PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चा ओन चा पहिलोपटक नेपाल भ्रमणमा, बौद्ध धर्म र लुम्बिनीसँग यस्तो छ थाइल्यान्ड नेपाल सम्बन्ध



विधुर ढकाल

चा ओन चा पहिलोपटक नेपाल भ्रमणमा, बौद्ध धर्म र लुम्बिनीसँग यस्तो छ थाइल्यान्ड नेपाल सम्बन्ध

काठमाडौं: बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डका प्रधानमन्त्री प्रयुट चा ओन चा नेपाल आएका छन्। 

थाइल्याण्डका पूर्व सेनाप्रमुख समेत रहेका प्रधानमन्त्री चा त्यहाँको शाही परिवारप्रति समर्थित ‘हार्डलाइनर’को रुपमा चिनिन्छन्। सन् २०१० देखि सन् २०१४ सम्म त्यहाँको शाही सैनिकका प्रमुख भएका उनी थाक्सिन सिनावात्रा सरकारका कट्टर विरोधीसमेत थिए। 

सन् २००९ को अप्रिल र २०१० को मे र अप्रिलमा भएको ‘रेड सर्ट’ मुभमेन्टका क्रममा भएको मिलिटरी क्र्याक डाउनको समर्थन गर्ने सैन्य अधिकारी मध्ये एक हुन्।
 
सन् २०१३ को नोभेम्बरमा यिनलक सिनावात्राको कामचलाउ सरकारविरुद्ध भएको आन्दोलनका क्रममा उनले सैनिक तथस्ट भूमिकामा रहेको बताएका थिए। मे २०१४ मा उनले नेसनल काउन्सिल अफ पिस एण्ड अडरको नेतृत्वमा सैनिक विद्रोह गरे। उनले पछि सन् २०१४ मा उनले अन्तरिम संविधान जारी गर्दै आफैलाई सैनिक विद्रोहको अभियोगमा माफी दिलाए। सन् २०१४ को अगस्टमा सैनिक बाहुल्य संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भए। 

उनको यो पहिलो नेपाल भ्रमण हो। 

नेपाल थाइल्याण्ड द्विपक्षीय सम्बन्ध


थाइल्याण्ड बौद्ध धर्मावलम्वी बाहुल देश हो। दुई देशबीच औपचारिक रुपमा सन् १९६० नोभेम्वर ३० मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो। १९६९ मा दुबै देशले एक अर्काको देशमा दुतावास खोलेका थिए। नेपाल र थाइल्याण्ड संस्कृति तथा साझा मान्यताहरुले बाँधिएका छन्। 

दुई देशलाई सम्बन्धमा बाँध्ने सेतुको रुपमा बौद्ध धर्म र लुम्बिनी हो। हरेक वर्ष थाइल्याण्डबाट उल्लेख्य मात्रामा पर्यटकहरु नेपालमा आउने गर्छन्। त्यस्तै हजारौँ नेपाली हरेक वर्ष थाइल्याण्डको भ्रमण गर्छन्। 

नेपालीहरु पर्यटन, स्वास्थ्य परीक्षण तथा शिक्षाका लागि थाइल्याण्ड पुग्ने गर्छन्। दुई देशबीच नियमित सिधा उडान हुँदै आएको छ। 
दुई देशबीच सम्बन्ध तथा साझेदारीलाई अगाडि बढाउन परराष्ट्र सचिव स्तरीय संयुक्त कार्यटोलीको गठन सन् १९८४ मा भएको थियो। पहिलोपटक सन् १९८६ मा काठमाडौँमा कार्यटोलीको बैठक बसेको थियो। 

त्यस्तै साझेदारी सम्बन्ध समन्वयका लागि संयुक्त आयोगको गठन भएको थियो। यो समितिको पहिलो बैठक १९९० मा थाइल्याण्ड र १९९६ मा काठमाडौँमा बसेको थियो। 
यो कमिसनले द्वीपक्षीय साझेदारीका क्षेत्रहरु व्यापार, लगानी, पर्यटन, नागरिक उड्यन तथा संस्कृतिका क्षेत्रमा केन्द्रीत रहेर छलफल गरेको छ। नेपाल र थाइल्याण्ड क्षेत्रीय तथा अन्तर्राष्ट्रिय फोरममासमेत काम गर्दै आएका छन्। दुबै देश बिम्स्टेकका सदस्य राष्ट्र हुन्। 

लुम्विनीमा थाइ साझेदारी


भगवान गौतम बुद्धको जन्मस्थान लुम्बिनीमा थाइल्याण्डको साझेदारी रहँदै आएको छ। लुम्बिनीमा थाइल्याण्डले थाइ शैलीको चैत्य निर्माण गरेको छ। यो चैत्य त्यहाँका राजा भूमिवलको राज्यारोहणको पचासौँ वर्षको उपलक्ष्यमा निर्माण गरिएको हो। 

लुम्बिनीमा हरेक वर्ष थाइल्याण्डबाट बौद्धमार्गीहरु आउने गर्दछन्। 

यसैबीच थाइल्याण्ड र नेपालबीच व्यापार, पर्यटन, लगानी तथा शिक्षाका क्षेत्रमा समेत द्वीपक्षीय साझेदारी हुँदै आएको छ। नेपाल र थाइल्याण्डको व्यापार घाटा भने उच्च छ। नेपालले थाइल्याण्डबाट इलेक्ट्रोनिक्स सामाग्री, निर्माण सामाग्री, यातायात तथा सञ्चार सामाग्रीहरुको आयात गर्दै आएको छ। त्यस्तै नेपालले हस्तकला, उनका कार्पेट तथा नेपाली कागजका उत्पादनहरु निर्यात गर्दै आएको छ। नेपाल व्यापार तथा निर्यात केन्द्रको तथ्यांक अनुसार सन् २०१७ मा ६ अर्ब ६६ लाख बराबरको व्यापार घाटा रहेको छ। 

थाइल्याण्डबाटै अनुसरण गर्दै नेपालले कृषि क्षेत्रमा एक गाउँ एक उत्पादन अभियान चलाएको छ। त्यहाँका स्वर्गीय राजा भूमिवलले ‘एक ट्याम्वन (स्थानीय सरकारको एक इकाई) एक उत्पादन’ चलाएका थिए।
 

द्वीपक्षीय भ्रमणको आदान–प्रदान


नेपाल र थाइल्याण्डबीच द्वीपक्षीय साझेदारीका लागि द्वीपक्षीय भ्रमणको महत्वपूर्ण भूमिका रहेको छ। 

नेपालका तर्फबाट थाइल्याण्डमा भएका भ्रमणहरु

•    सन् १९७० मा राजा महेन्द्र रानी रत्नद्वारा थाइल्याण्डको राजकीय भ्रमण
•    सन् १९७७ मा रानी ऐश्वर्या र युवराज दीपेन्द्रद्वारा थाइल्याण्ड भ्रमण
•    सन् १९७८ मा प्रधानमन्त्री कीर्तिनिधि बिष्टद्वारा थाइल्याण्डको अनौपचारिक भ्रमण
•    सन् १९८० मा राजा वीरेन्द्र र रानी ऐश्वर्याद्वारा थाइल्याण्डको अनौपचारिक भ्रमण
•    सन् १९८४ मा राजा वीरेन्द्र र रानी ऐश्वर्याद्वारा थाइल्याण्डको राजकीय भ्रमण भ्रमण 
•    सन् १९९१ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले थाइल्याण्डको अनौपचारिक भ्रमण
•    सन् १९९४ मा युवराज दीपेन्द्रद्वारा थाइल्याण्डको औपचारिक भ्रमण 
•    सन् १९९६ मा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा थाइल्याण्डको भ्रमण  
•    सन् १९९७ मा राजा वीरेन्द्रद्वारा थाइल्याण्डको भ्रमण
•    सन् २००२ मा प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा थाइल्याण्डको भ्रमण   
•    यसबीचमा विभिन्न तहका राजनीतिक नेतृत्व तथा पूर्वप्रधानमन्त्रीहरु पटक पटक थाइल्याण्डको भ्रमण गर्दै आएका छन्। 

थाइल्याण्डबाट नेपालमा भएका भ्रमणहरु

थाइल्याण्डका सुप्रिम प्याट्रियाक (संघराजा) सोम्डेत फ्र न्यान्सनसम्भारा ले पटक पटक नेपालको भ्रमण गरेका छन्। उनी सन् १९८९ मा राजा भूमिवलले सो पदमा नियुक्त गरेका थिए। यो पद देशका बौद्धधर्मावलम्वीहरुको शीर्ष पद हो। उनको सन् २०१३ मा १०० वर्षको उमेरमा निधन भएको थियो। 

उनले सन् १९७०, १९८०, १९८५, १९९५, १९९९ मा नेपालको भ्रमण गरेका थिए। सन् १९७५ मा वीरेन्द्रको राज्याभिषेक समारोहमा सहभागी हुन त्यहाँका युवराज भानु आफ्ना पिता राजा भुमिवलको प्रतिनिधित्व गर्दै नेपाल आएका थिए।
 
सन् १९७९ मा त्यहाका राजा बज्रलोंगकर्न युवराजको रुपमा १९७९ मा नेपालको भ्रमण गरेका थिए। सन् १९८३ को अगस्टमा त्यहाँका प्रधानमन्त्री जनरल प्रेम तिनसुलनोंण्डाले नेपालको भ्रमण गरेका थिए। 

सन् १९९७ मा राजकुमरा चुलावोर्नले नेपालको भ्रमण गरे। उनले यसै वर्ष अप्रिल–मेमा पनि नेपालको भ्रमण गरेका छन्। त्यस्तै सन् १९९९ मा त्यहाँका राजकुमार महा छक्रि सिरिन्ध्रोणले नेपालको भ्रमण गरे। उनले गत वर्ष सन् २०१७ को अक्टोवरमा समेत नेपालको भ्रमण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell