PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बाँच्नका लागि 'फिल्मी ड्युटी'मा विजय बराल, मन भने मञ्चतिरै



स्वेच्छा राउत

बाँच्नका लागि 'फिल्मी ड्युटी'मा विजय बराल, मन भने मञ्चतिरै

'मलाई त सबै कुरा अचम्म लाग्न थालेको छ,’ फिल्म ‘मिस्टर भर्जिन’को फस्ट डे फस्ट सो हेरेर निस्किँदै गर्दा कलाकार विजय बराल भन्दै थिए। फिल्मको फिडव्याकका लागि उनीसामु आउनसक्ने सम्भावित प्रश्न बोकेका क्यामेरापर्सनहरुको भिडभन्दा पर थिए। सँगै रहेका सीमित मानिससँग भने उनी केही गम्भिर सुनिए, ’अब आफ्नो भूमिका बारे सोच्न पर्ने बेला भएछ।'

कबड्डीको विके नामक पात्रको भूमिकापछि चर्चामा आए विजय। त्यसयता निर्माता, निर्देशकको आँखामा परेका उनी त्यस्तै कमेडी भूमिकाका लागि अनुबन्धित भइरहे। चाहे त्यो 'कबड्डी-कबड्डी’, ‘मिस्टर झोले’, ‘हुर्रे’,' पण्डित बाजेको लौरी' होस् या प्रदर्शनरत् 'मिस्टर भर्जिन'। उनलाई यिनै कुराले चिमोटिरहेको रहेछ, सधै उहीखाले रोल।

'ड्युटी पूरा गरेकोजस्तो मात्र भएको छ। पैसा लिएपछि गर्नैपर्‍यो,' विजय बाध्यताको कथा सुनाउँछन्’, भन्छन्, 'नाटकमा त आफू देखिन चाहेजस्तो अभिनय गर्न पाइन्छ तर फिल्ममा भने निर्माताले चाहे अनुसार देखिदिनु पर्छ। अब भने केही समय ब्रेक लिएर सिरियस भूमिका गर्छु।' 

हाल उनी अभिनित फिल्म 'मिस्टर भर्जिन'सँगै नाटक 'सकेको तिरौंला नत्र फिरिमा'मा प्रदर्शनरत छन्। लगत्तै दयाहाङ राईको निर्देशन रहने नयाँ नाटकमा व्यस्त हुन्छन्। र, दशैंपछिका लागि एउटा फिल्ममा अनुबन्धित भइसकेका छन्। थाहा छैन उनले रेस्ट कहिले पाउँछन् अनि आफूले चाहेजस्तै भूमिका भएको फिल्मका लागि विजयले कतिवटा कमेडी रोलको काँध थाप्नुपर्छ। 

हँसाइ रहने विजय व्यस्त छन्, ब्याक टू ब्याक फिल्म तल्लिन्। दैनिकी चलाउन पुग्ने पैसा त कमाएका छन्। तर मनको छटपटी रोकिएको छैन। थिएटर कलाकार भएर पनि थिएटरलाई नै समय दिन नभ्याउने पिर छ। भन्छन्, 'कला प्रस्तुतिको माध्यम जुन भए पनि ठीक तर थिएटरका सबै फिल्ममा लाग्नुले रङ्गमञ्चमा असर गर्छ जस्तो लाग्छ।'

उनी कन्फ्युज्ड सुनिन्छन्। प्रोडक्सनदेखि मञ्चनसम्म दुई महिना समय लगानी गरेको नाटकले खाजा खर्चमात्र कमाइ हुने तीतो यथार्थ सुनाउँछन् र भन्छन्- 'हामी नै सम्हालिएर काम गर्नुपर्छ।'

विजयमा आफूहरुप्रति दर्शक अनि मेकरको विश्वास गुम्ने डर पनि छ।  दर्शकलाई 'फरक स्वाद'को केही दिन नसकेकोमा उनी नरमाइलो मान्छन्। 'सधैं उस्तै देखिएको प्रतिक्रिया आउन थालेको छ।‘ 

फिल्म मेकरले पनि- थिएटर कलाकारले फिल्म होल्ड गराउँछन् भन्ने भर पर्न कम गरेको महसुस गरेका छन्। 'थिएटर कलाकार सबैले खत्रा गर्दैनन् र सबै स्टार बन्दैनन्। त्यही नै सत्य थियो। हामीले पनि टेक्निक मात्र त जानेका हौं। सकेको दिने हो। बस् एकैथरी काम गर्नुले मेकर र दर्शकले नपत्याउने दिन नआओस्।'  

मण्डलामा 'विजय दाइको कोठा'

विजय स्कूले जीवनबाटै क्यारिकेचर गर्थे। कमेडियन बन्नु उनको लक्ष्य रह्यो। हास्य कलाकार नारद खतिवडाको चर्चाले गर्दा उनीमा पनि लोभ पलाएको थियो, क्यारिकेचर गरेर फेमस बन्ने। प्लस टुसम्मको अध्ययन सर्लाहीमै पूरा गरेर काठमाडौं आए। पढाई र कलाकारितालाई एकसाथ अघि बढाउन। मिनभवन कमर्स क्याम्पसमा भर्ना पनि भए। उनले कमर्समै मास्टर्स पूरा गरे। तर पढेको र हिँडेको बाटो फरक रह्यो। 

‘बैंकमा जागिर खाएको भए कतै ब्रान्च म्यानेजर भएर काम गर्दै हुन्थें होला। ममीले पैसा चाहियो भन्दा 'छैन' भन्न पर्देनथ्यो सायद। तर, अभिनय नै रोजियो', उनी अभावका कथा पनि हाँसी हाँसी सुनाउँछन्। कुरामा गाम्भिर्यता पनि झल्कन्छ। त्यसैले हुनसक्छ दर्शकले उनलाई गम्भिर रुपमा कमेडी गर्ने पात्र भएको रुचाउने। 

पढ्दै गर्दा गुरुकुलमा नाटक हेर्न जान थाले। हेर्दै गर्दा नाट्यकर्मी र नाटकसँग नजिकिए। भारतको नेशनल स्कुल अफ ड्रामाले नेपालमा गरेको प्रशिक्षणमा सहभागी भएर। अवसरको खोजी गरेर नथाक्ने उनीमा रङ्गमञ्चको रङ्ग चढ्यो। त्यसपछि उनले कमेडियन होइन कलाकार बन्ने यात्रा तय गरे। 

दयाहाङ राई, राजन खतिवडा नजिक भएका थिए। काम गर्दैगर्दा नयाँ नाटकघर बनाउने कुरा भयो। अनामनगरस्थित मण्डला निर्माणको हिस्सा बने विजय पनि। जग खन्दादेखि इँटा थप्दै जाँदा र छानो हाल्दासम्मको साक्षी हुन् उनी। उनीसँगै मण्डला पहिलो ब्याचका कलाकारहरु नाजिर हुसेन, बुद्दी तामाङ, प्रदिपकुमार चौधरी सबै लागि परेका थिए। 

'हामी आफै ज्यामी बन्यौं। जोशका साथ काम गर्‍यौं। दालमोठ चिउरा र पानी खाएर थुप्रै समय बितायौं। पुग नपुग ओड्ने, ओच्छ्याउने सेयर गर्‍यौं। मण्डला नै सबैथोक भयो।' 

थिएटर बनाउँदादेखि जोडिएका त्यो पुस्ताको कलाकारको मण्डलासँग लगाव हुनु स्वभाविक हो। विजयको भने नाटकघरसँग विशेष सम्बन्ध छ। अहिले मण्डलामा 'विजय दाइको कोठा छ'।  उनले पहिलो ब्याचका साथीहरुसँग सेयर गरेको त्यो ठाउँ छोडेका छैनन्। 

'साथीहरुसँग रगत, पसिनासँगै हाँसो आँसु मिसाएर काम गरेको ठाउँ हो। आज पो साथीहरु कोही कामले टाढा गए। कोही स्टार भए कोठा लिए। म त जहीँको त्यहीँ छु।' 

आफैलाई पटकपटक प्रश्न पनि नगरेका होइनन्- मैले किन यो ठाउँ नछोडेको होला? उनी आफैलाई जवाफ दिन्छन्- किनकी मेरो अहिलेसम्म केही भएकै छैन। 

सर्लाहीको घरमा एउटै कोठामा बस्ने भाइ विनय पनि काठमाडौंमा नै छन्। लोकसेवाको तयारी गर्दै। यता आएको करिब ६ महिना मात्र उनी भाइसँग बसे। त्यसपछि पुन: मण्डलाको चोटामा फर्किए। 

'यो कोठासँगको लगावले मलाई आफ्नाहरुसँग टाढा बनाएको रहेछ। अहिले महसुस गर्छु तर पनि छोड्न सक्दिन।' केही दिन अघि भाइले वचन लगाएपछि भने आफू निकै भावुक भएको सुनाउँछन्, 'बुवा र हजुरआमा आउनु भएको छ आज यतै आइज न हामीसँगै भात खाइदे, भनेपछि बल्ल गएर बसें।' त्यसपछि भने आफू अभिनित नाटक हजुरआमा र बुवालाई पनि देखाए। नाति स्टेजमा नाचेको देखेर हाँसेकी हजुरआमाको अनुहार सम्झेर उनी आज पनि दङ्ग पर्छन्। यो पटक सपना पुरा गर्दागर्दै टाढिएका आफ्नाहरुको नजिक पुग्ने कोसिस गर्ने सोचेका छन् उनले। 

कबड्डी टू कोलकाता

मण्डलामा नाटकहरु गर्दागर्दै उनले फिल्महरुमा सानोतिनो भूमिका पाइरहे। छड्के, साँघु, मौन, साँघुरो उनले खेलेका पुराना फिल्महरु हुन्। उनी अभावका समय छड्के खेले बापत् पैसा पाएको क्षण सम्झन्छन्। 

'फिल्म प्रदर्शनमा आउँदासम्म पैसा पाएका थिएनौं। तर पनि आजका फिल्मस्टारदेखि रङ्गमञ्चका सबै भएको टिमसँग काम गर्न पाउँदा दङ्ग थिएँ', विजय केही बेर रोक्किन्छन् र थप्छन्,'जब ५ हजार रुपैयाँ पाइयो तब घरमा फोन गरेर सुनाएँ।' उसो त उनी सधैं आफू खुशी भएको कुरा जसलाई भेटे पनि सुनाउँदै हिड्छन्। केही कारण खुशी लागे फोन गरिगरी पनि भन्छन्। कारण- उनलाई लाग्छ खुशी साटे बढ्छ। 

 ‘कबड्डी’मा बिके बनेर काम गरेपछि भने उनी फिल्मकर्मी मात्र नभएर दर्शकको आँखामा समेत परे। फिल्मबाट उनले नाम दाम दुबै कमाए। 'पहिलोपटक लाख रुपैयाँ पारिश्रमिक थापियो। योपटक घरमा खुशी भएको खबर मात्र होइन अलिअलि पैसा पनि पठाएँ।' 

तर कबड्डीको सफलतासँगै उनले आफैसँग प्रश्न गरे- के मैले जिन्दगीमा खोजेको यही नै हो त? यसरी मेरो करियर बन्छ? 

जवाफ खोज्दै कोलकाता पुगे। नेशनल माइमा इन्स्टिच्युटमा भर्ना भए। विजय एक वर्षका लागि संवाद बिना, हाउभाउको आधारमा कथा भन्ने कला सिक्न गए। कबड्डीले दिलाएको चर्चालाई थाती राखेर, आउन सक्ने फिल्मका प्रस्तावहरु माया मारेर। त्यहाँ पुगेपछि कलाकारितामा लाग्ने सबैसँग आफ्नै कथा छ, समस्या छ, पीडा छ भन्ने महसुस गरे। 'अनुराग कश्यपसँग काम गरिसकेकाहरु मलाई खत्रा लाग्थे। उनीहरु मलाई 'नेपालका स्टार हे' भन्थे। तर कसैले बिंडी खान मलाई गुहार्नुपर्थ्यो। कतिपटक चिया पिउन म उनीहरुको खर्च पर्खन्थें।' 

उमेरसँगै बढेको जिम्मेवारी पूरा गर्न नसक्नुले उनलाई कोलकता पुर्‍याएको बताउँछन्। 'परिवारले त मसँग समय र केहीबेरको कुराकानी मात्र भएपनि अपेक्षा गर्ने रहेछन्। मैले बिर्सको रहेछु परिवारलाई उहाँहरुले फोन गरेर सम्झाउँदा पो झसङ्ग हुन्थें।' 

माइम सिकेर फर्किए तर सिकेको कुरा व्यवहारमा उतार्न पाएका छैनन्। किनकि आएदेखि फिल्मबाट फूर्सद नै पाएका छैनन्। आउँदो हिउँदमा
भने उनी माइम प्रस्तुति आयोजना गर्ने तरखरमा छन्। 'माइमका लागि मिहेनत र समय मजाले खर्च गर्नुपर्छ त्यसैले फूर्सदको पर्खाइमा छु।' 

विपश्यना ध्यान अनुभव  

उमेर, करियर, अनुभव र अभावजस्ता विषयको प्रेसरले हँसमुख विजयलाई रिसाहा बनाएको उनले थाहा पाए। ४ जनाको तारिफले नफुर्किने र एकजनाको आलोचनाले नगल्ने आफू अर्कै भएको महसुस गरे। 

'मलाई यो सबै तनावहरुबाट बाहिर निस्किनु थियो। केही समय आफैलाई समय दिन चाहन्थें।' 

दैनिक १२ घण्टा ध्यान- सुन्दा उनलाई अत्यास लागेको थियो। 'तर म त दुई दिनमै ध्यानको पोजिसनमा फिक्स्ड भएँ।‘ 

हरेकपटक आँखा चिम्म गर्दा परिवार, परिवारप्रतिको जिम्मेवारी, आफूले रोजेको अभिनयको बाटो यीनै कुराहरु खेले। ‘यिनैको सम्झनाले आत्मविश्वासी बनायो। धेरै नसोचे हुन्छ भन्ने भयो।' 

‘१० दिन कमिलाहरुसँग 'आइ कन्ट्याक्ट' गरें। अरुले चाहिं मलाई हेरेछन्’, दङ्ग पर्दै सुनाउँछन्,’अन्तिम दिन सबैले घेरेर- तँ मात्र एउटै मान्छे थिस् जो हलचल गरेनभन्दा छक्क परें।‘ 

'म चङ्गा हुँदै थिएँ। मलाई त्यहाँबाट निस्किन मन नै थिएन।' 

आफूले ज्याँदा सोच्न छोडेको, रिस कम भएको र हरेक कुरा आउँछ जान्छ भन्ने महसुस गर्न थालेको उनको अनुभव छ। 'आफै खेलेको फिल्म मन नपर्दासमेत मलाई टेन्सन नै छैन। अर्को त राम्रै गरिएला नि भन्ने छ', उनी हाँस्दै भन्छन्,'यो हो नि परिवर्तन।' 

निद्रामा नजानिँदो 'गस्ती' र अचम्मको लत  

केही दिन अघि विजयले नाट्यकर्मी सोमनाथ खनालको घरबाट टिभी ल्याएका थिए, मण्डलास्थित आफ्नो कोठामा जोड्का लागि। ल्याएर कुलर अगाडि राखेका थिए। बिहान उठ्दा टिभी गायब। विजयले धुईंधुईं खोजे। हल्ला फैलियो। चोर आएको शङ्का भयो। तर, चोरले त्यही टिभी मात्र त बोकेर नलानु पर्ने!

केही बेरको हल्लाखल्लापछि सँगै सुतेका प्रदिपकुमार चौधरीले बताए रातको कथा। निद्रामा हिँड्ने बानी भएका विजयले राति टिभी उठाएर अर्को कोठामा लगेर राखे। र, आफ्नै ठाउँमा फर्केर सुते। विजयलाई केही याद छैन। निद्रामा गस्ती गर्ने यो बानीसँग जोडिएका विभिन्न घटनाहरु उनी केही धकाउँदै सुनाउँछन्। भन्छन्, 'होसमा भए पो सुधार्न सकिन्छ। बेहोसीमा गरिने काम त कसरी सुधार्नु।'

त्यस्तै विजय जाँड, रक्सी, चुरोट केही पनि खाँदैनन्। तर, उनी अचम्मको लतमा फसेका छन्। कक्षा ८ पढ्दासम्म सुत्नुअघि चुक अमिलो र नुन चाट्न पर्ने उनलाई एक्कासी चाउचाउको लत लाग्यो। हरेक रातको खानापछि उनी आँखा चिम्लेर पल्टन्थे र भाइले सोली बनाएर उनको मुखमा चाउचाउ हालिदिन्थे।

उनको चाउचाउ लत आज पनि उस्तै छ। कोलकातामा छँदा समेत खोजिखोजी चाउचाउ खाने उनी आज पनि खानापछि यसै निदाउँदैनन्। 'बरु भात नभए हुन्छ। चाउचाउ चाहिन्छ। बिस्तारै बानी हटाउने कोसिस गर्दैछु,' उनले भने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell