PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

सहमतिको मसी सुक्न नपाउँदै चालकको पुनः हड्ताल, कसले उचालिरहेको छ चालकलार्इ?



पहिलोपोस्ट

सहमतिको मसी सुक्न नपाउँदै चालकको पुनः हड्ताल, कसले उचालिरहेको छ चालकलार्इ?

काठमाडौँः बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय बारा र हड्तालमा उत्रिएका चालकबीच सहमति भयो। सहमतिपछि राति नै वीरगंज भन्सार र सिर्सियास्थित सुख्खा बन्दरगाहमा रोकिएका गाडी चल्न थाले।

बिहीबार बारामा भएको छलफलमा चालकले यातायात व्यवस्था ऐनमा राखेका असहमति सम्बोधनका लागि केन्द्र पठाउने र शुक्रबारदेखिनै यातायात सञ्चालन गर्ने सहमति भएको थियो।


सहमतिमा आन्दोलनको नेतृत्व गरिरहेको स्वतन्त्र सवारी चालक सङ्घर्ष समितिका संयोजक वसन्त शर्मा र सहसंयोजक अर्जुन अधिकारीले हस्ताक्षर गरेका छन्। तर हस्ताक्षरकर्ता शर्माले सहमतिको मसी सुक्न नपाउँदै विज्ञप्ति जारी गर्दै भने ‘बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच बाराको जीतपुरमा सम्पन्न वार्तामा भएको सहमति बमोजिम शुक्रबार बिहान हाम्रो मागसँग सम्बन्धित मन्त्रालयका सचिवज्यूहरूसँग वार्ता गर्ने वातावरण बनेको छ। शुक्रबार काठमाडौँमा हुने वार्ता नटुंगिएसम्म सवारी साधन नचलाएर सहयोग गरिदिनुहोला।’

शर्माको यही विज्ञप्तिका कारण राति गाडी चले पनि अहिले भने वीरगंजमा सवारी साधन फेरी ठप्प भएको छ।

अहिले वीरगंजमा भाडाका कुनै पनि गाडी चलेका छैनन्। सुरक्षा निकायका अनुसार सहमतिपछि बिहीबार राती निर्वाध रूपमा गाडी चलेका थिए। बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय बारामा सहमतिमा हस्ताक्षर गरेका स्वतन्त्र सवारी चालक संघर्ष समितिका सहसंयोजक अर्जुन अधिकारीको जवाफ यस्तो छ।


बिहीबार साँझ जिल्ला प्रशासन कार्यालय बारामा सहमति गर्नुभएको होइन?

हामीले राखेका मागका बारेमा छलफल गर्न बाराका प्रमुख जिल्ला अधिकारीले बोलाउनुभयो। त्यो छलफलमा हाम्रो माग सम्बोधन गर्ने वातावरण बन्यो। प्रमुख जिल्ला अधिकारीले हाम्रा मागलार्इ सम्बोधन गर्न केन्द्रमा पठाउने जानकारी गराउनुभयो। उहाँको प्रतिवद्धता अनुसार हामी सहमत भयौँ।


त्यो सहमति अनुसार बिहीबार राती गाडी चले तर आज बन्द भए, किन?

हामीले गाडी चलाउने सहमति गरेका होइनौँ। वार्ता सकारात्मक भयो र केन्द्रमा छलफल गर्ने भनिएको हो। गाडी चलाउने भन्ने छैन। कानुन संशोधन गर्न गराउन सङ्घर्ष समितिका पदाधिकारीसहितको प्रतिनिधिमण्डल मन्त्रालय जाने निर्णय भएको हो।

तपाईँहरुको सहमतिको चौथो बुँदामा भनिएको छ –विगत तीन दिनदेखि गर्दै आएको सवारी साधन नचलाउने कार्य तत्काल स्थगन गरी सम्पूर्ण सवारी साधन सञ्चालन गरिनेछ। यो सहमतिमा तपार्इँको पनि हस्ताक्षर छ।

हो। त्यो सहमतिमा मेरो पनि हस्ताक्षर छ। तर मन्त्रालय नगर्इ हाम्रो माग पूरा नहुने देखेर राति नै हामीले अर्को विज्ञप्ति जारी गरेका हौँ।


तपार्इँहरु चालकको सङ्गठन भन्ने तर राजनीतिक दलको जस्तो रवैया देखाउने काम भएन र?

हामी राजनीतिक दल जस्तो सबै कुरा मिलाउन नसक्ने अनविज्ञ टोली परेछौँ। हामी चालक हौँ। जिल्ला प्रशासन कार्यालयले तयार पारेर ल्याएको सहमतिमा हस्ताक्षर गर्‍यौँ। त्यसले केही समस्या पर्न गएको हो।


कहिले सञ्चालनमा आउँछ सवारी साधन?

अहिले गृहमन्त्रालयमा हाम्रो वार्ता हुँदैछ। त्यो वार्तामा हाम्रा माग पूरा भए तत्कालै गाडी सञ्चालनमा आउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell