PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महर्जन परिवार र रोजी टिमबीच सम्झौता, अब फिल्मको नाम 'रोज'



पहिलोपोस्ट

महर्जन परिवार र रोजी टिमबीच सम्झौता, अब फिल्मको नाम 'रोज'

काठमाडौँः सात वर्षअघिको रोजी महर्जन हत्याकाण्डमा आधारित फिल्म 'रोजी'को टाइटल परिवर्तन भएको छ।

नानीमैया महर्जनले मृतक छोरीको हत्या घटनासँग 'रोजी'को कथा मिलेको भन्दै फिल्मको नाम परिवर्तन गर्न दबाव दिएपछि निर्माण टिमले फिल्मको नाम परिवर्तन गरेको हो। टिमले आगामी २२ भदौबाट प्रदर्शनमा आउने फिल्मको नाम 'रोज' राखेको हो।

विहिबार चलचित्र विकास बोर्डमा निर्माता निर्देशक नीरक पौडेल, निर्माता मणिकरण केसी र मृतक रोजी महर्जनको परिवारबाट गोबिन्द महर्जन एवम् नानीमैयाबीच वार्ता सम्पन्न भयो। महर्जन परिवारले फिल्मको निर्माणको सुरु देखि नै यस्तो दाबी गर्दै यो नाम नराख्न दबाव दिँदै आएका थिए।

दुई पक्षीय वार्तामा अब निर्माण पक्षले फिल्मको नाम 'रोजी' नराख्ने, सत्य घटनामा आधारित रहेको भन्ने उल्लेख नगर्ने सम्झौता गरे। यस्तै महर्जन परिवारले पनि आगामी २२ भदौमा प्रदर्शनमा आउने फिल्मलाई कुनै पनि प्रकारको बाधा नपुर्‍याउने सम्झौता गरे। फिल्मको नाम परिवर्तनबारे निर्देशक पौडेलले भने ‘मृतकको संवेदनालाई मध्यनजर राखेर हामीले नाम परिवर्तन गर्ने निर्णय गरेका हौं। कानुनी रुपमा हामी माथि हुँदाहुँदै पनि कसैको संवेदनालाई बिक्री गरेर पैसा कमाउनु हुन्न भन्ने हाम्रो मान्यता रहको छ।’

गोपिकृष्ण मूभिजको व्यानरमा निर्मित फिल्ममा अभिनेता प्रदीप खड्का, परमिता राणा, मिरुना मगर, कर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ।

  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell