PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

वाजपेयीको नेपालप्रतिको दृष्टिकोण र माओवादीप्रतिको नीति



वाजपेयीको नेपालप्रतिको दृष्टिकोण र माओवादीप्रतिको नीति

  • भेषबहादुर थापा -
संयोग र सौभाग्यको कुरा हो, अटल विहारी वाजपेयीसँग मेरो धेरै अगाडिदेखि परिचय थियो। उहाँ विदेशमन्त्रीको रुपमा नेपाल आउँदासमेत हाम्रो भेट भएको थियो। उहाँ संयुक्त राष्ट्रसंघको सभामा भारतको प्रतिनिधि भएर न्यूयोर्क जाँदा म पनि त्यही थिएँ। उहाँ नेपालको दूतावासमा समेत आउनुभएको थियो। त्यतिवेला उद्धवदेव भट्ट हाम्रो राजदूत हुनुहुन्थ्यो।

त्यसपछि अर्को संयोग, १९९७ मा जब म भारतका लागि राजदूत नियुक्त भएर दिल्ली गएँ, त्यतिवेला बेलामा आइके गुजराल भारतको प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ धेरै दिनसम्म प्रधानमन्त्री रहनुभएन। चुनाव भयो र अटल विहारी बाजपेयी प्रधानमन्त्री हुनुभयो। त्यस बेलामा मिलिजुली सरकार थियो। १३ दिनभित्रै उहाँले राजिनामा दिनु पर्‍यो। तर, त्यसपछि भएको निर्वाचनले उहाँलाई पुन: प्रधानमन्त्री बनायो। उहाँले त्यसपटक पाँच वर्षे कार्यकाल पूरा गर्नुभयो। 

म त्यसबेलामा राजदूतको हैसियतमा दिल्लीमा नै थिएँ। पहिले नै परिचय भएको हुनु र उहाँका सहयोगी साथीहरुसँग पनि परिचय भएकाले हामीहरुबीच भेटघाट सजिलै हुन्थ्यो। भारतको प्रधानमन्त्रीलाई एउटा देशको राजदूतले भेट्नु भनेको विशेष अवसरहरुमा मात्रै हो, नत्र सामान्य रुपमा समय पाइँदैन्थ्यो। 

नेपाललाई माया गर्ने, नेपाली प्रति सकारात्मक

उहाँले बेला बेलामा नेपालको बारेमा चिन्ता व्यक्त गरिराख्नु हुन्थ्यो। कुनै अवसर मिल्यो भने ‘थापाजी…’ भनेर कुरा गर्नुहुन्थ्यो।

उहाँको नेपालप्रतिको धारणा सकारात्मक थियो। र, कता कता उहाँको चाहिँ संस्कृत धर्मप्रतिको विशेष धारणाका कारण नेपाललाई पुण्यभूमिका रुपमा मान्नुहुन्थ्यो। धार्मिक हिसावले उहाँ आफैँ चाहिँ गहिरो विचार राख्नु हुन्नथ्यो। उहाँको पार्टीको र उहाँको धारणा चै राष्ट्रवादमा अडिग थियो। नेपालको राजदूत भएकाले मैले अपक्षेभन्दा बढी सद्भाव पाउँथे।

भारतको राज्य सञ्चालनको प्रक्रिया बढो जटिल हुँदोरहेछ। हाम्रो देशको जस्तो व्यक्तिगत धारणालाई राष्ट्रको धारणा त्यहाँ बनाइँदैन। विधानमा आधारित हुन्छ धारणा, सत्ता पक्ष होस् अथवा प्रतिपक्ष सबैले मान्छन्। राष्ट्रिय सुरक्षाको विषयलाई उनीहरुले बढी ध्यानमा राख्छन्। छानिएका व्यक्तिले होइन कि प्रभावशाली विज्ञ व्यक्तिहरुले नीति निर्माण गर्छन्। 

नेपालले शान्ति क्षेत्र घोषणा गर्ने विषय विशेष प्रक्रियाबाट ल्याइयो। सबैले स्वीट्जरल्याण्ड जस्तो अलग पहिचान भएको जस्तो विचारले प्रक्रिया अगाडि बढाइएको थियो। यस्ता प्रक्रियाको गहिरो परिणाम हुने कुराहरु अप्रत्यशित रुपमा ल्याएर पारित गराउन सक्छौं भन्ने हामीमा देखियो। त्यसमा चाहिँ बाजपेयी होस् अथवा अन्य कुनै नेता आफ्नो राष्ट्रिय सुरक्षाको हित भन्दा बाहिरको विषयमा सहमति जनाउँछ भन्ने आशा हामीले गर्नुहुँदैन थियो। 

परिवारिक भेटमा एक्लो कुटनीतिज्ञ

हरेक वर्ष वसन्त पञ्चमीको दिनमा प्रधानमन्त्रीको घरमा भजन हुन्थ्यो। एकपटक गायक अनुप जलोटालाई बोलाएर भजन कार्यक्रम राखिएको थियो। त्यसमा उहाँका साथीभाइ नातागोता र विशिष्ट व्यक्तिहरु थिए। र, कुटनीतिक क्षेत्रबाट म एक जना मात्र थिएँ। अनि मैले उहाँका सचिव ब्रजेश मिश्रलाई सोधेँ। कुटनीतिक क्षेत्रबाट त ममात्र रहेछु। अरु रहेनछन्? मलाई मात्र हो बोलाएको?

मिश्रका अनुसार बाजपेयीजी आँफैले यसमा एकमात्र हिन्दु राष्ट्रको राजदूतलाई बोलाउन पर्छ भन्नु भएको रहेछ। वाजपेयी आफै पनि कुनै सार्वजनिक कार्यक्रममा भेट भयो कि थापाजी… भन्दै कुरा गर्न आउनुहुन्थ्यो। उहाँले भन्नुहुन्थ्यो, 'हमारा राज्य संचालन की बात अलग है ए तो भावनात्मक सम्बन्ध है।’

दुर्लभ विदाई भेट

सन् २००३ अगष्ट २ तारिख उहाँसँग मेरो अन्तिम दोहारो कुराकानी भएको थियो। भारतको स्वतन्त्रता दिवसको अवसर थियो। बिहान कार्यक्रममा सरिक हुनुभयो। त्यसपछि उहाँसँग मेरो विदाइ भेट भयो। भारतीय प्रधानमन्त्रीले सितिमिति विदाई भएर फर्किन लागेको राजदूतसँग भेट्ने समय दिँदैनन्। तर, उहाँले समय मिलाउनु भयो। त्यही दिन म चाहिँ आफ्नो पद छोडेर इण्डियाबाट नेपाल फर्किँदै थिए। उहाँले बोलाएर सदभावपूर्ण कुराकानी गर्दै मेरो कार्याकालको बारेमा चर्चा गर्नु भएको थियो। 

प्लेन हाइज्याक र नेपाल सम्बन्ध  

उहाँको नेपालप्रतिको सद्भाव राम्रो थियो। यति राम्रो हुँदाहुँदै पनि उहाँकै कार्यकालमा प्लेन हाइज्याक भयो नेपालबाट। (१९९९ डिसेम्बर २४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडेको इण्डियन एयरलाइन्सको फ्लाइट ८१४ विमान हाइज्याक भएको थियो। विमानको हाइज्याको हरक अल मुजाहिद्दिनले गरेको थियो।)  त्यसपछि हामीलाई पनि अलि होसियार हुनु पर्ने वातावरण र्सिजना गर्‍यो। नेपालप्रति आशंकाहरु सिर्जना हुने अवस्था आयो। यो अवस्थामा भारतीय संस्थापन पक्ष नेपालप्रति नकरात्मक रुपमा उभिनु स्वभाविक नै थियो। तर, यति हुँदा हुँदै पनि नेपालसँग उहाँको सम्बन्ध राम्रो थियो। नेपालसँग सम्बन्ध कायम गर्न, सहयोग सद्भावका लागि नेपालप्रति वाजपेयीजी सँधै सकरात्मक हुनुभयो। नेपालसँगको सम्बन्धलाई कायम राख्नका लागि, परम्परालाई निरन्तरता दिनका लागि र नेपालको समृद्धि र विकासका लागि उहाँ सँधै सकरात्मक देखिनुभयो। 

माओवादीप्रति दोहोरो नीति

उहाँको कार्यकालमा नेपाल भारतको सम्बन्धमा विवादका विषयमा पनि छलफल भएका छन्। त्यतिबेला नेपालमा माओवादी समस्या पनि उत्कर्षमा थियो। उहाँको कार्यकाल रहँदा नेपालमा किन भारतले माओवादीको विषयमा दोहरो नीति लियो? माओवादीका विषयमा धेरै कुरो त बाहिर आइसकेको छ। माओवादी नेपालबाट भारतमा नसरोस् भन्नेतिर भारतको ध्यान थियो। अहिले के भयो किन भयो भन्ने कुराहरु छर्लग भएको छ। तर, त्यसबेला चै रेडकर्नर नोटिस् पनि दिने, भित्रभित्रै मिलाउने काम पनि भएको थियो। भारतमा आफ्नो राजनीति आफ्नो स्वार्थ अनुसार सञ्चालन हुन्छ। त्यो बेलामा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा अन्य विज्ञले समेत त्यही सुझाव दिएका थिए। त्यसैले पनि प्यारालल्ली भारतले एकातिर विद्रोहीलाई पनि सहयोग गर्ने र शान्ति वार्ता गराउन सहयोग गर्ने नीति लियो। 

गणतन्त्र दिवसमा नेपाल प्रमुख अतिथि

भारतले आफ्नो गणतन्त्र दिवसको अवसरमा अन्य देशका राष्ट्राध्यक्षहरुलाई प्रमुख अतिथि बनाउँदै आएको थियो। भारतमा गणतन्त्र स्थापना भएको पचास वर्ष पुगिसके पनि प्रमुख अतिथिमा नेपालले अवसर पाएको थिएन। भारतका राष्ट्रपति केआर नारायणले के भन्नु भयो भने 'हाम्रो गणतन्त्र दिवसमा विभिन्न देशका राष्ट्र प्रमुखहरुलाई बोलायौं। तर आफ्नै छिमेकीलाई चै बोलाएका रहेनछौँ। अब नेपालका राष्ट्र प्रमुखलाई बोलाउने विचार गर्दैछु। तपाईँले आफ्नो राजासँग कुरा गरेर समय मिलाउन सक्नु हुन्छ कि?' 

त्यतिवेला बाजपेयीजी नै प्रधानमन्त्री हुनुहुन्थ्यो। पहिलो पटक नेपालका राजा भारतको गणतन्त्र दिवसको विशेष समारोहमा प्रमुख अतिथि भएका थिए। बाजपेयीजीको समयमा कुनै बेला तिक्तता पनि रह्यो तर एकदमै राम्रो भएको थियो। त्यस बेलामा राष्ट्रपतिले दिएको अभिव्यक्ति के थियो भने नेपालमा संबैधानिक राजतन्त्रको व्यवस्था भयो। तर, राजाले नै प्रहार गरेपछि विग्रिएको हो।

किन हुन सकेन वाजपेयीको राजकीय भ्रमण?

नेपालप्रति उहाँको सदभाव थियो नै। बीच बीचमा केही तीता अनुभव पनि भयो, विशेषगरी हाइज्याकको समयमा। म पाँच वर्ष त्यहाँ बस्दा पनि बीच बीचमा मैले घच्चघचाउँथे। दुई पक्षीय भ्रमणमा किन जानु हुन्न? त्यतिबेला बाजपेयी जीले भन्नु भएको थियो ‘देखिए थापा साहव आपके लोग यहाँ आते है, आही रहे है, मुलाकत तो हो ही रहा है, मकसद तो वही है ना।’ यो मैले अहिले पनि विर्सेको छैन।

हाम्रो देशमा राजनीतिक परिवर्तन हुने वितिकै दिल्ली दौड हुन्छ। उहाँले सोही आशयका साथ भन्नुभएको थियो होला भेटघाट त भइरहेको छ। 

उहाँ नेपाल आउन त आउनु भयो। सार्कको बैठकका लागि एक दिनका लागि आउनुभयो। त्यो बेलामा उहाँले भन्नुभएको थियो कि यो सार्कको बैठक नेपाल बाहेक अन्य देशमा भएको भए जाने थिइन। त्यो बेलामा भारत र पाकिस्तानबीच ज्यादै तिक्तता थियो। 

दुई पक्षीय राजकीय भ्रमणमा नआए पनि बाजपेयीजी पहिलो पटक परराष्ट्रमन्त्रीको हैसियतमा र दोस्रो पटक प्रधानमन्त्रीका हैसियतमा नेपाल आउनुभएको थियो। समग्रमा मैले उहाँलाई जुन रुपले चिने त्यसमा उहाँ नेपालप्रति ज्यादै सकारात्मक देखिनु भयो।

(विधुर ढकाल र वीपी साहले गरेको कुराकानीमा आधारित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell