PahiloPost

Nov 19, 2018 | ३ मंसिर २०७५


आख्यान : वाइफ एक्स्चेन्ज क्लब 


आख्यान : वाइफ एक्स्चेन्ज क्लब 

  • लिलाराज खतिवडा -
शुक्रवारको बिहान थियो। मर्निङ्वाक सकेर शेखरले एक चाङ् अखबार किन्यो। अनि घर फर्कियो। स्नान गरेर देश विदेशका खबरमा घोत्लिन थाल्यो। निकैबेर बित्दा पनि श्रीमती अनिताले चिया ल्याइनन्। उनी धमाधम घरको सरसफाइ गरिरहेकी थिइन्।

‘होइन, आज यो घरमा चिया पाक्दैन कि क्या हो?,’ शेखरले सोध्यो।

‘आफैँ पकाएर खाऊ,’ श्रीमतीको ठाडो जवाफ आयो, ‘मैले त अघि नै बनाएर खाइसकेँ। चिया पाक्ने बेलामा कहाँ गएका थियौ?’

शेखर केही पनि बोलेन। जुरुक्कै उठ्यो र छिमेकी साथी हरिशको फ्ल्याटतिर हान्नियो। 

हरिशकी श्रीमती श्रृजनाले ढोका खोलिन्।

‘भाउजू नमस्ते। सर खोइ त?,’ शेखरले मुस्कुराउँदै सोध्यो।

‘नमस्ते, हजुर। पत्रिका लिन जानुभएको छ। बसिस्यो न, म चिया बनाएर ल्याउँछु,’ बडा फरासिलो पाराले उनले भनिन्। 
शेखर मेचमा बस्यो। दायाँबायाँ हेर्यो। घर चिटिक्क थियो।

एकैछिनमा भाउजू मुस्कुराउँदै चिया लिएर आइन्। उनले चिया दिँदा शेखरका औंलाले उनका औंलामा स्पर्श गरे। शेखरलाई बिजुलीको तीब्र झट्का लागेझैं भयो। अनि ऊ पनि मुस्कुरायो। 

एकैछिन् शेखरले यी भाउजूका ठाउँमा आफ्नी श्रीमतीलाई राखेर दाँज्यो। कस्तो आकाश जमिनको फरक! आफ्नी श्रीमतीसँग सुत्दा आजकल उसलाई पहिले जस्तो कुनै झट्का लाग्दैन थियो। तर, यहाँ त एउटा सामान्य स्पर्शले पनि जोडदार असर हानिसकेको थियो।

‘अनि भाउजूलाई आराम छ?’ मित्रपत्नीले नौनी जस्तो आवाजमा सोधिन्।

‘ठिकै छ,’ शेखरको मुखबाट तितेपातीको लड्डूलाई गुडले लेपेजस्तो जवाफ आयो।

त्यत्तिकैमा श्रृजनाको फोन बज्यो। उठाइन्। 

पलभर उताको आवाज सुनेर भनिन्,‘ए हो? हुन्छ काम सकेर आइस्यो न त। म खाना बनाइरहन्छु।’

अनि उनले फोन काटिन् र शेखरतर्फ फर्किएर भनिन्, ‘जरुरी काम पर्यो रे हजुरको साथीको। अलिक ढिलो हुन्छ रे।’

चियाको अन्तिम सुरुप लिएर शेखरले भन्यो, ‘ल भाउजू त्यसो भए मचाहिँ लागेँ।’

‘कति कामले आउनु भएको थियो ?’ उनले उस्तै नरम र मिठासले भरपूर आवाजमा सोधिन्। र, आफ्ना ठूलाठूला आँखाले शेखरलाई एकटक लगाइन्। ती आँखाहरूमा शेखरले केही अज्ञात आमन्त्रणको आभाष पनि नपाएको होइन। तर, मित्रपत्नीका बारेमा आफ्नो अतिशय सोचलाई उसले तुरुन्तै काबूमा लियो। ठान्यो, भाउजूका आँखामा मेरो अतृप्तता परावर्तन भएको पनि त हुनसक्छ; आखिर मान्छे ऊ जे हो अरुलाई पनि उसले आफैँजस्तो जो देख्ने गर्दछ।

‘चिया खान आएको थिएँ। खाइहालेँ। अब जान्छु,’ शेखरले ठट्यौलो पारामा भन्यो र मेचबाट उठ्यो।

‘आउँदै गर्नु होला, नि,’ उसैगरी मुस्कुराएर भाउजूले भनिन्। 

उनको यो मुस्कानले शेखर हुरुक्कै भयो। हात जोड्दै ऊ बिदा भयो।

घर पुगेर ऊ पुनः अखबारमा घोत्लियो। 

अनिताको अलिक कर्कश आवाज आयो, ‘चिया पल्लाघरमा घुट्क्यायौ, अब भात पनि उतै हसुर्न जाऊ। श्रृजना भाउजू नौनी जस्ती छिन्। अघाउँजी खान दिन्छिन्!’

‘खान मात्रै होइन। लाउन पनि दिन्छिन् जस्तो छ,’ शेखरको जवाफ फटाफट निस्कियो।

अनिताले आँखा तरिन्। अनि आफ्नो काममा लागिन्।

शेखर थप केही बोलेन। ऊ अखबारमै घोत्लिरह्यो। एउटा खबरले उसको ध्यान आकर्षित गरायो। जसको शीर्षक थियो, शहरमा एउटा भूमिगत वाइफ एक्स्चेन्ज क्लब खुलेको छ। जहाँ असन्तुष्ट दम्पत्तीहरू पुग्ने गर्छन् र आफूजस्ता अन्य असन्तुष्टहरूसँग सट्टापट्टा भएर त्यो सब गर्छन् जसलाई घरमा गर्दा आजकल उनीहरूलाई खासै मजा आउने गर्दैन।

‘लौ अचम्म! यस्तो पनि हुन थालेछ हाम्रो देशमा। अब अमेरिका, युरोप पो फ्लप खाने भए त, गाँठे,’ शेखर बुद्बुदायो।

अनि अखबार एकातिर हुत्याएर उठ्यो र लुगा लगाएर फटाफट बाहिरिन थाल्यो। 

‘सबैथोक उतै भ्याएर आउनू,’श्रीमतीको उस्तै रुखो आवाज आयो। 

ऊ सुनेको नसुन्यै गरेर अगाडि बढ्यो।

१,


सात वर्षअगाडि शेखर र अनिताको बिहे बडो धुमधामसँग भएको थियो। उनीहरूको एउटा नाबालक छोरो पनि थियो। त्यस्तै उता उसको छिमेकी साथी हरिशको पनि श्रृजनासँग पाँच वर्षअघि धुमधामसँगै भएको थियो। अहिलेसम्म सन्तान नभए पनि हरिश र श्रृजनाले खुशीखुशी विवाहित जीवन बिताइरहेको प्रतित हुन्थ्यो भने शेखर र अनिताको जोडीले भने नाखुश पाराले विवाहित जीवनको गाडा धकेलिरहेको भान हुन्थ्यो।

दुनियाँमा सबै जोडीहरू विवाह गरेर कहाँ खुशी भेटिन्छन् र? त्यसो त सबै जोडीहरू दुःखी पनि कहाँ भेटिन्छन् र? विवाह एक यस्तो समीकरण हो जसलाई हल गर्न सके मात्रै जीवनको रथ सन्तुलित रुपमा अगाडि बढ्न सक्छ। समीकरण हल गर्न नसके रथ ठप्प। वा, एकै ठाउँमा रथले फन्का लगाएर हैरान।

शेखर अफिस पुग्यो। ऊ मोबाइलमा इन्टरनेट चलाउन नरुचाउने खाले मान्छे भएको हुँदा ढिलो नगरी उसले कम्प्युटर खोल्यो र बिहान टिपेको वाइफ एक्स्चेन्व क्लबको इमेलमा आफ्नो काल्पनिक इमेल आइडिबाट यस्तो सन्देश पठायो :
 
नेपालमा तपाईंहरूको यो राम्रो शुरुवात हो। म तपाईंहरूको यो प्रयासलाई प्रशंसा गर्छु। तपाईंहरूले भूमिगत रहेर काम गर्नुपर्ने बाध्यतालाई पनि मैले राम्ररी बुझेको छु। हामी बन्द बाकसमा हुर्केका वा हुर्काइएका मानिसहरू हौं। अब बेला आएछ त्यो बाकस तोड्ने। तपाईँहरूको क्लबमा आवद्ध हुन पाउनु मेरो अहोभाग्य हुनेछ। धन्यवाद।

सम्बन्धित ठेगानामा इमेल ठेलिसकेर शेखर फटाफट केही काम निब्ट्याउने यत्नमा जुट्यो। घरका मामलामा असफल भए पनि कार्यालयमा ऊ चुस्त र उत्तम थियो। त्यस कार्यालयमा शेखरका उपर अहिलेसम्म कुनै गुनासोपत्र दर्ता भएको थिएन।

कामहरू निब्ट्याएपछि केही फाइल हातमा च्यापेर शेखर हाकिमको कोठामा गयो। फाइलहरू हाकिमको टेबुलमा राखेर उसले केही ब्रिफिङ् गर्‍यो।
अनि अन्त्यमा भन्यो, ‘सर, आज मलाई अलिक सञ्चो छैन। कामहरू पनि सबै ठीकसँग नै चलिरहेको त थाहा पाइहाल्नु भयो ....।’ बोल्दाबोल्दै उसले आफ्नो वाक्य अधूरै छाडिदियो। 

‘बिदा लिन चाहन्छौ? ओके, नो प्रोव्लम।’ आँ गर्दा अलंकार बुझिदिएकोमा शेखरले दंग परेर हाकिमलाई धन्यवाद दियो र बाहिरियोे।

उसलाई किनकिन आज कार्यालयमा बस्नै मन लागेन। अनि ऊ हान्नियो, सिधै ठमेल। एउटा क्याफेमा दिनभर बियर पिएर बस्यो। साँझसम्ममा क्याफेमा उसले एउटी युवतीलाई भाडामा लिइसकेको थियो। 

उसले छेवैको लजमा एउटा कोठा पनि बुक गरिहाल्यो। खानेकुरा र मदिरा पनि अर्डर गर्‍यो। अनि उसले आफू, कलेजको शूल्क तिर्ने बहानामा मोजमस्ती गर्न देह व्यापारतर्फ ओर्लिएकी त्यस् भाडाकी युवती र कोठालाई समेत क्रमशः तताउन थाल्यो।

शेखरको तर्क : स्वास्नी असजीली परेकीले ऊ यो सब गर्न बाध्य छ। यद्यपि, ऊ बेश्यागामी होइन। एक दिन उसले मदिराले भिल्लू भएको बेला आफ्नो एउटा मिल्ने साथीलाई भनिपठाएको थियो, ‘बिहे गरेको यतिका वर्ष भइसक्यो, अझै पनि मेरी स्वास्नीको पेटिकोटको इँजार खोल्न मलाई कम्तिमा एक घण्टा संघर्ष गर्नुपर्छ। साला, पाएको खाना पनि आरामसँग खान नपाइँने यो कस्तो बिहे हो?’

२,

शेखरको समस्या यस्तो रहेछ। उता, उसकी श्रीमती अनिताको समस्या थियो : शेखरले हररात मदिरा सेवन गर्नू। त्यसो त विवाह गरेको दोस्रो दिनदेखि अनिताले अहिलेसम्म आफ्नो पतिले मदिरा सेवन नगरेको रात संझिन सक्ने अवस्था थिएन। उनको तर्कमा जाँड धोकेको लोग्नेसँग सुत्नुभन्दा नर्कको सिँढीँ ओर्लिनु उचित हो। उनका अनुसार, मातेको मान्छे बेहोस मात्रै होइन एउटा लाश नै हो।

उता हरिश र श्रृजनाको जोडीको पनि आफ्नै समस्या थियो। यिनीहरूको समस्या भने अलिक फरक। विवाह गरेको पाँच वर्षसम्म पनि उनीहरूको सन्तान हुन सकेन। अनेक डाक्टरलाई उनीहरूले भेटे। कैयन जाँचहरू पनि भए। समस्या हरिशमा देखिएको थियो। श्रृजनाको सृजनमा कुनै समस्या भेटिएको थिएन।

अब हरिश कृत्रिम गर्भाधान गरेर भए पनि घरमा एउटा सन्तानको गर्जो टार्ने सोचमा थियो भने, श्रृजनाको सोच बिल्कूलै विपरीत र अलग थियो। उनी कृत्रिम गर्भाधान गर्ने पक्षमा थिइनन्। उनी कुनै उर्वर र बलिष्ठ पुरुषसँग सहवास रचेर सन्तान उत्पादन गर्न चाहन्थिन्। उनको बुझाइ के थियो भने, कृत्रिम गर्भाधानले पूर्ण प्राकृतिक बच्चा जन्मिनु असंभवप्रायः हुन्छ। सहवासमा पुरुषले बीज मात्रै प्रदान गरिरहेको हुँदैन। ऊ आफ्नो पौरुषेयता पनि त्यहाँ विस्तार गरिरहेको हुन्छ। तसर्थ प्रेमको पराकाष्ठामा पुगेर कुनै पुरुषसँग सहवास गर्दै बच्चा जन्माउने उनको भित्री चाह थियो। तर, यो कुरा उनले आफ्नो पति र अन्य कसैलाई पनि बताएकी थिइनन्। 

३,


मध्यरात।

एउटा विशाल भूमिगत कक्षमा मोटरबाइक टेको लगाएर शेखर अगाडि बढ्यो। खल्तीबाट मोबाइल झिक्यो र एउटा नम्बर दाब्यो।
 
फोन उठेपछि उसले मन्द आवाजमा भन्यो, ‘म ठमेलमा आइसकेँ। अहिले सन्चयकोष बिल्डिङ छेउमा छु।’

उताबाट आवाज आयो, ‘काठमाण्डौ गेस्टहाउस छेउमा आउनुहोस्। म त्यहीँ छेउको सडकचिया खाँदै छु।’

समय नगुमाइ शेखर काठमाण्डौं गेस्ट हाउसतिर बतासियो। ठमेलको सडक अन्तजस्तो सुनसान थिएन। ट्याक्सी, मोटरबाइकहरू चलिरहेकै थिए। सडकमा विदेशीहरू पनि हिँडिनै रहेका थिए।

शेखर काठमाण्डौ गेस्ट हाउस अगाडि पुग्यो। चारैतिर हेर्‍यो। केही परको एउटा कुनामा केही मान्छे झुरुप्प भएर बसेका थिए। त्यहाँ मधूरो उज्यालो थियो। अघि फोनमा बताइए जस्तै त्यो एउटा सडकचिया पसल थियो।

शेखर फटाफट त्यहाँ पुग्यो।

त्यहाँबाट एउटा मान्छे जुरुक्क उठ्यो र शेखर भएठाउँमा आयो। 
‘म नै दावा छिरिङ हुँ,’ उसले हात मिलाउन खोज्दै भन्यो।

शेखरले सहजै हात मिलायो र भन्यो, ‘विवेक सिंह। नाइस टु मिट यु।’

‘फलो मी,’ दावाले समय नगुमाई भन्यो र एकातिर हान्नियो। शेखर उर्फ विवेक सिंह उसको पछिपछि लाग्यो।

मुश्किलले आधा मिनेट हिँडेपछि दावा एउटा अग्लो भवनमा छिर्‍यो। लिफ्ट चढेर उनीहरू पाचौं तल्लामा पुगे।

त्यो एक वाइफ एक्स्चेन्ज क्लब थियो। केही दिनअघि शेखरले इमेल गरेर पूछताछ गरेपछि उताबाट एउटा मोबाइल नम्बर संप्रेषण गरिएको थियो। जो दावाको थियो।

दावा छिरिङ पुलिसको सइ थियो। यो वाइफ एक्स्चेन्ज क्लब खासमा पुलिसका केही बरिष्ठ अधिकारी मिलेर चलाइरहेका थिए। शहरमा यस्तो काम गर्ने हिम्मत अरु कसको हुने?

यस्तो किसिमको भूमिगत क्लब सञ्चालन गर्नु नेपालमा गैह्रकानूनी भए ता पनि बर्दी र बन्दुकको आडमा पुलिसहरू धमिलो पानीमा माछा मार्न पल्किएका थिए। उनीहरू सर्वप्रथम आफूलाई प्राप्त आवेदनमाथि गोप्य अनुसन्धान गर्ने गर्दथे र आश्वस्त भएपछि मात्रै जवाफ पठाएर सम्बन्धित व्यक्तिलाई भेट्ने गर्दथे। 

सदस्यता बापत उनीहरू प्रत्येकसँग भारी रकम असुल्थे र सेवा प्रदान गर्दथे। मध्यरातसम्म भारी पार्टीको आयोजना गर्दथे। सदस्यता शूल्कका साथमा उनीहरूसँग आबद्ध हुन आएकाहरूबाट खानपिनको मोटो बील पनि अशुल्थे।र, उनीहरू टिप्स पनि स्वीकार गर्दथे।

४,

‘तपाईंहरू सबैलाई यस् वाइफ एक्स्चेन्ज क्लबमा हार्दिक स्वागत छ। मान्छे पशु होइन जसलाई दाम्लाले बाँधेर थलामा राख्नु परोस्। मान्छे स्वतन्त्र प्राणी हो। स्वतन्त्र रहन रुचाउने प्राणी हो। मान्छेलाई कुनै पनि बहानामा दाम्लाले बाँधेर राख्नु हुँदैन। चाहे त्यो बहाना विवाह नै किन नहोस्।’

मधूरो प्रकाशका बावजूद स्वागत भाषण गरिरहेको यो मानिस स्पष्ट नै नजर आइरहेको थियो। ऊ एउटा स्यानो मञ्चमा उभिएर आफ्नो मन्तब्य व्यक्त गरिरहेको थियो। उसको त्यो आवाज सुन्नेहरू त्यस् कक्षमा लगभग पैंतिस चालिस जना हुँदा हुन्। महिला र पुरुष प्रायः बराबर।

आकर्षक ब्यक्तित्व र सुमधूर आवाजको धनी उसले मञ्चबाट स्वागत भाषणको क्रममा अगाडि भन्यो-
‘लामो समयदेखि विवाहित पति र पत्नी हरेक रात लाश जस्तो सुत्छन्। एकअर्का प्रति उनीहरूको संवेदना मूर्झाइसकेको हुन्छ। सम्भोग गर्ने इच्छा भएका बेला लामो समय प्राकक्रिडा गरेर पनि उनीहरू जुर्मुराउँदैनन्। यसको बिपरीत त्यसरी मूर्झाएका दम्पत्तीलाई त्यस्तै निरास अन्यसँग सट्टापट्टा गरिदिँदा भने उनीहरूमा चार सय चालिस भोल्टको करेन्ट प्रवाहित भएको हामीले पायौं।’

बोल्दाबोल्दै ऊ टक्क अडियो। एकपटक चारैतिर नजर फिरायो अनि अगाडि भन्यो,‘कसलाई मन पर्दोरहेछ र बन्धनको जीवन? आखिर सबैले एक दिन दाम्लो छिनाउँनै पर्ने रहेछ। म गर्वसाथ भन्न सक्छु, यहाँ उपस्थित हामी सबै आज आफूलाई बाँध्ने दाम्लो वा साङ्ली छिनाउन सफल भएका छौं। यसर्थ, आज ठीक यसै बखत हामी सबै स्वतन्त्र छौं। हिँजोसम्म हामी ज्यूँदो लाससरह थियौं। वर्षौंदेखि विवाहित लोग्ने स्वास्नीहरूमा एकअर्काप्रति बढ्दै गएको अरुची, असन्तुष्टि र असहजताले हामी सबैलाई अवशादमय तुल्याएको थियो। जब केही समयअघि हामीले यो वाइफ एक्स्चेन्ज क्लब सञ्चालनमा ल्यायौं, तबदेखि हामी सबैलाई पुनर्जन्म प्राप्त भएको छ। पुर्नताजगी हासिल भएको छ।

तपाईं आफैं विचार गर्नुहोस्: विवाह गरेको केही समय बित्दानबित्दै जोडीहरू एक अर्काप्रति निकै उदास रहन थालिसकेका हुन्छन्। यस्तो लाग्छ त्यहाँ एकजोडि लाशहरू आफ्ना कायालाई गरम उर्जा प्रदान गर्न ओस्सिएको सलाई कोरिरहेका छन्। उता अर्को जोडीको हालत उस्तै। नजाने कति जोडिहरू त्यो चिसोको पराकाष्ठामा सिद्धिसकेका छन्। कति सिद्धिने क्रममा छन्। मान्छे मोनोगामी नभएर पोलिगामी प्राणी हो। एउटै कुरा, वस्तु र व्यक्तिसँग ऊ स्वाभावैले लामो समय व्यतीत गर्न सक्दैन। मान्छेलाई हर कुरा परिवर्तन गरिहनु पर्दछ। एउटै कुराले मान्छेलाई ढिलोचाँडो उब पैदा गरिदिन्छ। यस्ता मनोवैज्ञानिक कुराहरूलाई मनन गरेर नै यो वाइफ एक्स्चेन्ज क्लबलाई सञ्चालनमा ल्याउनु जरुरी भएको हो।

त्यस्ता जोडीहरू यहाँ आएर फलेका र फुलेका छन्। यहाँ सब सट्टापट्टा हुन्छ। हिँजोसम्म मूर्झाएर बसेकाहरू पनि यो सट्टापट्टामा जर्याकजुरुक उठेर घण्टौं सकृय भएका छन्। यसरी हामी आफूलाई बाँध्ने दाम्ला, साङ्ली वा सम्बन्धहरू चुडाउँछौं र एउटा यस्तो जमात बनाउँछौं जहाँ बन्धन नामको कुनै झिनो रेशाले पनि स्थान पाइरहेको हुँदैन। यहाँ सब पारदर्शी हुन्छ। सब आरपार। त्यसैले अब समय नगुमाइ हामी गोलाप्रथाबाट आआफ्ना पार्टनर छान्नेतर्फ लाग्छौं। स्वयम्सेवीहरू कृपया अगाडि आइदिनुहोस्।’
 
कुराहरू सुनेर शेखर दंगदास हुन पुगेको थियो। उसलाई यस्तो लाग्यो कि त्यो उद्घोषकले उसकै मनको बात बोलिदिएको छ। व्हाइट वाइनको चुस्की लिइरहेको शेखर अहिले निकै हल्का पनि महसूस गरिरहेको थियो। ऊ निकै उत्साहित पनि हुन पुगेको थियो।

त्यहाँ सबै स्त्रीपुरुष अनुशासित पारामा चिठ्ठा तानिरहेका थिए। स्वयम्सेवीहरूले शेखरलाई पनि एउटा चिठ्ठा तान्न लगाए। उसले सहर्ष त्यो काम गर्‍यो।

सबै पालैपालो आफूलाई प्राप्त भएका जोडीहरूको हात समाएर अर्को कक्षतर्फ लम्किन थाले। पहिलोपटक आएकाहरू अलिक लजाएझैं लाग्थे।
शेखर भने आफूले अभिशार गर्नुपर्ने महिलाको अनुहार देखेर लगभग तर्सिन पुग्यो। उता महिलाको पनि त्यस्तै हालत हुन पुग्यो। त्यसो त महिलाको अनुहार अलिक बढी नै रातोदेखिँदै थियो।

‘अरे भाउजू? तपाईं पनि यहाँ ?’ शेखरको मुखबाट अनायासै फुत्कियो।

हो, उनी श्रृजना भाउजू नै थिइन्। 

उनले मुस्कुराउँदै सुस्तरी भनिन्, ‘किन मैले चाहिँ यहाँ आउनु हुँदैन र?यो ठाउँमा हामी कुनै पनि नाताले बाँधिएका छैनौं। त्यहीँमाथि हामी त छिमेकी मात्रै।’

शेखर मुस्कुरायो। दुवै क्याविनतर्फ लागे। शेखरले खल्तीबाट कन्डम निकाल्यो। तर, श्रृजनाले उनको हातबाट कन्डम थुतेर नजिकैको डस्टबिनमा हुत्याइन्।

अब त्यस् क्याबिनमा हुर्हुरी आगो दन्किरहेझैं लागिरहेको थियो। 



आख्यान : वाइफ एक्स्चेन्ज क्लब  को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट