PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भिआइपीले सरकारी खर्चबाट विदेशमा उपचार गर्न नपाउने विधेयक पारित



भिआइपीले सरकारी खर्चबाट विदेशमा उपचार गर्न नपाउने विधेयक पारित

काठमाडौं : संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट सरकारी खर्चमा विदेशमा उपचार गर्न जान नपाउने व्यवस्थासहितको जनस्वास्थ्य विधेयक पारित भएको छ। विधेयकमा प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नब्योहर्ने प्रावधान राखिएको छ। समितिले संशोधनसहित यो प्रावधान राखेको हो।

अब विधेयक संसदबाट पारित भएमा सरकारी खर्चमा कुनै पनि नागरिकले विदेशमा गएर उपचार गर्न पाउने छैनन्।

सरकारी कोषबाट वर्तमान तथा भूतपूर्व भिआइपीहरुले  विदेशमा उपचार गर्दै आइरहेको थिए। उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले आर्थिक सहयोग गर्दै आएको थियो। 

जनस्वास्थ्य विधेयकमा गगन थापाले स्वदेशमा उपचार नगरी आफू खुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट कुनै पनि नाममा सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलब्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए।

थापाको प्रस्तावलाई थप स्पष्ट र विस्तारित गर्दै समितिले विधेयक अघि बढाएको हो।

गगन थापा स्वास्थ्य मन्त्री हुँदा कार्यविधि बनाएर रोक्ने प्रयास गरे पनि गृह मन्त्रालय तथा अन्य विभिन्न नाममा सरकारले प्रचलित अन्य नियममा टेकेर विशिष्ट व्यक्तिलाई सहायता उपलब्ध गराउँदै आएको थियो। यसलाई रोक्न कानुनमै उल्लेख गर्नुपर्ने गगनको प्रस्ताव थियो। सोही कारण थापाले संशोधन प्रस्ताव दर्ता गराएका थिए।

विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिबाट पारित भएको विधेयक अब सांसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणित गर्नुपर्ने हुन्छ। राष्ट्रपतिले प्रमाणित गरेपछि उक्त विधेयक ऐनका रूपमा कार्यान्वयनमा आउने छ।

अहिले उक्त विधेयकको बारेमा संसदमा छलफल चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell