PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भान्छाकै चक्कुबाट पूर्वराजदूत झाको हत्या : यी हुन् राजधानीका हाइप्रोफाइल हत्या घटना



सविन ढकाल

भान्छाकै चक्कुबाट पूर्वराजदूत झाको हत्या : यी हुन् राजधानीका हाइप्रोफाइल हत्या घटना

काठमाडौँ : सोमबार बिहानै काठमाडौंमा पूर्वराजदूतको हत्या भएको घटनाले सबैलाई त्रसित बनायो। पूर्वराजदूत केशव झा हत्या गरिएको अवस्थामा आफ्नै घरको कोठामा फेला परे। उनको हत्या गर्न उनकै भान्छामा प्रयोग भएको चक्कु प्रयोग गरिएको थियो। 

घटना चोरी, लुटपाट नभएर हत्याकै उदेश्यले गरिएको प्रहरीको दावी छ। अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरजप्रताप सिंह भन्छन्, 'हत्या गर्ने नै उद्देश्य देखिन्छ। कुनै चोरी, लुटपाट होइन। चाँडै नै हामी अपराधी पहिचान गर्छौं।' पूर्वराजदुत झाको हत्या रातको १ देखि २ बजे बिचको समयमा भएको चिकित्सक रिपोर्टले देखाएको छ। 

झा श्रीमतिसहित घरमा बस्दै आएका थिए। उनको घरमा अन्य तीन जना कामदार पनि बस्थे। 

राजधानीमा धेरैपछि हाइप्रोफाइल व्यक्तिको हत्या भएको हो। गत असोजमा बानेश्वरमा निर्माण व्यवसायी शरद गौचनको दिनदहाडै गोली हानी हत्या गरिएको थियो। गौचनको हत्यामा संलग्न मुख्य अभियुक्त समिरमान बस्नेतलाई प्रहरीले पक्राउ गरिसकेको छ। त्यस्तै घटनाका योजनाकार भनिएका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। 

राजधानीमा विभिन्न किसिमका मानिसको बसोबास भएकाले बेला-बेलामा यस्ता घटनाहरु हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामा बताउँछन्। एसएसपी लामा भन्छन्, 'राजधानीमा प्रहरीको लागि चुनौति नै यही हो। तर चुनौतिलाई प्रहरीले सामना गर्दै हत्यारालाई पत्ता लगाएर आफ्नो कार्यकुशलता देखाउँछ।
राजधानीका हाइप्रोफाइल हत्या

१) मिर्जा दिलसाद बेग : सिफल

१५ असार, २०५५ मा राजधानीको सिफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री मिर्जा दिलसाद बेगको गोली हानी हत्या गरिएको थियो। राति भएको यो घटनामा बेगका चालक भुवन कार्कीलाई पनि गोली हानी मारिएको थियो। प्रहरीले ‘दाउद इब्राहिमका लागि काम गर्ने बेगको हत्या छोटा राजन समूहले गरेको’ निष्कर्ष निकालेको थियो। यस बारे छानबिन गर्न गठित उच्चस्तरीय न्यायिक समितिले पनि उनको हत्यामा छोटा राजन समूहकै हात रहेको प्रतिवेदन सरकारलाई बुझायो।

२) जमिम शाह : लाजिम्पाट

२०६६ माघ २४ मा राजधानीको लाजिम्पाटमा संचार उद्यमि जमिम शाहको भारतीय अन्डरवर्ल्ड डन छोटा राजन समूहले गोली हानी हत्या गरेको थियो। याक एन्ड यति होटल दरबारमार्गको हेल्थ क्लबमा नुहाएर गाडीमा पानीपोखरीस्थित घरमा जाँदै  गरेका शाहलाई अज्ञात समूहले गोली हानेको थियो।  ना १ च २१५१ नम्बरको कारमा रहेका थिए उनी र चालक मथुरामान मालाकार। बा १५ प ८७३३ नम्बरको मोटरसाइकलमा आएका दुई जनाले गोली हानेको थियो। प्रहरीले घटना भएको केही वर्षपछि घटनामा संलग्न प्रहरीसहित केहीलाई पक्राउ गरेको थियो।

३) फैजान अहमद : घण्टाघर 

इस्लामिक संघ नेपालका महासचिव फैजान अहमदलाई २०६८ असोज ९ गते राजधानीको घण्टाघर अगाडि गोली हानी हत्या गरिएको थियो। फैजानको हत्यामा भारतीय पेशेवरको संलग्नता रहेको प्रहरी अनुसन्धानले देखाएको थियो। नेपाल प्रहरीले फैजानको हत्यामा संलग्न २७ वर्षीय धनबहादुर थापा मगरलाई पक्राउ गरेपनि मुख्य अभियुक्त भने अझै फरार नै रहेका छन्।

४) रणबहादुर बम : शंखमुल

उपत्यकाबासीलाई नै त्रसित बनाउने घटना भयो २०६९ साल जेठ १८ मा। मन्दिरमा पूजा गरेर फर्कने क्रममा शंखमुल नजिकैको युएन पार्कमा गोली हानी सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या गरियो। घटना भएको २ वर्ष ७ महिनापछि प्रहरीले घटना संलग्न चुरे भावर पार्टीका तत्कालीन उपाध्यक्ष बाबु थापा भनिने मेघबहादुर थापा, शिव भन्ने करण चौधरी, नवीन भन्ने प्रेमराज खड्का, दीपक कर्णलाई पक्राउ गर्न सफल भयो। चार घटनामध्ये यही घटनामा मात्रै मुख्य अभियुक्तसहित दोषीहरु पक्राउ परेका छन्।
बम हत्याकाण्डमा संलग्नमध्ये एक सुटर रामेछाप जिल्ला खनियापानी ७ का २८ वर्षीय सञ्जय स्माइली मगरलाई २०७२ भदौमा साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याइएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell