PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

एसियन गेम्स : फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित



पहिलोपोस्ट

एसियन गेम्स : फुटबलमा नेपाल पाकिस्तानसँग पनि पराजित
फोटो : NSJF

काठमाडौँ : इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत पुरुष फुटबलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। समूह डी अन्तर्गत आइतवार भएको खेलमा नेपाल यू-२३ पाकिस्तान यू-२३ सँग २-१ ले पराजित भएको हो।

खेलको पहिलो हाफमा १-० को अग्रता लिएपनि दोस्रो हाफमा पाकिस्तानले दुई गोल फर्काएपछि नेपाल पराजित भएको हो। सन् १९८२ पछि नेपालको खातामा गोल संख्या जोडिएपनि त्यो नेपाली खेलाडीको नाममा रहेन।

तीनै गोल पाकिस्तानका खेलाडीले गरेको खेलमा १२औँ मिनेटमा नेपालले उपहार गोलमार्फत अग्रता लिएको थियो। पाकिस्तानका शहबाज युनसले आत्मघाती गोल गरेपछि नेपाललले पहिलो हाफमा १-० को अग्रता लिएको थियो। ५४औँ मिनेटमा मुहम्मद बिलाले पाकिस्तानका लागि बराबरी गोल फर्काए। बराबरीपछि नेपाल विरुद्ध निरन्तर आक्रमण गरेको पाकिस्तानले ७२औँ मिनेटमा दोस्रो गोल गर्‍यो।

नेपालका रोहित चन्दले डि एरिभाभित्र फल गरेपछि प्राप्त पेनाल्टीमा पाकिस्तानका सद्दाम हुसेनले गोल गर्दै २-१ को अग्रता दिलाए। अन्त्यसम्म त्यही अग्रता कायम राख्दै पाकिस्तानले १८औँ एसियाडमा पहिलो खेल जित्यो।

नेपाल र पाकिस्तान यसअघि जापान र भियतनामसँग पराजित भएका थिए। लगातार तेस्रो हारपछि नेपाल समूह डी को अन्तिम स्थानमा रहदै बाहिरिएको छ।

नेपाल विरुद्ध जितपछि ३ अंक जोडेको पाकिस्तानको लागि भने तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चारमा पर्दै अघिल्लो चरण प्रवेश गर्ने सम्भावना बाँकी छ।

पाकिस्तानले एसियन गेम्समा ४४ वर्षपछि पहिलो जित हात पारेको हो। सन् १९७४ को एसियाडमा पाकिस्तानले बहराइनलाई पराजित गरेको थियो।

समूह डी अन्तर्गत नै आज भएको अर्को खेलमा भियतनामले जापानलाई १-० ले पराजित गर्दै समूह विजेता बनेको हो। जापान उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell