PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

शेयर बजार गिरावटले चिन्तितहरुले भेटे अर्थमन्त्री : ६ महिना कुर्न अर्थमन्त्रीको सुझाव



पहिलोपोस्ट

शेयर बजार गिरावटले चिन्तितहरुले भेटे अर्थमन्त्री : ६ महिना कुर्न अर्थमन्त्रीको सुझाव

काठमाडौं : पछिल्ला केही दिनमा शेयर बजारका लगानीकर्ताले अर्थमन्त्री डा.युवराज खतिवडा र मन्त्रालयका उच्च अधिकारीलार्इ भेट्ने क्रम बाक्लिएको छ।

बुधवार नेपाल पूँजी बजार लगानीकर्ता संघ र बिहीबार पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधिमण्डलले अर्थमन्त्री खतिवडासँग भेटेर बजारका समस्या सुनाए। बुधवार नै नेपाल इन्भेष्टर फोरमका प्रतिनिधिमण्डलले राजश्व सचिव शिशिर ढुंगानासँग भेटेका थिए। शेयर बजार लगातार ओरालो लागेपछि शेयरसँग सम्वन्धित संस्थाका प्रतिनिधिले अर्थमन्त्री खतिवडासँग भेटेर बजारका समस्या सुनाएका हुन्।

भेटका क्रममा अर्थमन्त्री खतिवडाले ६ महिनापछि शेयर बजारमा सुधार आउने बताएका थिए। ‘६ महिना पर्खिनुस् शेयर बजारमा सुधार आउँछ।अर्थतन्त्रमा पनि सुधार हुन थालेका छन्,’ उनले लगानीकर्तासँग भनेका थिए। उनले लगानीकर्तालार्इ एकजुट भएर आउन समेत आग्रह गरे।

‘विश्वमै शेयरबजारसँग सम्वन्धित संगठित संस्था नहुने तर दबाब दिने समूह भने हुन्छ,’ अर्थमन्त्री खतिवडाले भनेका थिए, ’तर यस्तो संस्थाले अर्थमन्त्रीलार्इ भेटेको तस्विर र समाचार दिने काम भने गर्नुहुँदैन।’

उनले पूँजीगत लाभकरको मुद्दा केही दिनमै टुंगो लाग्ने समेत जानकारी दिएका थिए। अर्थमन्त्री खतिवडाले शेयर बजारलार्इ सहयोग हुने गरी हेज फण्ड ल्याउन लागेको बताएका थिए। लगानीकर्ताले नागरिक लगानी कोष तथा संचय कोषलार्इ शेयर बजारमा मार्केट मेकरको रुपमा ल्याउन अर्थमन्त्री खतिवडालार्इ आग्रह गरेको छ। उनीहरुले बैंकलार्इ ब्रोकर लाइसेन्स दिन आग्रह गरेका थिए।
 

किन भेट्दै छन् अर्थमन्त्रीलार्इ?

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागिरहेको छ। शेयर बजार ओरालो लाग्दा धेरै लगानीकर्ता घाटामा छन्।

यही सिलसिलामा नेपाल इन्भेष्टर फोरम, लगानीकर्ता संघ, पूँजी बजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार लगानीकर्ता संघले भेटेका हुन्। पछिल्लो समय उनीहरुले गभर्नरलार्इ समेत भेटेका थिए। बजार विश्लेषक रोशन थापाले स्थायी सरकार आउँदा समेत शेयर बजार घटेपछि अर्थमन्त्रीसँग भेटेको बताए।

‘नेपालको शेयर बजार बैंकको व्याजदर सँग जोडिएको छ,  व्याजदरको घटबढले नै शेयर बजार तलमाथि हुन्छ,' उनले भने, ‘अहिलेको क्रेडिट क्रन्चको समस्या गभर्नर र अर्थमन्त्रीले चाहेमा सजिलै समाधान हुने भएकाले भेटघाट गरिएको हो।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell