PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

व्यक्तिगत गोपनीयतासम्बन्धी विधेयक संसदमा दर्ता, अरुको इमेल हेरे वा फरवार्ड गरे तीन वर्षसम्म कैद



व्यक्तिगत गोपनीयतासम्बन्धी विधेयक संसदमा दर्ता, अरुको इमेल हेरे वा फरवार्ड गरे तीन वर्षसम्म कैद

काठमाडौँ : सरकारले वैयक्तिक गोपनीयतासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गरेको छ। 

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सोमबार प्रतिनिधि सभामा विधेयक दर्ता गरेका हुन्। विधेयकले व्यक्तिको जीउ, आवास, सम्पति, लिखत, तथ्याङ्क, पत्राचार तथा चरित्रसम्बन्धी विषयको गोपनीयताको हकलाई सुनिश्चित गर्नेछ। त्यसैगरी सार्वजनिक निकाय वा संस्थामा रहेका वैयक्तिक सूचनाको संरक्षण र सुरक्षित उपयोगको व्यवस्था गर्ने तथा व्यक्तिको गोपनीयता अतिक्रमण हुन नदिने उद्देश्य राखेको छ। 

पत्रकार, अस्पताल, चिकित्सक, अनुसन्धानकर्ता, आइटी लगायतका क्षेत्र यसबाट प्रभावित हुनेछन्। 

के के छ व्यवस्था ?

•    कुनै पनि व्यक्तिलाई उसको निजी जीवनसँग सम्बन्धित जैविक वा आनुवंशिक पहिचान, लैङ्गिक पहिचान, यौनिकता, यौन सम्बन्ध, गर्भाधान वा गर्भपतन, कुमारीत्व, पुरुषत्व, नपुसंकत्व वा शारीरिक रोग जस्ता विषयको गोपनीयता कायम राख्ने अधिकार हुनेछ। 
•    यस्ता विषयमा निजी जीवनमा असर पर्ने, आघात पुग्ने वा बेइज्जत हुने गरी कुनै पनि विषय लेखेर, बोलेर, प्रकाशन गरेर वा विद्युतीय माध्यम प्रयोग गरेर वा अन्य कुनै पनि प्रकारले सार्वजनिक गर्नु वा गराउनु हुँदैन। 
•    व्यक्तिको मञ्जुरी नलिई जीउ वा साथमा रहेको वा प्रयोग गर्ने कुनै वस्तुको तलासी लिन हुँदैन। सार्वजनिक ठाउँमा खटिएका सुरक्षाकर्मीले भने सुरक्षा जाँच गर्न पाउने छन्। 
•    महिलाको प्रजनन स्वास्थ्य र गर्भावस्था सम्बन्धी विषय अनतिक्रम्य हुनेछ र निजको मञ्जुरी बिना त्यस्तो विषयको जानकारी अरु कसैलाई दिन वा सार्वजनिक गर्न हुँदैन। 
•    यी विषय वैयक्तिक लिखत मानिनेछ र गोपनीयताको अधिकार रहनेछ। यस्तो लिखत कसैले सार्वजनिक गर्न वा गराउन हुँदैन। 


•    कुनै पनि व्यक्तिको वैयक्तिक वा पारिवारिक तथ्याङ्क संकलन गर्दा मञ्जुरी लिनु पर्नेछ। 
•    व्यक्तिको राजनीतिक सम्बद्धता र निर्वाचन सम्बन्धी विवरण पनि कसैलाई दिन वा सार्वजनिक गर्न वा गराउन हुँदैन।
•    चिट्ठीपत्र, पत्राचार वा इमेल वा विद्युतीय माध्यमबाट प्रवाह हुने च्याट संवाद वा त्यस्तै प्रकृतिका अन्य पत्राचारको गोपनीयता कायम राख्न पाउने अधिकार हुन्छ। यस्तो विषय अनधिकृत रुपमा पढ्न, हेर्न अरु कसैलाई उपलब्ध गराउन, प्रकाशन गर्न प्रसारण गर्न वा अन्य कुनै किसिमले सार्वजनिक गर्न हुँदैन। 
•    अरु कसैको इमेल खोल्नहेर्न वा अन्य कसैलाई पठाउन (फरवार्ड गर्न) हुँदैन। 
•    कुनै पनि व्यक्तिको चरित्र वा सामाजिक प्रतिष्ठामा क्षति पुग्ने गरी मञ्जुरीबिना तस्बिर खिच्न वा बदनाम गर्ने नियतले अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाउन वा एक व्यक्तिको तस्वीरको केही अंश अर्को व्यक्तिको तस्वीरको अर्को अंशसँग मिलाई अर्कै तस्वीर बनाउन प्रकाशन गर्न वा सार्वजनिक गर्न वा गराउन हुँदैन। 
•    कसैले कुनै सार्वजनिक ठाउँको तस्वीर खिच्दा त्यस्तो ठाउँमा रहेको कुनै व्यक्तिसमेतको तस्वीर खिचिन गएकोमा समेत त्यस्तो व्यक्तिको मञ्जुरी बिना सो तस्वीर प्रयोग गर्न वा गराउन हुँदैन। 
•    सताउने, हैरान पार्ने वा निजबाट कुनै अनुचित फाइदा लिने वा तस्वीरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले मञ्जुरी नलिई तस्वीर प्रकाशन, प्रचार प्रसार खरिद बिक्री वा सार्वजनिक गर्न वा गराउनु हुँदैन। 
•    अभियोगपत्र दायर नभएसम्म अधिकारप्राप्त अधिकारीले सार्वजनिक गर्न वा गराउनु हुँदैन। तर त्यस्तो व्यक्तिको नाम र अभियोगको विवरण वा सूचना सार्वजनिक गर्न बाधा पर्ने छैन। 
•    दुई वा दुईभन्दा बढीको कुराकानी रेकर्ड गर्न वा गराउन हुँदैन। 
•    शौचालय, स्नान गृह वा कपडा फेर्ने कोठाबाहेकका सार्वजनिक स्थलमा सिसिटिभी क्यामेरा जडान गर्न सकिनेछ तर सबैले देख्ने र जानकारी पाउने गरी त्यस्तो क्यामेरा जडान गरिएको सूचना दिनुपर्नेछ। 
•    कुनै व्यक्तिको आवास वा कुनै कार्यालयको निगरानी वा जासुसी गर्न हुँदैन। 
•    सार्वजनिक निकाय, पुरातात्विक महत्वको क्षेत्र, सुरक्षा निकायको भवन, संरक्षित क्षेत्र, खानी, कुनै व्यक्तिको आवासमा अनुमति बिना ड्रोन चलाउन पाइँदैन। 
•    अध्ययन अनुसन्धान वा जनमत संकलन गर्ने प्रयोजनका लागि सूचना संकलन गर्न सकिए पनि व्यक्तिको मञ्जुरी र कुन प्रयोजन हो पूर्ण जानकारी दिनुपर्नेछ।  

यस्तो छ विधेयक

 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell