PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मेक्सिकोमा गोली हानी पत्रकारको हत्या



मेक्सिकोमा गोली हानी पत्रकारको हत्या
फोटो: Al Jazeera

मेक्सिको: बन्दुकधारीहरुले गोली प्रहार गरी मेक्सिकोमा एक पत्रकारको हत्या गरेका छन्। 

यो घटनासँगै यस वर्ष अर्थात सन् २०१८ मा मात्रै हत्या हुने पत्रकारहरुको संख्या मेक्सिकोमा नौ पुगेको छ। मेक्सिकोको दक्षिणी राज्य चियापासमा रहेको आफ्नै घरमा पत्रकारको हत्या भएको जनाइएको छ। एल हेराल्डो डे चियापास नामक पत्रिकामा कार्यरत पत्रकार मारियो गोमेजको हत्या भएको हो।    

'उनलाई हालै मात्र विभिन्न खालको चेतावनी तथा धम्कीहरु आएका थिए' उनका सहकर्मीहरुले नाम नबताउने शर्तमा भने।    

पत्रिकाले दिएको जानकारी अनुसार गोमेज याजालोन शहरका सामान्य संवाददाता थिए। दुई जना अपरिचित व्यक्तिहरुले उनको हत्या गरेको बताइएको छ।    

गोली प्रहार भएलगत्तै ३५ बर्षीय गोमेजलाई अस्पताल लगिएको भएपनि अस्पतालले मृत घोषणा गरेको थियो। 'हामीले घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गरेका छौँ,' पत्रिकाको अनलाईन संस्करणमा प्रकाशित सम्पादकीयमा भनिएको छ।    

सरकरी पक्षले पनि घटनामा संलग्नहरुको खोजी भइरहेको र दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।  रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell