PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

प्रदेश ५ को समृद्धिको आधार पर्यटन, चराको पनि पर्यटकीय हब : यी हुन् पुग्नैपर्ने १७ ठाउँ

प्रदेश ५ को समृद्धिको आधार पर्यटन, चराको पनि पर्यटकीय हब : यी हुन् पुग्नैपर्ने १७ ठाउँ

चन्द्रकान्त खनाल/पहिलोपोस्ट


रुपन्देहीः नेपालका ७ प्रदेशमध्ये पर्यटनको दृष्टिकोणले छुट्टै गरिमा बोकेको प्रदेश ५ को आर्थिक समृद्धिको ढोका खोल्ने एउटा महत्त्वपूर्ण आधार पर्यटन हो।

५ नं. प्रदेशको राजधानी बुटवल धार्मिक शैक्षिक, औद्योगिक दृष्टिकोणले अब्बल मानिन्छ। प्रदेशको राजधानी बुटवलमा रहेको उद्योग वन तथा वातावरण मन्त्रालय यहाँको विकास र उन्नतिका लागि आफ्नो कार्य सम्पादनलाई तीव्रता दिँदै आएको छ।

प्रदेश नं.५ का १२ जिल्लामा थुप्रै शक्ति पीठ छन् भने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीसमेत रहेकाले यसले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ।

यी हुन् प्रदेश ५ का पर्यटकीय स्थल

लुम्बिनी 

रुपन्देहीमा रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्व सम्पदा सूचीमा रहेको अति नै पावन र तपो भूमि हो। झन्डै २५६२ वर्ष अगाडि जन्मिएका गौतम बुद्धलाई एसियाका तारा मात्रै नभई भगवान विष्णुकै अवतारको रूपमा हिन्दु धर्मालम्बीहरु मान्दै आएका छन्। लुम्बिनीमा विभिन्न देशको कलासांस्कृति झल्कने खालका गुम्बाहरू रहेका छन्। 

यो भूमि संसारभरका बौद्धमार्गीलगायत  शान्ति प्रेमिका लागि विश्व शान्तिको मुहानका रूपमा प्रसिद्ध छ। विश्व भरका बौद्ध धर्मालम्बीका लागि लुम्बिनी महत्त्वपूर्ण तीर्थस्थल हो। यस पवित्र पावन भूमिमा सम्पूर्ण धरोहरमध्ये मायादेवी मन्दिर प्रमुख आकर्षणको केन्द्रबिन्दु हो। विभिन्न शताब्दीमा निर्मित मन्दिरका विभिन्न तहहरूले यसको महत्त्व तथा प्राचीनतामाथि प्रकाश पार्दछ। 

सिद्ध बाबा धाम 

बुटवल बसपार्कदेखि झन्डै ६ किमी दुरी पार गरेपछि सिद्ध बाबा धाम पुग्न सकिन्छ। चुरे पहाडको काखमा रहेको यो धामको दर्शनका लागि नेपाल र भारतको विभिन्न ठाउँबाट श्रद्धालु भक्तजनहरू आउने गर्दछन्। दुवैतिर पहाड, पहाडबिचमा रहेको तिलोत्तमा नदीकै समिप्यमा रहेको धाम ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्यको रूपमा परिचित छ। 

प्रेरणा नायक शिव्य भतृऋषिले तपस्या गरेको यो  तपभूमि प्रदेश नं. ५ कै गहना नै मानिन्छ। यो धामको दर्शनले मनोइच्छा पुरा हुने भक्तजनको भनाई रहेको छ। यहाँ शिव मन्दिर, दुर्गा मन्दिर, हनुमानको पूर्वकडको मूर्ती, सन्तोषीमा मन्दिर लगायत मन्दिर रहेका छन्। विशेष गरी सोमबार महाशिवरात्रि, श्रवण महिनालगायत अन्य चाडबाडमा भिड लाग्ने गर्दछ। रुपन्देहीमा परौहा परमेश्वर शिव ज्योति लिङ्ग धाम लगायत थुप्रै देवस्थल धार्मिक धरोहरहरू रहेका छन्।

पाल्पाको रानीमहल

प्राकृतिक सौन्दर्यले ओतप्रोत पाल्पा रमणीय भूमि हो। यहाँका छङ्गाछहरा, पाखा पखेरा लोभ लाग्दा छन्। हिमश्रृङखलाहरुले आन्तरिक र बाह्य पर्यटकको मनलाई सजिलै तान्दछ। पाल्पामाअवस्थित रानी महल विस १९५०मा शिलान्यास भई चारबर्षमा दरबार मन्दिर पाटीपौवासहित निर्माण कार्य पुरा भएको तानसेन नगरपालिका वडा नं. १२ मा पर्ने रानी महल दरबार नेपालकै ताजमहलका रूपमा चिनिन्छ। यो काली गण्डकी नदीको उत्तरतर्फ जोन मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा निर्माण भएको छ। 

जनरल खडगा शमशेरले आफ्नी प्यारी रानी तेजकुमारीको सम्झनामा निर्माण गरिएको यो दरबारको वरिपरिको वातावरणले सबैको मन खिच्दछ। 
पाल्पाको भैरव स्थान पहाडको टुप्पोमा विश्वकै सबैभन्दा ठुलो त्रिशुली रहेको मन्दिर हो। भैरव मन्दिरमा सदैभरि मेला लाग्नुका साथै बिशेषगरी मङ्गलवार र शनिवारका दिन पूजा चल्छ। तानसेन बजारबाट ८ किमी पश्चिममा रहेको भैरवस्थानबाट अधिकांश हिमशिखरहरूको सजिलै दृश्यावलोकन गर्न सकिन्छ। 

कपिलवस्तुको तिलौराकोट

कपिलवस्तु भगवान गौतम बुद्धले २५ वर्ष राज्य गरेको तिलौराकोट क्षेत्र, तौलिहवा मन्दिर, गौतम बुद्ध सँगै सम्बन्धित गोटिहवालगायतका प्रशस्त क्षेत्र, विश्व सिमसार क्षेत्र, जगदीशपुर ताल, मितरियम कनिदर सिउराजका महत्त्व बोकेका क्षेत्र उमारी गुफा लगायतका धार्मिक सांस्कृतिक र पर्यटकीय महत्त्व बोकेका स्थल कपिलवस्तुमै रहेका छन्।

तिलौराकोट एक प्राचीन पुरातात्विक महत्त्व बोकेको स्थल हो। तौलीहवाबाट ४ किमी उत्तर वाणगङ्गा नदीको नजिकै पूर्वतिर अवस्थित यो क्षेत्रमा उत्खनन कार्य पनि भइरहेको छ। उत्खनन कार्यबाट उक्त क्षेत्र वरिपरिका विभिन्न भग्नावशेष दिनदिनै देखा परिरहेका छन्। गौतम बुद्धले २९ वर्ष बिताएको बाबु राजा शुद्धोधनको दरबारसमेत यसै क्षेत्रमा रहेको छ। तिलौराकोट दरबारको भग्नावशेष क्षेत्र वरिपरि अहिले पनि उत्खनन गरी अनुसन्धान शुरु भएको छ। 

जगदीशपुर ताल

विश्व सम्पदा सूचीमा सूचीकृत कपिलवस्तुको निग्लिहवास्थित जगदीशपुर तालमा एक सय २८ भन्दा बढी प्रजातिका चराचुरुंगी, ४६ प्रजातिका माछा तथा दुर्लभ जलचरको बसोबास रहेको छ। हरेक वर्ष जाडो महिना शुरु भएपछि जगदीशपुर तालमा घुम्न आउने आगन्तुक चरा गर्मी महिनाको शुरुवातसँ फर्कने गर्दछन्। 

१ सय ५७ हेक्टर क्षेत्रफलमा फैलिएको जगदीशपुर ताल एसियाकै मानव निर्मित कृत्रिम मध्येको ठुलो ताल हो। पर्यटकीय महत्त्व बोकेको तालमा हिउँदमा साइबेरिया रुस, चीन, मंगोलिया तथा मध्ये एसियाका देशबाटसमेत चराचुरुंगी हरेक वर्ष घुम्न आउने जाने गरेको पाइएको छ। किसानलाई सिँचाई सुविधासमेत दिँदै आएको ताल आन्तरिक र बाह्य पर्यटकको लागि चर्चित गन्तव्य हो। 

शिव गढी 

कपिलवस्तु जिल्लाको पश्चिम सिमाना धानखोलाबाट करिब डेढ घण्टाको उकालो हिँडेपछि शिव गढी मन्दिरमा पुग्नेछ।  धानखोलाको दक्षिण पश्चिम पछिको चुरे पहाडको चुचुरोमा शिव गढी मन्दिर अवस्थित रहेको छ।

मन्दिरको केही तलतिर चौध वर्षसम्म भगवान शिवको तपस्यामा बसेका बाबाहरूको कुटीसमेत रहेको छ। जसलाई मौनी बाबा भनेर पनि चिनिन्छ। 

रुरु क्षेत्र

गुल्मी सुन्दर मनोरम प्राकृतिक रमणीय जिल्ला हो। पौराणिक कालदेखि  पवित्र तीर्थस्थलको रूपमा परिचित रुरु क्षेत्र रिडी गुल्मी, पाल्पा र स्याङ्गजाको संगममा पर्दछ।

बुटवलबाट करिब ६० किमी उत्तरमा अवस्थित रहेको छ रुरु। बराहा पुराणमा रुरु क्षेत्रको पौराणिक इतिहासको वर्णन छ। यो क्षेत्रमा सत्य युगमा सतीदेवीको दन्त पतन भएको मानिन्छ।

हिन्दु धार्मिक मान्यता अनुसार नेपालका चार वटा धार्मिक क्षेत्र मध्ये रुरु पनि एक हो। यहाँ ४० भन्दा बढी मन्दिरहरू रहेका छन्। यहाँ रहेको ऋषिकेश मन्दिर नेपालकै सुप्रसिद्ध मन्दिर मध्यको एक मानिन्छ। जुन सम्पदा सूचीको मनोनयनमा समेत परेको छ।

यिनै भगवान ऋषिकेशको विराजमान, कालीगण्डकीको बहाव तथा शालिग्राम के उपलब्धता जस्ता नै आयामिक विशेषताको संगम रहनाले रुरु क्षेत्रको विशिष्ट किसिमको धार्मिक पहिचान बनेको छ। यहाँ माघेसंक्रान्ती, अौ‌ंसी, पूर्णिमा, ग्रहण तथा वैशाख महिनाको प्रत्येक शनिवार मेला लाग्दछ। यो एउटा अति नै पावन धार्मिक पर्यटकीय गन्तव्य हो।

रेसुङ्गा क्षेत्र 

समुन्द्र सतहदेखि १७०० मिटर उचाइमा रहेको रेसुङ्गा सुन्दर र अनुपम छ। प्राचीन युगमा ऋषिले राजा दशरथलाई सन्तान नजन्मेपछि पुत्रेठी महायज्ञ गराएको र यज्ञपछि राम लक्ष्मणलगायतको जन्म भएको भन्ने विश्वास छ। सिद्ध बाबा, विष्णु, शिव, गणेशलगायतका विभिन्न देवदेउताका मन्दिरले पनि यो ठाउँको धार्मिक महत्त्वलाई बढाएको छ। यो ठाउँमा भगवान राम, लक्ष्मण श्रग्ग ऋषिको दर्शन गर्न आउँदा यहाँ केके समस्या छन् भनी सोध्दा पानीको समस्या भएको ऋषिले बताएपछि धनुवणले हानेर रामले पानी निकाली दिएको रामकुवासमेत रहेको छ।

 रेसुङ्गाबाट विभिन्न हिमश्रृङखला, तालतलैया तराईका समथर भूमिका सजिलै दृश्यावलोकन गर्न सकिन्छ। गुल्मीको तम्घासबाट ६ किमी ठाडो उकालो दुरी पार गरिसकेपछि यो ठाउँमा पुग्न सकिन्छ। 

पाणिनी तपो भूमि 

अर्घाखाँचीको पाणिनी गाउँपालिकाको पाणिनी तपो भूमि जंगलबिच रहेको छ। पाणिनी तपोभूमिको उत्तरतर्फको पानी काली गण्डकी र दक्षिणतर्फको पानी बाणगंगामा मिसिन आउँछ।

तपोभूमिमा मन्दिर, यज्ञशाला, पाठशाला, भ्यूटावर बगैँचा पाणिनी ऋषिको मूर्ती रहेको छ। अर्घाखाँचीको पोखाराथोक र पाल्पाको तिनधोरबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ। पाणिनी ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर १४ सूत्रधार भनिएको र तिनैको आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त डौमुडीको निर्माण गरिएको हो भन्ने संस्कृत विज्ञको भनाइ छ।

पणेना लेकमा आएर पाणिनीले ऋषिले गरेपछि भगवान शिव प्रसन्न भएर आशीर्वाद दिएसँग सो क्षमता विकास भएको हो भन्ने पौराणिक मान्यता र विश्वास छ। 

सुपा देउराली मन्दिर

अर्घाखाँचीको सुपा देउराली मन्दिरको दर्शनले मनोकंक्षा पुरा हुन्छ भन्ने विश्वास छ। एक जना व्यक्ति लाहुर जाने क्रममा यही मन्दिरमा पुगेर भाकल गरे भाकलका क्रममा देवी भगवतीलाई दान चढाउने वचन पनि दिए लाहुर पुगेपछि मनोकंक्षा पुरा भयो।

र फर्कने क्रममा उनले गरेको बाचा पुरा गरेनन् सुपादेउराली मन्दिरलाई छलेर जान खोज्दा एकाएक पहिरोमा टाँसिएको साक्षी त्यहाँको भित्तामा टाँसिएको मानव आकृतिको चित्र अहिले पनि देखिन्छ। यहाँबाट माछापुच्छ्रे, धौलागिरी, हिमश्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ। सदरमुकाम सन्धिखर्क जाने बिच सडकमै यो मन्दिर रहेको छ। 

राम ग्राम स्तुपा 

नवलपरासीमा अवस्थित राम ग्राम स्तुपा ऐतिहासिक पुरातात्विक तथा धार्मिक स्थल हो। कोलिया गणराज्यको रूपमा राम ग्राम स्तुपा रहेको र यसको राजधानी नवलपरासीको पण्डितपुरमा परेको छ। भुर्गभविदले नवरपरासीको पण्डितपुर कोयि गणराज्यको राजधानी भएको पुष्टि गरिसकेको अवस्था रहेकाले पनि यस महत्त्व गरिमा झनै बढेको छ।

राम ग्राम नगरपालिका वडा नं. ३ उजैनीमा पर्दछ। सरमुकाम परासीदेखि दक्षिण महेशपुरबाट ३ किमी दुरी पार गरी उजैनी गाउँबाट १५ मिनेट पूर्वतर्फ झरही खोलाको किनारमा समतल मैदानमा देखिने थुम्कोमा राम ग्राम स्तुपा रहेको छ। 

प्युठान स्वर्गद्वारी

स्वर्गद्वारी प्युठान जिल्लाको सदरमुकाम खलंगाबाट करिब २६ किमी पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। स्वर्गद्वारी मन्दिर नेपालका प्राचीन मन्दिरहरू मध्ये एक मानिन्छ। समुन्द्र सतहदेखि ७००० फिटको उचाइमा पर्दछ।

 २६०० रोपनी क्षेत्रफलमा आश्रम अवस्थित छ। रोल्पा जिल्लाको घुम्तीमा वि.सं. ११६ मा जन्मनु भएका १०८ महा प्रभु वालतपस्वि नारायण गौतम ११५१ मा स्वर्गद्वारी आएपछि वेदका मन्त्रद्वारा अग्नि प्रज्योलित गरी ११५२ वैशाख पूर्णिमा देखि अखण्ड महायज्ञ शुरु भएको हो। 

जुन विश्व शान्तिको लागि सञ्चालित अखण्ड यज्ञ सुरु भएको हो। विश्व शान्तिको लागि सञ्चालित अखण्ड यज्ञ हाल पनि निरन्तर बलिरहेको छ। पौराणिक कालमा पान्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास छ।

तिहारको औसीका दिन र दशैको फुलपातीको दिन प्रभुको सम्झनामा देश विदेशबाट आएका हजारौँ  भक्तजनसमेतको उपस्थितिमा प्रभुको रथ यात्रा निकाल्ने प्रचलन छ। मुख्य मेला वैशाख पूर्णिमा जेठ, भाद्र, कार्तिक र माघे संक्रान्तिमा लाग्ने गर्दछ। यहाँ भारतको उत्तर प्रदेश, विहार नेपालका आन्तरिक तिर्थयात्रीहरु आउने गर्दछन्। स्वर्गद्वारी पुग्न पूर्व पश्चिम महेन्द्र राजमार्गको दाङ भालुवाङ देखि प्युठान जिल्लाको भिग्रीसम्म कालोपत्रे सडक रहेको र भित्री देखि १४ कि.मी. कच्ची ग्रामीण सडक रहेको त्यसबाट सजिलै पुग्न सकिन्छ। 

बाँके बागेश्वरी मन्दिर 

बाँकेको सदरमुकाम नेपालगन्जमा रहेको अति सुन्दर अनुपम मन्दिर बागेश्वरी मन्दिर हो। यस मन्दिरमा सतीदेवीको अङ्ग पतन भएको धार्मिक विश्वास रहेको छ। यहाँ गणेश भगवानको मूर्ती छ। बागेश्वरी मन्दिरमा विशेष पूजा गर्ने विधि छ।

मनोकामना पुरा होस भनेर भारतबाट श्रद्धालुहरू नेपाल आउँदछन्। मन्दिर वरिपरि रहेको स्वच्छ निर्मल पानी रहेको ताल तालको बिचमा मन्दिर समेत रहेकाले पनि पर्यटकको लागि निकै आकर्षणको केन्द्रबिन्दु बनेको छ। 

बर्दिया ठाकुरद्वार 

बर्दियामा ठाकुर द्वार घुमफिरको लागि महत्त्वपूर्ण स्थल हो। ठाकुर द्वार बर्दिया राष्ट्रिय निकुञ्जले गर्दा पर्यटकको गन्तव्य बनेको छ। ठाकुरद्वारमा जनावरको अवलोकन र सिंसार क्षेत्रको भ्रमण अवलोकन गर्न स्वदेशी एवं विदेशी पाहुनाहरू पुग्दछन्। ठाकुरद्वारमा दुर्लभ मानिएको पाटे बाघका साथै अन्य जनावरहरू पाइन्छन्। बर्दियाको ठाकुर द्वार जानको लागि कोहलपुरबाट ६० किमी पश्चिम आम्बामा अर्थात् अमोनी पुग्ने र त्यहाँबाट १९ कि.मी. दक्षिणको यात्रामा बर्दिया निकुञ्ज पुगिन्छ।

रुकुम कोट

रुकुम ५२ पोखरी ५३ टाकुरीको जिल्ला हो। रुकुम कोट पश्चिम क्षेत्रकै पर्यटकीय हब हो। रुकुम कोट पहिलाका राजा रजौटाहरुले राज्य  गरेको ठाउँ हो भन्ने भनाई छ। रुकुमको १० कोस पूर्वमा पर्ने रमणीय ठाउँ नै रुकुम कोट हो। यो प्राकृतिक सुन्दरताले भरिपूर्ण छ।

रुकुमकोटमा रहेको रुक्मिणी देवीको नामबाट रुकुम कोट रहेको र  पछि रुकुमकोटबाट पछि रुकुम नाम रहेको जनश्रुति पाइन्छ। यहाँ रहेको कमल ताल धार्मिक तथा  पर्यटकीय महत्त्व बोकेको ताल हो। यहाँ महाशिवरात्रि, चैत्रे दर्शै, हरितालिका तीज र वडा दसैँमा भव्य मेला लाग्ने गर्दछ। यो तालमा नुहाएमा विभिन्न छालाका रोगहरू निको हुने जनविश्वास छ।

रुकुमकोटको बाहुनथानामा रहेको अवस्थित यो ताल नेपालको नक्सा जस्तो देखिन्छ। यो ताल सुन्दर र मनमोहक देखिनुका साथै नेपालमा पाहिने कमलको फुलहरू मध्ये सबैभन्दा राम्रो कमलको फुल मानिन्छ।

यो तालको पूर्वमा पर्ने वनमा विभिन्न किसिमका जडीबुटीहरू पाइन्छन्। साथै यो तालको वरिपरि विभिन्न किसिमका चराहरू पाइने भएकोले वर्ड वाचिङ्गको लागि उपयुक्त स्थान हो। रुकुम कोट पुग्नको लागि अहिले बाटो घाटोको राम्रो सुविधा छ। स्थल र हवाई मार्गबाट जान सकिने यो ठाउँ अत्यन्तै रमणीय ठाउँ हो। 

रोल्पाको थवाङ

जिल्ला सदरमुकाम लिवाङबाट १ दिन हिँड्दा पुगिने थवाङ ६ दशक यता मुलुकभित्र र बाहिर पनि बहिष्कारवादी कम्युनिस्ट गाउँ भनेर चर्चित छ। २०१५ सालको संसदीय चुनाव  पछि २०७० मंसिरको संविधान सभामा निर्वाचनसम्म  थवाङवासीले सामूहिक निर्णय  गरे की एक ठाउँमा खसाए की त निर्विरोध बनाए। अन्य भागको भन्दा भिन्दै स्वभाव र बोकेको छ थवाङले। 

विशेष गरी समाज रूपान्तरण नारासहित २०५२ सालमा जनयुद्धमा होमिएको माओवादीको अगम स्थलकै रूपमा परिचित छ थवाङ। यहाँको बासिन्दाहरू सबै काम सामूहिक सल्लाहमा नै गर्ने गर्दछन्, भोट हाल्न गए सबै जाने नगए कोही नजाने मुलुकको बाँकी भागको भन्दा बिलकुलै भिन्न स्वभाव बोकेको छ थवाङले। 

विद्यालय व्यवस्थापन समिति उपभोक्ता समूहको सदस्यमा चर्को चुनाव अन्यत्र हुने गर्दछ। तर यहाँ त्यस्तो हुँदैन। अन्य ठाउँको तुलना पृथक् ठाउँको रूपमा परिचित छ थवाङ यहाँ पुग्न रोल्पाको सदरमुकाम लिवाङबाट झन्डै दुरी यात्रा पार गरिसकेपछि पुग्न सकिन्छ। 

दाङको रिहार

दाङको सबभन्दा महत्त्वपूर्ण स्थल रिहार नामको इतिहास ५००० वर्ष पुरानो रहेको बताइन्छ। द्वापर युगमा ऋषिमुनीहरुले विहार गरेको हुँदा यो ठाउँको नाम ऋषि विहारबाट रिहार रहन गएको धार्मिक विश्वास छ।

 प्राकृतिक सौन्दरताले सजिएको रिहारमा दवापार युगमा ग्वालाहरुले गाई चराउने र गाईले बगर बाबालाई दूध चढाउने गरेको किम्बदन्ती पाइन्छ। दाङको देउखुरी स्थित सतबरियामा पर्ने रिहार धाम १०० हेक्टरको क्षेत्रफलमा फैलिएको छ। त्यहाँ बगारबाबासहित अन्य देवीदेउताको मन्दिर पनि छ।

हरेक वर्ष माघेसंक्रान्तिको अघिल्लो दिन देखि एक सातासम्म मेला लाग्ने रिहारमा सूर्य र त्यसमा दुई कुण्ड पनि छन्। लमहीबाट ७ किमी पश्चिममा पर्ने रिहार धाममा पर्यटकको लागि खाने बस्ने कुनै असुविधा छैन।

पाण्डेश्वर मन्दिर दाङ जिल्लाकै धारा पानी गाउँमा पर्दछ। समुन्द्र सतहबाट ६३३ मिटरको उचाइमा यो मन्दिर रहेको छ। यसको दक्षिणमा चुरे पहाड, उत्तरमा सरमु गंगाको उदगम नदी, पूर्वतर्फ घना जंगल र पश्चिममा धारा पानी गाउँ पर्दछ।

धार्मिक किम्बदन्ती अनुसार द्वापर युगमा पाँच पाण्डवहरू द्रौपदी सहित स्वर्गको यात्रामा रहेको बखत यस स्थलमा आएर महादेवको आराधना गर्दै यज्ञ लगाएको विश्वास छ। पाँच पाण्डवले ध्यान र तपस्या गर्दा ज्योति लिंग स्थापना गरेकोले पाण्डेश्वर महादेव भनी नामकरण गरिएको धार्मिक मान्यता रहेको छ।

महाशिव रात्रिमा निकै भिड लाग्ने र यहाँ पूजा गरे मरेपछि स्वर्गमा पुग्न्छि भन्ने धार्मिक विश्वास छ। पाण्डेश्वर मन्दिर देखि अलिक माथि विश्वकै ठुलो त्रिशुलीसमेत स्थापना गरिएको छ। 

यसको दर्शनको लागि नेपाल, भारतलगायत अन्य देशका पर्यटकहरू आउने गर्दछन्।  घोराहीबाट झन्डै १० कि.मी भित्र पर्ने यो धाम ५ नं. प्रदेशकै अतिनै पावन तपो भूमि हो। पर्यटकका लागि खाना बस्नको राम्रो प्रबन्ध भएकाले कुनै अप्ठ्यारो छैन।


ट्रेन्डिङ पोस्ट

Ncell