PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

निर्मला हत्या प्रकरण : छानविन समिति अन्तिम चरणमा, कुन अनुसन्धान कहाँ पुग्यो?



सविन ढकाल

निर्मला हत्या प्रकरण : छानविन समिति अन्तिम चरणमा, कुन अनुसन्धान कहाँ पुग्यो?

काठमाडौं : १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको वास्तविक दोषी को हो? प्रहरीको अनुसन्धानले वास्तविक हत्यारालाई कानुनको कठघरामा उभ्याउन सक्ला?  कहिले टुङ्गिएला प्रहरी अनुसन्धान? के गर्दैछ प्रहरी? एसपी डिल्लीराज बिष्टले के गरेका थिए? 

सदनदेखि सडकसम्म तताएको निर्मला हत्या प्रकरणले जन्माएका प्रश्न हुन् यी। धेरै मानिस अहिले यिनै प्रश्नको उत्तरको खोजीमा छन्। सुदूर पश्चिमको घटना राष्ट्रिय चासोको विषय बनेपछि पछिल्लो समय सरकार, प्रहरी प्रधान कार्यालयले सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको दावी गरेको छ।

छानबिन समितको अनुसन्धान अन्तिम चरणमा

भदौ ७ मा सरकारले घटनाको छानबिन गर्न कारागार व्यवस्था विभागका महानिर्देशक सहसचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानबिन समिति गठन गरेको थियो। केही दिनमा समितिको समय सकिँदैछ। समितिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। कञ्चनपुरमा अनुसन्धान गरिरहेको टोलीले केही दिनमा नै प्रतिवेदन सरकारलाई बुझाउने छ। समितिका संयोजक मैनालीले भने, 'हाम्रो अनुसन्धान अन्तिम चरणमा पुगेको छ। सरकारले दिएको समयमा नै प्रतिवेदन बुझाउँछौं।'

समितिले अहिलेसम्म गरेको छानबिनमा घटना के भएको थियो? प्रहरीको अनुसन्धान कस्तो देखियो? एसपी बिष्टको नेतृत्वले गरेको अनुसन्धानमा के कमजोरी थियो? लगायतका कुरा उल्लेख गरिएको छ नयाँ अनुसन्धानको प्रतिवेदनमा। समितिले तयार पारेको अनुसन्धान प्रतिवेदनमा प्रहरी घटनामा केही जिम्मेवारी बहनका क्रममा चुकेको देखिएको छ। संयोजक मैनालीले भने, 'प्रहरीले आफूले पूरा गर्नुपर्ने केही जिम्मेवारी पूरा नगरेको भन्ने देखिन्छ।' 

प्रहरीले सुरुमा घटनाको बारे चासो नदिनु। गलत व्यक्तिलाई यातना दिएर घटनामा दोषी रहेको स्वीकार गर्न लगाउनु जस्ता गतिविधिले प्रहरीको कमजोरी भएको देखिएको छ।

प्रहरीको अनुसन्धान के हुँदैछ ?

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको अनुसन्धानमा नै शङ्का पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो। एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो।

एसपी कुवेरबहादुर कठायतको टोलीले अहिले नयाँ शिराबाट अनुसन्धान थालेको छ। अनुसन्धानकै क्रममा पहिलेदेखि स्थानीयले घटनामा जोडिएर शङ्काको रूपले हेरेका निर्मलाकी साथी रोशनी बम र उनकी दिदी वविता बमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कुवेरबहादुर कठायतले बयान जारी भइरहेको बताए। पहिलोपोस्टसित उनले भने, 'बयान जारी नै छ। हामी थप अनुसन्धान गरिरहेका छौँ। अहिले नै हत्यारा को हो? होइन भन्ने अवस्था छैन।'

घटनाक्रम जटिल र रहस्यमय बन्दै गएपछि केन्द्रीय अनुसन्धान व्यूरोको टोली पनि कञ्चनपुर पुगेको छ। व्यूरोबाट एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा पुगेको टोलीले आइतबारबाट अनुसन्धान सुरु गरेको हो। टोलीमा व्यूरोका डिएसपी कमल थापासमेत रहेका छन्। व्यूरोका डिआइजी नारायणसिंह खड्काले टोलीले घटनाको अध्यान गरेर फर्किने बताए। डिआइजी खड्काले भने, 'जटिल प्रकृतिका अपराधमा सिआइवीको टोली पुगेर बाहिरबाट अनुसन्धान गरिरहेको हुन्छ। कञ्चनपुरमा पनि  बुझ्न र आवश्यक परेको खण्डमा लोकल प्रहरीलाई सहयोग गर्ने छ।'

हुन त घटना भएको चार दिनपछि व्यूरोबाट नै डिएसपी अङ्गुर जिसीको नेतृत्वमा अनुसन्धानको लागि टोली कञ्चनपुर नपुगेको होइन। घटनाको २४ दिनपछि अभियुक्त सार्वजनिक गरेसँगै प्रहरीको अनुसन्धानमा शङ्का पैदा भएको थियो। एसपी बिष्टलाई निलम्बन गरेसँगै व्यूरोको टोली समेत फिर्ता बोलाइएको थियो। टोलीलाई भने लोकल प्रहरीसँग समन्वय गरेर अनुसन्धान गर्न खटाइएको थियो।

दिलिपसिंहको उपचार हुँदै

प्रहरीले पन्तको हत्या र बलात्कार आरोपमा पक्राउ गरेर मुख्य अभियुक्त बनाएका दिलीपसिंह बिष्टलाई काठमाडौंमा उपचार भइरहेको छ। डिएनए परीक्षण तथा थप स्वास्थ्य परीक्षणका लागि काठमाडौं ल्याइएको हो। डिएनएबाट यथार्थ आउने भएकाले परीक्षण गरिएको एसपी कठायतले बताए। 'अहिले उनी काठमाडौंमा नै छन्। डिएनए रिपोर्ट आएको छैन,' एसपी कठायतले भने।

गम्भीर प्रकृतिको अपराध भएकाले प्रहरीको अनुसन्धानमा कहिले सकिन्छ भन्ने प्रष्ट नहुने पूर्व डिआइजी हेमन्त मल्ल ठकुरी बताउँछन्। प्रहरी र पीडित पक्षबीच राम्रो समन्वय हुनसके अनुसन्धान चाँडो निष्कर्णमा पुग्ने उनको भनाइ छ। मल्ल भन्छन्, 'गम्भिर प्रकृतिको अपराध हो, ग्राउन्ड रियालिटिमा गएर प्रहरीले अनुसन्धान गर्नुपर्छ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell