PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङ मनाङ छाड्दै थ्री स्टारमा आबद्ध



गोविन्दराज नेपाल

राष्ट्रिय टिमका पूर्व कप्तान अनिल गुरुङ मनाङ छाड्दै थ्री स्टारमा आबद्ध
फोटो : 3StarClub/facebook

काठमाडौँ : नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ थ्री स्टार क्लबमा आबद्ध भएका छन्।

यही असोज १३ गते देखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिगको लागि अनिललाई क्लबमा भित्र्याएको थ्री स्टारका कार्यवाहक अध्यक्ष अरुण मान जोशीले पहिलोपोस्टलाई बताए।

अनिललाई थ्री स्टारले मनाङ मर्स्याङ्दी क्लबबाट बिहीवार अनुबन्ध गरेको हो। थ्री स्टारका अध्यक्ष जोशीले यसको पुष्टी गरे। 'अनिललाई हामीले यस सिजनका लागि अनुबन्ध गरेका हौँ।' उनले कति रकममा अनुबन्ध गरेको भन्ने विषयमा खुलाउन चाहेनन्।


मनाङले सम्झौता नविकरण नगरेपछि अनिलले क्लब छाडेका हुन्। उनले लिगका लागि थ्री स्टारको क्याम्पमा ट्रेनिङ समेत सुरु गरिसकेका छन्।

मनाङका अध्यक्ष मुखिया कान्छा गुरुङले अनिललाई क्लबबाट रिलिज गरेको जानकारी दिए।

अनिलले पछिल्लो पटक विस २०७० सालमा मनाङबाट लिग खेलेका थिए। अनिल झण्डै १३ वर्षपछि ललितपुर क्लबमा फर्केका हुन्। अनिलले यसअघि सन् २००५ मा पाटने क्लब थ्री स्टारबाट खेलेका थिए। थ्री स्टारमा महासचिव सन्जिव शिल्पकारका अनुसार अनिलले २०६२ मा थ्री स्टारबाट लिग खेलेका थिए भने २००५ मा थ्री स्टारबाटै एएफसी प्रेसिडेन्ट कप समेत खेलेका थिए।

अनिलले गत नोभेम्वरमा एएफसी एसियन कप क्वालिफायरअन्तर्गत फिलिपिन्स विरुद्धको खेलमा नेपालको लागि ५०औँ खेल खेल्दै सन्यास लिएका थिए।

पोखराको साहारा क्लबबाट फूटबल करियर शुरु गरेका अनिलले यसअघि ब्रिगेड ब्वाइज, थ्री स्टार, मनाङ मर्स्याङ्दी, न्यूरोड टिम (एनआरटी) र भारतको शीर्ष डिभिजनको क्लब सिलोङ लाजोङबाट व्यावसायिक फुटबल खेलिसकेका छन्। 

थ्री स्टारले भोलीसम्ममा ए डिभिजन लिग खेल्ने टोलीको टुङ्गो लगाउने समेत कार्यवाहक अध्यक्ष अरुणमान जोशीले जानकारी दिए। राष्ट्रिय टिमका विमल घर्ती मगर, सुनिल बल, निराजन खड्का जस्ता खेलाडी थ्री स्टारमा छन्। यस्तै दुई विदेशी खेलाडी पनि थ्री स्टारमा यसअघि देखि नै खेलिरहेका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell