PahiloPost

Nov 13, 2018 | २७ कात्तिक २०७५


निर्मला प्रकरणमा राजनीतिको रंग नदलियोस्, हिजो गोली लागेका युवालाई पनि हेर्नुस्


निर्मला प्रकरणमा राजनीतिको रंग नदलियोस्, हिजो गोली लागेका युवालाई पनि हेर्नुस्

देवकी विष्ट-

प्रसंग नम्बर १

जब म १३ वर्षकी थिएँ। महेन्द्रनगरको ऐठपुर चोकबाट हाम्रो घरतिर जाँदा बाँसको ठूलो झ्याङ थियो। बाँसको झ्याङनिर यस्तो अध्यारो हुन्थ्यो कि हिँड्न दिउँसै डर लाग्थ्यो। अहिले बाँसको झ्याङ मासियो। तर त्यतिखेर स्कुल जाँदा साथीहरुको समूह बनाएर आउने जाने गर्थ्यौं।

कहिलेकाही साथीहरु मिलेर ‘भूत आयो’ भन्दै त्यहाँ निरबाट डराउँदै भाग्थ्यौं। मलाई पनि त्यो बाँस घारीको बाटो हिँड्न नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। एक दिन मेरो बहिनी त्यहीँ तर्सिइन्। त्यो त्रास निको हुन समय लाग्यो। उखुबारी होस् वा सुनसान सडक, एक्लै कहिले जादैनथ्यौं। अलि सुनसान बाटो भए कतै नहेरी चप्पल हातमा समातेर कुद्ने बानी थियो हाम्रो। साइकल आफूसँग छ भने अगाडि नै त्यहाँनिर कुदाउँछु भनेर सोच्थेँ। साँझ हिँड्ने त कल्पना समेत गर्दैनथ्यौं। 

प्रसंग नम्बर २

गाउँमा मानसिक सन्तुलन सुस्त भएका र राम्रोसँग बोल्न नसक्ने शंकर नामका एकजना युवक (६ वर्ष अघि मृत्यु भयो) थिए। उनी आमासँगै एक्लै बस्थे। गाउँघरमा बुझ्न सक्ने सानो बच्चालाई तर्साउन पर्ने भएमा “शंकर्‍या लाटो आयो” भनेर डर देखाउँथे। रून लागेको बच्चा पनि चुप हुन्थे। मानौ एक किसिमको त्रास थियो। ठूलो भएपछि पनि म उनलाइ देख्ने बित्तिकै साइकल कुदाउँथेँ। साना साथीहरुले बाटोमा हिँड्दा कहिलेकाहीँ शंकरलाई जिस्क्याउँथे।

उ ‘हुँ हुँ ...’ गरेर रिसाउँथ्यो तर कहिले पनि हातपात गरेन। उसलाइ जिस्काए भने ढुङ्गाले भने हिर्काउथ्यो। अनि ‘आमै’ भनेर रुन्थ्यो। शंकरको घर हुँदै र बाँसको झ्याङ हुँदै कहिले पनि एक्लै हिडेनौं। सधै शंकरसँग एक किसिमको दुरी थियो। अहिले पनि घर जाँदा मानसिक सन्तुलन गुमाएको एक जना अधवैशे छन्, महिला देख्ने बित्तिकै आफ्नो यौनांग समातेर चलाउने गर्छन्। उनीबारे एक महिनाअघि मात्रै घरजाँदा मम्मीले भन्नुभयो। मैले पनि उसलाई देखेँ। तर, उसले कहिल्यै झम्टेन।

यी घटनाबाट मैले मेरो किशोरी अवस्थालाई निर्मलाको किशोरी अवस्थासँग दाँजेकोमात्र हो। साउन १० गते निर्मलाको बलात्कार गरी मारेर उखु बारीमा फ्याँकिएको तस्विर भदौ ७ गतेसम्म पनि हेरिरहेकी छु। सुदूर पश्चिमको परिवेशमा हुर्केको र त्यहाँ जीवन भोगेकाले गाउँलेहरुको दृढता बढी व्यक्त गर्नसक्छु। मिल्नेका लागि अमृत र चिल्नेलाई बिष हुन् कञ्चनपुरका वासिन्दा। 

निर्मलाको नाम सुन्दा आफ्नै मगजमै हिर्काए झै भयो। संयोगले मेरो बहिनीको नामसँग पनि मिल्न गयो। मन चसक्क भयो। समाजिक संजालका प्रयोगकर्ताले उनीप्रति समवेदना त दिए तर उनको अर्धनग्न तस्बिर पनि त्यही देखिइरह्यो जसले एक किसिमको तनाव दिइरहेको थियो।

पच्चीस दिनपछि निर्मलाको बलात्कार गरी हत्या गरेको भन्दै प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिप बिष्टलाई ल्यायो। उनको मुख पूरै छोपिएको थियो। निर्मलाको अर्धनग्न शरीर उखुबारीबाट नै सार्वजनिक गर्नेहरुलाई सोध्न मन लाग्यो, किन बलात्कारी भनिएका बिष्टको मुहार सार्वजनिक गर्न सकेन? पीडितको एक एक तस्बिर देखाउने? पीडक बलात्कारीको मुख छोपेर मानव अधिकार देखाउने? यो पहिलो प्रसंग भने होइन।
 

मैले एक पटक आफ्नो १३ वर्षे उमेरलाई निर्मलाको १३ वर्षको उमेरमा पुर्याएँ। लेख्न बसिरहँदा पनि मलाई निर्मलाले नजिकै आएर छट्पटिँदै भनिन्, “दिदी बलात्कारीले मलाई बलात्कार गरेर उखुबारीमा फ्याँकेको हो, साइकलको चेन बनाउन मैले दिइन पागललाई...।’ अनि फेरि बोल्न छाडे झै लाग्यो। म आफैँ झसङ्ग भएँ। नेपाल प्रहरीले अनुसन्धान गरेन भन्दिन, प्रहरीले आफ्नो कर्तव्य निभायो तर भिआइपी बलात्कारीलाई लुकाउँदै।
 
हाम्रो गाउँघरमा स्कुटर, बाइक चलाउनुअघि साइकलमा खुट्टा चल्छन्। प्रत्येकलाई साइकलको चेन बिग्रेमा बनाउन आउँछ। साउन २५ गते पत्रकार सम्मेलनमा दिलिप बिष्टलाई सार्वजनिक गर्दै सामान्य व्यक्तिले पनि नपत्याउने प्रमाण राखिए। मानसिक सन्तुलन गुमाएको व्यक्तिसँग कसले साइकल बनाइदिन अनुरोध गर्छ? दिलिप बिष्ट बागफाँटा –१९ मा बस्छन् भने निर्मला खोल्टी–२ मा बस्थिन्। कहिले पनि उनीहरुको बाटो एउटै परेन।

निर्मलाको डिएनए परीक्षणको रिपोर्ट नदेखाइकन बिष्टलाई कसरी बलत्कारी बनाइयो सरकार? बलात्कार भएको २३ दिनसम्म बलात्कार गरिएको भनिएको स्थानमा केही प्रमाण नपाउनेले २४ औं दिनमा सर्टको टुक्रा कसरी पायो सरकार? धेरै प्रश्नहरु कञ्चनपुरवासीको मनमा छ। एक चेलीले न्याय नपाउँदा हजारौं आमा, दाजुभाइ, दिदी बहिनी र बुवा कंचनपुरका सडकमा उर्लिएका छन्। उनीहरु घरका विषयमा कहिले राजनीति गर्दैनन्, सरकार। घरका विषयमा न्याय खोज्नु छ भने सबै एकजुट हुन्छन्। पार्टी खोज्दै हिँड्दैनन्। 

सरकार, यी त्यही स्थानीय हुन् जसले तपाईहरुसँगै जन आन्दोलनमा छातीमा गोली थापे। जब २०६२/०६३ मा निरंकुश राजतन्त्र ढाल्न तपाईँहरुसँगै काँधमा काँध मिलाएर सडकमा नारा लगाउँदै १२ दिनसम्म हिँडेकाहरु नै हुन्। महिलाहरु घरघरबाट झाडु ल्याएर सडकमा उत्रिएका हुन्। स्थानीयले अचंलाधीशको आदेशमा हानिएको अश्रुग्याँस र गोली छातीमा थापेका हुन्। तर, पनि टसमस भएनन् र आन्दोलन गरिरहे। झनै अरिङ्गालको गोला झै झम्टिए। आज तिनै जनता न्याय माग्दा कसरी अपराधी भए, सरकार?
 
राजधानीबाट देखिने कञ्चनपुर सोचे जस्तो छैन, सरकार। न्यायको लागि उनीहरु ज्यानको बाजी लगाउनसमेत पछि पर्दैनन्। सुदूर पश्चिमका प्रत्येक जिल्लामा विरोध शुरु भइसक्यो। जुन सडकमा आज टायर बलिरहको छ, जुन सडकमा विरोधका नारा गुञ्जिरहेका छन्, जुन बजार आज बन्द छ, जुन स्कुलहरु आज बन्द छन्,  जुन सडकमा आज कञ्चनपुरवासी कुदिरहेका छन्, जहाँ गोली, अश्रुग्याँस फायर भएको छ, जहाँ बुट प्रहार भएको छ। ठिक आज भन्दा ११ वर्ष अघिको दृष्य फिल्म झै मेरो आँखामा घुमिरहेको छ सरकार।
  
भादौ ७ गते भएका घाइते युवाहरु आफ्नी चेली, बहिनीको अस्मिताको न्यायका लागि गोली खाएर अस्पतालमा छन्। प्रहरी जवानले आफ्नै साथी, आफ्नै छिमेकीलाई आदेश बमोजिम गोली चलाउँदा हातसमेत काप्यो सरकार। अहिले घाइते भएका युवाहरु म जन आन्दोलनका घाइते झैं देखिरहेको छु।  घाइते यी तेज भट्ट, कृत पनेरु, मनोज बुढा, सरोज खड्का, सन्तोष कठरिया र अर्जुन भण्डारी जिउँदा सपुत हुन्। सरकार बायाँ खुट्टामा गोली लागेका अर्जुन भण्डारी अहिले शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्। उनको आर्थिक अवस्था दयनीय छ। आमा सानो पसल चलाएर बस्छिन् भने बुवाको मृत्यु भएको धेरै भयो। 

आन्दोलनमा घाइते भएर प्रहरी हवल्दार हर्कबहादुर पाल र जवान महेश भट्टसमेत घाइते भए। भाद्र ७ गते नै टीकापुर घटना भएको थियो। जहाँ निर्दोष प्रहरी, सशस्त्र प्रहरीको ज्यान गएको थियो। यो दिनले त्यसै पनि एककिसिमको डर उत्पन्न गराउँछ। 

सरकार जब जब सडक तताइन्छ गोली चल्छ त्यसपछि मात्र जनताबाट चुनिएर पठाइएका रातो टीका, माला र कोटधारीहरुको आँखा खुल्छ। 

सिडियो, एसपी र डिएसपीलाई फिर्ता बोलाएर ठिक गरेको छ। होइन भने उनीहरुको ज्यानसमेत खतरामा थियो। 

अहिले गृह मन्त्रालयको आदेशमा सह–सचिवसहित पाँच जनाको छानविन टोली कञ्चनपुरमा पुगी निष्पक्ष छानविन गर्नेछ। आशा गरौ अझै माहोल उग्र बन्न दिने छैनन्। स्थानीयको प्रहरीसँग रिसाइबी होइन। न्याय पाउनुपर्छ भन्ने माग हो। 

विरोधमा उत्रिएका स्थानियहरुको एक्यवद्धता पार्टी भन्दा पनि बलियो छ। यो पार्टीको लडाइ होइन यो जनताको लडाइ हो सरकार। यसलाई राजनीतिक रंग नदियोस्। जनआन्दोलन २०६२/६३ होस् अथवा अखण्डा सुदूरपश्चिम र निर्मला हत्याकाण्ड विरोध आन्दोलन जनताले गरेको आन्दोलन हो। हिजो जनताले अविर, माला लगाएर सत्तामा पुर्‍याए। भोलि त्यही सत्तामा नरहन पनि सक्छ। आज यी युवाहरुले प्रमाणित गरिदिए सबै पुरूष बलत्कारी हुदैँनन्। सुदूपश्चिमेली भाषामा भन्न चहान्छु 'मेरो तमुनलाइ ढोक' छ।



निर्मला प्रकरणमा राजनीतिको रंग नदलियोस्, हिजो गोली लागेका युवालाई पनि हेर्नुस् को लागी १ प्रतिक्रिया(हरु)

R_R [ 2018-08-24 15:18:05 ]
Griha prashaashan ko kuushaasan prasta vaisakyo 2 wata ghatnale...ktm ko FAKE encounter ani kanchanpur ko ghatna,, nepal police ko chhyamata,, usko kaam ko tarika spasta vaisakyo aba!!!

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट