PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दासत्व र पितृसत्ताको लक्ष्मणरेखाभित्रबाटै जालिनीको विद्रोह



स्वेच्छा राउत

दासत्व र पितृसत्ताको लक्ष्मणरेखाभित्रबाटै जालिनीको विद्रोह

झरीले वाग्मती नदी बढ्यो र साँघु भत्कायो। एक वृद्धा र एक युवती खोलावारी नै छुटे। वृद्धालाई पारी जान नदीले रोक्यो। युवतीलाई त रजस्वलाले पनि रोक्यो, समाजिक नियमले रोक्यो।

त्यही, वृद्धाले युवतीलाई राजकुमारीको कथा भन्न सुरु गर्छिन्। र मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘जालिनी’को गति लिन्छ।

कथाको केन्द्रीय पात्र भएर पनि राजकुमारी जालिनी स्वतन्त्र रहिनन्। राजा जयस्थितिको महापुरुष बन्ने हठले उनलाई अघोषित नजरबन्दमा राख्यो। बुवाबाहेक अन्य पुरुषको अनुहार हेर्नसमेत वञ्चित। घटनाले पितृसत्ताले संरचित हाम्रो समाजको झल्को दिन्यो।   

राजा ज्योतिषहरुको सल्लाहमा चल्छन्। ज्योतिषहरु चिनाको भरमा चल्छन् र राजकुमारीलाई भाग्यको भरमा चलाइन्छ। उनलाई रोकिन्छ, उनको आवाज दबाइन्छ। तर, स्त्री चुप मात्र लाग्दैनन्। ऊभित्र पनि विद्रोह छ, सहनशीलताको सीमा छ भन्ने उदाहरण पात्र खडा गरिन्छ - जलजला। दरबार निर्माणमा जबरजस्ती काममा लगाइएका जनतामध्ये एक महिला।

जलजला भारतकी आइरन लेडी इरोम शर्मिलाजस्तै लाग्छिन्। जो मणिपूरमा सशस्त्र प्रहरी बलले गर्दै आएको सैन्य शक्ति दुरुपयोगको विरुद्ध १६ वर्ष अनशन बसिन्। अनशन अवधिभर उनलाई पटकपटक गिरफ्तार गरियो, धम्की दिइयो तर बोल्न छाडिनन्। ज्यानको माया मारिन् तर दमन नसहने घोषणा गरेर भोकै रहिन्।

त्यसरी नै जलजला जनताको रगत र पसिनामाथि शासन गर्ने राजाको विरुद्ध बोल्छिन्। उनी मर्न तयार हुन्छिन् तर बोल्न छोड्दिनन्। उनलाई मृत्युदण्ड घोषणापछि सिर्जना हुने घटनाक्रमले कथालाई अघि बढाउँछ।

नाटक कुसंस्कार, दास प्रवृत्ती, दमन, छुवाछुत विरुद्धको आवाज हो। यसले प्रेमकथा पनि भन्छ र नारी स्वतन्त्रता र अधिकारमा सदियौंदेखि लागेको बन्देजमाथि प्रश्न पनि गर्छ।

***

कथा जति नै बलियो नाटक भने होइन। कथाको विद्रोही पात्रहरु मञ्चमा खडा देखिँदैनन्। नाटकमा दृश्यहरु र दृश्यहरुसँग दर्शकको लगावले कति महत्व राख्ला? अनि त्यो लगाव जोगाउनमा सबैभन्दा महत्वपूर्ण भूमिका कसको हुन्छ, निर्देशक? - निर्देशकले त अघिनै सम्पूर्ण जिम्मेवारीसहित सिङ्गो मञ्च र कथा कलाकारहरुलाई छोडिसक्छन्। कलाकारले नै हो कथा र निर्देशनलाई जिवन्तता दिने। तर, मुख्य पात्रहरु औशतमात्र लाग्छन्।

केन्द्रीय पात्र जालिनी निर्दोष रुपमा पनि उस्तै लाग्छिन् र पिता राजा जयस्थिति विरुद्ध जनताका लागि बोल्दा पनि उस्तै लाग्छिन्। उनको चञ्चलतामा रमाउन र पीडामा दु:खी हुन दर्शक सक्दैनन्। घमण्डी चरित्रका राजाको दम्भ संवादमा मात्र सुनिन्छ, दृश्यमा देखिँदैन।

जयन त बहादुर युवा भनिएको छ। उसको बहादुरी र साहसले निम्त्याएको अवस्थामा दर्शकको संवेदना जोडिनु पर्ने। तर, त्यसो हुँदैन। उसमा आमा मारिने भय, रिस, अन्यौलता र पीडा देखिन पर्ने, उसको बोलीमा त्यो ताकत सुनिन पर्ने। जयन पनि संवाद सक्काउनकै हतारोमा रहेको भान हुन्छ।

जलजला पात्रको क्रोधले भने दर्शकको ध्यानाकर्षण गराउँछ।

कोरसमा रहेका प्रजा, द्वारपाल र ज्योतिषहरुका कारण मञ्च खाली देखिँदैन। उनीहरुले जनताको उपस्थिति ‘ह्युज’ देखाउँछन्। राजाले बोलेको संवाद दोहोराएर दर्शकलाई महत्वपूर्ण घटना र निर्णयबारे सतर्क राख्छन्। यसमा निर्देशक दयाहाङ राईले गरेको प्रयोग सहारनीय छ। उनले नाटक प्रस्तुतीको डिजाइनलाई नयाँपन दिएका छन्।

कोरसहरुले जालिनी दरबार बनाउँदा मिहेनत गरेको दृश्य निकै विम्बात्मक लाग्छ। उनीहरु राजाको निर्देशन मान्न बाध्य छन्। दास प्रवृत्ती र कोदालो खनी खाने आफ्नै वर्गमाथिको दमनको जग अझ खन्दै छन्, इटा थप्दैछन्। दृश्य केही लामो लाग्न सक्छ। तर, दमनमा रहेकाको दु:ख र मिहेनत देखाउन महत्व बोकेको छ।

***

‘कैरन’ कथा संग्रहभित्रको जालिनीलाई नाटकमा रुपान्तरण गरे लेखक ध्रुवसत्य परियार र कलाकार दयाहाङ राईले। लेखनीको हिसाबले उनको यो पहिलो नाटक हो। यसबारे राजन खतिवडाले पनि लेखेका छन्, ’यो समयमा जहाँ कम नाटक लेखिन्छन्। ध्रुवसत्यले नाटक लेखिदिएर नेपाली रङ्गमञ्चलाई गुण लगाएका छन्।‘

वाग्मती किनारबाट नाटकको सुरुवात हुन्छ। त्यसैले यो लोककथामा आधारित नाटकको परिवेश नेपाल नै हो भन्ने अनुमान गरिन्छ। सुरुवातमा र बीचमा युवतीहरु नाच्दा, जयन मारिँदा बज्ने लोक बाजाको धुन परिवेश मिल्दो र मौलिक लाग्छ।

सेट न्युट्रल रहेको नाटकमा समय र घटनाक्रमको भिन्नता प्रस्ट्याउन प्रकाशको प्रयोग गरिएको छ। प्रकाश मधुरो हुँदै जानुले कथा वाचकबाट पात्रहरुमा र पात्रहरुबाट कथा वाचकमा दृश्य सिफ्ट हुने बुझाउँछ। 

मञ्चमा पात्रहरुको पहिरन भने नेपाली समाज मिल्दो लाग्दैन। कस्ट्युममा पनि परिवेश सुहाउँदो प्रयोग गरिएको भए अझ सुन्दर देखिन्थ्यो कि? अनि असमानता र विभेदको विषय उठान गरिएको नाटकमा किन राजादेखि प्रजासम्मको लुगा एउटै राखिएको होला?

राजाको ज्यानमा झुण्ड्याइएका फरकफरक रङका डोरीहरुले भने उनको अन्यौल मानसिक स्थितिको संकेत गर्छन्।

नाटकमा ती डोरीजस्तै सपना मह्वपूर्ण सिम्बोल हो। जहाँ जालिनीले समाजमा रहेर पनि समाज देख्नबाट वञ्चित महिलाको प्रतिनिधित्व गर्छिन्। जसलाई यथार्थ देख्न पनि निदाउँनु पर्छ। जो निदाउँदा पनि सपना देख्न स्वतन्त्र छैन र जसको सपना अधुँरो रहन्छ। किनकि उ पुरुषवादी सोचभित्र थुनिएकी छ।

सपनालाई जयन र जालिनीको प्रेमको सेतुको रुपमा पनि हेर्न सकिन्छ। नाटकमा जयनले भन्छ ‘मानिसको सपना जीवनभन्दा पर हुँदैन’। सपनाले जोडेका यी दुई यथार्थ जीवनमा एक हुन्छन्। प्रेमले नै जालिनीमा साहस र विद्रोहको आवश्यकता वोध गराउँछ।

***

नाटकले उठाएको मुद्दाले महत्व राख्छ। जालिनीमा फरक फरक घटनाहरुले एकपछि अर्को गर्दै सिङ्गो कथा बुनेको छ। जुन कथाले मान्छेले बनाएको नियममाथि प्रश्न गर्छ, चाहे त्यो नियम पुरुषवादी सोचले बनाएको होस् वा शासकले वा कथित उपल्लो जातले। हाम्रो देशमा पनि सत्ता चलाउने, कानुन बनाउने र नियम चलाउनेहरुको इतिहास बलियो छ। जसमा महिला, दलित तथा मजदुरवर्ग त निर्देशित रहे, शासकको अनुकुलता अनुसार। यी हिजो पनि कैद गरिएका थिए। आज पनि उसको स्वतन्त्र रहने अधिकार सामाजिक, पारिवारिक नियम र मर्यादाले निर्धारण गर्छ। जब इच्छा र अधिकारको लागि बोल्न खोज्छन् बेला हुन्छ तब उसको आवाज दबाइन्छ। यही यथार्थको झल्को दिलाउँछ जालिनीले।

लेखकले विद्रोहको शक्ति र परिवर्तनको आवश्यकता बारे सोच्न ठाउँ दिएका छन्।

सुरुमा ज्योतिषले भनेजस्तै ‘जालिनी जो बोल्छिन् त्यो विधि बन्छ र जो लेख्छिन् त्यो विधान बन्छ। ‘यसको मतलव नाटकको अन्त्यमा जात र वर्गको आधारमा गरिने विभेद हट्छ। उत्पीडितले न्याय पाउँछन्। 

राजाले पनि किसानको छोरो जयनसँग जालिनीको सम्बन्ध स्वीकार्दै भन्छन् - मलाई पनि आफ्नो सन्तान, पुर्खा, प्रजा र देशको माया छ। छोरी अब यो राज्य तिम्रो र जयनको विवेक बमोजिम चल्छ।‘ 

यो दृश्य र राजाको संवादले देशमा उथलपुथल मच्चाइ रहेको निर्मला पन्त बलात्कार र हत्या काण्ड सम्झाउँछ। ५६ दिन बित्दा पनि न्यायिक प्रक्रिया जस्ताको त्यस्तै छ। न्यायका लागि निरन्तर आवाज उठाइ रहेका आम नागरिकहरुलाई आशा दिँदै प्रधानमन्त्री केपी ओलीले गत सोमबार ट्विट लेखेका छन्- ‘म पनि निर्मलाको अभिभावक हुँ। यस्तो पाशविक हत्यामा संलग्न व्यक्ति जतिसुकै बलियो र जुनसुकै ओहोदाको भए पनि छोडिँदैन। प्रारम्भिक छानविनमा भएको कमजोरीका कारण अपराधी पत्ता लगाउन केही समय लागे पनि अपराधी पत्ता लगाई कडा कारवाही गरिनेछ।‘ 

आखिर बोल्ने र लड्नेहरुकै पक्षमा त उभिँदो रहेछ नि शक्ति। राजाको लामो अन्तरद्वन्द्वपछि मानसिक परिवर्तन हुनु, दम्भ त्यागेर विवेकलाई स्वीकार गर्नु सकारात्मक देखिन्छ।

शोषण विरुद्ध आवाज उठाउन, विद्रोह गर्न, न्यायका लागि लड्न सिकाउने जालिनी हेर्न सिफारिस। किनकि नाटकले कलात्मक ढङ्गमा हिजो कोरिएको दासत्व र पितृसत्ताको रेखाले आजको सामाजिक संरचनामा पारेको असर बारे बुझ्न मद्दत गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell