PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एक ग्लोबल 'स्टेट्स्म्यान'को देहावसान



पहिलोपोस्ट

एक ग्लोबल 'स्टेट्स्म्यान'को देहावसान

संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको ८० वर्षको उमेर शनिवार स्वीटजरल्यान्डमा निधन भएको छ। 

कोफी अन्नानको मृत्युबारे जानकारी दिँदै कोफी अन्नान फाउन्डेसनले उनलार्इ 'ग्लोबल स्टेट्सम्यान' भनेको छ। फाउन्डेसनले अन्नानले एक कुटनितिज्ञको रुपमा सदा विश्वमा शान्ति स्थापना गर्न कोसिस गरेको बताएको छ।   

कोफी अन्नानलार्इ संयुक्त राष्ट्र संघको सफल महासचिवको रुपमा लिइन्छ। अन्नानले १९९७ देखि २००६ सम्म दुर्इ कार्यकाल संयुक्त राष्ट्र संघका महासचिवका रुपमा काम गरेका थिए।  अन्नान संयुक्त राष्ट्र संघको महासचिव बन्ने पहिलो अश्वेत अफ्रिकी नागरिक थिए।

अन्नान घानाको कुमासी भन्ने स्थानमा सन् १९३८ अप्रिल ८ मा जन्मेका थिए। घानाको एक प्रतिष्ठित विद्यलयबाट प्रारम्भीक शिक्षा हासिल गरेका अन्नानले कुमासीमै रहेको कलेज अफ साइन्स एन्ड टेक्नोलोजीमा भर्ना भएका थिए। अर्थशास्त्रमा स्नातक गरे पछि उनी उच्च शिक्षाका लागि स्वीटजरल्यान्डको जेनेभा पुगेका थिए। 

उच्च शिक्षा हसिल गर्ने क्रममा उनले संयुक्त राष्ट्रसंघ अन्तर्गत रहेको विश्व स्वास्थ्य संगठनमा एडमिनिस्ट्रेटिभ र बिजनेस अफिसरका रुपमा काम गर्न सुरु गरेका थिए। कामको सिलसिलामा इथोपिया, न्यूयोर्क लगायतका शहर पुगेका अन्नानले उच्च शिक्षा हसिल गरेपछि घाना फर्कने सोच बनाएका थिए। 

तर, १९७२ मा स्नातकोत्तर सकेपछि भने उनले न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको कार्यालयमा काम गर्न सुरु गरे।  

१९७४ अन्नानलार्इ संयुक्त राष्ट्रसंघको इमर्जेन्सी फोर्समा चिफ सिभिलियन अफिसरका रुपमा खटाइयो। उनले सोही वर्ष संयुक्त राष्ट्रसंघको जागिर छोडी घानाको पर्यटन विकास कम्पनीमा प्रबन्ध निर्देशक बनेका थिए।

अन्नान १९७६ मा पुन संयुक्त राष्ट्र संघमा फर्केका थिए। उनले ७ वर्षसम्म संयुक्त राष्ट्रसंघको जेनेभास्थित कार्यालयमा काम गरे। १९८३ मा उनी न्यूयोर्कमा सरुवा भए। त्यही क्रममा उनले विभिन्न शान्ति मिसनदेखि राष्ट्रसंघमा व्यवस्थापकीय भूमिकामा रहेर काम गरेका थिए। 
अन्नानले १९९० मा कुवेतले गरेको आक्रमणमा इराकमा बन्धक बनाइएका व्यक्तिहरुको रिहाइका लागि मध्यस्थकर्ताको भूमिका निभाएका थिए। संयुक्त राष्ट्रसंघमा रही महत्वपूर्ण भूमिका निभाएले १९९६ डिसेम्बरमा संयुक्त राष्ट्रसंघ सभाले उनलार्इ संयुक्त राष्ट्रसंघको महासचिव पदमा नियुक्त गरेको थियो। 

महासचिव भएपछि उनले संयुक्त राष्ट्र संघलार्इ व्यवस्थापकीय र आर्थिक रुपमा सुधार गर्न धेरै प्रयास गरेका थिए। उनले आफ्नै मातहतमा रहेको संयुक्त राष्ट्र संघ मानव अधिकार परिषद्ले विश्वसनीयता गुमाएको प्रतिक्रिया दिएका थिए। 

सन् १९९८ मा सद्दाम हुसेनसँग वार्ताका लागि गरेको प्रयासले उनलार्इ सफल कुटनीतिज्ञका रुपमा हेर्न थालियो। बाल मृत्युदर, गरिबी जस्ता विषयलार्इ निरुत्साहित गर्न ल्याइएको 'सहश्राव्दी विकास लक्ष' कार्यक्रम उनको प्रमुख उपलब्धी रहेको थियो। 

२००१ मा संयुक्त राष्ट्रसंघको महासचिवका रुपमा उनी दोस्रो कार्याकालका लागि अनुमोदन भएका थिए। नाइजेरियामा नागरिक सर्वोच्चता कायम गराउन, इस्ट टिमोरलार्इ इन्डोनेसियाबाट स्वतन्त्र गराउन, र सुडान, इराक जस्ता राष्ट्रमा शान्ति स्थापना गराउनका लागि अन्नानले महत्वपूर्ण भूमिका खेलेका थिए। 

विश्वमा मानवीयता कायम गराउन पुराएको योगदानलाई लिएर संयुक्त राष्ट्रसंघ र राष्ट्रसंघका महासचिवका रहेका कोफी अन्नानलार्इ २००१ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो। नोबेल पुरस्कार कमिटीले कोफी अन्नानले संयुक्त राष्ट्रसंघ जस्तो शान्ति संगठनलार्इ नयाँ जीवन दिएको बताएको थियो। साथै अन्नानको नेतृत्वमा संयुक्त राष्ट्रसंघले नागरिकहरुको नैसर्गिक अधिकारको रक्षा गर्दै आतंकवादलार्इ पराजित गर्न र एड्स जस्तो रोगसँग लड्न प्रभावकारी भूमिका निभाएको उल्लेख गरेको थियो। 

२००६ मा महासचिवको जिम्मेवारीबाट मुक्त भएका अन्नानले २००७ मा कोफी अन्नान फाउन्डेसन खोलेका थिए। उक्त फाउन्डेसनले विश्वमा शान्ति स्थापना गर्ने कार्यमा सहयोग गर्दै आएको छ। 

पछिल्लो पटक उनलार्इ २०१२ फेब्रुअरीमा सिरियामा संयुक्त राष्ट्र संघ र अरब राष्ट्रहरुका तर्फबाट शान्तिदूतका रुपमा पठाइएको थियो। उनले सिरियामा शान्ति स्थापना गराउन छ सूत्रीय योजना सार्वजनिक गरेका थिए। तर, सिरियाको बसर अल असादको सरकार, विद्रोही र सुरक्षा परिषदले शान्ति स्थापना गर्न चासो नदिएको भन्दै अगस्ट महिना मै उनले राजीनामा दिएका थिए। 

२०१२ मा उनले आफ्नो जीवनमा आधारित भर्इ लेखेको किताब 'इन्टर्भेन्सन्स : अ लाइफ इन वार एन्ड पिस' भन्ने किताब सार्वजनिक गरेका थिए।

सफल कुटनीतिज्ञका रुपमा स्थापित कोफी अन्नानको आज असमायिक निधन भएको छ। उनले विश्व शान्ति लागि पुर्‍याएको योगदानलार्इ विश्वले सम्झिरहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell