PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

चिकित्सकहरुको आन्दोलनले बिरामीको बिचल्ली  



चिकित्सकहरुको आन्दोलनले बिरामीको बिचल्ली  

  • महेन्द्र बम -
कैलाली : केही वर्ष पहिले काम गर्ने क्रममा लडेर भारतको बेङ्लोरमा हात काटियो। अहिले फेरि समस्या आएपछि उपचारका लागि भनेर कैलालीको सेती अंचल अस्पताल आइपुगेका बझाङ्गका जोगी गिरी चिकित्सकहरुको आन्दोलको मारमा परे।

‘केही वर्ष पहिले काम गर्ने क्रममा हात काटिएको थियो, अहिले फेरि समस्या आउन थालेपछि उपचार गराउँ भनेर धनगढी आएको। यता बन्द रहेछ,’ गिरीले गुनासो गरे ‘अब उपचारका लागि बाहीर जानुपर्ने भयो।’
 
मुटुको बिरामी ल्याएर कैलालीको गोदावरीबाट अंचल अस्पताल पुगेका राजी बडैलाले पनि उस्तै गुनासो गरे। ‘डाक्टरहरुको हड्तालले समयमै औषधी नपाइने भयो, समस्या नै भएको छ,’ उनले भने ‘आउन–जान खर्च बढ्यो, फेरि अर्को पटक आउनुपर्ने भयो, दोहोरो मारमा परियो।’
 
चिकित्सकहरुको आन्दोलनका कारण उपचारका लागि आएका अधिकांश रित्तै फर्किनु परेको धनगढीका स्थानीय मोहनबहादुर शाहीले बताए।

सात नम्बर प्रदेशका ९ ओटै जिल्लाबाट बिरामीहरु विशेषज्ञ उपचारका लागि कैलालीको धनगढीमा रहेका सेती अंचल अस्पतालमा आउने गर्दछन्। 

२ वटा अंचल अस्पताल रहेको सात नम्बर प्रदेशमा कंचनपुरको महाकाली अस्पताल विशेषज्ञ डाक्टरको अभावमा थलिएको छ। प्रदेशकै रेफरल अस्पतालका रुपमा रहेको सेतीमा पनि आइतबार सेवा नपाएपछि पहाडी जिल्लाबाट आएका बिरामीहरु झन् समस्यामा परेका हुन्।
 

इमर्जेन्सीमा बिरामीको भिड

अंचल अस्पतालको इमर्जेन्सी वार्डमा मात्रै आजभोलि दैनिक १ सयदेखि १५० जनासम्म बिरामीहरु भर्ना हुने गरेको इमर्जेन्सी इन्चार्ज कृष्ण बोहराले बताए। ओपीडि लगाएर दैनिक ३ सय ५० देखी ४ सयसम्म बिरामीहरु अस्पतालमा आउनेगरेको उनको भनाइ छ।
 
तर आइतबारबाट सुरु भएको चिकित्सकहरुको आन्दोलनका कारण भने ती सम्पूर्ण बिरामीहरु मर्कामा परेका छन्। ‘आइतबार एकै दिन बिहानको सिफ्टमा मात्रै १ सय ५० बढी बिरामीलाइ म एक्लैले जाँच गर्नु पर्‍यो,’ उनले भने, ‘बाहिरका सेवाहरु ठप्प भएपछि इमर्जेन्सीमा बिरामीहरुको भिड खपिनसक्नु छ।’
 

चिकित्सकहरुको आफ्नै गुनासो

नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै आन्दोलनमा होमिएका चिकित्सकहरुले भने माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।
 
साताव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको जानकारी गराउदै नेपाल चिकित्सक संघ सात नम्बर प्रदेशका सचिव प्रदिप मिश्रले भने ‘२२ गते शुक्रबारसम्म पनि सरकार माग सम्बोधनमा अनुदार देखिए आकस्मिक बाहेक ओपीडि लगायतका सेवाहरु माग सम्बोधन नभएसम्मका लागि बन्द गर्ने छौँ।’
 
चिकित्सकहरुले साताव्यापी आन्दोलनका कार्यक्रम अन्तरगत सोमबारबाट प्रशासनिक काम, १९ गतेबाट अन्तरंग सेवा, २० गते अपरेसन, २१ गते ल्याब तथा रेडियोलोजी लगायतका सेवा बन्द गर्ने घोषणा गरेका छन्।
 
भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०, २३१, २३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरु नेपाल चिकित्सक संघको अगुवाइमा आइतबारबाट सेवा ठप्प पारेर आन्दोलनमा होमिएका हुन्। पढ्नुस्, के छ संशोधन गर्न माग गरिएको दफामा?
 
ध्यानाकर्षणका लागि भन्दै आइतबार नेपाल चिकित्सक संघ सात नम्बर प्रदेश कमिटीले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाइ ज्ञापन पत्र समेत बुझाएको छ । ३५ जना बिशेषज्ञ डाक्टरको सहभागीतामा सरकारलाइ ज्ञापन पत्र बुझाइएको हो । 
  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell