PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बिमस्टेकमा आउन लागेका भुटानी सरकार प्रमुखलाई सोध्न मन छ आखिर प्रजातन्त्र ल्याउनुपर्ने रहेछ हामी किन लखेटियौं?



बिमस्टेकमा आउन लागेका भुटानी सरकार प्रमुखलाई सोध्न मन छ आखिर प्रजातन्त्र ल्याउनुपर्ने रहेछ हामी किन लखेटियौं?

बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को शिखर सम्मेलन यही भदौ १४ र १५ गते काठमाडौंमा हुन लागेको छ । बिमस्टेक शिखर सम्मेलनमा भुटानका तर्फबाट त्यहाँको अन्तरीम सरकारका प्रमुख तथा प्रधानन्यायाधीश छिरिङ वाङ्चुक पनि सहभागी हुँदैछन् । यही मेसोमा  तीन दशकदेखि नेपालमा अल्झिरहेको भुटानी शरणार्थी समस्यालाई निष्कर्षतिर डोर्‍याउन पाए हुन्थ्यो भन्दै भुटानी शरणाथी नेताहरुपनि अहिले राजधानी आएर विभिन्न पक्षसँग संवादमा जुटिरहेका छन्।

 भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अहिले राजधानी आएर भुटानका दातृ निकायलाई पत्राचार गरेर भुटानभित्रको मानवअधिकारको नाजुक अवस्थाबारेमा जानकारी गराउन जुटेका छन्। अन्य नेता नेपाल सरकारका विभिन्न निकायसँग परामर्शको प्रयासमा छन्। अहिलेसम्म तेस्रो देशमा पुनर्वास अन्तर्गत  अमेरिका, क्यानडा, अष्ट्रेलिया, न्युजील्याण्ड, डेनमार्क, नर्वे, बेलायत र नेदरल्याण्ड्सले करिब १ लाख १२ हजार शरणार्थी लगेका छन्। बाँकी करिब साढे ९ हजार शरणार्थी अझै नेपालका शरणार्थी शिविर र आसपासमा सल्बलाइरहेका छन्। उनीहरुको भविष्यको निर्क्यौल अझै छैन। तेस्रो देश लग्ने क्रम लगभग टुंगिएकोले अब भुटान फर्काउने वा नेपालमा नै राख्ने भन्ने बारेमा नेपाल सरकारले निर्णय लिनुपर्नेछ। यसबारे केही शरणार्थी नेताहरुले पुनर्मिलन (रियुनियन)को अर्को एउटा विकल्प पनि निकालेका छन्। यसको मतलब हो पारिवारीक पुनर्मिलनको लागि तेस्रो देश गइसकेका शरणार्थीका नेपालमा रहेका शरणार्थीलाई पनि उतै पठाउने।

अहिले  यही अजेण्डा लिएर हिंडेका भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, पिपुल्स फोरम फर हुमन राइट्सका महासचिव डीपी काफ्ले र भुटानी शरणार्थीकै मामिलामा अनुसन्धान गरिरहेका युवा आर्यन सिलवाल जोशी  राजधानीमा अचानक भेटिए। अनुसन्धाता जोशीका अनुसार उनले हालै शिविरमा गरेको अनुसन्धानका क्रममा ११५ परिवारसँग कुरा गर्दा ९९ प्रतिशत अझै पनि तेस्रो मुलुकमा जान तयार छन्। 
प्रस्तुत छ, यी र अन्य विविध विषयमा पौडेल र काफ्लेले लेखनाथ अधिकारीसँग गरेको कुराकानी : 

किन आउनु भयो राजधानी ?
बलराम पौडेल : केही कुराहरु उठाउनुपर्ने भएकाले राजधानी आएका हौं । जस्तो कि तेस्रो देशमा पुनर्वासका क्रममा शरणार्थीका आफन्तहरु कोही अझै यता हुनुहुन्छ । यहाँ रहेका आफन्तहरुलाई पनि उता जाने व्यवस्था गर्नुपर्‍यो भनेर हामीले विभिन्न पक्षसँग भेट्न खोजिरहेका छौं । परराष्ट्रमन्त्रीसँग भेटेर कुरा राख्न खोजेको भएपनि बिमस्टेक बैठकको तयारीका लागि उहाँको कार्यव्यस्तताले समय मिलिरहेको छैन । मिलेमा सबै कुरा राख्नेछौं । 

डीपी काफ्ले : हालै म अमेरिका र क्यानडा भ्रमणमा गएर आएको छु । त्यहाँ गएका भुटानी शरणार्थीहरुसँग समेत भेटें । उहाँहरुका आफन्त यतै शिविरमा बसिरहेका कारण अप्ठेरो महसुस गरिरहनुभएको रहेछ । त्यसैले मानवीय हिसाबले पनि यो समश्याको समाधान गर्नुपर्‍यो भनेर हामीले आवाज उठाउन लागेका हौं।
 
अहिले यहाँ भएका शरणार्थी तेस्रो देशमा जान तयार छन् त ?
पौडेल : तयार छन् । 
काफ्ले : तयार भएकै कारण हामी पहलमा लागेका हौं ।

अहिले आफन्त तेस्रो देश गएका र आफू यता छुटेका कतिजति परिवार छन् ?
पौडेल : केही हजार शरणार्थी छन् । 
काफ्ले : यदि तेस्रो देशमा गएकाहरुसँग यहाँ रहेका परिवारको पुनर्मिलन गराइयो भने करीब ४ हजार शरणाथी मात्रै बाँकी रहनेछन् ।  

यसको मतलब पुनर्वासमा गएकाहरुसँग उनीहरुका परिवारका मान्छे सबै पठाइदिएपनि पुरै शरणार्थी समश्या त समाधान हुने रहेनछ होइन ?

पौडेलः पूरै त समाधान हुँदैन । तर, मानवीय हिसाबले यसले महत्वपूर्ण अर्थ राख्छ । यहाँ रहने शरणार्थीको संख्या अझ घट्छ । नेपाल सरकारलाई सजिलो हुन्छ ।
काफ्ले : बाहिर गएका शरणार्थीहरुमा जुन चिन्ता देखिएको छ यहाँ छुटेका आफन्त उता पठाउने व्यवस्था भयो भने उनीहरु धेरै खुसी हुनेछन् । अन्य देशमा पनि यस खालको ‘प्राक्टिस’ पाइन्छ ।

यो विषयलाई लिएर नेपाल सरकार र शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायोग(युएनएचसीआर)सँग कुरा गर्नु भएन त ?
पौडेल : कुरा गर्न पाएका छैनौं । 
काफ्ले : म अमेरिका र क्यानडाबाट फर्केपछि गृहमन्त्री रामबहादुर थापा बादलसँग कुरा गरें । उहाँले सकारात्मक जवाफ दिनुभएको छ । युएनएचसिआरसँग चाहिं हामीले कुरा गर्ने होइन । नेपाल सरकारले नै कुरा गरोस् भन्ने चाहेको हो । 

तेस्रो देशमा गएकाहरुले अभियान चलाउने हो भने त यो मामिला सल्ट्याउन निकै मद्दत पुग्थ्यो होला । १ लाख भन्दा बढी मानिस उता जाँदा पनि केही मद्दत गरेनन् होइन ? बिर्सिए कि के हो ?

पौडेल : त्यसो होइन । उहाँहरुले आफ्नो तर्फबाट गरिरहनु भएको छ । काम पनि गर्नुपर्यो । उहाँहरुले भ्याएसम्म गरिरहनु भएको छ । चर्चा नभएको मात्रै हो । 

काफ्ले : होइन उहाँहरुले गरिरहनुभएको छ । म अमेरिका र क्यानडा जाँदाखेरी उहाँहरु सक्रियतापूर्वक लागेको देखें । त्यहाँका सिनेटरहरुलाई नै भेटेर उहाँहरुले भुटानको मानवअधिकारको नाजुक अवस्थाका बारेमा कुरा उठाउनुभएको छ । कतिपय उतैबाट भुटान जान खोज्दापनि भुटानले दिएनछ । त्यसबारेमा उहाँहरुले सिनेटरहरुलाई भन्नुभएको रहेछ । बाहिर चर्चा नभएको मात्रै हो ।
 
तपाईंहरुले शरणार्थी सम्बन्धी आयोगको पनि कुरा उठाउनुभएको पाइएको छ । अहिले किन चाहियो आयोग ?
पौडेलः हामीले परराष्ट्रमन्त्रीका सहयोगीसँग फोनमा कुरा गरेको तपाईहरुका अजेण्डा के हुन् भनेर सोध्नुभयो । त्यसैगरी गृहमन्त्रालयका उपसचिवले पनि तपाईंहरुका अजेण्डा लेखेर पठाइदिनुस् न भन्नुभएको छ । यसको मतलब हाम्रो अजेण्डा नै उहाँहरुलाई थाहा रहेनछ । आयोग बन्यो भने त हाम्रो मामिलामा के भइरहेको छ भन्ने बारेमा सबै तयारी गरेको हुन्छ । त्यसैले हाम्रो मामिला मात्रै हेर्नका लागि स्थायी प्रकृतिको आयोग बनोस् भन्ने हाम्रो माग हो । 

काफ्ले : शरणार्थी मामिलामा अल्मलिने अवस्था नहोस् । सबै यसमा अपडेट भइरहुन् भन्नका लागि पनि हामीले आयोगको माग गरेका हौं । 

यहाँ बाँकी रहेका शरणार्थीले यतै बस्ने त भन्दैनन् ?
पौडेल :  नभन्लान् । त्यसो भनेपनि नेपाल सरकारले राख्नु हुँदैन । अहिले शरणार्थीलाई यहाँ राखियो भने अरु ८० हजार मानिस भुटानभित्र निकाल्न ठिक्क पारेर राखिएका छन् । उनीहरु यहीं आउनेछन् । त्यसैले बिर्सेर पनि नेपाल सरकारले बाँकी रहेका शरणार्थीलाई यहाँ राख्नु हुँदैन । 
काफ्ले : तेस्रो देशमा शरणार्थी लग्न सुरु गर्दापनि बाँकी रहेकालाई भुटान फर्काउनकालागि भुटान सकारात्मक भएको हो । अहिले नेपाल सरकारले उ सँग यसबारेमा कुरा गर्नुपर्छ । यसबारेमा मैले नेपाल सरकारका कतिपय मान्छेसँग कुरा गर्दा मन्त्रिपरिषद्बाट यो विषयमा नीतिगत निर्णय गर्नुपर्ने तर अहिले सम्म गर्न नपाइएको बताउनुभएको छ ।

तपाईं भुटानी नेताहरु एकीकृत ढंगले अघि बढ्ने हो भने दबाब सिर्जना गर्न पनि सजिलो हुन्थ्यो होला । तर, आफैं झगडा  गर्दै हिंड्नु हुन्छ भन्छन् नि ?

पौडेल : त्यस्तो हुन्न । हामी एकीकृत आवाज नै निकाल्न लागिपरेका छौं । 
काफ्ले : यसमा सकेसम्म हाम्रो प्रयास भइरहेको छ ।

कतिपय भुटानी शरणार्थी नेताहरुले भुटानी राजाको अह्रनखटनमा उताबाट लगाएको अनुसार यता काम पनि गर्छन् रे भन्ने सुनिन्छ सत्य हो ?

पौडेल : त्यस्तो हुनसक्छ । धेरै मान्छेमा भन्न नै गाह्रो हुन्छ ।

काफ्ले : हो । पहिला विभिन्न पेशामा रहेर भुटानी शरणार्थीको आन्दोलनलाई कमजोर बनाइएका प्रमाणित तथ्य नै छन् ।
 
तपाईहरुलाई युवा अवस्थामा नै आएको देखेको । संघर्ष गर्दा गर्दै अहिले कपाल दारी फुलिसके । कहिले सम्म यसो गरिरहने ?
पौडेल : समस्या समाधान नभएसम्म गर्नै पर्‍यो । के गर्ने ?
काफ्ले : यो मामिला नटुंगिएसम्म लाग्नै पर्‍यो । 

तपाईहरु शिविर भित्र त बस्नु हुन्न होइन ?
पौडेल : बस्दैनौं । बाहिरै बस्छौं । २८ वर्ष भयो आएको । 
काफ्ले : हामी शरणार्थी नै हौं । तर, बाहिरफेर हिंडी रहनु पर्ने भएकोले बाहिर नै बस्छौं ।  

 खर्चबर्च कसरी चल्छ त ?
पौडेल : अहिले सम्म यताउति खोजेर चलाइरहेका छौं । 
काफ्लेः सरसहयोगबाट चलिरहेको छ । 

अहिले सम्म कति वटा डेरा सरियो त ?
पौडेल : अहिले बसिरहेको १९ औं डेरा हो ।
काफ्ले : मेरो अहिले बसिरहेको छैठौं डेरा हो । 

अर्को प्रसंगमा जाऔं । बिमस्टेक सम्मेलनमा भुटानका अहिलेका अन्तरीम सरकार प्रमुख एवं प्रधानन्यायाधीश पनि आउँदै छन् । के भन्न चाहनुहुन्छ ?

पौडेल : अहिले भुटानमा दुई पार्टी भएको प्रजातन्त्र आएको भनिएको छ । हामीले तीन दशक अघि भुटानमा यही प्रजातन्त्र चाहियो भनेका हौं । त्यतिबेला हामीलाई लखेटियो । अहिले त्यही प्रजातन्त्र चाहिने रहेछ । त्यही प्रजातन्त्र भन्ने हामी लखेटिनुपर्ने अनि उनीहरुलाई चाहिं अहिले त्यही प्रजातन्त्र चाहिने यो कस्तो अनौठो होला ? अन्तर्राष्ट्रिय समुदायले पनि यो मामिलामा कुरा उठाइदिए हुन्थ्यो भन्ने चाहन्छौं । 
काफ्ले :  बिमस्टेकमा आएको बेलामा नेपाल र भुटानको दुईपक्षीय वार्ता पनि होला । त्यो बेलामा शरणार्थीको मामिला पनि उठाइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell