PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अमेरिकामा ‘फ्लोरेन्स' आँधीका कारण पाँचको मृत्यु, लाखौं विस्थापित



अमेरिकामा ‘फ्लोरेन्स' आँधीका कारण पाँचको मृत्यु, लाखौं विस्थापित
फोटो: एपी

वासिङटन: अमेरिको पूर्वी सामुद्रिक तटमा आएको ‘फ्लोरेन्स’ नामको शक्तिशाली समुद्री आँधीका कारण पाँच जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। अमेरिकाको उत्तरी र दक्षिणी केरोलिना र भर्जिनिया आँधीका कारण धेरै प्रभावित भएको छ।

उत्तरी केरोलिनामा एउटा रुख ढल्दा एउटी आमा र उनका एकजना बच्चाको मृत्यु भएको छ। यस्तै एक जनाको लिनोयर कन्ट्रिमा विद्युतिय जेनेरेटर संचालन गर्ने क्रममा र अर्को एक पुरुषको भने घर बाहिर कुकुर हेर्न जाँदा हुरीबतासका कारण मृत्यु भएको जनाइएको छ।     

उत्तरी केरोलिनाका गभर्नर रोए कुपरले भने आँधीको कहर अझै केही दिन रहने भन्दै मृतकको संख्या बढ्न सक्ने बताएका छन्। आँधी आउनु पूर्व नै अधिकारीहरुले धेरै संख्यामा मानिसहरुको मृत्यु हुने चेतावनी दिएका थिए। यस्तै ह्दयघातका कारण एक महिलाको मृत्यु भएको छ। आँधीका कारण बाटो बन्द हुँदा उनलार्इ अस्पताल पुर्‍याउन नसकिएको बताइएको छ। 



मौसम विभागका अधिकारीहरुले १५० किलोमिटर प्रतिघण्टाले आइरहेको आँधीका कारण धेरै स्थानमा ठूलो वर्षा सहित बाढी पहिरो गएको बताएका छन्। उत्तरी केरोलिनाका कतिपय क्षेत्रहरुमा १० फिटसम्म पानी जमेको बताइएको छ। 

आँधीका प्रभावित क्षेत्रमा रहेका १७ लाखभन्दा धेरै मानिसहरूलाई आफ्नो ठाउँ छोडेर अन्यत्र जान आह्वान गरिए पनि धेरै मान्छे त्यहाँ फसिरहेको हुन सक्ने अनुमान गरिएको छ। लगातारको बर्षाका कारण उद्दारकार्य धेरै प्रभावित भएको बताइएको छ। 

आँधीबाट विस्थापित भएकाहरुका लागि सयौं अस्थायी शिविरहरु बनाइएको छ। हालसम्म उत्तर केरोलिनाका २० हजार मानिसहरु अस्थायी शिविरमा पुगेको बताइएको छ। प्रभावित क्षेत्रमा रहेका मानिसहरुलार्इ समूह बनाइ सुरक्षित स्थानको पहिचान गरी त्यहाँ बस्न आग्रह गरिएको छ।  

आँधीका कारण आठ लाख भन्दा बढी मानिसहरू विद्युत, इन्टरनेट, टेलिफोन सेवाबाट बञ्चित भएको जनाइएको छ। अधिकारीहरुले आँधीको वेग कम भएता पनि खतरा रहेको भन्दै प्रभावित क्षेत्रका मानिसहरुलार्इ सावधानी अपनाउन भनेको छ। 

यस्तै, अमेरिकी राज्य टेक्सासमा पनि अविरल वर्षा सँगै आएको बाढी पहिरोका कारण धेरै क्षेत्रहरु प्रभावित भएको जनाइएको छ। प्रकोपको प्रहारका कारण टेक्सासका गभर्नर जर्ज अबोटले राज्यलार्इ प्रकोप प्रभावित क्षेत्र घोषणा गरेका छन्। मौसम विभागका अधिकारीहरुले त्यस क्षेत्रमा आँधीको सम्भावना रहेको चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell