोरै समूहले धेरै क्याडभरमा अभ्यास गर्छन।

पाटन अस्पतालको प्रशासकीय अधिकृत तीर्थराज भुजेल अस्पतालमा शरीर दान गर्न इच्छा व्यक्त गरेर आउने धेरै भएको बताउँछन्। यहाँका अधिकांश प्राध्यापकहरुको एउटै तर्क छ, 'शरीर दान गर्न इच्छा राख्नेहरुको लागि बाटो खुलेको छ। तर, लाशमा आत्मनिर्भर हुन्छ कि हुन्न समयले बताउँछ।'



अब शरीर दान गर्न पाइने : के लाशमा होला मुलुक आत्मनिर्भर? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट