PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सांसद नीरु पालमाथि तेर्स्याइएको गोली : अनुसन्धान कहाँ पुग्यो? किन सबै मौन? 



सविन ढकाल

सांसद नीरु पालमाथि तेर्स्याइएको गोली : अनुसन्धान कहाँ पुग्यो? किन सबै मौन? 

काठमाडौं : संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधान न्यायाधीशको विषयले राजनीतिक मतभेद बढिरहेकै बेला वानेश्वरमा अप्रत्यासित घटना घट्यो। समिति सदस्य सांसद निरु पालले दावी गरिन् – उनीमाथि वानेश्वरमा पेस्तोल ताकियो।

राजनीतिक मुद्दा र बहसका लेन्स एकाएक निरु पालको दावीतिर खिचिए। सार्वजनिक महत्वका अधिकांश मुद्दाहरु एकाएक छायाँमा पर्योा। एक सांसदमाथि तेर्स्याइएको बन्दुकको प्रकरण सानो हुने कुरै थिएन। तर, साउन १६ गतेको त्यो घटना जुन स्तरमा फैलियो त्यही स्तरमा स्वात्तै सेलायो पनि। मुलुकका मुल मुद्दाहरुलाई 'डेभिएट' गर्नेगरी सनसनी फैलाइएको मुद्दा एकाएक किन गुमनाम भयो?  
 

+++ 
 
“दूध किन्न बजार गएकी थिएँ। फर्केर घरको गेटमै आएपछि अपरिचित व्यक्तिले रोके। बाटो छेकेरै रोकेपछि उनले मेरो छातीमा पेस्तोल तेर्स्याए। भोलिको बैठकमा जाने हैन भनेर चेतावनी दिए। भोलिको बैठकमा गए ‘तेरो बाउ खड्गे’ले पनि तँलाई जोगाउन सक्दैन’ भन्यो। उसले मेरो मोबाइल पनि लग्यो।'

यो बयान सांसद निरु पालकै हो। सांसदमाथि कसैले यस्तो हर्कत गर्छ भने आम मानिसले शान्ति सुरक्षाको कस्तो महसुस गरे होलान्? घटनाले स्वभाविक रुपमा तुल पक्ड्यो।

जुन दिन उनलाई धम्काइयो दावी गरियो त्यसको भोलिपल्ट प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीसँग संसदीय सुनाई समितिको बैठक बस्दै थियो। निरु पालको दावी अनुसार त्यो बैठकमा गए कसैले बचाउन नसक्ने धम्की दिइयो। स्वभाविक हो, निरु पालमात्र होइन सङ्घीय संसद्को एक सिंगो समिति नै उनीमार्फत् प्रभावित पार्न खोजियो।

घटनाको दुई दिन यही विषयले संसदमा ठाउँ पायो। प्रहरी पनि सक्रिय भयो। अन्धाधुन्ध रूपमा सय जनलाई नियन्त्रणमा लिइयो। अनुसन्धान पनि भयो। तर, हात लाग्यो शून्य। महानगरीय प्रहरी परिसर काठमाडौँले २४ घण्टा नबित्दै एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गर्‌यो। तर, तीन साता भइसक्दा पनि प्रहरीले घटना बारे जानकारी दिन सकेको छैन। समितिका संयोजक एसपी जोशी घटनाको अनुसन्धान भइरहेको बताउँछन्। भन्छन्, 'घटनाको अनुसन्धान गरिरहेका छौँ। अनुसन्धान सकिएपछि जानकारी गराउँछौँ।'

प्रहरी स्रोतका अनुसार निरु पालमाथिको यो घटनाको एक तहको अनुसन्धान भइसकेको छ। उनको लगिएको मोबाइल समेत कहाँ छ। कुन समयमा अफ भयो भन्ने पनि खुलिसकेको छ। तर, प्रहरी घटनाबारे सार्वजनिक रूपमा जानकारी दिन चाहँदैन। 

सांसद पालले प्रहरीकोमा उजुरी नै नदिनुले घटना बारे त्यतिखेर नै शङ्का पैदा गरेको थियो। सांसद र समिति माथिको कुरा भएकाले पनि घटनाको सत्य तथ्य बाहिर ल्याउन जरुरी भएको पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्।

तर, यति गम्भीर विषयमा किन मौनता साधिँदैछ? कतै दावी गरिएको घटना नै नभएको त होइन? थियो भने कसले गरायो?  घटना नभएको भए प्रहरीले घटना भएकै थिएन भन्न किन खुट्टा कमाएको हो? त्यसभन्दा पनि ठूलो प्रश्न हो : के अब कसैलाई पेस्तोल ताकियो भने त्यो विषय यसैगरी मौनतामै सकिने हो?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell