PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

निर्मला पन्त हत्या प्रकरणः पक्राउ परेका विष्ट वास्तविक हत्यारा नभएको भन्दै स्थानीयद्वारा प्रदर्शन



पहिलोपोस्ट

निर्मला पन्त हत्या प्रकरणः पक्राउ परेका विष्ट वास्तविक हत्यारा नभएको भन्दै स्थानीयद्वारा प्रदर्शन
प्रहरीले सार्वजनिक गरेको अभियुक्त

भीमदत्तनगरः तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन्।

कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका पन्तबारे जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न भन्दै भीमदत्त नगरपालिका–१९ बागफाँटाका ४१ वर्षीया दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो। बागफाँटाका विष्ट मानसिक अवस्था ठीक नभएका व्यक्ति भएको र वास्तविक हत्यारालाई प्रहरीले सार्वजनिक गर्न नसकेको स्थानीयवासीको आरोप छ।

नागरिक सङ्घर्ष समिति बनाएर स्थानीयवासी लामो समयदेखि आन्दोलनमा छन्। उनीहरुले मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा सार्वजनिक गरेर प्रहरीले घटनाको वास्तविकता लुकाउन खोजेको आरोप लगाएका छन्। नागरिक समाज र अधिकारकर्मीले वास्तविक हत्यारालाई सार्वजनिक गर्न दबाब दिइरहेका छन्।

गत साउन १२ गते भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा हत्या गरी फालिएको अवस्थामा पन्तको शव भेटिएको थियो। उनको साउन ११ गते दिउँसो हत्या भएको थियो। पक्राउ परेका विष्टले नै पन्तको उखुबारीमा लगेर बलात्कारपछि घाँटी थिचेर हत्या गरेको खुल्न आएको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए। घटनापछि प्रहरीले विभिन्न कोणबाट अनुसन्धान थालेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीसमेत अनुसन्धानका लागि कञ्चनपुर आएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell