PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

३३ किलो सुन प्रकरणः  थुनछेक बहस सुरु, तीन अभियुक्तलाई थुनामै राख्न अदालतको आदेश



अनन्तराज न्यौपाने

३३ किलो सुन प्रकरणः  थुनछेक बहस सुरु, तीन अभियुक्तलाई थुनामै राख्न अदालतको आदेश

विराटनगरः ३३  किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका तीन आरोपीलाई उच्च अदालत विराटनगरले मोरङ जिल्ला अदालतकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनालाई निरन्तरता दिएको छ ।

पुर्पक्षका लागि थुनामा निरन्तरता पाएकामा सम्बीरप्रसाद तोलाङ्गे, पुण्यप्रसाद लामा र राजनकुमार छन्। सम्बीरप्रसाद र पुण्यप्रसादको सुनुवाइमा उच्च अदालतका मुख्य न्यायाधीश डाक्टर कुलरत्न भुर्तेल र उमेशकुमार सिंहले जिल्लाकै आदेश सदर गरेका हुन्।

सम्बीरका तर्फबाट रमिता महर्जन र पुण्यका तर्फबाट रमितासहित हरिनारायण चौधरी र उद्धवप्रसाद घिमिरेले बहस गरेका थिए ।

त्यस्तै नेपाल सरकारका तर्फबाट सम्बीरका विपक्षमा सहायक जिल्ला न्यायाधिवक्ता पदमप्रसाद बस्ती र पुण्यका विपक्षमा जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठक र सहा जिल्ला न्यायाधिवक्ता बस्तीले बहस गरेका थिए । अर्का अभियुक्त राजनकुमारका हकमा पनि उच्च अदालतले मोरङ जिल्ला अदालतकै आदेश सदर गर्दै पुर्पक्षका लागि थुनालाई निरन्तरता दिएको छ ।

उच्च अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतको  गत जेठ ८ को आदेश बेरीतको नदेखिएको हुँदा परिवर्तन गर्नु नपर्ने आदेश दिएको हो ।

उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र ऋषिराम दवाडीको संयुक्त इजलासले राजनकुमारको सुनुवाइ एवम् आदेश गरेको हो ।
राजनकुमारका तर्फबाट अधिवक्ताद्वय विकास थापा र यामबहादुर मगरले तथा सरकारका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता पदमप्रसाद बस्तीले बहस गरेका थिए ।

अदालतका रजिस्ट्रार नवराज दुलालका अनुसार प्रतिवादीहरू सञ्जय राउत, हेमन्त गौतम, दिवेश लोहनी, गोविन्द निरौला र विकासराज खनालका हकमा अलगअलग सुनुवाइ गर्ने आदेश भएको छ ।

पाँचै अभियुक्तको एउटै कैफियत भएको हुँदा छुट्टाछुट्टै कैफियत गर्नू भन्ने आदेश उच्च अदालतका न्यायाधीशद्वय थिरबहादुर कार्की र जनक पाण्डेले गरेका हुन् ।अर्का अभियुक्त राजन थापाको बहस र सुनुवाइ बिहीबार नभ्याइएको रजिस्ट्रार दुलालले बताए ।

अदालती बन्दोबस्तको १७ नम्बरअनुसार ३० अभियुक्तले थुनछेकको निवेदन दिएका छन् । उच्च अदालत विराटनगरमा प्रत्येक बिहीबार थुनछेकको बहस र सुनुवाइ गरिन्छ । आजदेखि बहस र सुनुवाइ सुरु भएको हो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell