PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भारतीय लगानीमा कैलालीमा १ अर्ब २८ करोडको स्टिल उद्योग



अमर बडुवाल

भारतीय लगानीमा कैलालीमा १ अर्ब २८ करोडको स्टिल उद्योग

काठमाडौं : भारतीय संयुक्त लगानीमा ब्रन्टेस स्टीलले सुदूरपश्चिमको कैलालीमा एक अर्ब २८ करोड रुपैयाँ लगानीमा स्टील उद्योग स्थापना गर्ने भएको छ।

कम्पनीले कैलालीको घोडाघोडी नगरपालिका १० पहलमानपुरमा उद्योग स्थापना गर्न एक अर्ब २८ करोड रुपैयाँ विदेशी लगानी स्वीकृत गराएको उद्योग विभागका वैदेशिक लगानी शाखा निर्देशक प्रशान्त बोहराले जानकारी दिए।

यो उद्योग सुदुरपश्चिमकै सबैभन्दा ठूलो हो। २४ वर्षअघि २०५१ सालमा कैलालीको चुहामा ८२ करोड रुपैयाँ लगानीको वासुलिङ्ग सुगर मिल स्थापना भएको थियो। २७ बिघा क्षेत्रफलमा स्थापना भएको उद्योगले एक हजार भन्दा बढी व्यक्तिलाई रोजगारी दिइरहेकै बेला सशस्त्र द्वन्दमा असुरक्षाको कारण देखाउँदै २०६१ सालमा बन्द भएको थियो।

वासुलिङ्गपछि सुदूरपश्चिममा ठूलो उत्पादनमूलक उद्योगमा लगानी भित्रिएको थिएन। स्टील उद्योगमा ५३ करोड रुपैयाँ स्थिर पुँजी र ७५ करोड रुपैयाँ चालु पुँजी गरी एक अर्ब २८ करोड रुपैयाँ लगानी हुनेछ। धनगढीका व्यवसायी दिनेशराज भण्डारीलाई व्यवसायिक साझेदार बनाउँदै कम्पनीले उद्योग स्थापनाको प्रक्रिया समेत अघि बढाइसकेको छ। भण्डारी कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।

वातावरणीय प्रभाव मूल्याङ्कन गरिरहेको कम्पनीले छिट्टै उद्योग स्थापना गर्ने जानकारी दिएको विभागले जनाएको छ। वार्षिक एक लाख २० हजार मेट्रिक टन एमएस रड, एङ्गल, च्यानल लगायतका फलामे सामान उत्पादन गर्ने उद्योगको लक्ष्य छ। उद्योगको लागि आवश्यक ६ बिगाह जग्गा खरीदका लागि पहलमानपुरका स्थानीयसँग कम्पनीले सम्झौता पनि गरिसकेको छ।

३ करोड रुपैयाँमा जग्गा खरिद गर्न लागिएको हो। जग्गा उपलब्ध गराउने हरेक परिवारलाई अनिवार्य रोजगारी दिने सम्झौता गरेपछि जग्गा प्राप्तिमा कुनै समस्या नआएको स्थानीयले बताएका छन्। उद्योगमा प्रत्यक्ष रुपमा ३ सय २२ जनालाई रोजगारीको प्रतिवद्धता गरिएको छ।

चमेलियाको बिजुली आएपछि लगानी बढ्यो

नेपाल विद्युत प्राधिकरणले २० वर्ष लगाएर बनाएको ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाबाट गत वर्षको माघ देखि विद्युत उत्पादन सुरु भएको छ।

चमेलियाले ३० मेगावाट मात्र विद्युत उत्पादन गरेपनि थप २०० मेगावाट विद्युत उत्पादनको वातावरण बनाइदिएपछि अहिले त्यहाँ साना ठूला जलविद्युत आयोजना निर्माणाधीन छन्। उद्योगी व्यवसायीहरुले आगामी दिनमा उद्योगका लागि आवश्यक विद्युतमा सहज पहुँच हुने भन्दै उद्योगमा लगानी बढाइरहेको बोहराले बताए।

‘सुदूरपश्चिममा एउटा मात्र ठूलो जलविद्युत आयोजना आउनेहो भने सिमेन्ट, खानी, फलाम तथा स्टीलजन्य उद्योगको निकै राम्रो सम्भावना छ।‘ बोहराले भने, ‘उद्योगी व्यावसायीका लागि ७ नम्बर प्रदेश भर्जिन ल्याण्ड हो। विद्युतको पहुँच हुने हो भने अझै ठूला उद्योगको सम्भावना छ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell