PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बच्चालाई ‘डिप्रेशन’! आत्महत्या गर्ने खतरा



सागर बुढाथोकी

बच्चालाई ‘डिप्रेशन’! आत्महत्या गर्ने खतरा

बालकोटका ८ वर्षीय निर्मल थापामा अचम्मको स्वभाव देखिन थालेको छ। उनी बिना कारण रुन्छन्। त्यतिकै हाँस्छन्। न परिवारको सदस्यसँग घुलमिल हुन्छन्। न त नचिनेको मान्छेसँग नै डराउँछन्। सँगैका साथीजस्तै जिज्ञासु छैनन्। एक्लै बस्छन्। टोलाउँछन्। अनौठो तरिकाको व्यवहार छ उनको। उनलाई कोही चाहिन्न। तर अत्यधिक बेचैन र छटपटी देखिन्छ स्वभावमा।
 

त्यतिमात्र हैन उनी लगातार निराश भइरहन्छन्। सामान्य कुरामा धेरै संवेदनशील भएर चित्त दुखाउँछन्। सानै उमेरमा उनको रिस देखेर अभिभावकहरू त्रसित छन्। कहिले अत्यधिक खान्छन्, कहिल्लै जति खुवाए पनि खान मान्दैनन्। निद्राको मामलामा पनि त्यस्तै। त्यतिकै थकित देखिरहन्छन्। कुनै कुरामा ध्यान दिन सक्दैनन्। न उनलाई साथी चाहिन्छ। न कुनै अतिरिक्त क्रियाकलापमा भाग लिन्छन्।
 

बच्चाहरू यस्तै हो भनेर केही वर्ष उनकी आमा राधिका चुप भइन्। समय बित्दै गएपछि थाहा पाइन्, छोरालाई आत्महत्याको विचार आउँछ।
 

उनी छाँगोबाट खसेजस्तै भइन। आठ वर्षको बच्चालाई आत्महत्याको विचार! बाल मनोविश्लेषककोमा पुगेपछि थाहा पाइन निर्मललाई डिप्रेशन भएको छ।
 

हिजोमात्र मनोविश्लेषक बासु आचार्यको क्लिनिकमा एक जना अभिभावक १३ वर्षीय बच्चा लिएर आइपुगे।  उसले बारम्बार 'म सुसाइड गर्छु। मलाई नरोक्नु' भनेपछि उनकी आमाले हेटौँडादेखि यहाँ ल्याएकी थिइन। उनलाई अहिले अस्पतालमा एडमिट गरिएको छ।
 

आचार्यको अनुसार त्यो बच्चामा अत्यन्तै छटपटी थियो। म मर्छु। मलाई नरोक्नु मात्र भन्ने गर्थ्यो। छोराको त्यस्तो स्वभावले आमा चिन्तित थिइन्। उ आमासँग एकदमै क्रोधित हुन्थ्यो। उनले ती बच्चालाई काउन्सिलिङ गरेर अस्पताल एडमिट गरे।
 

बच्चाको यस्तो समस्या लिएर धेरै परिवारहरू आउने गरेको आचार्य बताउँछन्। भन्छन्, 'अहिले बच्चाहरूमा मानसिक समस्या धेरै देखिन थालेको छ। तर अभिभावकहरू बच्चाको समस्याप्रति अनविज्ञ छन्।'
 

*******

नेपालमा कति बच्चाहरूलाई डिप्रेशन छ, यकिन तथ्याङ्क छैन। निर्मलजस्तै जस्तै ५ लाख नेपाली बालबालिकामा डिप्रेशन रहेको अनुमान गरिएको छ। तर नेपालमा डिप्रेशन को अवस्थाको बारेमा कुनै अध्यन अनुसन्धान नै भइसकेको छैन।
 

तपाईँको बच्चाहरूलाई पनि हुन सक्छ डिप्रेशन?

 

अन्य बच्चाहरू भन्दा तपाईँको बच्चा तुलनात्मक रूपमा हिंस्रक छ  भने उसलाई डिप्रेशन हुन सक्छ। जसलाई हामी 'चाइल्हुड डिप्रेशन' भन्छौँ।
 

'चाइल्डहुड डिप्रेसन' बालबालिकाहरूको विकास क्रममा हुने अरू दुखाई र भावनाभन्दा फरक हो। बालबालिकाहरू निराश वा दुःखी देखिँदैमा उनीहरुलार्इ डिप्रेसन भएको भन्न मिल्दैन। तर, बालबालिकाहरूमा देखिने केही लक्षणहरूले उनीहरूको क्रियाकलापमा प्रभाव पार्दैछ भने डिप्रेशन हुन सक्छ।
 

बच्चाहरू सामाजिक, पारिवारिक, विद्यालय वा दैनिक क्रियाकलाप गर्न असमर्थ हुन्छन् भने उनीहरू डिप्रेशनसँग सङ्घर्ष गरिरहेका छन् भन्ने बुझ्नुपर्छ।
 

बालबालिकाहरूमा डिप्रेशनको लक्षणहरू फरक-फरक हुनसक्छ। बालबालिकाहरू हिंस्रक वा निराश हुनु सामान्य हो। तर यही अवस्था लामो समयसम्म रहिरहँदा धेरै बालबालिकाहरू डिप्रेशनको सिकार भएका छन्। बच्चाहरू ठूला व्यक्तिहरू झैँ निराश वा दुःखी भएको देखिन्छन्। डिप्रेशन यस्तै दुःखी सोचबाट सुरु हुन्छ।
 

मनोविश्लेषक वासु आचार्यका अनुसार बच्चाहरूको डिप्रेशनको मुख्य लक्षण छटपटी र आत्महत्याको विचार आउनु हो। सबै बालबालिकाहरूमा यी सबै लक्षणहरू नहुँन पनि सक्छ। भिन्न समय वा परिस्थितिमा फरक-फरक किसिमका लक्षणहरू देखिन्छन्। धेरै बालबालिकाहरूले सामान्य व्यवहार गरे पनि धेरैजनामा उनीहरूको बानी व्यवहार, पढाइ, शारीरिक अवस्थामा परिवर्तन देखिन्छ। १२ वर्षभन्दा माथिका बालबालिकाहरू ड्रग्स वा मद्यपानमा फस्ने खतरा हुन्छ।
 

एक अध्यनका अनुसार १२ वर्षभन्दा कम उमेरका बालबालिकाहरूले खासै आत्महत्याको प्रयत्न गर्दैनन्। तर उनीहरू निराश वा दुःखी भए आवेगमा आएर आत्महत्या गर्छन्।
 

नेपाल प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा २५० जना बालबालिकाले आत्महत्या गरे। बालबालिकाहरूले आत्महत्या गर्नुको मुख्य कारण नै डिप्रेशन थियो।
 

किशोर अवस्थामा आत्महत्या गर्नु अमेरिकामा युवाहरूको मृत्यु हुनुको प्रमुख कारण हो। तथ्याङ्कका अनुसार ५० हजार किशोर किशोरीलेहरुले वार्षिक रूपमा आत्महत्याको प्रयास गर्छन्। ती मध्ये पाँच हजार किशोर किशोरीहरू आत्महत्यामा सफल हुन्छन्। यो निकै डर लाग्दो अवस्था हो।
 

पारिवारिक हिंसा, मद्यपान, शारीरिक वा यौन दुर्व्यवहारहरू बीच हुर्केका बालबालिकामा डिप्रेशनका लक्षण हुन्छन्। यस्तो लक्षण देखिएका बालबालिकाहरूमा आत्महत्या गर्ने जोखिम धेरै रहेको आचार्य बताउँछन्।
 

भन्छन्, 'धेरै सुःखमा हुर्किएका बच्चाहरू एक्कासी दुःख पाए भने पनि डिप्रेशन हुन्छ। दुःख पाएकाले एक्कासी सुःख पाए भने पनि यस्तो हुन्छ। बाबु आमाको झगडा पनि डिप्रेशनको कारण हो।'
 

त्यसैले अभिभावकहरू बालबालिकाका व्यवहारप्रति धेरै संवेदनशील हुनुपर्छ। आत्महत्या गर्न उन्मुख बालबालिकाका आफूलाई अपमानित महसुस गर्छन्। उनीहरूको खानपिन, निद्रामा परिवर्तन देखिन्छ। बिस्तारै उनीहरू परिवार र समाजबाट अलग्गिँदै जान्छन्। उनीहरूको दिमागले नकारात्मक कुराहरू मात्र सोच्न थाल्छ। र उनीहरू खराब गतिविधिमा सहभागी हुन्छन्। आचार्य भन्छन्, 'त्यही बेला उनीहरू धेरै रुन्छन्। रोएर भावनात्मक रूपमा कमजोर भएर आत्महत्याको बाटो रोज्छन्।
 

बालबालिकाहरूको अत्यधिक प्रविधि मोहले पनि शारीरिक र मानसिक व्यवहारमा परिवर्तन आउन सक्छ। उनीहरूका हरेक गतिविधिमा अभिभावकहरू सचेत हुनुपर्छ। उनीहरूले अनौठा व्यवहार देखाएमा मनोचिकित्सककोमा लैजानुपर्छ। बेलैमा उपचार नपाए आत्महत्या गर्न पुग्छन। आचार्य भन्छन्,  ' सानैमा डिप्रेशन भएका बच्चाहरू भविष्यमा गएर आत्महत्या गर्न सक्छन्। त्यसैले बच्चालाई धेरै सुःख सुविधाभन्दा माया दिएर लड्न भिड्न र सङ्घर्ष गर्न सिकाउनुपर्छ।'
 

मनोविश्लेषक आचार्यका अनुसार बच्चाहरूले अनौठो व्यवहार देखाएमा डिप्रेशन भएको हो वा हैन कन्फर्म गर्नुपर्छ। बच्चाले मर्छु भनेमा जिस्किएको ठान्नु हुँदैन। बच्चाको कुरा सुन्ने, सपोर्ट गर्ने गर्नुपर्छ।

समबन्धित समाचार :
बच्चालाई ‘स्मार्टफोन’ : ‘ड्रग्स’ खान दिएजस्तै घातक

उपचार पत्ता नलागेको बच्चाको रोग : जसले, जीवनभर छाड्दैन

पानी धेरै पिउँदा झनै खतरा! बच्चालाई नि?

कम उमेरमै आत्महत्या गर्ने 'ट्रेण्ड' बढ्दो
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell