PahiloPost

Oct 22, 2018 | ५ कात्तिक २०७५


कान्तिपुर गाथा : कनिकाको 'कमब्याक'


पहिलोपोस्ट

कान्तिपुर गाथा :  कनिकाको 'कमब्याक'

  • किशोर नेपाल -
“ह्याप्पी फादर्स डे पापा” कुशे औंसीका दिन कनिकाले पापाको अगाडि आफनो टाउको झुकाएकी थिइ। पापा उसको टाउको सुम्सुम्याउँदै थिए। उसले पापालाई आफू आजदेखि अफिस जान लागेको कुरा सुनाइ। सुनेर पापा–मम्मी दुवै खुशी भए। कामबाट ब्रेक लिनु उसको चाहनाभन्दा पनि बाध्यता थियो। मानिसले एकोहोरो काममात्रै गर्ने हो भने त्यसको दिमाग गोल हुन्छ। मगज खुस्किन्छ।  तर, ब्रेकको पनि समय हुन्छ। पत्रकारितामा लागेपछि त्यसलाई बुझ्नु पर्दछ। 

गएको साउन १० गते कन्चनपुरकी निर्मला पन्तलाई बलात्कार गरेपछि उनलाई मारेर उखुबारीमा फाली दिए। सत्ता पक्षमा रजगज गरेर बस्नेहरुले सोचेका थिए अहिलेसम्म जसरी अरु अपराध दबेका छन् त्यसरी नै यो पनि दबी हाल्छ। तर, त्यसो भएन। निर्मला काण्डले अपराधको बाँध फुटाइ दियो। अहिले देशमा एकपछि अर्को बलात्कार र अपराधका घटना छाएका छन्।

“अब काम गर्नुपर्दछ” मनैदेखि काम गर्ने इच्छा थियो कनिकाको। स्थानीय चुनाव यता छुट्टीमा बसेकी कनिका अफिस फर्केकी थिइ। यस बीच देशमा के के भै सकेको थियो। ऊ पापाले उपहारमा दिएको सानो चिटिक्क परेको आकाशे रंगको इलेक्ट्रोनिक कार चढेर आएकी थिइ अफिस। ऊ चाहन्थी, अफिसका उसका साथीहरुले उसको कार देखुन् र त्यसको तारीफ गरुन्।
 
कनिकाको अनुहारमा केही खस्रा परिवर्तन आएका थिए। गालाको डिम्पलभन्दा अलिकति माथि पिम्पल। अलिकति कालो रंगमा रंगिएको छाला। अलिकति नजानिँदो हिसाबले लागेको पेट। यो सबै उसको मधेश भ्रमणको परिणाम थियो। यो पटक पापाले उसलाई गाउँ लिएर जानु भएको थियो। हजुर आमाको डिमाण्डमा ऊ गाउँ जानै परेको थियो। गाउँमा दुइ साता बस्नु पर्‍यो। पापा गाउँको प्रपर्टी म्यानेजमेण्टमा लाग्नु भयो। उसका दिन हजुर आमासँग बित्न थाले।

यो दुई साता नातिनी र हजुर आमाका बीच रमाइलोको समय थियो। बुढियाले कनिकाका लागि थुप्रै केटाहरु छानेकी थिइन्। झण्डै सयवटा तस्वीरको एल्बम थियो  केटाहरु – कोही हिरो कट, कोही चुच्चे, कोही बुच्चे। केही अनुहारले कनिकालाई आकर्षित नगरेका होइनन्। तर, ऊ हजुरआमासँग केही बोलेकी थिइन। हजुर आमा सम्झाउँदै थिइन् - हेर, मेरो बिहे चौध बर्षकै उमेरमा भइसकेको थियो। १७ वर्षमा त तेरी फूपू सुकुमेल जन्मेकी थिइ। तेरो पापा जन्मिँदा म २० वर्षकी थिएँ। कनिका सुनी रहन्थी र हाँस्थी। कहिले त दिक्क लाग्थ्यो हजुर आमाको आत्मकथा सुन्दा सुन्दा।
 
कनिकाका लागि हजुरआमा कहिले कुखुरा कटाउँथिन्, कहिले खसी नै ढाल्न लगाउँथिन्। घरमा कामगर्ने कामदारहरुलाई त दशैं लागेको जत्तिकै थियो। त्यत्रो मासु कनिका र उसको पापाले मात्रै खाइ सक्ने कुरै थिएन। लन्च डिनर मात्र होइन पूरै समयको तालिका बदलिएको थियो खानाको। कनिकाका लागि बिहानको चिया–कफी बन्द, त्यसको सट्टामा दूध। कनिकाले कहिल्यै नखाएकी मधेशका विविध परिकार। कहिले तरुवा, कहिले झिनियाँ। कहिले के, कहिले के। खानु र सुत्नु, दिउँसो गाउँ चहार्नु, साँझ सधैँ पार्टी।

कनिका झसंग भइ। गाउँको सम्झना साह्रै रमाइलो थियो।

लामो समयपछि कनिकालाई देखेर अफिसका साथीहरु बढी नै रमाएका थिए। धेरैले त अब कनिका काममा आउँदिन होला भन्ने सोचेका थिए। झण्डै तीन महिनापछि अफिसमा आउँदा कनिका आफैं पनि रमाएकी थिइ। घरमा बसेर पनि ऊ कतै घुम्न जान पाएकी थिइन। मम्मीलाई सन्चो नभएकोले ऊ घरैमा व्यस्त थिइ।

साथी–भाइहरु सँगको हाइहलो र मुआ सकेर कनिका पसी सुदिप्तीको कोठामा। सुदिप्तीले उसको स्वागतगर्दै भनी, “ओहो, महारानी, तेरो त रुप रंग सबै बदलिएछ । आहा, गालाको त्यो पिम्पल, छालाको त्यो रंग, अलिकति बढेको पेट। गाउँ फापेछ तँलाइ।”

जवाफमा कनिका मुसुक्क हाँसी।

त्यसपछि रिपोर्टिङको कुरा आयो। सुदिप्ती चाहन्थी : कनिका कान्तिपुरको रिपोर्टिङमा लागोस्। लामो समयदेखि सिटी रिपोर्टिङ अफ थियो । डिपार्टमेन्टल स्टोरहरुले बेच्ने डेट एक्सपायर खानेकुरा, फार्मेसीहरुले बेच्ने डेट एक्सपायर औषधि, शहरमा थुप्रिदै गरेका फोहोरका डंगुर, ३३ किलो सुनको किस्सा, कन्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको तिलस्मी कथा, संहितामा हुन खोजेका झेलहरु, कारहरुमा नयाँ नम्बर प्लेट, आगामी पाँच वर्षमा गरिबीमुक्त नेपालका बारे सोमशर्माको सपना। सुदिप्तीको ब्रिफिङ अझै लम्बिनेवाला थियो, कनिका कराइ, “ओ एडिटर साहेब स्टप इट । दिस इज इनफ फर अ होल मन्थ।”

“होइन, पख, अझै बाँकी छ । तँलाई महिला मुक्तिमा विश्वास छ होइन ?”

“हो” कनिकाले जवाफ दिइ, “तर, बिहे नै नगर्ने, पुरुषसंग संसर्ग नै नगर्ने महिला मुक्तिमा कुनै चासो छैन ।”

“महिला मण्डली जमाएर इस्सू तताउनेबारे के बिचार छ त तेरो ?” सुदिप्तीको यो प्रस्ताव थियो कि आदेश ? कनिकाले छुट्याउन चाहिन ।

ऊ उठी । भनी, “म लागें ।”

“कार सेलव्रेट नगर्ने ?” सुदिप्तीले जिस्क्याइ कनिकालाई । कनिकाले जवाफ दिइ, “मापसेको ग्यारेन्टी लिन्छेस भने म तयार छु ।”

कनिकाले आफनो रिपोर्टिङ एजेण्डामा पहिलो नम्बरमा राखी – कान्तिपुर शहरको फोहोरलाई। फोहोर थुपार्ने हालको खाल्डो पुरिएकोले अर्को खाल्डोको अभावमा शहरका फोहोरहरु हरेक मोड र कुनामा थुपारिएका थिए। फोहोरमा प्याकेटका बोक्राहरुमात्रै होइन, लन्च र डिनरको लेफ्ट ओभरदेखि साना ठूला मानिसका डायपरसम्म राखिएको हुन्थ्यो। सडकको एउटा कुनामा दुर्गन्धग्रस्त मानिस अर्को कुनामा पुग्दा नपुग्दै मूर्छापर्ने अवस्थामा आइसक्थ्यो। कान्तिपथमा एक हूल मानिसहरु कान्तिपुरका मेयर विद्यासुन्दर शाक्यलाई फोहोरको दुर्गन्ध आउने ठाउँमा एक घण्टामात्रै राखे पुग्ने कुरा गर्दैथिए। कनिका गाडी रोकेर उपभोक्ता अथवा जनताको कुरा सुन्दै थिइ। उसले आफनो नाकमा कडा दुर्गन्ध छिरेको महसूस भएपछि भर्खरै सिंगापुरबाट साथीले पठाइ दिएको उच्च गुणस्तरको मास्क ब्यागबाट झिकेर लगाई। तर, त्यो सिंगापुरियन मास्क फेल खायो। दुर्गन्ध यति कडा थियो कि कनिका त्यहाँबाट भागी।

त्यसपछि ऊ लागि कपन, चाबहिल र बौद्धतिर। बाटामा उ हरेक होटेल, घर, कम्पाउण्ड, कार्यालय अगाडि फोहोरको थुप्रो हेर्दै ड्राइभिङ गर्दै थिइ। कपनको छेउमा आएपछि उसको प्यारो प्यारो कारलाई झण्डै धक्का दिएन एउटा टिप्परले। उसले गाडी रोकी र छेउको ब्वाइज एण्ड गर्ल्स क्याफेमा गएर कोक किनी। त्यसपछि सडकको बारेमा सोधी।

क्याफेवालाको कठोर वर्णन सुनेपछि कनिका झण्डै मूर्च्छा परिन। उसले सामाजिक संजालमा जे जति पढेकी र देखेकी थिइ त्यो त केही थिएन। त्यसपछि ऊ बौध्दतिर लागि। ऊ विस्तारै दायाँबायाँ हेर्दै हायात होटलको ढोकानिर पुगी। उसले त्यहाँका गार्डहरुसँग अगाडिको बाटोका बारे सोधी। उसको प्रश्न सुनेपछि उनीहरुले जे जवाफ दिए त्यो सुनेर कनिकाका कान राता राता भए। कान राता भएपनि एउटा पत्रकारले के नै गर्न सक्दछ र? यो देशका जनता पनि यतिकै लागि योग्य छन्। लोकतन्त्रमा जनता जस्ता हुन्छन्, उनीहरुले नेता पनि त्यस्तै चुन्छन्। 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा केही समयको विश्रामपछि अब हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुनेछ। )
 



कान्तिपुर गाथा : कनिकाको 'कमब्याक' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट