PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रधानमन्त्री ओलीको अमेरिका यात्रा : ट्रम्पको पार्टीमा डिनरसहित यस्तो छ सेड्युल



विधुर ढकाल

प्रधानमन्त्री ओलीको अमेरिका यात्रा : ट्रम्पको पार्टीमा डिनरसहित यस्तो छ सेड्युल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ७३ औँ महासभा (युएनजीए–७३) मा सहभागी हुन आज न्यूयोर्क जाँदैछन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज राति ९ बजे जाने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मंगलवारदेखि 'सम्पूर्ण मानिसका लागि उपर्युक्त राष्ट्रसंघको निर्माण: शान्ति, समतामुलक र दिगो समाजका लागि विश्वव्यापी नेतृत्व र साझा जिम्मेवारी' भन्ने मूल नाराका साथमा युएनजिए-७३ सुरु भएको छ। 

प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु सरकारका उच्च पदस्त कर्मचारी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल न्यूयोर्क जाने मन्त्रालयले जनाएको छ। 

युएनजिए–७३ अन्तर्गत उच्चस्तरीय सत्र सेप्टेम्बर २५ देखि न्यूयोर्कमा सुरु हुँदैछ। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले महासभालाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ। संयुक्त राष्ट्रसंघले जारी गरेको सदस्य राष्ट्रको प्रतिनिधि सम्बोधन तालिकामा असोज ११ गते बिहीवार (सेप्टेम्बर २७) स्थानीय समय अनुसार अपराह्न ३ बजे देखि ९ बजेसम्मको सत्रमा नेपालको तर्फबाट सम्बोधन हुने उल्लेख छ। महासभामा असोज ९ गतेदेखि असोज १५ गतेसम्म सदस्य राष्ट्रका तर्फबाट सम्बोधन गर्ने कार्यतालिका बनेको छ। जसअन्तर्गत् नेपालका तर्फबाट सरकार प्रमुखले सम्बोधन गर्ने सूचीमा उल्लेख छ। 
 

महासचिवसँग द्वीपक्षीय भेट, ट्रम्पको डिनरमा सामुहिक सहभागिता  

यसैबीच प्रधानमन्त्री ओलीले बिहीवार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनी गुटेर्रेससँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। परराष्ट्र मन्त्रालयले जारी गरेको वक्तव्यमा प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्नेदिन महासचिवलाई भेट गर्ने कार्यक्रम तय भएको उल्लेख छ। 

त्यस्तै प्रधानमन्त्री ओली र उनकी पत्नी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्य राष्ट्रका राष्ट्र/सरकार प्रमुखहरुको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुनेछन्। 

अमेरिकाका राष्ट्रपतिले महासभामा सहभागी हुने अतिथिको सम्मानमा भोज आयोजना गर्दै आएका छन्। ट्रम्पले सोमवार रात्रीभोज आयोजना गरेका छन्।

त्यस्तै प्रधानमन्त्री ओली राष्ट्र संघका महासचिवले मंगलवार आयोजना गरेको रात्रीभोजमा सरिक हुने कार्यक्रमसमेत रहेको छ।
 

न्यूयोर्कमा यस्ता छन् प्रधानमन्त्रीका कार्यक्रम

प्रधानमन्त्री ओली न्यूयोर्कमा रहँदा मंगलवार अफ्रिकी नेता नेलसन मण्डेलाको सम्मानमा आयोजना हुने शान्ति सम्मेलनमा सहभागी हुनेछन्। 
सोमवार आयोजना हुने नेलसन मण्डेला शान्ति सम्मेलनलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

त्यस्तै, मंगलवार प्रधानमन्त्री ओलीले राष्ट्रसंघका महासचिवले आयोजना गर्ने एक्सन फर पिसकिपिङ (ए ४ पी) को उच्चस्तरी बैठकमा नेपालको तर्फबाट सम्बोधन गर्नेछन्।

सोही दिन उनले एसिया सोसाइटीमा पव्लिक लेक्चर दिने कार्यक्रम रहेको छ। एसिया सोसाइटीले आयोजना गर्ने कार्यक्रममा 'शान्ति, लोकतन्त्र र विकास' विषयमा सार्वजनिक मन्तव्य दिनेछन्। कार्यक्रमको मोडरेटरको रुपमा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड रहेका छन्। 

साइडलाइनमा द्वीपक्षीय भेटघाट

यसैबीच प्रधानमन्त्री ओलीले युएनजिए साइडलाइनमा द्वीपक्षीय वार्ता पनि गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले बुधवार स्वट्जरल्याण्डका राष्ट्रपति अलाइन वर्सेटसँग द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम बनेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 
त्यस्तै, प्रधानमन्त्री ओलीले कोलम्वियाका प्रधानमन्त्रीसँग पनि द्वीपक्षीय भेट वार्ता गर्नेछन्। 

प्रधानमन्त्री ओलीले कोलम्वियाली समकक्षी सामडेच अका मोहा सेना पडेइ टचो हुन सेनसँग शुक्रवार महासभा साइडलाइनमा द्वीपक्षीय भेटवार्ता गर्ने छन्। 

अमेरिकापछि कोस्टारिका जाने

यसैबीच प्रधानमन्त्री ओली न्यूयोर्कबाट दक्षिण अमेरिकी मुलुक कोस्टारिका जाने छन्। उनी शनिवार २९ सेप्टेम्बरमा कोस्टारिकाको राजधानी सान जोसे जाने कार्यक्रम रहेको छ। कोस्टारिकाका राष्ट्रपति कार्लोस अलभाराडो क्यूसाडाको मैत्रिपूर्ण निमन्त्रणामा प्रधानमन्त्री कोस्टारिका जान लागेका हुन्। 

प्रधानमन्त्री ओलीको दोस्रो पटक प्रधानमन्त्री भएपछिको ‌औपचारिक रुपमा हुन लागेको तेस्रो विदेश भ्रमण हो। 

उनले त्यहाँ रहँदा त्यहाँका राष्ट्रपति कार्लोसँग द्वीपक्षी भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै प्रधानमन्त्री ओलीले राजधानी सान जोसेमा रहेको युनिभर्सिटी फर पिसमा शान्ति सम्बन्धी प्रवचन दिनेछन्। उनले त्यहाँ नेपालको शान्ति प्रक्रिया विश्व शान्ति र विकासका विषयमा प्रवचन दिने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रधानमन्त्री ओली सान जोसेबाट अक्टोबर ३ मा काठमाडौंका फर्किनेछन्

महासभा साइडलाइनमा सार्क मन्त्रीस्तरीय बैठक

यसैबीच युएनजिए साइडलाइनमा सार्क मन्त्रीस्तरीय अनौपचारिक बैठक बस्ने भएको छ। पछिल्लो समय सार्क गतिहीन हुँदैगर्दा अध्यक्ष राष्ट्रका परराष्ट्र मन्त्रीको हैसियतले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्कका विदेशमन्त्रीहरुको अनौपचारिक बैठकको आयोजना गर्ने कार्यक्रम बनेको हो। 

यसअघि गतवर्ष न्यूयोर्कमै सम्पन्न युएनजिए-७२ का क्रममा नेपालले त्यस्तै बैठक आयोजना गरेको थियो। त्यस यता सार्कका परराष्ट्र मन्त्रीको भेट हुन सकेको छैन। 

त्यस्तै परराष्ट्र मन्त्री ज्ञवालीले महासभा साइडलाइनमै असंलग्न राष्ट्रका परराष्ट्र मन्त्रीहरुको बैठकमासमेत सहभागी हुने कार्यक्रम छ। नेपाल असंलग्न राष्ट्रहरुको अभियानमा सदस्य राष्ट्र हो। 

साथै, मन्त्री ज्ञवाली विकासशील राष्ट्रहरुको समूह जी ७७ को मन्त्रीस्तरीय बैठकमासमेत सहभागी हुँदैछन्। बैठक २७ सेप्टेम्बरमा हुँदैछ। त्यसअघि जी ७७ को उच्च अधिकारीस्तरीय बैठक २६ सेप्टेम्बरमा महासभा साइडलाइनमै बस्ने छ। 

त्यस्तै परराष्ट्र मन्त्री ज्ञवाली एलडीसी, एलएलडिसी (भूपरिवेष्ठित विकासशील राष्ट्रहरु)को मन्त्रीस्तरीय बैठकमा सहभागी हुँदैछन्। 

उनी महासभा साइडलाइनमै आयोजना हुने ग्रुप अफ फ्रेण्डस् अफ मेडिएसनको मन्त्रीस्तरीय बैठकमासमेत सहभागी हुने कार्यक्रम छ। शान्ति स्थापनार्थ सहकार्य गरिरहेका ४८ राष्ट्रसँगै संयुक्त राष्ट्र संघ, अफ्रिकन युनियन, लिग अफ अरब, आसियन, युरोपियन युनियन, अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स, अर्गनाइजेसन अफ स्लामिक कोअपरेसन र अर्गनाइजेसन फर सेक्युरिटी एण्ड कोअपरेसन इन युरोप सदस्य रहेका छन्। 

समूह सम्बन्धी प्रस्ताव सन् २०१० मा सम्पन्न युएनजिए-६५ मा पेश भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell