PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

कांग्रेसमा कोइरालाको विरासत फर्काउने कसरत, शेखर र सिटौलासामु शशांकले भने 'देउवाले मेरो कुरा मान्न छाड्नुभयो'



अनन्तराज न्यौपाने

कांग्रेसमा कोइरालाको विरासत फर्काउने कसरत, शेखर र सिटौलासामु शशांकले भने 'देउवाले मेरो कुरा मान्न छाड्नुभयो'

विराटनगरः नेपाली काङ्ग्रेसको केन्द्रीय नेतृत्वमा कोइराला परिवारको वर्चस्वलाई पुनःस्थापना गर्ने उद्देश्यका साथ शनिबार विराटनगरमा प्रजातान्त्रिक विचार समाजले कार्यक्रम गर्‍यो। कार्यक्रममा पार्टीका महामन्त्री डा. शशाङ्क कोइराला, नेता डा. शेखर कोइराला र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरू सहभागी थिए। 

तर महामन्त्री शशाङ्कले कार्यक्रममा आफू वा शेखरमध्ये को नेतृत्वका लागि अघि बढ्ने स्पष्ट पारेनन्।

कार्यक्रमपछि सञ्चारकर्मीका जिज्ञासामा उनले भने ‘शेखर दा’सित सल्लाह नगरी केही हुन्न। उहाँसित छलफल गरेर मात्र भन्न सक्छु। जो भए पनि हामी दुई जनामध्ये एक हुने हो। समय आएपछि एकैमतको निर्णय आउने छ। को हुने भनेर अहिले नै निर्णय गर्ने बेला भएको छैन।’

कार्यक्रममा उपस्थित अन्य वक्ताहरूले कार्यकर्ताले काङ्ग्रेसमा कोइराला परिवारको नेतृत्व पुनः स्थापित भएको हेर्न चाहेको बताएका थिए।

कार्यक्रममा कोइराला पक्षीय धेरै कार्यकर्ताले आगामी महाधिवेशनमा कोइराला परिवारको विरासत थाम्ने गरी दुबै कोइराला मिलेर आउनुपर्ने भनी माग गरेका थिए। तर, शशांकजस्तै डा. शेखर पनि यस विषयमा खुलेनन् ।

आफ्नो वा शशाङ्क, पार्टीको नेतृत्वमा कसले प्रतिस्पर्धा गर्ने भन्ने विषयमा उनी पूर्ववत् मौन रहे।


म कसैका पक्षमा छैन– शशांक

कतिपयले आफूलाई सभापति देउवाको साथ दिएको र उनको आलोचना नगरेको भन्ने आरोप लगाएको उल्लेख गर्दै महामन्त्री शशाङ्कले आफू देउवा वा पौडेल कसैका पक्षमा नरहेको स्पष्ट पारे।

‘हो, सुरु–सुरुमा मैले देउवाजीको आलोचना नगरेकै हो, डिफेन्स गरेकै हो किनभने पार्टीको क्रियाकलापप्रति म महामन्त्रीको पनि जिम्मेवारी हुन्छ’, उनको भनाइ थियो, ‘तर पछि त मेरै कुरा पनि मान्न छाड्नु भयो। महासमितिकै बैठक बोलाऊँ भनेर उहाँलाई पटकपटक भनेँ, मान्नुभएन। विधान मस्यौदा समितिका लागि नाम दिनुस् भनेर देउवाजी र रामचन्द्रजी दुबै जनालाई धेरै पटक भनेँ, दिनुहुन्न।’


वार्निङले डराउँदिन –शेखर

केन्द्रीय सदस्य डाक्टर शेखरले आफूलाई सभापति देउवाले नबोल्न वार्निङ दिएको जानकारी दिँदै यस्तो वार्निङले नडराउने र बोल्न नछाड्ने बताए।

‘मलाई वार्निङ भइसकेको छ’, उनको आक्रोश थियो, ‘तर म सत्य कुरा बोल्न छाड्दिन । म्याक्सिमम के गर्नु हुन्छ? पार्टीबाट निकाल्नु हुन्छ? निकाल्नु होस् ।’

डाक्टर कोइरालाले पार्टीभित्र गुट होइन गिरोह सक्रिय भएको र गिरोहले नै पार्टीलाई बिगारेको टिप्पणी गरे।

भदौ भित्रमा महासमितिको बैठक सम्पन्न नभए देउवाको नेतृत्व विफल भएको ठहरिने धारणा उनले राखे। उनले देउवाले विधानलाई लत्याएर पार्टी तदर्थवादमा चलाउन खोजेको आरोप लगाए।

‘रामचन्द्रजीका ३ र आफ्ना ४ जनालाई प्रदेशको सभापति बनाएर तदर्थ समिति बनाउने रे’, उनको प्रश्न थियो, ‘रामचन्द्रजी र देउवाजीले पाउँदा शेखर कोइरालाले किन नपाउने?’

कोइरालाले महाधिवेशन प्रतिनिधिको मतदानबाट प्रदेश समितिको निर्वाचन गर्न माग गरे।


विवाद देउवाजी नै खडा गर्नुहुन्छ– सिटौला

पूर्व महामन्त्री कृष्ण सिटौलाले भदौभित्रमा महासमितिको बैठक गर्ने भनेर सभापति देउवाले नै निर्णय गरेको जानकारी दिँदै नगराएर विवाद खडा गरेको बताए। 

पार्टीको कम्तीमा २५ वर्षयताका क्रियाकलापको समीक्षा गर्न आवश्यक रहेको चर्चा गर्दै नेता सिटौलाले अब चुप लागेर बस्ने अवस्था नरहेको स्पष्ट पारे।

‘देउवाजीको समय अब डेढ वर्ष छ, विधान अनुसार महाधिवेशन लम्ब्याएर एक वर्ष थप्न सक्नुहोला’, उनले भने, ‘तर यो अढाई वर्ष हामी पनि चुप लाग्दैनौँ । हामी चुप लाग्यौँ भने पार्टीका साथीहरूले हामीलाई नै क्षमा गर्नुहुने छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell