PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मान बहादुर श्रेष्ठको एसियाड अनुभव : यसरी जितियो मंगोलियालाई, यस्तो छ तीन खेल हार्नुको कारण



गोविन्दराज नेपाल

मान बहादुर श्रेष्ठको एसियाड अनुभव : यसरी  जितियो मंगोलियालाई, यस्तो छ तीन खेल हार्नुको कारण

काठमाडौँ : ३२ वर्षपछि एसियाडमा भलिबल खेलेको नेपालको पुरुष भलिबल टोलीले एसियाडमा पहिलो जित हात पार्‍यो। पछिल्लो पटक सन् १९९६ मा एसियाड खेल्दा नेपालले कुनै पनि खेल जित्न सकेको थिएन। यस पटक मंगोलियालाई हराएको नेपाल एसियाली वरियतामा समेत पर्न सफल भयो। इन्डवनेसियामा पुरुषतर्फ २० राष्ट्र सहभागी भएकोमा नेपाल १५औँ भयो।

नेपालले १८औँ एसियडमा ४ खेल खेल्दा १ मा जित हात पारेको थियो। ३ खेलमा भने पराजय बेहोर्‍यो। त्यसै टिमको एक सदस्य हुन् स्पाइकर मान बहादुर श्रेष्ठ। पहिलो पटक एसियाडमा खेल्न पाउँदा उनी लगायत नेपाली टोलीले पनि अनुभव बटुल्ने मौका पायो।

'एसियाडमा पहिलो खेल जित्दा एकदमै खुशी लाग्यो। ३२ वर्षपछि एसियाड खेलेर मंगोलियालाई हराउँदा एकदमै खुशी लाग्यो।' आइतवार एनभीएले सम्मान गरेपछि श्रेष्ठले पहिलोपोस्टसँग भने।

समूह चरणमा दुई खेल हारेपनि नेपालले वरियताको लागि भएको खेलमा मंगोलियालाई पराजित गरेको थियो।

'मंगोलिया विरुद्ध पहिलो सेट नै हारियो तर हामीले कमब्याक गर्दै लगातार ३ सेट जित्यौँ। त्यो ३ सेट जितेर खेल जित्दा हामी एकदमै खुशी भएका थियौँ। एउटा गेम जितेपछि अब हामी पनि वरियतामा अली माथि आयौँ है भन्ने लाग्यो।'

नेपालले एसियाडमा अहिलेसम्म खेल्दा त्यो नै पहिलो जित थियो। त्यसैले पनि मान बहादुरले धेरै खुशी भएको सुनाउन पछि परेनन्।

समूह चरणमा भने नेपाले एसियाकै दुई ठूला टिम दक्षिण कोरिया र चाइनिज ताइपेईको पुलमा परेको थियो। दुवै खेलमा नेपाल ३-० ले पराजित भयो। जसले गर्दा टप १० वरियतामा पर्ने नेपालको लक्ष्य सुरुमै धक्का लाग्यो।

'एसियाडमा वर्ल्ड लेभलकै टिमहरु आउने भएकोले पनि हामीले ठूला टिमहरुसँग खेल्न पायौँ। तर हाम्रो समूहमा कोरिया र ताइपेई थियो। दुवै एसियाका राम्रो टिम हुन्। त्यसैले पनि हामीले आफ्नो पक्षमा नतिजा निकाल्न गाह्रो भएको हो।' श्रेष्ठले एसियाड अनुभव सुनाए। 'उनीहरु धेरै म्याच खेलिरहेका हामी भन्दा धेरै एक्सपिरिएन्स थिए। हामीसँग त्यो अली कम थियो।'

३२ वर्षपछि एसियाडको भलिबमा पुनरागम गरेको नेपालको पहिलो खेल नै ताइपेई विरुद्ध थियो। एकैपटक ठूला प्रतियोगिता ठूला राष्ट्र विरुद्ध खेल्दा नेपालले सफलता पाउन नसकेपछि पहिलो सेटमा जित नजिक पुगेको थियो तर अन्तिमा आफ्नै गल्तीका कारण नेपालले पहिलो सेट गुमायो। 'ताइपेई विरुद्ध चाँही म आफै पनि खेलन सकिन साथीहरुले राम्रो खेलेका थिए। हामीले जितेला जस्तो पनि भाथ्यो। २० बराबरमा खेलिराथ्यौँ। तर अन्तिमतिर उनीहरुले सर्भिसमा टेक्निक लगाएर खेल जित्यो। हाम्रो 'विक पोइन्ट' हेरर उनीहरुले अंक जोडे। त्यसपछि लगातार दुई सेट हारियो।'

'खेल सुरु हुनुअघि ताइपेई र हाम्रो हाइट जम्पहरुको एभरेज उस्तै जस्तो लागेथ्यो। उनीहरु केही मात्र माथि थिए। प्रतिस्पर्धात्मक हुन्छ जस्तो चाँही लागेको थियो। अर्को खेलमा कोरियासँग पनि हारियो।'

अन्तिममा नेपालले खेलको टिमहरुले नै रजत र कास्य पदक जितेपछि भने मान बहादुर श्रेष्ठले पनि राम्रै टिमसँग खेलिएछ भनेर खुशी भए। 'पछि गेम सकिएपछि उनीहरु दोस्रो र तेस्रो भएपछि चाँही हामीले राम्रै टिमसँग खेलेर हारेछौँ भन्ने भयो। उनीहरुले धेरै खेल खेलेको हुनाले म्याच एक्सपिरिएन्सहरु पनि धेरै हुन्छ।  हामीले पनि इन्टरनेशन म्याच एक्सपिरिएन्स पाएको भए अझै राम्रो गर्न सक्यौँ।'

त्यसपछि नेपालले १३/१८औँ वरियताका लागि मंगोलिया विरुद्धको खेल ३-१ ले जित्यो। तर १३/१६ वर्षियको खेलमा भने नेपालले एक सेट जितेर पनि श्रीलंकासँगै ३-१ नै पराजित भयो।

'हामी मंगोलियालाई हराउँदा जति खुशी थियौँ। श्रीलंकासँग ३-१ को सेटमा हार्दा पनि खुशी नै थियौँ।' श्रेष्ठले भने।

'श्रीलंकासँग १२औँ साग म पनि खेलेको थिएँ। त्यतिखेर हामीले १३ अंक भन्दा बढी जोड्न सकेको थिएनौँ। हाइएस्ट प्वाइन्ट नै १३ थियो।'

'तर एसियाडमा हामीले पहिलो सेट जित्यो। त्यतिखेर मेरो राम्रो भएको थियो। बल एकदमै लागेको थियो। पहिलो सेटमा हामीले श्रीलंकालाई २५-२३ ले हरायो। त्यसपछि ओहो श्रीलंकालाई नै जितिन्छ की जस्तो लाग्याथ्यो। सोचेको थिएन त्यस्तो हुन्छ भनेर। पहिलो सेटमा नियमित सेटर घाइते भएकाले दुर्गा महतो खेलेका थिए। तर त्यसपछि भने लगातार ३ सेट हार्‍यौँ।'

'यस खेलपछि अब साग गेम्समा चाँही नेपालले श्रीलंकालाई पनि हराउन सक्छ भन्ने भाछ। नेपाल पनि राम्रै छ है भन्ने यसले देखाएको छ।'

 

अबको लक्ष्य : १३औँ सागमा मेडल

२०१९ को मार्चमा नेपालमै १३औँ दक्षिण एसियाली खेलकुद (साग) हुँदैछ। घरेलु भूमिमै हुने भएकाले सागमा नेपालले पदकको अपेक्षा राख्नु स्वभाविक पनि हो।

मान बहादुर पनि राम्रो तयारी र इन्टरनेशनल म्याच एक्सपिरिएन्स पाएर पदक जित्न सक्ने बताउँछन्।

'१३औँ सागमा एकदमै मेडलको आशा छ। एनभीएले खेल्ने वातारवरण बनाइदिराको छ। अझै विदेशी कोचहरु ल्याएर राम्रो प्रशिक्षण गर्ने वातावरण भयो भने केही नभएपनि सागमा कास्य पदक सम्म जित्ने सम्भावना छ।'

श्रेष्ठको नजरमा भारत र पाकिस्तान नेपालको लागि ठूला प्रतिद्वन्दीहरु हुन्। 'श्रीलंका पनि राम्रो छ। नेपालले मेडल जित्न यी मध्ये दुई टिमलाई हराउनैपर्छ।' नेपालले माल्दिभ्स र बंगलादेशसँग एभिसी मेन्टस सेन्ट्रल जोन टुर्नामेन्टहरुमा निरन्तर खेलिरहेको छ। त्यसैले पनि यी टिमहरु विरुद्ध नेपाल राम्रोसँग परिचित छ। दुवै टोलीलाई नेपालले पराजित गरिसकेको छ। बंगलादेमा भएको चौथो सेन्ट्रल जोन टुर्नामेन्टमा भने नेपाल बंगलादेशसँग पराजित भएको थियो।

'दक्षिण एसियाकै टिमहरुलाई हराएर पदक जितनका लागि नेपालले अझै धेरै खेल खेल्ने वातावरण बनाउनुपर्ने मान बहादुरको भनाई छ। अलीकती इन्टरनेशनल म्याच एक्सपिरिएन्सको कमी देखिन्छ नेपाली खेलाडीमा। नेपाली खेलाडीहरुसँग प्रतिभा छ तर देखाउन चाँही पाछैनन्।' श्रेष्ठ गुनासो गर्छन्। 'इन्टरनेशनल टिमहरुसँग फ्रेण्डली म्याचहरु अली खेल्न पाइयो भने राम्रो हुन्छ जस्तो लाग्छ।'

'एसियाडमा ३२ वर्षपछि भाग लियो। डाइरेक्ट गएर चाइनिज ताइपेईसँग खेलियो। कुनै पनि फ्रेण्डली म्याचहरु भएन। भएको भए अझ राम्रो हुन्थ्यो कि।'

भलिबल नेपालको राष्ट्रिय खेल हो। सरकारले यसको मान्यता दिएको पनि डेढ वर्ष हुन लागिसक्यो। तर त्यसपछि हुनुपर्ने जति काम नभएको श्रेष्ठको भनाई छ। 'पहिलेको भन्दा केही सुधार त भा'को छ तर जति हुनुपर्ने हो त्यो भाछैन। राष्ट्रिय खेल भाको एक डेढ वर्ष भइसक्यो बाहिरबाट हेर्दा अली 'स्लो' रुपमा अघि बढेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell