PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


हैट ! सवारी साहित्य : बोल्न निषेध लेख्न मनपरी?


स्वेच्छा राउत

हैट ! सवारी साहित्य : बोल्न निषेध लेख्न मनपरी?

जन्मभूमि छ, घर छैन
जिन्दगी छ, भर छैन
हाँसो खुशी दुवै छन् तर पनि छैन आस
रातदिनको यात्रा छ ठेगानको छैन बास

रत्नपार्कदेखि काँडाघारी चल्ने बा २ ख ९५५९ नम्बरको मिनीबस पछाडि लेखिएको कविता हो, यो। यसलाई रचेका हुन् गाडीका चालक राजु मोक्तानले। 

उनलाई जीवनका अनुभूतिहरु, सुख, दु:खका कुरा भएको कविता, गजल, मुक्तक लेख्न र पढ्नमा रुची छ।

‘ड्राइभरको जिन्दगी, कापी कलम लिएर लेख्न बस्ने फुर्सद हुँदैन। अनि गाडीमै लेखिदिएको,' राजुले भने, ’यस्ता लाइनहरु धेरै आउँछन् तर सबैतिर लेख्दा गाडी राम्रो देखिँदैन।’ 

उनलाई लाग्छ गाडीमा लेखिएको जीवन र प्रेमका विषयले मानिसलाई राम्रो महसुस गराउँछ। अनि ध्यान पनि गाडीतिर खिच्छ।

उनको गाडीकै देब्रे पाटोमा लेखिएको छ:

जन्म मेरो इन्डिया, फोर्स मेरो नाम
जिन्दगी मेरो यस्तै रहेछ, मान्छे बोक्ने काम। 

दोस्रो कविता भने उनले अरु गाडीमा देखेर याद गरे। र, २ महिना अघि डेन्टपेन्ट गराउँदा आर्टिस्टलाई लेख्न लगाए।

सन् २०१८ फेब्रुअरी ११ मा नेकपाका सांसद योगेश भट्टराईले ट्विट लेखेका छन्, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ। यो ट्रक साहित्य मलाई खुब मनपर्छ।’ 

त्यस्तै, सन् २०१७ जुलाईमा साहित्यकार बुद्धिसागरले ट्रक साहित्य ह्यास ट्यागसहित लेखे - ‘विदेश पसे देश बिग्रने। स्वदेश बसे आफू बिग्रने। बाँच्ने वातावरण नै छैन।’ 

२०१८ कै अप्रिलमा पत्रकार अशोक दहालले ना ५ ख २५१० नम्बरको गाडीको फोटोसहित पोस्ट गरेका छन्-

‘कलम रोए अक्षर बन्छ, कवि रोए कविता
धनी मरे श्रद्धाञ्जली, गरीब मरे रमिता’ 

पूर्वदेखि पश्चिमसम्म गुड्ने सवारी साधन हुन् वा लोकल रुटमा चल्ने बस, माइक्रो, मालबहाक गाडी- धेरैमा यस्ता रचना पढ्न पाइन्छ। तर, सबैमा प्रेरणात्मक, संदेशमूलक, अनुभूतिका कुरामात्र भने हुँदैनन्। केही मनोरञ्जनात्मक पनि लेखिन्छन्, केही भने अपाच्य र अश्लिल पनि। 

*** 

बौद्धकी पासाङ ल्हामु शेर्पा मामासँग मोटरसाइकलमा थिइन्। जाममा फसेका उनीहरु दुवैको आँखा अगाडि रहेको बसमा लेखिएको हरफमा पर्‍यो। 

'मलाई त्यहाँ लेखिएको हरफका कारण अगाडि हेरिराख्न गाह्रो भयो। मामालाई पनि असहज भएको थियो। हामी एकअर्कासँग बोल्नै सकेनौं,' जाम खुलेर केही पर पुगेपछि मामाले भने- 'यसरी पब्लिक गाडीमा जे पायो त्यही लेख्न मिल्छ र?'

पासाङसँग जवाफ थिएन।

काठमाडौंबाट सिन्धुपाल्चोकको चौतारा गुड्ने बा २ ख २४३७ नम्बरको बसको पछाडि लेखिएको छ - ‘१६ देखि १७ लागे जवानीको जोश, तिम्रै छोरी तरुनी छे हाम्लाई के के दोष।’ 

उक्त सेर गाडीका चालक सुरज केसी आफैले लेखेका हुन्। ६ वर्षदेखि सवारी हाँक्दै आएका उनले यस्ता थुप्रै सवारी साहित्य पढे, जुन उनलाई रमाइला र जायज लाग्छ। 

‘जसको छोरी हराए पनि पहिलो शंका ड्राइभरमाथि हुन्छ। फलानो ड्राइभरले उडायो होला भन्छन्। त्यही आक्रोश पोखेको हो,’ सुरजले सुनाए, ’हामीले लेख्न छोड्न हामीलाई गलत नजरले हेर्न छाड्नु पर्‍यो नि।’ 

उनकै गाडीका सह चालक विरोध श्रेष्ठ यस्ता सायरी तथा कविता लेख्न स्थानीय गाडीको कामदारबीच प्रतिस्पर्धा नै हुने बताउँछन्। सुनाए, 'यस्तै जवानी, केटी, किस, पोइल, सेक्सी आदि लेखे मान्छेले हेर्छन्।’ 

उनले भनेजस्तै केही सवारी साहित्यहरु: 

‘म १० दिन्छु, तिमी २० देउ, म ओठ दिन्छु तिमी किस देउ’ 

‘खलासीले धेरै तरुनी छुन्छ ड्राइभरले छुँदैन, 
ड्राइभरको जति श्रीमती हुन्छन् खलासीको हुँदैन’ 

‘बुढा हिँड्यो साउदीको खाडीमा, 
बुढी हिँड्छे झिल्केको गाडीमा
फुल्यो निमपत्ता घर फर्कदा बुढी बेपत्ता’ 

‘बा ठिस, आमा ठिस, छोरी चाहिँ कसरी वान पिस?’ 

‘फलामले इन्जिन बन्यो, बडी बन्यो फाइबरले
नखरमाउली पोइल गइ गाली खायो ड्राइभरले’ 

‘दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो’ 

यस्ता सवारी साहित्यबारे समाजशास्त्री टीका गौतम भन्छन्, ‘सामाजिक र कानुनी रुपमा जुन कुरा बोल्दा गलत हुन्छ त्यही शब्दहरु लेख्दा चाहिँ ठीक कदापी हुँदैन। गाडीमा देखिने त्यस्ता द्विअर्थी, अश्लिल वा महिलालाई जिस्क्याउने शब्दहरु दुर्व्यवहार हुन्।’

व्यक्तिको मानसिकता र ऊ रही आएको सामाजिक परिवेशको प्रभाव लेखहरुमा देखिने उनको तर्क छ। 

‘मोटिभेसनल, प्रेमिल, जिन्दगीको अनुभव, ज्ञानमूलक कोटहरु पनि हुन्छन् नि। त्यसैले सबैलाई एउटै घानमा हाल्न मिल्दैन,’ गौतम थप्छन्, ‘समाजले चालक, सह-चालकलाई कसरी हेर्छ र उनीहरुले समाजलाई कसरी हेर्छन् भन्ने कुरा लेखमा झल्कन्छ। त्यो उनीहरुको व्यवहार, संगत, भोगाइ र आक्रोश हो।’ 

*** 

अधिकांश लेख रचना चालक, सह-चालक स्वयंले कापीमा वा मोबाइलमा टिपेर आर्ट हाउसमा पुग्छन्। आफूलाई मन परेको लाइन तोडमोड गरेर वा दुरुस्तै आफ्नो गाडीमा लेख्न लगाउँछन्। उनीहरुले चाहेजस्तै रङ्ले लेखिन्छ वा स्टिकर टासिन्छ। 

रितेशले जडीबुटीमा मनकामना आर्ट हाउस सञ्चालनमा ल्याएको ६ वर्ष भयो। विशेषगरी ट्रक र गाउँतिर जाने बसहरुले कविता लेखाउने गरेका छन्। जसमध्ये ट्रकमा बढी द्विअर्थी वा केटी जिस्क्याउने साहित्य लेखिन्छ। 'नेपालीमा लेखिएको हुन्छ, पढिन्छ बुझिन्छ। हाँस पनि उठ्छ, रिस पनि उठ्छ,' उनले भने।

२० वर्षयता आर्ट हाउस चलाउँदै आएका विराटनगरका रितेश श्रेष्ठ सुनाउँछन्, 'विराटनगरको तुलनामा काठमाडौंमा लेखाउनेहरु धेरै छन्। सबै ठाउँको गाडी यतै जम्मा हुने भएर पनि होला।' 

उनका अनुसार ८/९ वर्ष अघिसम्म रङले नै त्यस्ता कोटेसनहरु लेख्नु पर्थ्यो। अहिले भने स्टिकरको प्रयोग हुन्छ। जसले गर्दा समय र मिहिनेत कम लाग्न थालेको छ। भन्छन्, 'हाम्रो त व्यवसाय हो। जे अह्राउँछन् त्यही गर्छौं। तर, लेख्नुपर्ने, सबै पचाउन भने गाह्रो हुन्छ।'

बिएम आर्ट्सले त गाडीमा लेख्ने सायरीको किताब नै राखेको छ। चालकहरुले त्यहीबाट छानेर लेखाउँछन्। 

केही समय यता बिएममा काम गर्दै आएका सिन्धुपाल्चोकका सञ्जय सुन्दास भन्छन्, 'पहिले पहिले दिदी बहिनी वा साथीहरुसँग हिँड्दा गाडीमा लेखेको कुरा पढ्नै लाज हुन्थ्यो। अहिले आफैले लेख्ने काम थालेको छु। धन्न अहिलेसम्म हेर्नै नसकिने चाहिँ लेख्न परेको छैन।' 

उनले धेरै गीत, ड्राइभरको जीवन र प्रेमका कुरा लेख्न परेको अनुभव सुनाए। 

*** 

समाजशास्त्री दीपेश घिमिरे सवारी साधनमा लेखिने द्विअर्थी र महिला होच्याउने, जिस्क्याउने वा मजाकको पात्र बनाउने लेखहरुलाई पितृ सत्तात्मक मानसिकताको उपजको रुपमा व्याख्या गर्छन्। भन्छन्, 'सवारी साधनमा काम गर्ने प्राय पुरुष पात्र हुन्छन्। त्यसैले पनि उनीहरुले महिलाप्रतिको धारणा लेख्ने गर्छन्।' 

सबैको सोच र प्रवृत्ती उस्तै नहुने जनाउँदै उनले भने, 'केही त राम्रा पनि हुन्छन्, मनोरञ्जन दिने खालका।' 

रोमाञ्चक र मनोरञ्जन दिन्छ भन्दैमा नकारात्मक प्रभावलाई बेवास्ता गर्न नहुने उनको तर्क छ। 'सडक दुर्घटनादेखि, यौन हिंसासम्मका घटनाहरु बढ्न सक्छन्। त्यसैले होर्डिङ बोर्ड हटाएजसरी अश्लिल ट्रक साहित्य विरुद्ध पनि एक्सन लिन आवश्यक छ,' घिमिरेले भने।

उनले भनेजस्तै महिला अधिकारकर्मीहरु पनि ट्रक साहित्यले महिला हिंसालाई बढवा दिएको बताउँछन्।

२०७३ चैत ६ गते भैरहवाका महिला अधिकारकर्मीहरुले ट्रक साहित्यले महिला हिंसा गरेको भन्दै त्यस्ता सिर्जना हटाउन माग गरेका थिए। 

*** 

मनोविज्ञ गोपाल ढकाल ट्रक साहित्यमा भएका कन्टेन्टहरु हल्का लागे पनि त्यसले गहिरो छाप छोड्ने बताउँछन्। 'सामाजिकमात्र नभएर मानसिक अवस्थामा पनि खलल पार्छ। सबैभन्दा धेरै 'डिस्ट्र्याक्सन'को समस्या सिर्जना हुन्छ। जसले गर्दा अन्य गाडीको चालको ध्यान मोडिन्छ र सवारी दुर्घटना हुन्छ,' उनले सुनाए।

त्यस्तै 'एन्टी सोसल पर्सन्यालिटी'को विकास हुनमा पनि अश्लिल द्विअर्थी कन्टेन्टको योगदान रहने उनको दावी छ। सह-चालकहरुले पैसा लेनदेन गर्दा वा यात्रु गाडीमा चड्दा, ओर्लादा शारीरिक हातपात गर्नु, आँखा झिम्क्याउनु, बोलेर जिस्क्याउनुमा, अश्लिल शब्द बोल्नुमा पनि यसले असर गरेको हुन्छ। 

'हर्न प्लिज' लेखेको देख्दा हर्नमा ध्यान गएजस्तै, 'हिम्मत हे तो आजा', 'जरा बचके रेहेना' लेखेको देख्दा पछाडि रहेको सवारी चालकमा प्रतिस्पर्धाको भाव सिर्जना हुन्छ। त्यस्तै'रिस्की ड्राइभर', 'स्टे अवे'लेखिएको गाडीले त्रास फैलाउँछ। वैंस, किस, पोइल, च्वांक, आइटमजस्ता शब्द प्रयोग गरेर लेखिएका कोटेसनहरुले पनि त्यही सम्बन्धि कुराहरुमा मान्छेको ध्यानाकर्षण गराउँछ। 

'लेख्न लगाउनेको मानसिक, सामाजिक बौद्धिक र शैक्षिक स्तरको उपज भए पनि यसको असर धेरैमा पर्छ। त्यसैले यस्ता अनियमतताको अनुगमन र रोक आवश्यक छ,' उनले भने।

*** 
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले हालसम्म कुनै पनि निकायले यस विषयमा आफूहरुको ध्यानाकर्षण नगराएको बताए। 

'अश्लिल लाग्ने र द्विअर्थी लेखहरुले सामाजिक र मानसिक हिंसा बढाउँछ,' उनले भने, 'यस्ता सडक सभ्यतामा पनि आँच पुर्‍याउने तत्व रोक्नतर्फ लाग्छौं।'

उनले यातायात व्यवस्था विभागसँगको समन्वयमा अनुगमन गर्ने र ट्रक वा अन्य सवारी साधनमा लेखिने अश्लिल, द्विअर्थी, कुनै पनि लिङ्ग, जात वा धर्मलाई होच्याउने, जिस्क्याउने साहित्य हटाउन कदम चाल्ने बताए। 

भने, 'यसअघि सवारी साधनमा व्यवसायिक प्रचार गर्न रोक्यौं। यातायात व्यवस्था विभागमार्फत सो कुरा आएको थियो तर मादक पदार्थ, धुम्रपान आदिको प्रचार हुनसक्ने भएकाले गर्न दिएनौं। अश्लिल साहित्यको कुरा भर्खर मात्र उठ्यो। अब केही गर्छौं।'

उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सुरु गरेको छोरी पढाउने अभियानमा प्रयोग गरिएको नारा 'बेटी बचाओ बेटी पढाओ' बनारसबाट गुड्ने अधिकांश मालबहाक ट्रकहरुमा देखिन्छ।
 
'त्यस्तै संदेशमूलक र कसैलाई पनि आँच नपर्ने लेख रचनालाई प्रोत्सहान दिन्छौं,' उनले भने।

***

सरकारी, सहकारी आदिमार्फत् सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुमा 'ट्राफिक नियमको पालना गरौं' जस्ता नाराहरु देख्न सकिन्छ। जसले सवारी साहित्यको ट्रेन्ड परिवर्तनको छनक त दिएको छ। तर, लामो तथा छोटो दुरीका बस, मोपेडहरुमा भने अझै यस्ता विषय छरपस्ट देखिन्छ। कतिपय सवारी साधनमा लेखिएको कोटेसन र लाइनहरु त कामदार स्वयंमले बुझ्दैनन्। 

रत्नपार्कदेखि थानकोट चल्ने बसमा लेखिएको छ 'लाइफ इज नट अबाउट फाइन्डिङ योरसेल्फ। लाइफ इज अबाउट क्रियटिङ योरसेल्फ।' 

गाडीका चालक उत्तम परियारलाई उक्त कोटेसनको बारेमा सोध्दा भने, 'म त बुझ्दिन। केही गलत हो र?' 

नजिकै रहेका सहचालक साजन श्रेष्ठ बोल्छन्- 'होइन नराम्रो त होइन। बरु अरु गाडीमा चाहिँ हुन्छ।' ७ कक्षा पढेर काम गर्न थालेका उनलाई पनि माया र केटीको बारेमा लेखिएको सायरीहरु देख्दा लाज लाग्ने सुनाउँछन्। भन्छन्, 'देखिएको जति सबै पढ्छु। कुनै त राम्रो पनि हुन्छ तर कतिमा स्पेलिङ मिलेको हुँदैन।' 

एसएसपी पन्त भन्छन्, 'शैक्षिक योग्यता राम्रो भएका र जिम्मेवार व्यक्तिले त्यसरी अश्लिल र अपाच्य लेख्दैनन्। जसले लेख्छन्, उनीहरुलाई सम्झाउन बुझाउन समय लाग्ला तर ढिला चाहिँ गर्दैनौं।'



हैट ! सवारी साहित्य : बोल्न निषेध लेख्न मनपरी? को लागी ५ प्रतिक्रिया(हरु)

samba dhakal [ 2018-09-19 12:20:29 ]
सम्झना रहोस् ईटहरीका पत्रकार सुविद गुरागाईंले यसरी सवारी साधनमा लेखिएका शायर,कविता र गजलको सङ्कलननै प्रकासित गर्नु भएको छ

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


शुभम् केसी [ 2018-09-18 10:29:15 ]
खासमा कुरा केही हैन। हिजो कमेन्टमा केही साथीहरूको नाम लिन छुटेछ। त्यसैले यस नेपालको नम्बर एक अनलाइन मार्फत म यो कमेन्ट मेरा समादरणिय मित्रहरु भीषण गिरी, रामबाबु नेपाल, अमित भट्टराई, कविन्द्र कोइराला, सन्तोष कटुवाल, सन्तोष नेपाल, विनोद नेपाल, विनोद बाबु, उल्लू प्यारे, ठूलोकेटो, स्यासी गुरागाईं, उष्मा, यज्ञराज घिमिरे, युजिर शर्मा, दारु महाराज, बिन्दु पौडेल, रमेश कडेल लगायत मलाई शुभम् केसी अथवा तिखे दाइ भनेर चिन्ने सम्पूर्णलाई डेडिकेट गर्न चाहन्छु।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Anil Chapagai [ 2018-09-18 06:35:18 ]
Sewchha यो मोपेड भन्ने चै यहाँ गल्तीले आएको हो कि? अरु एक दम राम्रो छ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


शुभम् केसी [ 2018-09-17 22:33:02 ]
— १ पटक सम्पादित
निश्चय नै यस्ता साहित्यले सुक्ष्म रुपमा गम्भीर प्रभाव पारिरहेको छ। तर हाम्रो देशमा केही कुराको पनि पूर्ण रुपमा नियमन हुन नसकेको अवस्थामा राज्यले यसतर्फ ध्यान दिन गार्हो हुन्छ। सिन्डिकेट हट्यो भनेर वाहवाही बटुलेका यातायात विभाग र गृह मन्त्रालयले पुनः सिन्डिकेट ब्युत्याएको खबर आइरहेको छ। यो साहित्य हटाउने कामतर्फ त उहाँहरुलाई ध्यान पनि जाँदैन। त्यसैले हामी आफैंले त्यस्तो कहीं कतै देखे सवारीका स्टाफसँग कुरा गरेर हटाउन अनुरोध गर्न सकिन्छ। अथवा परेको खण्डमा प्रहरीको सहयोग पनि लिन सकिन्छ। कसैले ख्याल नगरेको एकदमै गम्भीर विषय उत्थान गर्नुभएकोमा पहिलोपोस्ट परिवार प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। पहिलोपोस्ट नेपालको नम्बर एक अनलाइन बनोस् भन्ने शुभकामना दिँदै आगामी दिनमा पनि यस्तै खोजमूलक समाचारहरुको अपेक्षा गर्दछु।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


केपी शर्मा ओली [ 2018-09-17 22:13:56 ]
Savage 😂😂😂

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट