PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

अवार्ड गर्न विदेश मोह : अवार्ड कि बदनामी?



रीना मोक्तान

अवार्ड गर्न विदेश मोह : अवार्ड कि बदनामी?

भारतीय टेलिभिजन जिटिभीले हरेक वर्ष आयोजना गर्दै आएको 'जी सिने अवार्ड' नेपालमा गर्ने भएको छ। जिटिभीका एम.पी सुभाष चन्द्र, नेता अमर सिंह लगायतले केही अघिमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग यस विषयमा वार्ता गरेर फर्केका छन्। 

अवार्डका लागि बलिउडले नेपाल ताक्दै गर्दा नेपाली अवार्ड आयोजकहरुको ध्यान भने अमेरिका, दुबई, मलेसिया तर्फ आकर्षित भएको छ।  

हालै नेपाल चलचित्र संघले 'नेम्पा पपुलर फिल्म अवार्ड' अमेरिकामा गर्ने घोषणा गर्‍यो। 

गत वर्ष नै गर्ने भनिएको अवार्ड सम्बन्धित कलाकार तथा प्राविधिकले अमेरिकाको भिषा नपाएपछि स्थगित भएको थियो। यस वर्ष अवार्डका लागि २५ जना कलाकार संघका प्रतिनिधिहरु अमेरिका जानेछन्। निर शाह, भुवन केसी, सुनिल थापा, रेखा थापा, झरना थापा, दीपकराज गिरी, दीपाश्री निरौला, अनमोल केसी, केकी अधिकारी लगायत अन्य कलाकार अमेरिका जाने भनिएको थियो। 

अमेरिकामा रहेका नेपालीहरुको संगठन 'एसोसियन अफ नेप्लिज इन मिड वेस्ट अमेरिका', 'नेप्लिज एसोसिएसन इन साउथवेष्ट अमेरिका', नेप्लिज एसोसिएसन इन द अमेरिका आदिको संयुक्त आयोजनामा २०१८ अगस्त ३१ देखि सेप्टेम्बर २ सम्म 'नपाली नेसनल कन्भेन्सन २०१८'मा नेम्पा पपुलर फिल्म अवार्ड २०१८ आयोजना गरिने बताइएको छ। 

नेपाल चलचित्र संघका अध्यक्ष प्रदीप कुमार उदयले भने, 'अवार्डका लागि हामी १२ जना नेपालबाट जाँदैछौं। यसपटक अमेरिकामा हुन गइरहेको नेपाली नेपाल कन्भेन्सनमा एकदिन कलालाई दिएको छ। यही समयमा हामी अवार्ड गर्न लागेका छौं। करीब त्यहाँ रहेका चार हजार नेपालीबीच नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकामा अवार्ड गर्न लागेका हौं।'

नेपाली फिल्म नेपालमा मात्र भयो भने सोचे अनुसारको अन्तर्राष्ट्रिय स्तरमा विकास नहुने बताउँछन् उनी। अमेरिकाको सम्पूर्ण व्यवस्थापन सम्मेलनले गर्ने र नेपालबाट चाहिँ 'जाउलाखेल ग्रुप अफ कम्पनी' र 'पर्यटन बोर्ड'ले गर्ने उनले बताए।
 
'हामीले पैसा कमाउने भन्दा पनि नेपाली फिल्मलाई कसरी बिस्तार गर्न सकिन्छ भन्ने उद्देश्यले अवार्ड गर्दैछौं,' उनले थपे।   

***

नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)ले अवार्ड कार्यक्रम मलेसिया, हङकङ, कतार र दुबईमा गरिसक्यो। प्राविधिकहरुको छाता संगठनले ‘नेफ्टा फिल्म अवार्ड’ को दशौं संस्करण आगामी फागुन ३० गते हुने जनाएको थियो। अवार्डको स्थान भने विदेशमा नै गर्ने बताइएको थियो। तर, यसपालीको अवार्ड गर्ने स्थानको अहिलेसम्म पत्तो छैन। 

अवार्डबारे लामाले भने, 'नेफ्टाको पाँचौ संस्करणसम्मको अवार्ड नेपालमै गरेका थियौं। यसपालीको अवार्ड दसैं अगाडि गर्छौं। हामीले अरुले जस्तै कुनै पनि व्यक्तिलाई आफैले टिकट खर्च गर भनेनौं। हामीले नै व्यवस्था गरिदियौं। विदेशमा अहिले धेरै नै नेपाली दर्शक छन्। त्यसैले हामीले विदेश केन्द्रित भएका हौं।' 

'हामीले अरुजस्तो...' भन्दै उनले दिएको अभिव्यक्तिले प्रस्ट संकेत गर्छ अवार्डको अवस्था। 

जापानको टोकियो शहरमा पहिलो पटक ‘सूर्य इन्टरनेसनल अवार्ड २०१८’ पनि आयोजना हुने भएको छ। यतिखेर आयोजक टिम र कलाकार भिजा अप्लाई गर्न व्यस्त छन्। भदौ ३१ गते सम्पन्न हुने अवार्ड समारोहमा नेपालबाट ४ दर्जन बढी कलाकर्मी जापान उड्नेछन्। आयोजक संस्था नै जापानमा रहेकाले कार्यक्रम जापानमा गर्न लागेको टिमले जनाएको छ। 

हालै ‘तेश्रो नेपाली म्युजिक भिडियो अवार्ड’ मलेसियामा आयोजना भयो। यस अगाडिका दुई वटा अवार्ड युएइमा सम्पन्न भइसकेको छ। 

***

पछिल्लो समय विदेशमा अवार्ड कार्यक्रम गर्ने ट्रेन्ड नै बनेको छ। 

चलचित्र बोर्ड पूर्व अध्यक्ष राजकुमार राईले अवार्ड गर्न विदेश पुगेका पछिल्लो अधिकांश अवार्डले बदनामी कमाएर आएको बताउँछन्। 

'नेपाली फिल्मको बजारिकरण गर्न अवार्ड कार्यक्रम विदेशमा गरिन्छ। विदेशमा भएका नेपाली र विदेशीले नै फिल्मको क्रियाकलाप हेरिदिए पनि बजार बिस्तार हुन्छ भन्ने उद्देश्यले गरिन्छ,' विदेशमा हुने अवार्डबारे उनले भने,  'र, अहिले चाहिँ अवार्डहरु अलिकति बढी र अव्यवस्थित भयो कि भन्ने हो। विदेशमा गरेका अधिकांश अवार्ड कार्यक्रमले बदनामी कमाएर आएको छ।'

उनका अनुसार समयमा पैसा नतिरेको, कलाकारहरुलाई आउने बेलामा टिकट नभएको लगायतका समस्या सुनिने गर्छ। 

उनी भन्छन्, 'कति अवार्ड कार्यक्रम त अवार्ड पनि होइन फिल्म क्षेत्रको विकृति हो।'

अवार्डका नाममा मानव तस्करी, भिजामा विदेशको छाप, अवार्ड बेच्ने जस्ता आरोपहरु अवार्ड आयोजकलाई लाग्दै आएको छ। फिल्म क्षेत्रसँग सम्बन्धित संस्थाहरु चलचित्र संघ र प्राविधिक संघले 'नेम्पा पपुलर अवार्ड' र 'नेफ्टा अवार्ड' यो पनि अवार्डका लागि विदेश केन्द्रित भएका छन्।

***
'एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार'को पाँचौ संस्करणमा गत वैसाखमा सम्पन्न भयो। नेपाल चलचित्र विकास कम्पनी र गोपीकृष्ण मूभिजले आयोजना गर्दै आएको यस वर्षको अवार्ड कार्यक्रम त नेपालमै भयो। तर, झरीले यही आयोजित कार्यक्रम पनि वदनाम भयो। 

अवार्ड कार्यक्रम विदेश नै किन त?

चलचित विकास बोर्डका अध्यक्ष निकिता पौडेलले भन्छिन्, 'फिल्म अवार्ड विदेशमा हुनु राम्रो हो। विदेशमा नेपाली फिल्म रिलिज गर्ने भन्ने विषयमा ध्यान दिएर कार्यक्रम गर्नुपर्छ।'

यसो भनिरहँदा उनले कहिल्यै विदेशमा हुने अवार्डमा सहभागी चाहिँ नभएको बताइन्।  

पछिल्लो समय इन्टरनेसल नेपाली फिल्म एकेडमीको आयोजनमा 'इन्फा फिल्म अवार्ड' हङकङमा र 'खुम्बु कोल्स्च ग्लोबल नेपाली फिल्म अवार्ड' अमेरिकामा भए। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले आयोजना गर्दै आएको 'इनास अवार्ड' भने अझै करिश्मा मानन्धरले संभवत बिर्सन सकेकी छैनन्। 

सिक्किममा भएको उक्त अवार्ड कार्यक्रमको व्यवस्थापनको विषयमा उनले खुलेर लेखेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell