PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एसिया कप : सनसनिपूर्ण खेलमा पाकिस्तानद्वारा अफगानिस्तान पराजित



एसिया कप : सनसनिपूर्ण खेलमा पाकिस्तानद्वारा अफगानिस्तान पराजित

एसिया कपको सनसनीपूर्ण खेलमा पाकिस्तानले अफगानिस्तानलाई तीन विकेटले पराजित गरेको छ। 

टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले हसमतुल्लाह साहिदीको नटआउट ९७ र कप्तान असगर अफगानको ६७ रनको मद्दतले ५० ओभरमा ६ विकेटको क्षतिमा २५७ रनको चुनौतिपूर्ण स्कोर खडा गरेको थियो। 

२५८ रनको लक्ष्य बोकेर मैदानमा उत्रेको पाकिस्तानले तीन बल बाँकी छँदै विजय लक्ष्य हात पार्‍यो। त्यसका लागि २६८ औँ ओडिआई खेलिरहेका सोहेब मल्लिकको अनुभवले निकै मद्दत गर्‍यो। क्रिकइन्फोका अनुसार उनको सट सेलेक्सन, क्यालकुलेसन, अर्को छेउमा रहेका ब्याटसम्यानलाई दिने निर्देशनका कारण पाकिस्तान विजयी भयो। 

४७ ओभरको समाप्तिसम्म पाकिस्तानलाई १८ बलमा २९ रन जरुरी थियो। ४८ औँ ओभरको पाँचौँ बलमा मोहम्मद नवाजले छक्का प्रहार गरेपछि ४८ औँ ओभरको समाप्तिसम्ममा पाकिस्तानलाई १२ बलमा १८ रन आवश्यक हुनपुग्यो। ४९ औँ ओभरको तेस्रो बलमा मोहम्मद नवाज आउट भएर परेको दबाबलाई उनको ठाउँमा आएका हसन अलिले छक्का प्रहार गरी कम गरे। बाँकी दुई बल डट गए।

४९ ओभरको समाप्तिसम्ममा पाकिस्तानलाई ६ बलमा १० रन आवश्यक भयो। अनुभवी सोहेब मल्लिक स्ट्राइकमा थिए। बलिङको जिम्मा आफताब आलमलाई थियो। पहिलो बल डट भयो। तर त्यसपछिका दुई बलले अफगानिस्तानलाई जे नगर्नु थियो त्यही गर्‍यो। पहिलो बल छक्का गयो। अब जितका लागि चार रन बाँकी थियो। अर्को बलमा चौका बन्यो। तीन बल बाँकी छँदै पाकिस्तान विजयी भयो। 

सुपर फोरको पहिलो खेल जित्दै भारत र पाकिस्तानले २ अङ्क जोडेका छन्। अफगानिस्तान र बंगलादेशले पहिलो खेल हारेर कुनै अङ्क जोड्न सकेका छैनन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell