PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निर्मला प्रकरणमा नपत्याइएको कुकुरः ब्लड हाउन्डको आशा लाग्ने अनुसन्धान



सविन ढकाल

निर्मला प्रकरणमा नपत्याइएको कुकुरः ब्लड हाउन्डको आशा लाग्ने अनुसन्धान

काठमाडौं : कञ्चनपुरमा साउन ११ गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। प्रहरीमात्र होइन सेनासमेत अनुसन्धानको घेरामा छ। दिन बित्दै जाँदा घटनामाथि विभिन्न शङ्का उपशङ्का कायमै छ।

धेरैको एउटै भनाई छ - 'प्रहरीले नै अनुसन्धानमा लापरबाही गर्‍यो।' 

हत्यारा अहिले पनि अदृश्य नै छ। प्रहरीको अनुसन्धानमाथि एकपछि अर्को प्रश्न उठिरहेको छ। यति जघन्य अपराधमा प्रहरीले आफ्नै तालिम प्राप्त कुकुर किन प्रयोग गरेन? त्रसित बनाउने र रहस्यमय भएका घटनामा प्रहरीको तालिम प्राप्त कुकुरले सहयोग गरेका धेरै उदाहरण प्रहरीसँगै छ। 

सल्यानको छाया गाविस–९ रानागाउँमा २०७३ वैशाखमा एकै घरका जनाको हत्या होस् वा ललितपुरमा भएको एक म्यादी प्रहरीको हत्या कुकुरकै सहयोगमा अपराधी पत्ता लगाएको थियो।

निर्मला प्रकरणमा तत्कालीन जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टले घटनामा कुकुरको माग नै गरेनन्। एक प्रहरी अधिकृतले भने, 'एसपी'सापले कुकुर ल्याउने कुरै गर्नुभएन। त्यसैले कसरी आउँछ त कुकुर?'

नेपाल प्रहरीसँग ट्र्याकर डग, लागू औषध पत्ता लगाउने, बिस्फोटक तथा हातहतियार पत्ता लगाउने, गस्ती, सुरक्षा,  खोजी एवम् उद्दार गरी  विभिन्न ६ विधामा काम गर्ने कुकुर छन्। जब निर्मला प्रकरण सतहमा आयो, धेरै ढिला भइसकेको थियो। नेपाल प्रहरीसँग २४ घण्टाभन्दा बढी पुरानो घटनाको अनुसन्धान गर्ने क्षमताको कुकुर थिएन। 


शहरमा भन्दा गाउँमा कुकुरको अनुसन्धान प्रभावकारी

भदौ ४ गते काठमाडौँमा नै पूर्व राजदूतको हत्या भयो। अहिलेसम्म पनि प्रहरीको नजरबाट अपराधी उम्किन सफल छ। अनुसन्धानको क्रममा नै प्रहरीले सहयोगको लागि केन्द्रीय प्रहरी कुकुर तालिम क्रेन्द्रबाट कुकुर झिकाइयो। म्याक्स र जेली नामका दुई कुकर घटनास्थल पुगे। जेलीलाई भने परीक्षणको लागि पठाइएको थियो। म्याक्स घटनाको अनुसन्धानमा अनुभवी कुकुर नै हो। 

हत्या भएको स्थानबाट कुकुरलाई ट्रायक्स दिएर छोडियो। कुकुर सिधै घरमा काम गर्ने कामदार सुत्ने सानो कोठा पुग्यो। दोस्रो पटक पनि कुकुरले त्यही नै गर्‍यो। घटनाको अनुसन्धान गरिरहेको प्रहरीले घरमा काम गर्ने तीन जना कामदारलाई नियन्त्रणमा लियो यसकै आधारमा। २४ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्‍यो। तर, उनीहरूको घटनाका संलग्नता नदेखिएपछि ८ हजार रुपैयाँ धरौटीमा छुटे। अहिलेसम्म पनि घटना किन कसले गर्यो भन्ने प्रहरीले खोतल्न सकेको छैन।

नेपाल प्रहरीको तालिम प्राप्त कुकुरको अनुसन्धान ट्र्याक हेर्दा खराब छैन। ८० प्रतिशत भन्दा बढी घटनामा कुकुरको अनुसन्धान सफल भएको छ। तालिम केन्द्रका निरीक्षक रामचन्द्र सत्याल भन्छन्, 'अनुसन्धानमा कुकुरको माग बढेको छ। अनुसन्धानमा सफल समेत भएको छ।' शहरमा भन्दा गाउँमा भएका घटनामा कुकुरको अनुसन्धान राम्रो भएको सत्यालले बताए।

गाउँमा हुने घटनामा प्रभावकारी हुने भएकाले पनि निर्मला हत्यामा कुकुर अपराधीकहाँ पुग्ने सहज माध्यम बन्न सक्थ्यो।

नेपाल प्रहरीको अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन ४ दिनसम्मको घटनामा अनुसन्धान गर्ने कुकुरलाई तालिम दिइरहेको छ। एक वर्ष अगाडि बेलारुस बाट किनेर ल्याएको ब्लड हाउन्ड प्रजातिको कुकुरले ९६ घण्टासम्मको अनुसन्धान गर्ने क्षमता राख्छ।  हाउन्डको एकदम तीक्ष्ण र सुँघ्ने क्षमता बढी भएको छ। 

१० महिनादेखि भाले र पोथी प्रजातिको दुईवटा कुकुरलाई तालिम दिइरहेको छ। निरीक्षक सत्यालले भने, 'हामीले बच्चा कुकुर ल्याएका हौं। यो प्रजातिको कुकुरलाई तालिम दिन धेरै समय लाग्छ। करिब दुई महिनापछि अनुसन्धानमा प्रयोग गर्छौं।'

नेपाल प्रहरीसँग अहिले देशभर ७९ वटा तालिम प्राप्त कुकुर छन्। ४३ वटा केन्द्रीय कुकुर तालिम केन्द्रमा, ६ वटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र बाँकी विभिन्न प्रदेशमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell