PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


गुगल गरेर उपचार खोज्दा रोगकै फन्दामा : भर्चुअल उपचार टिप्स कति भरपर्दो?


सागर बुढाथोकी

गुगल गरेर उपचार खोज्दा रोगकै फन्दामा : भर्चुअल उपचार टिप्स कति भरपर्दो?

घटना १ : बालकोटका निश्चल कार्कीलाई केही दिनदेखि लगातार खोकी लाग्यो। छाती दुख्न थाल्यो। टाउको दुख्ने र रिंगटा लाग्ने हुन थाल्यो। उनी अत्तालिए तर अस्पताल गएनन्। इन्टरनेटमा सर्च गर्न थाले - लक्षणहरु गुगल गरे। गुगल डाक्टरले बताइदियो, कडा किसिमको टिभी भएको छ।

उनी झन् अत्तालिए तर फेरि अस्पताल गएनन्। गाउँमा अभिभावकलाई फोन गरेर भने, 'मलाई टिभी भएछ।'

अत्तालिँदै गाउँबाट बा-आमा आए। अस्पताल गएर रगतदेखि खकारसम्म जाँच गरे। तर, उनलाई केही भएको देखिएन। पैसा त खर्च भयो नै केही दिन पूरै परिवारले मानसिक तनाव भोग्नुपर्यो।

घटना २ : बालकोटकी सरिता थापालाई रुघाखोकी लाग्यो। घाटी दुखेर केही निल्न नहुने भयो। कफ जमेर ज्वरो आएजसरी टाउको पनि दुख्यो। गुगलले सल्लाह दियो- 'एजिथ्रोमाइसिन' पाँच सय एमजी र 'सेफिक्जिम' दुई सय एमजीको ट्याबलेट पाँच दिन खानुपर्छ। 

गुगलकै सल्लाह मानेर उनले ५ दिनसम्म सामान्य घाटी दुख्दा 'एन्टिबायोटिक' खाइन्। पैसा त गयो नै स्वास्थ्यमा नकरात्मक असर पनि पर्यो।

घटना ३ :  कोटेश्वरका सञ्जीव आचार्यको शरीर भरि डाबर आयो। उनले छालाको डाक्टरलाई देखाउन आवश्यक ठानेनन्। गुगल गरे। 'डक्सिसाइलिन' कम्पोजिसन भएको एन्टिबायोटिक क्याप्सुल महिनाभर खानु पर्ने बतायो गुगलले। दायाँ बायाँ नसोची उनले गुगललाई विश्वास गरे। पैसाको त सत्यनाश भयो नै, डाबर हटेन। शरीरलाई घातक गर्ने एन्टिबायोटिक महिनाभर खानु पर्योे।

यी तीन पात्रका घटना प्रतिनिधिमात्र हुन् जसले हाम्रो समाजमा कसरी मानिसलाई 'सेल्फ डाइग्नोसिस' गर्न लगाइरहेको छ भन्ने बताउँछ। मानिसको स्वास्थ्य र औषधिको प्रयोगमा गुगलले कस्तो प्रभाव पारिरहेको छ भन्ने जनाउँछ। 

हातमा स्मार्टफोन छ,  सबैको पहुँच इन्टरनेटमा । प्रश्नहरुको उत्तर खोज्न कठिन छैन। गुगलले हजारौ लिंक फालिदिन्छ। प्रविधिको विकाससँगै मानिसहरु आफ्नो स्वास्थ्य बारे बुझ्न प्रविधि डाक्टरकहाँ पुग्ने गरेका छन्। 
ती हुन् गुगल डाक्टर!

स्मार्टफोन र इन्टरनेटको पहुँचले मानिसले गुगललार्इ डाक्टरको रुपमा लिने गरेका छन। गुगलकै गरेकै भरमा मानिस आफ्नो उपचार आफै गर्न सक्षम छ त?

चिकित्सकहरुका अनुसार अध्ययन अनुसन्धानबिना गुगल गरेकै भरमा 'मिस्टर पर्फेक्टनिस्ट' हुन खोज्नु अहिलेका अधिकांश मानिसको ठूलो समस्या हो। उपचार गर्नका लागि गुगललाई डाक्टर मान्ने 'ट्रेण्ड' विश्वभर बड्दो छ।  अझ स्वास्थ्य सम्बन्धी समाचार प्रकाशन गर्ने वेबसाइटमा आफ्ना समस्या समाधानका लागि धाउनेको पनि कमी छैन। मानिसहरु प्रविधिको माध्यमबाट 'सेल्फ डाइग्नोसिस' गर्न आकर्षित भएका छन्। तर, गुगल गर्दा आउने सबै जानकारी सही हुन्छन् भन्ने छैन।
 
त्यसैले इन्टरनेटको संसारमा दिइने सल्लाह हो- 'रोगका लक्षण बारे गुगल नगर्नु।'

स्पाइनल इन्जुरी विशेषज्ञ डाक्टर राजु ढकाल गुगलकै कारण 'कन्फ्युज' भएर अस्पताल पुग्ने बिरामी धेरै भएको बताउँछन्। गुगल डाक्टरले मानिसहरुलाई डर पैदा गरेको उनको बुझाइ छ। त्यसैले सामान्य मानिस पनि के के न भएजस्तो गरेर अस्पताल आउँछन्। भन्छन्, 'गुगलबाट जानकारी लिनु राम्रो हो तर त्यसकै आधारमा डाक्टरलाई शंका गर्ने र आफै औषधि किनेर खानु घातक हुनसक्छ।'

***

एनएचएस फाइनान्सियल रेगुलेटरले गरेको अध्ययन अनुसार अमेरिकाका ३० प्रतिशत मानिसले 'जेनरल प्राक्टिसनर' डाक्टरसँग समय लिन सक्दैनन्। डाक्टरको  विकल्पमा उनीहरुले गुगल डाक्टरको सहायतामा 'सेल्फ डाइग्नोसिस' गरिरहेका छन्। डाक्टरसँग समय लिएका सबै मानिसहरुले स्वास्थ्य सम्बन्धी सल्लाह लिनका लागि इन्टरनेटको सहायता लिने नेचुरल हाइड्रेसन काउन्सिलको रिपोर्टमा उल्लेख गरिएको छ। त्यही अनुसन्धानले गुगलमा गरिने २० सर्च मध्ये एक सर्च स्वास्थ्य सम्बन्धी हुने गरेको बताइएको छ।
  
अनुसन्धानलाई नै मान्ने हो भने स्वास्थ्य सम्बन्धी चर्चित वेबसाइटहरुले रोगका लक्षण, फैलावट र रोकथाम जस्ता ९०० भन्दा धेरै अवस्थाका बारेमा जानकारी दिने गरेको छ।

यसले पनि प्रष्ट पार्छ, स्वास्थ्यमा केही समस्या आए गुगलमा 'सर्च' गर्नु विश्वभरका धेरै मानिसहरुमा एक प्रकारको 'ट्रेन्ड' नै भइसक्यो।

तर, त्यसैको आधारमा मानिसहरुले आफ्नो उपचार गर्नु खतरनाक हुन्छ। कतिपय सामग्री अध्ययन अनुसन्धान बिना राखिएका हुनाले त्यसको 'साइडइफेक्ट' भयानक हुन्छ।

गुगल गर्दा सावधानी अपनाउनेमात्रै हो भने यसको साइड इफेक्ट मात्र हैन फाइदा पनि छ।

डाक्टर ढकालका अनुसार मानिसहरु अनलाइनमा सर्च गरेर आउँदा आफूलार्इ परेको समस्याका बारेमा सचेत भर्इ डाक्टरसँग लिएको १०-१५ मिनेटको समय बचाउँछन्। 

जेनरल फिजिसियनका रुपमा डाक्टरहरुले धेरै किसिमका स्वास्थ्य सम्बन्धी अवस्थाहरुको जाँच गर्नुपर्ने डाक्टर आशिष खनाल बताउँछन्। डाक्टरहरु सबै रोगका विषयमा अहिले भइरहेका अनुसन्धानका बारे अपडेट नहुन सक्ने उनको कथन छ। भन्छन्, 'बिरामीहरु गुगल गरेर आउँदा हामी पनि नयाँ कुराका बारे अपडेट भइरहन्छौं। तर, बिरामीहरु कस्तो वेबसाइट हेर्दैछन् भन्ने विषयमा भने आफैँ सचेत भने हुनुपर्छ।'

खनालका अनुसार राम्रो अनलाइनका जानकारी उपयोगी, सही र प्रमाणहरुमा आधारित हुन्छन् भने खराब अनलाइनका जानकारी आधारहीन र भ्रामक। त्यसैले मानिसहरुले एकै सेकेन्डमा सामान्य टाउको दुखार्इलार्इ पनि 'ब्रेन ट्युमर' भएको विश्वास गर्छन्। र, यो अत्यन्तै भयानक हुन्छ। मानिसहरुलाई तनाव बढेर मानसिक रोगले 'एट्याक' गर्न सक्छ। 

आफ्नो स्वास्थ्यका बारेमा बुझ्न र लक्षणहरु पत्ता लगाउन गुगलमा सर्च गर्नुमा केही बेफाइदा हुँदैन। तर, मान्छेहरुलार्इ आफू कहाँ गएर रोकिनु पर्छ भन्ने विषयमा ज्ञान हुनुपर्ने खनालको तर्क छ।

हेल्थ टेस्टिङ वेबसाइट 'मेडिचेक्स डट कम' का हेल्थ एक्सपोर्ट डा हेलेन वेबबर्लीका अनुसार सबैभन्दा प्रचलित कथा खोज्नु मानिसहरुको समस्या नै हो। त्यसैले दुर्लभ र खराब परिदृश्यहरु प्रति मानिस आकर्षित हुन्छन। सामान्य अवस्थामा पनि हाम्रो ध्यान कुनै जटिल रोग लाग्यो कि भन्नेतिर जान्छ। 

सोही कारण अमेरिकामा रोगका लक्षणहरुका बारेमा सर्च गर्दा गुगलले डाक्टरहरुले लेखेको मेडिकल सम्बन्धि आर्टिकल राखेर सावधानी अपनाउन सुरु गरेको छ। यो फिचर हाल अमेरिकामा मात्र प्रयोगमा ल्याइएको छ। गुगलले यो फिचर चाँडै अरु राष्ट्रहरुमा समेत प्रयोगमा ल्याउने जनाएको छ। 

भारतका चर्चित स्पाइनल सर्जन डा राहुल गुप्ता गुगलमा सर्च गरेर अनौठा प्रश्न लिएर आउने धेरै युवाहरुको उपचार गर्दैछन्। उनका अनुसार इन्टरनेटको माध्यमबाट आफैले आफ्नो स्वास्थ्य उपचार गराउनु धेरै खतरनाक हुन्छ। गुप्तालाई उदृत गर्दै  इण्डियन एक्सप्रेसले लेखेको छ 'बिरामीहरुले हामीले दिएको सल्लाह मान्दैनन् र असान्दर्भिक प्रश्न सोधेर हाम्रो समय बर्बाद गर्छन्।'
 
गुप्ताका अनुसार स्वास्थ्य जाँच गराउनका लागि एक राम्रो डाक्टर खोज्न गुगल उपयुक्त हुन्छ। यस्तै औषधीको सही नाम वा शब्दहरु र स्वास्थ्य सम्बन्धी सामान्य विषयमा गुगल सर्च गर्न हानी हुँदैन।

***

आफ्नो स्वास्थ्य उपचार आफै गर्ने कोसिसले मानिसलाई आफूमा भएको भन्दा धेरै भयानक समस्या रहेको छ भन्ने बुझाउने डा अरुण उप्रेती बताउँछन्। आफूलाई निदाउन समस्या भएको मान्छेले गुगल गर्दा 'इन्सोमेनिया',  अत्यधिक 'डिप्रेसन' भएको जानकारी दिन्छ। यसले चिन्ता बढाई स्वास्थ्य झनै बिग्रिन जान्छ।

एक अध्यन अनुसार २४ देखि ४० वर्ष उमेरसम्मका मानिसहरु इन्टरनेटको माध्यमबाट आफैँ उपचार गराउन लागिपरिरहेका छन्। यसले मानिसको स्वास्थ्यमा भयानक असर त गर्छ नै डाक्टरहरुप्रति पनि अविश्वास पैदा गर्नसक्छ।

मानिसहरुले आफूमा देखा परेको लक्षणहरुलार्इ ध्यान नदिएकाले पनि 'सेल्फ डायग्नोसिस' एक समस्याका रुपमा देखिएको छ।

गुगलमा सर्च गर्दा बिरामीले शरीरमा दुखाइ भएको कारणलार्इ बिग्रिएको मुडका कारण भएको भन्ने बुझ्न सक्छन्। तर, डाक्टरले छाती दुखेका कारण 'अर्टेरी डिजिज' हुन सक्ने भन्दै त्यस्तो अवस्थामा 'इलेक्ट्रोडायग्राम' गर्न लगाउन सक्छन्। 
 

गुगल डाक्टरलाई कति विश्वास गर्ने?

डा खनाल इन्टरनेटमा धेरै सूचनाहरु सत्य भए पनि एक जनामा देखापरेको लक्षणहरु अरु रोगहरुसँग मिल्न सक्ने बताउँछन्। त्यसले भ्रम सिर्जना हुन्छ। त्यसैले रोगको सही उपचार गराउन गुगल डाक्टर हैन वास्तविक डाक्टरकोमा पुग्नुपर्छ।

'सेल्फ डायग्नोसिस' स्वास्थ्यको लागि घातक हुने उनको कथन छ।

रोगका लक्षणहरुका सम्बन्धमा गुगल गर्नु गलत नभएको एकथरी चिकित्सकहरुको दाबी छ। डाक्टरकहाँ जानु अघि आफ्नो समस्याका बारेमा ज्ञान लिनु राम्रो भएको उनीहरु बताउँछन्। गुगल गरेकै भरमा आफैँ जान्ने हुन थाल्यो भने चाहिँ जोखिम छ। आफूलाई भएको बिमारीका सम्बन्धमा डाक्टरसँग नै परामर्श आवश्यक छ। साथै वेबसाइट छनौट गर्दा त्यो कति विश्वसनीय छ भन्नेमा सचेत हुनुपर्छ। अधिकांश डाक्टरहरुको गुगल डाक्टरप्रति उस्तै धारण छ।

त्यसैले उनीहरु भन्छन्, 'गुगललार्इ भन्दा आफनो डाक्टरलाई बढी विश्वास गर्नुहोस्।'



गुगल गरेर उपचार खोज्दा रोगकै फन्दामा : भर्चुअल उपचार टिप्स कति भरपर्दो? को लागी १ प्रतिक्रिया(हरु)

Thakur K.C [ 2018-08-27 12:49:24 ]
राम्रोसंग गुगलमा रोगका लक्षणहरु अध्ययन गर्ने हो भने निकै ठुला रोगको पनि पहिचान हुन्छ है । मलाई त नेपालका आन्दोलनकारी डाक्टरहरु भन्दा त यो गुगलको सल्लाहनै ठिक लाग्यो । ब्याटमिन्टन खेल्दा हात दुख्न थाल्यो, त्यो पनि सुत्दामा मात्र । चलेकै अस्पताल र डाक्टरका गए, १६, १७ हजार त रोग पत्ता लगाउनैमा लाग्यो, तर रोग पत्ता लाग्यो भनेर दिएको औषधिले कामै गरेन फेरी दुख्न थाल्यो । आखिर गुगलले नै रोग पत्ता लागाई दियो, partial rotator cuff tear भएको रहेछ । गुगलकै सल्लाहा अनुसार एक्सरजाईजहरु गरें अहिले आएर एकदम ठिक भयो ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट