PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सरकारकाे उदासीनताले साततले दरबार माटोमा मिसिँदै



रासस

सरकारकाे उदासीनताले साततले दरबार माटोमा मिसिँदै

नुवाकोटः देशको मुख्य ऐतिहासिक सम्पदाहरुको सूचीमा पर्छ नुवाकोटको साततले दरबार क्षेत्र। विदुर नगरपालिका २ मा पर्ने भूकम्पले भत्काएको यही सम्पदाको पुनःनिर्माणमा सरकारको चासो नपुग्दा यसको अस्तित्व नै मेटिने आशंका उब्जिएको छ। 

भूकम्पले भत्काएको ४१ महिनासम्म पनि सम्पदा पुनःनिर्माणमा सरकारको ध्यान नपुग्दा अलिअलि जोगिएको सम्पदाहरु पनि नाश हुन थालेको छ । भूकम्पले नुवाकोट दरबार क्षेत्रको मुख्य आकर्षण मानिएको साततले दरबारलाई चिराचिरा बनाएर चर्काएको छ भने रंगमहल, गारद घर, भैरवी मन्दिर, तुलजा भवानीको मन्दिर, नारायण मन्दिर लगायतको सम्पदाहरु भत्काएको थियो। 

भूकम्पले भत्काएको बेलामा खासै क्षति नभएको संरचना पनि भूकम्पपछिको चार बर्खामा स्याहार्न नसक्दा भत्किँदै गएको विदुर नगरपालिका २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए। “भूकम्पछि तत्काल नेपाल सरकारले चासो दिएर भएको सम्पदा जोगाउन मात्र ध्यान दिएको भए अहिले जति क्षति हुने थिएन,” वडाध्यक्ष शाहीले भने – “भूकम्पले जीर्ण बनेको सम्पदालाई जोगाउन चासो नदिँदा वर्षात्काे पानीले भत्कायो।” 

भूकम्पले माथिल्लो एक तला मात्र भत्किएको तुलजा भवानीको मन्दिर रहेको दरबार वर्षात्काे पानीबाट जोगाउन नसक्दा भत्किएको छ। गत वर्ष साउनमा मन्दिरको उत्तरपट्टि पाखोको जगैसम्म भत्कियो। “तत्काल पुनःनिर्माण गर्न नसकेको भए पनि भूकम्पले भत्काएपछि मन्दिरभित्र वर्षात्को पानी मात्र रोक्न सकेको भए भत्किने थिएन,” नुवाकोट सम्पदा मञ्चका अध्यक्ष पुष्कर शर्मा रिमालले भने। 

नुवाकोट दरबार क्षेत्रको ऐतिहासिक सम्पदाहरु भूकम्पले कम सरकारको बेवास्ताका कारण बढी भत्किएको स्थानीय बासिन्दाको आरोप छ । भूकम्पले थोरै भत्काएका सम्पदाहरुलाई जोगाउन सरकारको बेलैमा ध्यान नपुग्दा बर्खाको पानीले भत्काउँदै माटोमै मिलाउन थालेको रिमालले बताए। भूकम्प गएको चार वर्ष पुग्न लाग्दा पनि नुवाकोटको पुरातात्विक महत्वको सम्पदा कहिले बन्छ भनेर कसैलाई थाहा छैन । वडाध्यक्ष शाहीले भने – “चीन बनाइदिन्छ भन्ने सुनेका छौं । पुरातत्व विभागका अधिकारीहरु आउँदा पनि चीनले बनाइदिन्छ भन्छन् । तर, कहिले बनाउन थाल्ने हो उनीहरुले नै थाहा नभएको बताउँछन्।” 

नुवाकोटका प्रमुख पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय स्थलहरुको पुनःनिर्माणले गति लिन नसक्दा अस्तित्व नै समाप्त हुने हो कि भन्न भय सिर्जना भएको छ। भूकम्पपछिका चार बर्खा झेल्नुपर्दा सम्पदा संकटमा परेको हो । काष्ठकलामा अनुपम नमूना मानिएको दरबार र मन्दिरमा कुँदिएका कलात्मक टुँडालहरु कुहिसकेका छन् । सयौं वर्ष अघि कुँदिएका यी काष्ठकलालाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्न नसके आउँदो पुस्ताले पक्कै धिक्कार्ने छ भन्छन् स्थानीय ईन्द्रबहादुर पण्डित। 

भूकम्पले माथिल्लो तला मात्र भत्काएको तुलजा भवानीको मन्दिर भत्किइसकेको छ। यस्तै, साततले दरबारको प्राङ्गणमा रहेको गारद घर पनि भूकम्पले माथिल्लो तला मात्र भत्काएको थियो। बर्खामा जोगाउन नसक्दा गारद घरको अस्तित्व अब माटोमा मिल्न मात्र बाँकी छ । हाम्रा आफ्ना ऐतिहासिक सम्पदा हामी आफैंले पुनःनिर्माण गर्न नसक्ने भएमा विदेशीलाई दिने हो। विदेशीलाई दिने भनिए पनि बेलैमा सरकारले पहल गर्नुपथ्र्यो तर, त्यसो हुन सकेको छैन। 

भूकम्पले जीर्ण बनाएको साततले दरबार टेकोले धानेर अड्याइएको छ। लगातारको झरीका कारण दरबारको छानाका झिँगटी मात्र नभई माथिल्लो तलाका ईंटाहरुसमेत खस्न थालेका छन्। चीन सरकारले बनाइदिने भने पनि कहिलेदेखि यसको काम शुरु हुने हो भन्ने थाहा नभएको पुरातत्व विभागको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख अर्जुन फुयाँलले बताए । “चीनले दशैंपछि पुनःनिर्माण थाल्ने भनेको जानकारी आएको छ तर, दशैंपछि साँच्चै शुरुआत होला भन्ने यकिन जानकारी मलाई पनि छैन,” उनले भने, “यहाँको अवस्थाको बारेमा पटक-पटक विभागमा जानकारी गराएको छु । मेरो काम नै जानकारी गराउने र यहाँको भत्किँदै गएको सम्पदाहरु टुलुटुलु हेरेर बस्ने मात्र भएको छ ।” 

चीनका प्रविधिज्ञहरुले गत वर्ष नुवाकोट दरबार क्षेत्रमा आएर एक सातासम्म सर्वे गरेका थिए। त्यो सर्वेपछि तत्काल दरबारको पुनःनिर्माण हुने आशा पलाएको थियो। भूकम्प गएको केही महिनापछि नै नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणमा चीनले सघाउने सार्वजनिक भएको थियो। यो समाचार पढेर दङ्ग भएका स्थानीय बासिन्दा अहिले निरास बनेका छन्। “चाँडै दरबार क्षेत्र भूकम्प प्रतिरोधी संरचनाको रुपमा निर्माण हुने भो भनेर खुशी भएका थियौं तर, अहिलेसम्म पुनःनिर्माणको चालचुल केही छैन,” वडाअध्यक्ष शाहीले भने। 

विदुर नगरपालिकाका उपप्रमुख गीता दाहालले सांस्कृतिक सम्पदाहरुको पुनःनिर्माण तथा संरक्षणका लागि जुनसुकै संस्था जिल्लामा भित्रिए पनि नगरपालिकासँग समन्वय हुन नसकेको दुखेसो पोखिन्। दाहालले पुरातत्व विभाग र चीन सरकारले साततले दरबार तथा भैरवी मन्दिरको अवलोकन गरि पुनःनिर्माण गर्ने चासो देखाएको जानकारी आफूलाई भए पनि संस्थागत रुपमा कुनै जानकारी नभएको र दरबार क्षेत्रका पुनःनिर्माणको कुनै काम शुरु नभएको बताइन्। 

पृथ्वीनारायण शाहको पालामा निर्मित पुरातात्विक सम्पदा साततले दरबारलाई छिटो भन्दा छिटो पुरातत्व विभागसँग समन्वय गरी पुरानै शैलीमा पुनःनिर्माण गरिदिन स्थानीयबासीले आग्रह गरेका छन्। साततले दरबारभन्दा कैयौं वर्ष पुराना तुलजा मन्दिर लगायतका सम्पदाको पनि तत्काल पुनःनिर्माण हुनुपर्ने उनीहरुको माग छ। 

सम्पदा गाउँ 

नुवाकोट दरबार क्षेत्र वरपरको बस्तीलाई पुरातात्विक शैलीमा पुनःनिर्माण गर्ने अभियान नै चलाइएको छ। निजी आवाससमेत पुरातात्विक शैलीमा पुनःनिर्माण भइरहेका बेलामा आफ्नो ठाउँका सम्पदाहरु भने असरल्ल परेको स्थानीयबासी आनन्द श्रेष्ठले बताए। 

दरबार क्षेत्र वरपरका पाँच दर्जन घरहरु पुरातात्विक शैलीमा निर्माण भइरहेको सम्पदा गाउँका सदस्य ध्रुव थापाले बताए । “स्थानीयबासीले थप रकम लगानी गरेर सम्पदा क्षेत्रको स्वरुप झल्कने गरी घरहरु बनाइरहेका छन्,” थापाले भने “सरकारको बेवास्ताका कारण सम्पदा नै सकिने खतरा बढेको छ।” 

दरबार क्षेत्रका घरहरु सम्पदा शैलीमा पुनःनिर्माण गर्दा सरकारले दिने रु‍ तीन लाख अनुदानमा थप रु ५० हजार सहयोग उपलब्ध गराइने छ। यस्ता घर निर्माण गरेका विदुर नगरपालिकाले पनि थप रु ४० हजार अनुदान दिने भएको छ। 

भैरवी मन्दिर अधुरै 


नुवाकोट दरबार क्षेत्र चीनले पुनःनिर्माण गरिदिने भने पनि भैरवी मन्दिर भने पुरातत्व विभागले नै पुनःनिर्माण गरिरहेको छ । जिल्लाको प्रमुख मन्दिर तथा प्रमुख मेला लाग्ने थलो भैरवी मन्दिरको पुनःनिर्माण पनि गत असारमै सकिने गरि ठेकेदारसँग सम्झौता भएको हो तर, पुनःनिर्माण अझै सकिएको छैन। 
भूकम्पले भत्काएको मन्दिरको पुनःनिर्माण रु ४ करोड ६० लाख लागतमा हुँदैछ। पुरातत्व विभागका सब–इन्जिनीयर गोविन्द अधिकारीले भूकम्पलगतै झेल्नुपरेको नाकाबन्दी, आकार मिलेका काठ तथा प्राचीन शैलीका ईंटा उपलब्ध गराउन असहजता र ठेकेदारको ढिलासुस्तीका कारण पनि दरबार र दरबार आसपासका मन्दिर निर्माणले गति लिन नसकेको बताए। 

अहिले पुरातत्व विभागले नुवाकोट क्षेत्रको इन्द्रायणी मन्दिर, बूढी देवता, सरस्वती मन्दिर, गणेशस्थानलगायत साना मन्दिरहरु पुनःनिर्माण गरिरहेको छ। नुवाकोट आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटकहरु एक पटक साततले दरबार क्षेत्रमा पुग्ने गरेको थिए । भूकम्पले दरबार क्षेत्र तहसनहस बनाएपछि पर्यटकको आगमन निकै घटेको छ। 

साततले दरबारलाई संग्रहालयमा रुपान्तरण गरि पर्यटकका लागि खुला गरिएपछि दरबारको सातौँ तलाबाट नुवाकोट र रसुवाका हिमाल, डाँडाकाँडा र फाँटहरु अवलोकन गर्न सकिन्थ्यो तर, अहिले प्रवेश रोकिएको छ।
दरबार अवलोकनका लागि अहिले कोही पर्यटक नआउने गरेको साततले दरबार संग्रहालयका कर्मचारी रोजिना श्रेष्ठले बताए। भूकम्पअघि दरबार अवलोकन गर्न मात्रै वर्षमा २० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गर्थे । त्यसमा कतिपय रसुवाको लाङटाङ क्षेत्रमा घुमेर आउने विदेश पर्यटक हुन्थे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell