PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एक 'भिलेन'को सक्सेस स्टोरी : सफल हुन त रिजेक्ट हुनुपर्ने रहेछ



रीना मोक्तान

एक 'भिलेन'को सक्सेस स्टोरी : सफल हुन त रिजेक्ट हुनुपर्ने रहेछ

एक समयको चर्चित पप गीत 'च्याङ्ग्बा हे च्याङ्ग्बा…' आज पनि दर्शकको मन मस्तिष्कबाट मेटिएको छैन। गीतको भिडियोमा मौसमी गुरुङ, क्रान्ति आले फिचर्ड थिए। भिडियोमा फिचरिङ कोरसहरुमध्येमा एक थिए, अनुप बिक्रम शाही। सायद आज पनि कतिलाई गीतका कोरसहरुमा उनलाई ठम्याउन गाह्रो पर्छ। तर, यही गीतको म्युजिक भिडियो अनुपको पहिलो म्युजिक भिडियो बन्यो। डेब्यु भिडियो। 

पहिलो म्युजिक भिडियो गर्दाका समय सम्झे- 'कतिले मलाई त्यो भिडियोबाट पनि चिन्नुहुन्न होला। दुब्लो, लम्बु थिएँ। त्यसपछि आस्था पोख्रेलसँग 'एक्काइसौं सदी'मा म्युजिक भिडियो गरेँ।' 

यसरी म्युजिक भिडियोबाट अनुपले आफ्नो करियर सुरु गरेका थिए।

१० वर्ष पहिले २ ‍ओटा म्युजिक भिडियो गरिसकेपछि पढाइका लागि अमेरिका जाने सोचेका थिए अनुपले। तर, भिजा नै रिजेक्ट भयो। 

त्यसपछि नेपाली फिल्म क्षेत्रमा करियर बनाउन लागि परे। अनि सुरु भयो संघर्षका दिन। 

सुरुमा फिल्महरुमा अडिसन दिए। तर, अवसर जुटेन। परिवारका अन्य कोही फिल्म क्षेत्रसँग आबद्ध नरहेकाले धरै संघर्ष गर्नुपरेको उनको तर्क छ। 

'दुई तीनवटा फिल्ममा अडिसन दिएँ। चान्स पाइन। तथास्तु भन्ने कोही थिएन। सानोतिनो फिल्म गर्दै आएँ,' उनले सुनाए, 'एक फिल्मकर्मीले अनुप फिल्मको पोस्टरमा मात्र सुहाउँछ, अभिनय गर्न सक्दैन भनेर निकाल्दिए। मन दुख्यो।´ 

फिल्म त फिल्म 'स्टेज सो'मा पनि उनी अटाएनन् पटकपटक।

'कति फिल्म अनि 'सोज'का लागि म 'रिजेक्ट' भएँ। ठूलो ब्यानर, सानो ब्यानर थाह भएन, मलाई फिल्ममा ब्रेकमात्र चाहिएको थियो,' त्यतिखेर स्थिति सम्झे। 

बिस्तारै फिल्म पाउनेक्रम सुरु भयो। उनको डेब्यु फिल्म 'सौर्य'। तर, पहिलो फिल्म नै चलेन। दोश्रो फिल्म 'द्रव्य'। त्यो पनि सफल भएन।

एकपछि अर्को असफलताबीच पनि उनलाई बुवाले विदेश जान धेरै कर गरेनन्। हाँस्दै सुनाए, 'पुलिस र आर्मीको छोरा कहाँ नौटंकी गर्न लाग्या भन्नुहुन्थ्यो बुवा। अमेरिका नभए अरु देश जान भन्नुहुन्थ्यो। मेरो हजुरबुवा डिएसपी हुनुहुन्थ्यो।' 

उनले आर्मीको लागि तयारी पनि गरेका थिए। तर, बाइक दुर्घटनाका कारण अप्लाइ गर्न सकेनन्। 

फिल्ममा रिजेक्ट हुँदाका दिनहरु उनले सधै सम्झन्छन्। 'सुरूमा फिल्मकर्मी मलाई विश्वास गर्थेनन्। तर मनमा मिहिनेत गर्छु, घिर्स्रेर भएर पनि पुग्छु भन्ने थियो।' 

जति ठक्कर खाए पनि लक्षप्रति अविचलित रहे। 

'आज थाह भयो सफल हुन रिजेक्ट हुनुपर्ने रहेछ। तर हार मान्नु भएन,' उनले थपे। 

त्यसपछि निर्देशक मिलन चाम्सले 'हँसिया'मा अनुपलाई लिए। मिलनले फेसबुकको माध्यमबाट उनलाई छानेका थिए। 'हँसिया' चल्यो। फिल्मले दर्शकबीच अनुपलाई चिनायो। यसै फिल्मबाट फिल्मी यात्रा सुरु गरेको मान्छन् अनुप। त्यसपछि उनलाई फिल्मको अफर आउन थाल्यो। हँसिया गरिरहँदा म्यान्ट हन्ट अन्तर्राष्ट्रिय नेपाल प्रतियोगितामा सहभागी भए। उनी 'प्रोस्टाइल म्यान्ट हन्ट अन्तर्राष्ट्रिय नेपाल २०१३'को विजेता भए। यो उपाधीले पनि दर्शकमा चिनायो। अहिले उनी लगातार फिल्महरुमा देखिन्छन्। 

भने, 'सबै फिल्ममा मिहिनेत गर्दै थिएँ। म यो क्षेत्रमा काम गर्छु नै भनेर सोचेको थिएँ। मलाई यहाँ पुग्नलाई आठ वर्ष लाग्यो।'
 
अहिले उनले चलेका कलाकार दयाहाङ राई, प्रदीप खड्का, निखिल उप्रेती, अनमोल केसी, सौगात मल्लसँग काम गरिसकेका छन्। फिल्म हँसियाबाट उनले चार वटा त अवार्ड नै पाए। सानैदेखि सुनिल थापाबाट प्रभावित उनी अधिकांश फिल्ममा नकरात्मक भूमिकामा देखिन्छन्। 

'हँसिया'बाट दर्शकले पनि नकारात्मक भूमिकामा रूचाएकाले आफूलाई थप यस्तै भूमिका गर्न उत्साह मिलेको बताउँछन् उनी। यो वर्ष अनुप अभिनित फिल्महरू तीन/तीन महिनको फरकमा प्रदर्शनमा आउने छन्। भविष्यमा भने वर्षको दुईटा मात्र फिल्म गर्ने उनको योजना छ। झट्ट हेर्दा हिरो जस्तै देखिने अनुप आफूलाई स्मार्ट भिलेन भन्न रूचाउँछन्। 

उनी मुख्य भूमिकामा देखिएका फिल्म  फिल्महरूमध्ये 'जय शम्भु' एक हो। यो अनुपको १२ औं फिल्म हो। उनले पछिल्लो समय 'हुर्रे'देखि 'कृ' सम्मको फिल्म गरेका छन्। 'जायरा', 'कप्स', 'पुरानो बुलेट', 'पास्वर्ड' अनुप अभिनित फिल्महरू हुन्। तीन फिल्मको छायाँकन सकिएको छ। दुई फिल्मका छायाँकन हुन बाँकी। फिल्म 'जय शम्भु' एक्सन जनारामा बनेको फिल्म हो। 

नकारात्मक पात्रका विषयमा उनी सकारात्मक छन्। 'हँसियाबाट नकारात्मक पात्रमा अभिनय गरेको थिएँ। दर्शकले नकरात्मक भूमिका रुचाइदिनु भयो।  अहिलेको युग अनुसार भिलेन पनि स्मार्ट हुन सक्छन् भन्ने ट्रेन्ड ल्याउन खोजेको हुँ। जो पनि हिरो बन्न आउँछन् तर भिलेनबिनाको फिल्म हुँदैन,' उनले भने।

उनी मुख्य भूमिकामा देखिएको अर्को फिल्म 'कमलेको बिहे' हो। फिल्मको प्रदर्शन टुङ्गो छैन। यो फिल्मबाट धेरै आशा राखेका थिए। तर, निर्माताहरुको मनमुटावका कारण फिल्मको प्रदर्शन अझै अलमलमा छ। 

कहिलेकाहीँ फिल्मको स्क्रिप्ट राम्रो भए पनि मेकिङले गर्दा आफूले गरेका कतिपय फिल्म असफल भएको बताउँछन् अनुप। 
दर्शकले ह्याण्डसम हिरोको उपनाम दिएकोमा दंग पनि छन्।  

अनुप एकै कसिमको फिल्म गर्न रुचाउँदैनन्। उनका युवती फ्यान भन्दा पनि युवा फ्यान धेरै छन्। स्टाइलको फ्यान धेरै। 

उनी म्यान हन्ट इन्टरनेश्नल नेपालको बोर्ड सदस्य पनि हुन्। भन्छन्, 'म्यान हन्टको विजेता भएपछि मैले पछाडि फर्केर हेर्नुपरेन।'

हाल उनी 'डिस होम', 'क्याप्सुल नाइन'का ब्रान्ड अम्बेस्डर हुन्। 'होन्डा' र 'बर्जर पेन्ट'का ब्रान्ड अम्बेस्डर रहेका थिए। 

उनले बलिउड गीतको भिडियो पनि गरेका छन्। उनी भन्छन्, 'जसलाई पनि अघि बढ्न मन लाग्छ। बलिउडमा चान्स पायो भने किन नगर्ने? सबै काम गर्छु।'

भोलिका दिनमा निर्देशक या त निर्माताको रुपमा फिल्म क्षेत्रमा रहने योजनामा छन् अनुप। भने, 'भोलि मेरो उमेरले पनि त साथ दिन छोड्छ। फिल्म क्षेत्रमा बाँच्ने मर्ने मान्छे हुँ। यो क्षेत्रलाई नै मेरो जीवन भनेर बसेको छु। जिन्दगीभर फिल्म पाइरहन्छु भन्ने त छैन। भविष्यमा कलाकार नभए पनि निर्माण र निर्देशनबाट पनि आउन सक्छु। तर यो क्षेत्र छोड्दिन। 

३२ वर्षीय अनुपलाई अहिले घरमा बिहेका दबाव आउन थालेको छ। तर, आफूलाई सिंगल बताउने बिहे गर्ने सोचमा भने छैनन्। अहिले आफ्नो करियरमा नै केन्द्रित हुन चाहन्छन्। 

विदेश घुम्न रुचाउने अनुप बाइकका शोखिन हुन्। ड्रिम बाइक थियो, डुकाटी। 'डुकाटी चढ्न पाए हुन्थ्यो मनमा पहिलेदेखि। डुकाटी किनेँ ३५ लाखमा।' उनले रहरको बाइक किन्न ८ वर्ष लागेको उनले सुनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell