PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अस्ट्रेलियाली छात्रले गरे एप्पलको सिस्टम ह्याक, ९० जिबी फाइल डाउनलोड गरेको पुष्टि



 अस्ट्रेलियाली छात्रले गरे एप्पलको सिस्टम ह्याक, ९० जिबी फाइल डाउनलोड गरेको पुष्टि
फोटो : AFP

सिड्नी : एप्पल कम्प्युटरमा काम गर्ने सपना बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली नै ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन्। 

अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालतमा भएको सुनुवार्इका क्रममा ती छात्रले मेलबोर्नमा अवस्थित आफ्नो घरबाटै एप्पलको मेनफ्रेम कम्प्युटरमा अनधिकृत रुपमा प्रवेश गरी ९० जिबी बराबरका गोप्य फाइल डाउनलोड गरेका स्वीकार गरेका छन्। 

एप्पलको सिस्टम ह्याक गर्दा ती स्कुले छात्रको उमेर १६ वर्ष थियो । अमेरिकी कम्पनी एप्पलमा काम गर्ने सपना साँचेका ती छात्रले एक वर्षको बीचमा पटकपटक कम्प्युटर प्रणालीमा प्रवेश गरेको उनका वकिलले बताएको द एजले उल्लेख गरेको छ। 

एप्पलले ती छात्रले कम्प्युटर सिस्टममा प्रवेश गरेको प्राविधिकको टोलीले पत्ता लगाएपछि कानुन कार्यान्वयन इकाईमा उजूरी गरेको थियो।एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ। 

उक्त घटनाका सम्बन्धमा एफबीआई र अस्ट्रेलियाली संघीय प्रहरीले संयुक्त रुपमा अन्तर्राष्ट्रिय स्तरमै अनुसन्धान गरेको थियो। संघीय प्रहरीले अदालतमा अझै विचाराधीन मुद्दा रहेकोले यस बारेमा टिप्पणी गर्न अस्वीकार गरेको छ। 

द एजका अनुसार प्रहरीले गत वर्ष ती स्कुले छात्रको घरमा छापा मारेको र ह्याक गर्दाका फाइल एवं अन्य विवरण सुरक्षित राखेका फोल्डर बरामद गरेको थियो। छापा हान्ने क्रममा दुईवटा एप्पल ल्यापटप र भित्री प्रणालीमा पहुँच रहेका सिरियल नम्बर फेला परेको अभियोजन पक्षका एक वकीलले बताएका छन्। ह्याक गर्न प्रयोग गरिएको मोबाइल फोन र हार्ड ड्राइभ पनि प्रहरीले बरामद गरेको थियो। 

अदालतमा  स्कुले छात्रले आफ्नो गल्ती गरेको स्वीकार गरेका छन्। अर्को महिना उनीमाथिको सजाय सुनाइने बताइएको छ। रासस/एएफपी
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell