PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भदौ महिनाभर व्यस्त नेपाली खेलकुद : एसियन गेम्स, क्रिकेटमा एसिया कप छनोटदेखि फुटबलमा साफ च्याम्पियनसम्म



गोविन्दराज नेपाल

भदौ महिनाभर व्यस्त नेपाली खेलकुद : एसियन गेम्स, क्रिकेटमा एसिया कप छनोटदेखि फुटबलमा साफ च्याम्पियनसम्म

काठमाडौँ : नेपाली खेलकुदका लागि २०७५ साल भदौ महिना निकै व्यस्त छ। एसियाली खेलकुदको सबैभन्दा ठूलो खेल मेला एसियन गेम्स यही महिना हुँदैछ। एसियन गेम्स अन्तर्गत फुटबलतर्फ नेपाललले दुई खेल खेलिसकेको छ र दुवै खेल हारेको नेपाल समूह चरणबाट बाहिरिसकेको छ।

क्रिकेटमा नेपाली राष्ट्रिय टोली एसिया कप क्वालिफायर खेल्दैछ भने यसै महिना राष्ट्रिय फुटबल टोलीले बंगलादेशमा साफ च्याम्पियनसिप खेल्नेछ।

अन्य राष्ट्रको जस्तै नेपालको पनि लक्ष्य सबै खेलमा सफल हुने नै हो। एसियन गेम्समा नेपालले सके स्वर्ण नसके रजत सम्मको लक्ष्य राखेको छ।

क्रिकेटमा बाँकी ५ टिमलाई पछि पार्दै नेपाल एसिया कपमा छनोट हुन चाहन्छ।

उता अहिलेसम्म सेमिफाइनलभन्दा अघि बढ्न नसकेको नेपालले साफ च्याम्पियनसिपमा फाइनल पुग्दै खराब कीर्तिमान तोडेर उपाधि जित्ने लक्ष्य राखेको छ।

एसियन गेम्समा पनि नेपालको यू-२३ फुटबल टोलीले प्रतिस्पर्धा गरिरहेको छ। पहिलो खेलमा एसियाली पावर हाउस जापानको युवा टोलीसँग १-० ले मात्र हारेको नेपाल दोस्रो खेलमा भियतनामसँग भने २-० ले पराजित भयो। समूह चरणबाट बाहिरिसकेको नेपालले समूह डी को अन्तिम खेल पाकिस्तानसँग प्रतिष्ठाका लागि खेल्दैछ। सन् १९८६ मा वाइबी घलेले नेपालका लागि कुवेत विरुद्ध एसियन गेम्समा गोल गरेयता नेपालले गोल गर्न सकेको छैन। पाकिस्तान विरुद्ध गोल गर्दै नेपालले एसियन गेम्समा अर्को गोल थप्न सक्नेछ।

फुटबलबाहेक नेपाले एसियन गेम्समा अन्य २८ खेलमा प्रतिस्पर्धा गर्दैछ। फुटबल लगायत केही खेलहरु अगाडी देखि नै सुरु भएपनि १८औँ एसियन गेम्सको औपचारिक उद्घाटन भदौ २ गते इन्डोनेसियाको जाकार्तामा हुनेछ।

एसियन गेम्समा यस पटक क्रिकेट समावेश छैन। तर नेपालले भदौ महिनाको मध्यतिर एसियाका टेष्ट प्लेइङ नेशनले खेल्ने ५० ओभरको क्रिकेट एसिया कपमा स्थान बनाउन अन्य ५ एसोसिएट राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछ। २२ वर्षिय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा पहिलो पटक वान डे इन्टरनेशनल स्ट्याटस पाएर नेदरल्याण्ड्स विरुद्ध २ खेलको पहिलो ओडिआई सिरिज खेलेको नेपाली क्रिकेट अहिले उत्साहित छ।

नेपालले एसिया कप क्वालिफायरका लागि क्लोज क्याम्प समेत सुरु गरिसकेको छ।

युएईसँग क्वालिफायरमा हुने खेलले ओडिआई मान्यता पाउनेछ र नेपालको ओडिआई खेलसंख्या थपिनेछ। यस्तै नेपाल र युएई फाइनल पुगे नेपालको खातामा ओडिआई खेल नम्वर ४ हुनेछ। त्यसले ओडिआई वरियतामा पर्न नेपाललाई सहयोग गर्नेछ।

ओलम्पिक टोलीले खेल्ने एसियन गेम्स पुटबलबाट नेपाल बाहिरसकेकाले अब नेपालको ध्यान बंगलादेशमा भदौ अन्तिममा हुने साफ च्याम्पियनसितर्फ रहनेछ। दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने साफ च्याम्पियनसिपमा नेपाललले उपाधि जित्ने लक्ष्य राखेको छ एसियन गेम्सअघि नेपालले थाइल्याण्डमा १० दिनको क्याम्प राखेको थियो। तर खेलेको दुवै मैत्रीपूर्ण खेलमा नेपालले खराब नतिजा निकाल्यो।

 

एसियन गेम्स

अगष्ट १८ देखि सेप्टेम्वर २ (भदौ २ देखि १७ गतेसम्म)

एसियाका ४५ राष्ट्र सहभागि

४० खेल समावेश

नेपालले प्रतिस्पर्धा गर्ने खेल २९

नेपाली खेलाडी १८५

राजधानी जाकार्ता र पालेमबाङमा हुने खेल मेलामा ४० खेलका ४६२ इभेन्ट्स समावेश छन्।

सन् २०१४ मा दक्षिण कोरियामा भएको १६औं एसियन गेम्समा नेपालले एक कास्य मात्र जितेको थियो।

 

एसिया कप क्वालिफायर क्रिकेट

अगष्ट २९ देखि सेप्टेम्वर ६ सम्म (भदौ १३ देखि २१ गतेसम्म)

एसियाका ६ एसोसिएट राष्ट्र सहभागी

नेपाल, युएई, हङकङ, ओमान, मलेसिया, सिंगापुर

राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने र विजेता एसिया कपमा छनोट हुने। छनोट हुने टिमले एसिया कपको समूह चरणमै भारत र पाकिस्तानसँग खेल्ने

 

साफ च्याम्पियनसिप फुटबल

सेप्टेम्वर ५ देखि १६ (भदौ २० देखि ३१ गतेसम्म)

दक्षिण एसियाका ७ राष्ट्र सहभागी

नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, भुटान, पाकिस्तान

समूह ए : बंगलादेश, नेपाल, पाकिस्तान, भुटान

समूह बी : भारत श्रीलंका माल्दिभ्स

 

दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

अहिलेसम्म नेपाल साफमा फाइनल पुग्न सकेको छैन। भारतले सर्वाधिक ७ पटक उपाधि जित्दा माल्दिभ्स, बंगलादेश, अफगानिस्तान र श्रीलंका एक-एक पटक च्याम्पियन भएको छ।

पाकिस्तान एक पटक फाइनल पुगेको छ भने भुटान सेमिफाइनल सम्म पनि पुगेको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell