PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

गृहमन्त्री र आइजीको विश्वास जितेर पाएको पोस्टिङ हो, काठमाडौंलाई सुरक्षित बनाउँछु : काठमाडौं प्रहरी प्रमुख



सविन ढकाल

गृहमन्त्री र आइजीको विश्वास जितेर पाएको पोस्टिङ हो, काठमाडौंलाई सुरक्षित बनाउँछु : काठमाडौं प्रहरी प्रमुख

२०४९ सालमा प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका थिए वसन्त लामा। २ दशक भन्दा बढी संगठनमा रहेका लामा अहिले काठमाडौँ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। 

रोल्पा, सिन्धुपाल्चोक, मकवानपुर, कास्की लगायतका जिल्ला प्रमुख भएर काम गरेको अनुभव एसएसपी लामासँग छ। अन्य जिल्लाको तुलानामा काठमाडौँको नेतृत्व गर्नु अवसर र चुनौतीको रूपमा लिइन्छ। 

चुनौतिलाई अवसरमा बदल्ने अफिसरले काम र नाम दुवै पाएका छन्। काम नै नगर्नेलाई भने गुमनाम पनि बनाएको छ काठमाडौँले। प्राय: प्रहरी अधिकृतको सपना हुन्छ - एकपटक काठमाडौँमा प्रमुख हुने। एसएसपी लामाले पनि त्यही सपना देखेका थिए। 

काठमाडौँ प्रहरी प्रमुख हुने दौडमा एसएसपी लामाले बाजी मारेका छन्। तर अब उनले कस्तो काम गर्छन्, त्यो भने हेर्न बाँकी छ। काठमाडौँमा आगामी दिनका कार्ययोजना र शान्ति सुरक्षाबारे पहिलोपोस्टका सम्वाददाता सविन ढकालले गरेको कुराकानी:

काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएकोमा बधाई, कार्यकालको शुभकामना।
हजुर, हजुर। धन्यवाद। धन्यवाद।

धेरै अफिसरको एकपटक काठमाडौंमा प्रमुख हुने सपना हुन्छ। तपाई यहाँ आइपुग्नुभएको छ, कसरी हेर्न भएको छ यो जिम्मेवारीलाई?
वास्तवमा सबैले नै निगरानी गरेको हेरेको जिल्ला हो काठमाडौं। राजधानीसमेत रहेको जिल्ला। यहाँ आउने प्रहरी इन्चार्जले दिएको जिम्मेवारी कसरी पुरा गर्छ। उसको कार्य योजना कस्तो छ। आगामी दिनमा राजधानीको शान्ति  सुरक्षा कस्तो हुन्छ भनेर सबैले नियालेर हेरिरहेका हुन्छन्। यही कुराले गर्दा अन्य ठाँउहरुमा बस्नुभन्दा पनि यहाँ काम गर्न ठुलो चुनौतिको रूपमा रहेको छ। साथै अवसर पनि हो। राज्यका सर्वोच्च निकायहरू छन्। यहाँ गरेको कामले प्रहरीको कार्यशैलीको मूल्याङकन हुने भएकाले यहाँ चुनौति पनि छ। अवसर पनि छन्।

अघिल्ला प्रहरी प्रमुखले आउने बित्तिकै केही न केही गरिहाल्ने परम्परा जस्तै बनेको थियो। जस्तो गुन्डा गर्दी गर्नेलाई पक्रने, क्यासिनो छापा मार्ने, तपाईँको पनि यस्ता योजना छन् कि?

म पहिलेदेखि यहाँ बसेको प्रहरी होइन। परिसरमा नबसे पनि अन्य वडा प्रहरी कार्यालयमा बसेर काम गरिसकेको छु। यहाँका जल्दा बल्दा मुद्दाको बारेमा जानकारी छ। तर धेरै लामो अवधि भइसक्यो २०६० सालमा बसेको थिए। अहिले यहाँका समस्या, चुनौतीहरू के के हुन्? गर्नुपर्ने क्षेत्र पहिचान गर्न लागेको छु। गुन्डागर्दी, तस्करी गर्ने नियमित कार्य हुन्। यसमा विशेष निगरानी त हुन्छ नै। तर केलाई बढी प्राथमिकता दिने भन्ने पहिचान गरेर अगाडि बढ्छु।

त्यसो भए तपाईँले यसअघि काठमाडौँमा रहेका समस्या के देख्नुभएको थियो। प्रमुख भए यसो गर्छु भनेर केही योजना त होलान् नि?
यहाँ सबै किसिमका अपराधहरू हुन्छ। विगतका घटनाक्रमहरू हेर्दा गुन्डागर्दी भयावह रुपमा नभएका होइनन्। तर अहिले प्रहरीको सक्रियताले कम भएको छ। अझै पनि निमिट्यान्न त भएको छैन। अर्को कुरा तस्करी, अन्तर्राष्ट्रिय विमानस्थल भएकाले अन्तर्राष्ट्रिय तस्करी बढी हुन्छ। लागु ‌औषधको अवस्था पनि भयाबह रहेको छ। तस्करी, गुन्डागर्दी, लागुऔषध कारोबार नियन्त्रण र शान्ति सुरक्षा कायम राख्नु नै यहाँका चुनौति हुन्।

अव सर्वसाधारणले तपाईँ आएपछि यी कुराबाट राजधानी ग्रसित हुँदैन भनेर बुझ्दा हुन्छ?
निश्चित भए हुन्छ। केही गर्छु भनेर आएको छु। म आश्वस्त बनाउन चाहन्छु राजधानीको शान्ति सुरक्षामा परिवर्तन हुन्छ। तर काम भने परिणाम नआएसम्म देखिँदैन। अहिलेसम्म मैले जति पनि जिम्मेवारी पाएँ, सफल कार्यन्वयन गरेको छु।

सुन प्रकरण र सनम शाक्यको अनुसन्धान भन्न खोज्नुभएको हो?
सनम शाक्य र सुन तस्करीको सञ्जाल अनुसन्धान गर्ने उच्चस्तरीय टोली थियो प्रहरीतर्फ नेतृत्व गरी कार्य गरेको थियो। समितिले गरेको काम आज राज्यले गरेको उत्कृष्ट काम भनेर इन्कित गरेको छ।

तपाईलाई सजिलो बनाइदिए है, काठमाडौँ प्रहरी प्रमुख हुन एसएसपीहरुको दौडधुप धेरै हुन्छ भन्ने सुनिन्छ। तपाइलाई चाहिँ सुन समितिको अनुसन्धान गरेकाले पाएको पुरस्कार हो? 
बिल्कुल हो। धेरै प्रहरीको काठमाडौं प्रमुख बन्ने सपना हुन्छ। यसका लागि कसैले सकारात्मक प्रयास कसैले नकारात्मक प्रयास गरेका होलान्। मेरो विगत र पोस्टिङलाई हेर्ने हो भने नकारात्मक प्रयास(राजनीतिक दौडधुप) गरेको छैन। राज्यले पनि के चाहन्छ भने काठमाडौँमा काम गर्ने प्रहरी नै राख्न चाहन्छ। गृहमन्त्री, आइजीपिलाई म प्रति विश्वास भएको कारणले नै यहाँ आएको हुँ।

तपाईँको काम हेरेर गृहमन्त्री र आइजीले पठाउनु भएको त्यसो भए?
हो। सुन समितिको छानबिनले, एक किसिमको विश्वासले हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell