PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चिर निन्द्रामा वाजपेयी : लेखेका थिए - 'मौत की उमर क्या है? दो पल भी नहीं'



पहिलोपोस्ट

चिर निन्द्रामा वाजपेयी : लेखेका थिए - 'मौत की उमर क्या है? दो पल भी नहीं'

१३ मार्च २००४ भारतको प्रधानमन्त्रीको रुपमा आफ्नो अन्तिम क्याविनेट बैठक सकेर राष्ट्रपति कार्यालय तर्फ निस्किएका थिए अटल विहारी वाजपेयी। एनडीए चुनावमा पराजित भएको थियो। नजिकैको कांग्रेसको कार्यालयमा पार्टीका कार्यकर्ताहरु उत्सव मनाइरहेका थिए। कांग्रेस सोनियाँ गान्धी देशको अर्को प्रधानमन्त्री हुने भन्नेमा व्यापक चर्चा थियो।

राजिनामा दिएसँगै अटल विहारी वाजपेयीले टीभीमा सम्बोधन गर्दै भने, ‘मेरो पाटी र गठबन्धनले हार्यो तर भारतको जित भयो।’ 

यसरी राजिनामा दिएर निस्किएका बाजपेयी त्यसपछि राजनीतिमा सुनिएनन्। बीबीसी हिन्दीका अनुसार यो हार पछि उनी संसदमा विपक्षी दलको नेता बन्नुपर्ने थियो। सुषमा स्वराज (हालकी विदेशमन्त्री समेत रहेकी)ले क्याविनेट बैठकपछि यही बताएकी थिइन्। तर, कसैले सोचेको थिएन् वाजपेयी राजनीति छाड्ने दिशामा अगाडि बढिरहेका थिए। 

जसले आफ्नो भाषणकलाले देशलाई मोहित पार्थ्यो उनी सन्यास लिँदै थिए। 

उनी राजनीतिज्ञ मात्र थिएनन्। एउटा वाक कलामा निपूर्ण, एउटा कवि एउटा राजनेता जो पछिल्लो समय गुमनाम जस्तै भए। उनी यो १४ वर्ष विरामी भएर आराममा विताए। सोनियाँ गान्धीको स्थानमा डा. महमोहन सिंह प्रधानमन्त्री बने वाजपेयीको स्थानमा लाल कृष्ण आडवाणी विपक्षी दलको नेता बने। 

यो १४ वर्ष उनी सार्वजनिक जीवनबाट अलग भए। त्यतिवेला स्वराजले भनेकी थिइन् की वाजपेयी सार्वजनिक जिवनबाट सन्यास लिँदैनन्। 
सन् २००५ को मेमा मुम्बईमा भाजपाको रजत जयन्ति समारोहमा गरेको उनको भाषण नै अन्तिम थियो। उनले सोही कार्यक्रमको भाषणका क्रममा चुनावी राजनीतिबाट सन्यास लिने घोषणा गरेका थिए। उनको यो अन्तिम भाषण सबैभन्दा छोटो थियो।  

उनी त्यतिवेला पनि लोकशभामा सांसद थिए। तर, अस्वस्थ्यताका कारण कमै मात्र सदनमा उपस्थित हुन्थे। सन् २००७ मा उनले उपराष्ट्रपतिको चुनावमा भोट दिएका थिए। त्यतिवेला उनी ह्वील चेयरमा मतदानस्थल पुगेका थिए। 

चुनावी राजनीतिबाट सन्यास लिएको बताइसकेका उनी सन् २००७ मै लखनउमा एउटा चुनावी कार्यक्रममा सहभागी थिए। 

२००७ मै उनी नागपुरमा देखिए। आरएसएसको कार्यक्रममा उनी ह्वील चेयरमै पुगेका थिए। उनलाई मञ्चमा चढाउनका लागि विशेष किसिमको लिफ्टको व्यवस्था गरिएको थियो। 

सन् २००९ मा उनले संसदको रुपमा आफ्नो अन्तिम कार्यकाल पूरा गरे अनी चुनाव लडेनन्। 

२००२ मा प्रधानमन्त्री हुँदै गर्दा उनको दाइने घुँडाको अप्रेशन भएको थियो। 

उनलाई २००९ मा स्ट्रोक आयो जसका कारण उनी बोल्न समेत नसक्ने अवस्थामा पुगे। सन् २०१५ मा उनलाई तत्कालीन राष्ट्रपति प्रणव मुखर्जीको हातबाट भारत रत्नको सम्मान प्राप्त भयो। उनलाई सो सम्मान दिनका लागि राष्ट्रपति उनकै घर पुगेका थिए। 

लामो समयपछि भारतीय जनताले ह्वीलचेयरमा बसेका विरामी बाजपेयको झलक देखे। त्यतिवेला यसरी तस्विर खिचिएको थियो कि उनको पूरा मुहार नदेखियोस। 

इण्डियन एक्सप्रेसका अनुसार उनी लामो समय देखि कृष्ण मेनन मार्गस्थित आवासमा आफ्नी धर्मपुत्री नमिता भट्टाचार्यको साथमा बस्दै आएका थिए। मृत्यु अगाडिसम्म उनकी श्रीमती राजकुमारी कौल समेत यही बस्थिन्। उनको मृत्यु सन् २०१४ मा भएको थियो।

हरेक वर्ष उनको जन्मदिन डिसेम्बर २५ मा उनलाई भेट्न उनको निवासमा नेताहरु जान्थे। उनलाई नियमित भेट्नेहरुमा पूर्व प्रधानमन्त्री डा. महमोहन सिंह, भाजपाका नेता लालकृष्ण आडवाणी, उत्तरखण्डका पूर्वमुख्यमन्त्री बीसी खडूरी सर्वोच्च अदालतका अधिवक्ता एनएम घाटते उनको घरमा पुग्थे।

राजनेता हुँदैनथे त सफल कवि हुन्थे

उनी आफैमा कवि हुन्। भनिन्छ उनी राजनेता हुँदैनथे भने भारतको एउटा सफल कवि हुन्थे। पूर्वप्रधानमन्त्री वाजपेय आफ्नो जीवनको अन्तिम अवस्थामा हुँदै गर्दा उनको कविताको चर्चा समेत सुरु भयो। बुधबार देखि लाइफ सपोर्ट सिस्टममा राखिएका उनी धेरै पटक राजनेताबाट कविको रुपमा स्पष्ट देखिन्थे। 

जब उनी खुसी वा निरास हुन्थे। उनको कवि दिल उछालिन्थ्यो अनी पत्रकारबाट राजनेता बनेका उनी आफ्नो दिलको हालत कलमले कागजमा उतार्थे।

उनका कैयौँ यस्ता कविता छन् जसले उनको व्यक्तित्वका फरक आयामलाई झल्काउँछ। भारतीय पत्रिका अमर उजालाले लेखेको छ, ‘लाइफ सपोर्टमा रहेका उनी आज पनि बोल्न सक्थे त आज पनि सायद उनी कविताको माध्यमबाट सबैलाई साहस दिन्थे र फेरि भन्थे हार मान्दिन हरेस खाँदिन।’ 

सन् १९८८ मा वाजपेयी किड्नीको उपचारका लागि अमेरिका गएका थिए। त्यविेला धर्मवीर भारतीले लेखेको एउटा खतमा वाजपेयले मृत्युलाई समेत हराउने सपना साँधेर कविता लेखेका थिए। 

उनको त्यो कविता आज फेरी भारतीय सञ्चार माध्यममा चर्चामा छ।

'मौत से ठन गई'... 
अटल बिहारी वाजपेयी
अटल बिहारी वाजपेयी
ठन गई! 
मौत से ठन गई! 
जूझने का मेरा इरादा न था, 
मोड़ पर मिलेंगे इसका वादा न था, 
रास्ता रोक कर वह खड़ी हो गई, 
यूं लगा जिंदगी से बड़ी हो गई। 
मौत की उमर क्या है? दो पल भी नहीं, 
जिंदगी सिलसिला, आज कल की नहीं। 

उनको अर्को कवितासमेत चर्चामा रहेको छ। 

दूसरी अनुभूति
गीत नयाँ गाता हूं
टूटे हुए तारों से फूटे बासंती स्वर
पत्थर की छाती मे उग आया नव अंकुर
झरे सब पीले पात कोयल की कुहुक रात
प्राची में अरुणिम की रेख देख पता हूं
गीत नया गाता हूं
टूटे हुए सपनों की कौन सुने सिसकी
अन्तर की चीर व्यथा पलकों पर ठिठकी
हार नहीं मानूंगा, रार नहीं ठानूंगा,
काल के कपाल पे लिखता मिटाता हूं
गीत नया गाता हूं

तीन पटक प्रधानमन्त्री 

भाजपाको संस्थापक मध्येका एक वाजपेयी तीन पटक देशको प्रधानमन्त्री बने। उनी भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित गरेका छन्।

उनी १० पटक सम्म लोकसभाको सदस्य भए। उनी भारतको इतिहासमा दोस्रो लोकसभा देखि १४ औँ लोकसभासम्म सांसदमा निर्वाचित भए। यसबीचमा उनी १९८४ मा एक पटक लोकसभाबाट बाहिर भए। १९८४ मा ग्वालियरबाट कांग्रेसका माधवराव सिन्धियासँग पराजित भएका थिए। 

यसबीच उनी १९६२ र १९८६ मा राज्यसभाको सदस्यमा समेत निर्वाचित भएका थिए। १६ मे १९९६ मा उनी पहिलो पटक प्रधानमन्त्री बने। तर उनी लोकसभामा विश्वासको मत लिन नसक्दा ३१ मे मा राजिनामा दिए। इतिहासमा उनी १५ दिन प्रधानमन्त्रीको रुपमा पदमा रहे। यसपछि उनी सन् १९९८ सम्म लोकसभामा विपक्षी दलको नेताको रुपमा रहे। 

१९९८ को निर्वाचनमा अन्य पार्टीको सहयोगमा उनले आफ्नो गठबन्धनको बहुमत सावित गरे र फेरि उनी प्रधानमन्त्री बने। पछि एआईएडीएमकेले गठबन्धनबाट समर्थन फिर्ता लियो। उनको सरकार फेरि ढल्यो। र फेरी चुनाव भयो। 

सन् १९९९ मा पुन: चुनाव भयो। राष्ट्रिय जनतान्त्रिक गठबन्धनले साझा घोषणापत्र लिएर मैदानमा उत्रिए। त्यतिवेला गठबन्धनको पहिलो एजेण्डा बाजपेयीलाई प्रधानमन्त्री बनाउनु थियो। यसपटक भने उनी पाँच वर्षका लागि प्रधानमन्त्री बने।

राजनेताका रुपमा स्थापित उनको कमजोर अवस्था भएपछि मिडियाले उनको सिंगो तस्बिर सार्वजनिक गरेनन्। रोगले गाल्दै गएको उनको जिर्ण शरीरलाई मिडियामा नदेखाइ सम्मान गरियो। आज काव्यिक व्यक्तित्वका धनी भारतीय राजनीतिका एक अब्बल राजनेता सधैका लागि विदा भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell