PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मेयरसा’ब तपाईँलाई राजनीति गर्न आउँदो रहेनछ!



पहिलोपोस्ट

मेयरसा’ब तपाईँलाई राजनीति गर्न आउँदो रहेनछ!

  • कौडिन्य नवराज -
मेयरसाबको सेतै टल्किने चिल्लो गाडी हुँइकिँदै आयो। उमेरले झण्डै तीन बीस पुग्न लागेका मेयरसा’बले ड्राइभर भने उम्दा जवान राख्नुभएको थियो। मेयरसाबको उमेर तीन बीसलाई २ कम भए पनि उमेर र व्यवहारको ‘रिदम’ ठ्याक्कै ‘अपोजिट’ थियो।

उहाँको व्यवहारले लाग्थ्यो, उहाँ अझै जवान नै हुनुहुन्छ। काम परेको बेला कार्यालय जाने, गाडी चढेर साथीभाइ भेट्न जाने, साँझपख सुकुटीसँग दुई ‘पेग’ लगाउने उहाँको दैनिकी। मेयरसाबका २ वटा डोजर छन्। एक दुई वटा ठेक्कामा काम पनि भइरहेको छ। अस्ति भर्खरै संघीय सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत् काममा ढिलासुस्ती गर्ने ठेकेदारको सूची तयार गर्दा त्यो सूचीमा उहाँको नाम पनि अटाएको थियो। त्यसयता मेयरसा’बलाई निक्कै सकस परेको छ। ठेक्का हेर्ने सरकारी ओभरसियरलाई नमस्कार गर्दा र कामको ‘बार्गेनिङ’ गर्नुपर्दा मेयरसाबको अनुहार हेर्न लायक देखिन्यो। उहाँको नाम सूचीबाट अझै हटिसकेको छैन।

कोशी किनारमा मेयरसाबको चिल्लो गाडी हुँइकिँदै आएको देखेर वीरमान दुई हात उठाएर नमस्कार मुद्रामा बीच सडकमा उभियो। अलि उम्दा ड्राइभरले हाकेको गाडी भएर होला स्पीड राम्रै रहेछ। वीरमान अगाडि बीच सडकमा उभिएकाले झ्याप्प ब्रेक लगाउँदा मेयरसाबको टाउको नराम्ररी बजारियो। वीरमान टोलको चल्तापुर्ता तन्नेरी। गाउँघरमा उसलाई धेरैले ‘धेर पढेर बिग्रेको’ ‘वीरे’ भन्ने गर्छन्। गाडीको हठात ब्रेकले टाउको ठोक्किएपछि दुई पेगले रातो भएका मेयरसाबका आँखा झनै राता भए। तर, केही बोल्नु भएन। वीरमानले घरसम्म पुग्न बिन्ती गर्यो। “सर्बगुणधारी चक्रवर्ती मेयरसाबको जय होस्” मेयरसाबको गुणगान गाउँदै वीरमान चिल्लो कारलाई ढोग्दै चढ्यो।

भर्खरैसम्म पिच सडकमा गुडेको गाडी विस्तारै कच्ची बाटोतर्फ मोडियो। हिलाम्मे कच्ची सडकमा पस्नासाथ गाडी घचक्क रोकियो। “फोरह्वील नलगाइ तानेन,” ड्राइभर गनगनायो। 

“न ड्रेन, न मेसीनरी वाल, न तारजाली, न त कतै सोलिङ अनि कसरी गाडी चल्ने हुन्छ त सडक?” वीरमानले पनि मौका छोडेन। बोलिहाल्यो। त्यो सडक यही थियो, जुन अघिल्लो वर्षको बजेटमा मेयरसाबको डोजरले खनेको थियो। कसको डोजर चलाउने भन्ने विषयमा विवाद भएपछि दुई महिनासम्म त कामै सुरु हुन सकेन। हुन त उपभोक्ता समितिचाहिँ कहाँ विवादै बिना गठन भएको थियो र? मेयरसाबले तल्लाघरे ठूलेलाई आफ्नै घर लगेर अविर लगाइदिएर समितिको अध्यक्ष बनाउँदा केही वडा अध्यक्षले कार्यपालिकाको बैठक नै बहिस्कार गरेका थिए।
गाडी गुडिरहेकै थियो...

“मेयरसा’ब हजुरको त गाउँघरमा निकै प्रशंसा छ नि,” वीरमान उत्साहित हुँदै बोल्यो। “मेयरसा’बले राम्रो काम गर्नुभएको छ, यस्तै हल्ला छ गाउँभरी। वीरमान रोकिएन... “सुन्नुभयो मेयरसा’ब तपाइले चुनाव जित्दा यो गुण्डाले चुनाव जित्यो भने सबैलाई कुट्छ भनेर मान्छेहरु खुब डराउँथे। तर, तपाईँले केही गर्नु भएन।” 

मेयरसाब खुब चाख मानेर सुनिरहेका थिए, वीरमानको कुरा। तर प्रतिक्रिया भने जनाएनन्।

वीरमान अझै रोकिएन। शब्दहरु खर्चिरह्यो, मेयरसाबको तारिफमा। ..“मेयरसा’ब अघिल्लो वर्ष त तपाइले सबै पैसा सडकमा खर्च गर्नुभयो। सारै गज्जब गर्नुभयो! सडक पूर्वाधार नभई कसरी अन्य पूर्वाधार पुग्छन् गाउँमा? कृषिको पैसा कृषि सडकमा, लक्षित वर्गको पैसा सडकमा, अहिले उनीहरु पनि यही सडकमै हिँड्छन् नि। पशुस्वास्थ्यको पैसा पनि पशु हिँड्ने सडकमा, हो सडक नभै त विकासै हुन्थेन नि मेयरसा’ब। हाम्रो नगरमा अघिल्लो वर्ष बीस वटा जति डोजर चले त्यसले बीस जना अपरेटर र बीस जना हेल्परले रोजगारी त पाए।”

मेयरसा’बले कुनै जवाफ फर्काएनन्। अब त वीरमान पनि थाक्यो, मेयरसा’बको तारिफ गर्दागर्दा। एकछिन गाडीमा शुन्यता छायो। वीरमानको अर्को मनले भन्यो, “यो गाडीमा त मेरा बाआमा, काका काकी, मेरी बुढी अनि मेरै पसिनाको हरक आइरहेछ।” वीरेले यो कुरा मेयरसाबले नसुन्ने गरी भनेको थियो। मनमनै।

वीरमानको एकमन भन्थ्यो, मेयरसाबको तारिफ गरिरहुँ। फेरि अर्को मन भन्थ्यो, अँह...होइन। जे हो त्यही भन्न सक्नुपर्छ। वीरमानको घर आइपुग्न बीस मिनेटजति बाँकी थियो। जतिजति घर आइपुग्ने दुरी नजिकिँदै थियो, उतिउति वीरमानको एकमन अर्को मनसँग प्रतिवाद गर्दैथियो। दोश्रो मनले जित्यो।

मनमा रोकेर राखेको आगो अब रोकिएन। वीरमान फेरि बोल्नथाल्यो, “मेयरसा’ब तपाइलाई राजनीति गर्न आउँदो रहेनछ। खै तपाइले चुनाव जितेदेखि आफ्नो कार्यकालभरीको योजना बनाउनुभएको छ? तपाईँका वडा अध्यक्षले बनाएका छन् दीर्घकालीन योजना? तपाईँले बजेट निर्माण गर्दा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, मानव संशाधन विकास, रोजगारी सिर्जना... खै के के योजना ल्याउनुभएको छ? गरिबी र पछौटेपन हटाउन के योजना छ तपाईँसँग? वीरे झन् झन् ठुलो स्वरले करायो।

“पहिलो वर्ष अनुभव नै भएन, धेरैतिर ध्यानै पुगेन। अझै हामी सिक्ने क्रममा छौं। सुन्नुभयो वीरमानजी, यसपाली हामीले सबै पक्षलाई ध्यान दिएका छौं,” मेयरसा’बले मसिनो आवाजमा जवाफ फर्काए। मेयरसा’बको जवाफ भुँइमा खस्न नपाउँदै वीरे बोल्यो, “त्यसो भए यसपालीको बजेटमा पनि किन झण्डै साठी प्रतिशत पैसा सडकमै राख्नुभएको मेयरसा’ब?”

मेयरसाब बोलेनन्। वीरमान आफैं बोल्यो, “माथि ठुलो वनको दुईसय रोपनी खाली जग्गा भाडामा लिएर भए पनि चिया खेती सुरुवात गराउनुस्। त्यहाँ थोरैमा पनि २० जनाले रोजगारी पाउँछन्। नाउँ डाँडाबाट कोशीसम्म प्याराग्लाइडिङका लागि पर्यटक झारौं। कोशीमा तीन किलोमिटर र्‍याफ्टीङ चलाऔं। र्‍याफ्टीङबाट बसमा होटलसम्म पुर्‍याऔं, यसो गर्दा व्यवसाय पनि फस्टाउँछ। रोजगारी पनि बढ्छ। उपभोक्ता समितिको पद हैन मेयरसाब कृषकलाई मल, बिउविजन बाड्नुस्, बेमौसमी तरकारी र फलफूल उत्पादन गर्छन्। किसानका लागि आएको अनुदानमा यति प्रतिशत भनेर माग्ने चलन हटाउनुस्, टनेल बाँड्नुस्, जग्गा व्यवस्थापन गरेर कोल्ड स्टोर बनाइदिनुस्। कृषकले मौसमी उत्पादनलाई बेमौसममा महँगो मूल्यमा बेचुन्।”

तपाईँले गर्नसक्ने र गर्नुपर्ने काम अझै धेरै छन्, मेयरसाब...  अति विपन्न केटाकेटीलाई स्कुलमा खाजा बाँड्नुस्, सबैका घरमा एउटा धारा र शौचालय बनाउन अनुदान बाँड्नुस्। बजार अनुगमन गर्दा भोट घट्छ कि भनेर खुट्टा नकमाउनुस् मेयरसाब, अपराध गर्नेलाई छुट नदिनुस्। अन्यायमा परेका बेला सहयोग पाइन्छ भनेर नै हो जनताले तपाईँलाई चुनेका। न्याय कसैलाई कम कसैलाई बढी नगर्नुस्। धेरै ठूला होइन यस्तै स साना कामबाट परिवर्तनको सुरुवात गर्नुस्।

“अर्कोपटक त तपाईँले प्रदेशको टिकट लिन पर्छ मेयरसाब, मोदीको ’गुजरात मोडल’ फलो गर्नुस् न। तपाईँ सफल हुन तीन कुरा सधै ख्याल गर्नुस्, आफू सधैं राम्रो काम गर्ने प्रयास गर्नुस्, फरक पार्टीलाई साथ लिनुस्, कर्मचारी तपाईँका हातखुट्टा हुन् सँधै तन्दुरुस्त राख्नुस् अनि प्रेसजगतसँग पर नभाग्नुस्।”

झोलुङ्गोजस्तै हल्लिँदै गुडेको मेयरसाबको गाडी वीरमानको घर अगाडि रोकियो। गाडीबाट ओर्लिएर मेयरसाबले वीरमानसँग हात मिलाए र भने, “म तपाईँसँग राजनीति सिक्न आउँछु।”



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell