PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

नेपालले पायो बंगबन्धु गोल्डकपको बाँकी पुरस्कार रकम



पहिलोपोस्ट

नेपालले पायो बंगबन्धु गोल्डकपको बाँकी पुरस्कार रकम
फाइल फोटो

काठमाडौँ : नेपालले झण्डै साढे दुई वर्षपछि गत संस्करणमा जितेको बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डपकको बाँकी पुरस्कार रकम पाएको छ।

बंगलादेश फुटबल फेडेरेसनले बाँकी २५ हजार अमेरिकी डलर अखिल नेपाल फुटबल संघ एन्फालाई उपलब्ध गराएको एन्फाले जनाएको छ।

बीएफएफले बाँकी रकम एन्फाको खातामा हालिदिएको हो।

चौथो संस्करणमा नेपालले बहराइन यू-२३ लाई ३-० ले पराजित गर्दै बंगबन्धुको उपाधि जितेको थियो। च्याम्पियन भएवापत नेपालले ५० हजार अमेरिकी डलर पाउथ्यो। तर त्यतिबेला नेपाललाई २५ हजार अमेरिकी डलर मात्र दिइएको थियो भने आधा रकम बाँकी नै थियो।

नेपालले बाँकी रकम नपाए बंगबन्धु गोल्डकप नै नखेल्ने एन्फाले चेतावनी दिएको थियो। पछिल्लो पटक बंगलादेशमै भएको साफ च्याम्पियनसिप दौरान एन्फा पदाधिकारीले यस बारे त्यहाँ कुरा उठाएका थिए भने त्यसपछि एन्फा महासचिव इन्द्रमान तुलाधार लगायतको टोली पनि बंगलादेश पुगेर आएका थिए।
 
त्यसपछि तुलाधारले बीएफएफले चाँडै एन्फालाई बाँकी पुरस्कार रकम पठाउने बताएका थिए।

बाँकी पुरस्कार नपाए प्रतियोगिता नै नखेल्ने बताएपनि पुरस्कार प्राप्त भएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अब पक्का छ।

तर बंगबन्धु सुरु हुनु दुई दिनअघि नेपालको घरेलु लिग ए डिभिजन लिग गर्ने एन्फाले यसअघि नै निर्णय गरिसकेको छ र प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिसकेको छ। असोज १३ गते (सेप्टेम्वर २९) मा त्रिभुवन आर्मी र एनआरटीबीच पहिलो खेल तय छ। तर आर्मीमा चार जना राष्ट्रिय खेलाडी छन्। 

पाँचौ संस्करणको बंगबन्धु गोल्डकप अक्टोबर २ देखि १२ सम्म हुँदैछ। नेपाल, ताजिकिस्तान र प्यालेस्टाइन समूह ए मा छ। नेपालले ताजिकिस्तानसँग अक्टोबर २ मा पहिलो खेल खेल्ने तालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell