PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विराटनगरमा ओलीको घोषणा : मलाई पागलले मात्र भ्रष्ट भन्नेछ, भ्रष्टाचार गर्ने जो भए पनि अनुहार नहेरी कारबाही



अनन्तराज न्यौपाने

विराटनगरमा ओलीको घोषणा : मलाई पागलले मात्र भ्रष्ट भन्नेछ, भ्रष्टाचार गर्ने जो भए पनि अनुहार नहेरी कारबाही

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको एकीकरण प्रक्रिया ३ दिन सरेको जानकारी दिँदै भदौको २१ गते भित्रमासम्पूर्ण एकीकरण भइसक्ने बताएका छन्।

विराटनगरमा बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले १९ र २० गते स्थायी समितिको बैठक बसेर एकीकरण प्रक्रियालाई सम्पूर्णता दिइने जानकारी दिए।

‘भदौको १० र ११ गते सचिवालयको बैठक हुने छ’, उनले भने, ‘त्यसपछि बिमस्टेकको बैठकले व्यस्त बनाउँछ। श्रीलङ्काका राष्ट्रपतिको १२ र १३ अनि बर्माका राष्ट्रपतिको १६ र १७ गते भ्रमण छ। त्यसमा पनि व्यस्त हुनुपर्छ। बिमस्टेकको सभापति अहिले हामी छौँ। त्यसको बैठक नगरे त्यो पनि एक वर्ष पछि धकेलिन्छ। त्यसैले १९ र २० गते मात्र स्थायी समितिको बैठक गरेर एकतालाई पूर्णता  दिन सक्छौँ।’

एमाले र माओवादी केन्द्रको एकीकरण अन्तर्घुलन पद्धतिबाट भएको उल्लेख गर्दै उनले यो कुनै संयुक्त मोर्चा वा जत्थाको एकता होइन भन्ने व्याख्या प्रस्तुत गरे।
 
प्रमको कथन थियो, ‘कतैकतै केही साथीहरू पूर्व एमाले र कतै पूर्व माओवादी केन्द्रका कार्यकर्ता मिलौँ र बार्गेनिङ क्षमता बढाऔँ भन्ने अभियानमा हुनुहुन्छ भन्ने सुनेको छु। तर त्यस्तो चल्दैन। योग्यता र क्षमताका आधारमा सबैले उचित सम्मान पाउनु हुनेछ। केही साथीमा अर्कै–अर्कै ग्रन्थीले काम गरेको सुनेको छु। ग्रन्थी छामेर बस्ने बेला यो होइन।’

एकीकरणका सम्बन्धमा कार्यकर्ताका स्तरमा केही समस्या नभएको तर अध्यक्ष, उपाध्यक्ष र सचिवका सम्बन्धमा समस्या देखिएको उनले स्पष्ट पारे।

कम्युनिस्ट पार्टी छाडेर भड्किएका केही साथीले नेकपाले शहीदको अपमान गर्यो, हिजो हामी महान् जनयुद्धमा  थियौँ आज त्यसको सपना कता गयो भन्दै भड्काउने प्रयास गरेको भन्दै उनले कार्यकर्तालाई सम्झाउने प्रयास गरे।

‘तिनै शहीदका बाटामा छौँ हामी’, ओलीले भने, ‘एकीकरणपछि नेकपा सत्तामुखि भयो, अन्यौलमा फस्यो भन्ने कुरा पनि आएका छन्। तर हाम्रो विचार स्पष्ट छ, हामी द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादबाट कहिल्यै विमुख हुनेछैनौँ। माक्र्सवादी दर्शनबाट कहिल्यै विचलित हुँदैनौँ। नपढेकाले र नबुझेकाले मात्र त्यसो भन्छन्।’
 

'मलाई पागलले मात्र भ्रष्ट भन्नेछ'

केपीको दाबी थियो, ‘तपाईंहरूको यो प्रधानमन्त्रीलाई पागलले मात्र भ्रष्ट भन्ने छ सद्देले भन्दैन। जनताले हामीलाई मौका दिएका छन् म पूरा गर्छु। अध्यक्ष प्रचण्ड र मैले अब जीवनमा केही पाइराख्नु जरुरी छैन। अब बाँकी जिन्दगी देशको समृद्धिका लागि बिताउने हो।’

प्रधानमन्त्रीले पार्टी भित्रका मित्र भ्रष्ट भएमा तिनको अनुहार नहेरी काम हेरेर कारबाही गरिने चेतावनी दिए।

प्रम ओलीले प्रदेश सरकार र स्थानीय तहमा विजयी नेकपाका कार्यकर्ताले भ्रष्टाचार गरे तिनलाई नछाड्ने चेतावनी दिएका हुन्।

‘अनुहार हेर्‍यो भने माया लाग्न सक्ला’, प्रधानमन्त्रीले भने, ‘त्यसैले उहाँहरूको काम हेरेर कारबाही गरिने छ।’

उनले आफूमा धृतराष्ट्रको जस्तो पुत्रमोह नभएको हुँदा गल्ती गर्ने जोसुकै नेता र कार्यकर्तालाई पनि कारबाही गर्न सक्ने हिम्मत भएको बताए।
स्थानीय तहका प्रतिनिधिले आफू निर्वाचित हुनेबित्तिकै गाडी र मोटरसाइकल खरिद गरेको गुनासो आफूले बारम्बार सुनिरहेको चर्चा गर्दै ओलीले यस्तो गर्नु गल्ती भएकाले नगर्न सुझाव दिन्छु भने।

उनको आग्रह थियो, ‘पहिले म होइन जनता मेरो होइन जनताको आवश्यकता भन्ने भावना राख्नूस्। अनि सबै सुध्रँदै जान्छ।’

‘यति ठूलो उपलब्धि नेपालमा कम्युनिस्ट पार्टीले कहिल्यै पाएको थिएन’, प्रधानमन्त्रीको कथन थियो, ‘तर यो उपलब्धि अन्तिम होइन, यो त प्रारम्भ हो। यो उत्कर्ष होइन। हामीले विदेश जाँदा पासपोर्ट देखाउने बित्तिकै विमानस्थलको कर्मचारीले जाऊ भन्ने बनाउनु पर्छ। अहिले त मन्त्री जाँदा पनि नेपाली भनेपछि खै तिम्रो कोट हेरौँ त भन्दा रहेछन्। मन्त्रीलाई जुत्ता फुकालेर जाऊ पनि भन्दा रहेछन्। यो सबै हामी गरिब भएर भएको हो। हामी समृद्ध हुनेबित्तिकै कसैले हेप्न सक्तैन।’

‘कुर्सीमा बस्न त जसरी पनि जहिले पनि पाइएला तर हामी कुर्सीमा मात्र बस्न आएका होइनौँ’, ओलीको निर्देशन थियो, ‘तपाईंहरू जनताले मन नपराउने र अलोकप्रिय हुने काम नगर्नूस्। लोकप्रिय हुन बनावटी काम पनि नगर्नूस् । बर्को ओढेर भित्रभित्र खाने र बर्को खोल्दा टक्क मुख रोक्ने अनि बोल्न पनि नमिल्ने काम नगर्नूस्।’

उनले भने, ‘हामीले अलिअलि गरेर किस्ताबन्दीमा परिवर्तन गर्ने अवस्था छैन । यसो गर्दा २ पुस्ता लाग्छ । हामीलाई तत्काल प्रतिफल चाहिएको छ। छिटै गन्तव्यमा पुग्नु छ।’

प्रधानमन्त्री ओलीले पञ्चायत कालमा राँगा गाडी, गोरु गाडी, रिक्सा र साइकलको पनि कर लाग्थ्यो भन्ने सम्झना गर्दै आफूले पनि राँगा गाडी चलाएको र त्यसको कर तिरेको स्मरण गरे।

‘तपाईंहरू १ हजार भैँसी पाल्नूस् कर लाग्दैन तर एउटा भैँसी बेच्नूस् त्यसमा कर लाग्छ किनभने कारोबार भएपछि जहाँ पनि कर लाग्छ’, कार्यकर्तालाई सम्झाउँदै ओलीले भने, ‘उहिलेदेखि हामीले हरेक वस्तुमा कर तिर्दै आएका छौँ तर नेपाली जनताले कर भनेको अहिले नै थाहा पाएजस्तो गरेर हल्ला मच्चाइएको छ। जस्तो हल्ला भएको छ, त्यसरी कर लिएको होइन।’

क्रान्तिका बेला चिनियाँ कम्युनिस्ट पार्टीकी एक १५ वर्षीया किशोरी कार्यकर्ताले गल्ती गरेको उदाहरण दिँदै ओलीले सुरुसुरुमा स्थानीय तहले तिनै किशोरीले जस्तो भूल गरे पनि त्यसलाई सच्याउँदै लैजाने आश्वासन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell