PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

थिम्पुको चाबी गुमाउँदै दिल्ली : भारत परस्त पीडीपी पहिलो चरणबाटै आउट



विधुर ढकाल

थिम्पुको चाबी गुमाउँदै दिल्ली : भारत परस्त पीडीपी पहिलो चरणबाटै आउट
Photo: http://www.bbs.bt

काठमाडौँ : निवर्तमान प्रधानमन्त्री छिरिङ तोग्बेको दल पिपुल्स डेमोक्रयाटिक पार्टी (पिडिपी) आगामी कार्यकालका लागि भुटानको संसद बाहिरै रहने भएको छ। 

भारतपरस्त प्रधानमन्त्रीको रूपमा चिनिएका तोग्वेलार्इ दिल्लीले पुनः प्रधानमन्त्रीको रूपमा चाहेको थियो। तर, यसपटक उनको दललार्इ भुटानका मतदाताले संसदबाहिरै सीमित गरिदिए। 

भुटानमा सम्पन्न राष्ट्रियसभाको पहिलो निर्वाचनको शनिवार सम्पन्न मतगणना अनुसार पीडिपी तेस्रो स्थानमा रहँदै संसद प्रवेश गर्ने दौडबाट बाहिरिएको हो। 

ड्रुक न्यमनरुप शोगपा (डिएनटी) र ड्रुक फुन्सुम शोगपा (डिटिपी) पहिलो र दोस्रो हुँदै अघिल्लो चरणमा प्रवेश गरेका हुन्। अब यी दुर्इ दलले मात्र राष्ट्रियसभाका लागि आगामी अक्टुवर १८ गते हुने अन्तिम चरणको निर्वाचनका लागि उम्मेदवार उठाउन पाउने भुटानको अनलाइन दी भुटनीजले जनाएको छ। 

डीएनटी यसअघि संसदबाहिर रहेको दल हो भने डिटिपी भुटानको प्रतिपक्षी दल हो। 

चार दल सहभागी चुनावमा सत्तारूढ दलसँगै भुटान कुन्याम पार्टी (बीकेपी)समेत बाहिरिएको छ। 

सन् २०१३ मा भएको निर्वाचनमा डीएनटीले १७ प्रतिशत मत ल्याएको थियो। यसपटक उसले सबैभन्दा बढी मत ल्याएको छ। 

चार लाख ३८ हजार ६६३ मतदाता रहेकोमा दुर्इ लाख ९० हजार ७४४ (६६.२७ प्रतिशत) मत खसेको थियो। 

मतगणना अनुसार डीएनटीले कुल सदर मतको ९५ हजार ८५५ मत ल्याएको छ। यद्पि, डिएनटी १६ निर्वाचन क्षेत्रमा ठूलो दल बनेको छ। त्यस्तै दोस्रो दल डीटीपीले २२ निर्वाचन क्षेत्रमा ठूलो दल बने पनि ९० हजार ८८९ मत ल्याएको छ। सत्तारूढ दल पीडीपीले जम्मा ८२ हजार ३२० मतसहित ९ निर्वाचन क्षेत्रमा ठूलो दल बनेको छ। 

भुटानमा नेशनल एसेम्बली (संसद) को चुनाव दुई चरणमा हुन्छ। पहिलो चरणमा मतदाताले राजनीतिक दल चयन गर्छ भने पहिलो चरणको निर्वाचनमा धेरै मत ल्याउने दुर्इ दलले दोस्रो चरणमा उम्मेदवार उठाउन पाउँछ। मतदाताले दुर्इ मध्ये एक उम्मेदवार चयन गर्नेछन्। 
दोस्रो चरणमा जसले बहुमत ल्याउँछ उसले सरकार गठन गर्ने छ। त्यस्तै निर्वाचनमा स्वतन्त्र उम्मेदवार भने हुने छैनन्। 

यसअघि डिटिपीले सन् २००८ मा भएको पहिलो आम निर्वाचनमा कुल ४७ सिट मध्ये ४५ सिट जित्दै सरकार चलाएको थियो। भने सन् २०१३ को निर्वाचनमा पिडीपीले ३२ सिट जित्दै बहुमतको सरकार चलाएको थियो। 

सन् २०१३ मा गठन भएको डिएनटीले यसपटक सबै दललार्इ पछि पार्दै ठूलो दल बनेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell