PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट


पहिलोपोस्ट

सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट

२०७४ असार १७ गते फिल्म निर्देशक नीलु डोमा शेर्पाको मृत्यु भएको खबर सार्वजनिक भयो। त्यसको अघिल्लो दिन असार १६ गते मात्र अभिनेत्री नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरको विवाहमा रमाएको फोटो पोस्ट गरेकी उनको निधनको खबरमा विश्वास गर्न धेरैलाई गाह्रो भयो। किनकी विवाहको अवसरमा खुसी मनाउनेहरुले केही घण्टा अघि मात्र उनलाई नजिकबाट देखेका धेरै थिए। 

मृत्युको कारण हर्ट अट्याक रहेको पुष्टि भयो। हर्ट अट्याक (ह्रदयघात), जुन प्रायः अचानक भएको सुनिन्छ। तर ग्राण्डी अस्पतालका डाक्टर मिलनप्रकाश श्रेष्ठका अनुसार हृदयघात अचानक आइपर्ने समस्या होइन। श्रेष्ठका अनुसार हृदयघात हुनुअघि केही लक्षणहरु देखिन्छ। तर आम मान्छेले त्यसलाई सामान्य शारीरिक समस्याको रुपमा लिइदिन्छन्। जँचाउन आवश्यक ठान्दैनन् र हृदयघातको अन्तिम चरणमा पुग्छन्। डाक्टर श्रेष्ठसँगको कुराकानीमा आधारित मुटु दिवस विशेष सामाग्री यहाँ प्रस्तुत गरेका छौं। 

के हो हर्ट अट्याक? 

आम भाषामा हर्ट अट्याक शरीरको अन्य भागबाट मुटुमा र मुटुबाट अन्य भागमा रक्तसञ्चार बन्द भएपछि सिर्जना हुने अवस्था हो। रगत सप्लाइ गर्ने रक्तनली पूर्ण रुपले टालिएपछि रक्तसञ्चार बन्द हुन्छ।

सुरुवाती फेजमा रगत सञ्चार गर्ने नलीहरुमा रगत, बोसो जम्दै बिस्तारै साघुँरिदै गएका हुन्छन्। ती रक्तनली बन्द भएर पर्याप्त अक्सिजन नपुगेपछि मुटुको मांशपेशीको कोषहरु मर्छन् र हृदयघात हुन्छ। हृदयघात मुटु रोगको गम्भिर स्थिति हो। वंशानुगत एवं खानपिन र जीवनशैलीसँग सम्बन्धित अन्य कारण पनि हुन सक्ने हर्ट अट्याक पुरुषहरुमा बढी भएको देखिएको उनी बताउँछन्। 

कस्तो मान्छेलाई हुन्छ?  

डाक्टर श्रेष्ठका अनुसार हृदयघात जहाँ जसलाई जुनसुकै समयमा हुन सक्छ। तर अध्ययनलाई आधार बनाएर मिलनले दिएको जानकारी अनुसार हृदयघात विशेषगरी अत्याधिक चुरोट, रक्सी खाने, उच्च रक्तचाप भएको मान्छे, सुगरको समस्या भएको मान्छे, मोटोपन बढी भएको मान्छे, सामान्य ब्यायाम नगर्ने मान्छे, तनावमा बस्ने मान्छे र बढी कोलेस्ट्रोल खाने मान्छेमा बढी भएको देखिएको छ। 'कोलेस्ट्रोल बढी खानेमा र मोटो शरीर भएकोमा बढी देखिएको छ। शरीरमा बोसोको मात्रा बढी भएपछि त्यही बोसो नलीमा जम्छ र ब्लकेज पैदा गराउँछ', उनले कोलेस्ट्रोलले गर्ने असर बारे बताए। 

हृदयघात अचानक नै हुने हो त? 

डाक्टर श्रेष्ठ भन्छन्,'हृदयघात अचानक आइपर्ने समस्या होइन। यस बारे नली साघुँरिदै जाँदाको सुरुवाती अवस्था देखिनै विभिन्न लक्षणहरु देखिन्छ।'

सुरुवाती अवस्थादेखि नै लक्षण देखिए पनि मान्छेले इग्नोर गर्ने उनको अनुभव बताउँछ। 'साधारण शारीरिक समस्या मानेर चेकअप नगराउने धेरै हुन्छन्।' 

रक्तनली बिस्तारै साँघुरिने अवस्थाबाट सुरु हुन्छ हृदयघातको खतरा। मुटुको नलि सानो हुँदै गर्दा विभिन्न समस्याहरु देखिने हुन। के हुन् त ती लक्षण/ समस्या जसले हार्ट अट्याक संकेत गर्छ?'

कस्तो लक्षण देखिन्छ त?

रक्तनली बन्द हुन सुरु गर्दादेखि नै सामान्य रुपमा हिंड्दा पनि गाह्रो हुन थाल्नुलाई मुख्य लक्षण बताउँछन् डाक्टर श्रेष्ठ। त्यस्तै घरिघरि छातीमा गह्रौ हुने वा दुख्ने, हिड्दा सास फेर्न गाह्रो हुने तर एकछिन रोक्किए पछि ठिक हुने, बल प्रयोग गर्न पर्ने काम गर्दा छातीमा असह्य पीडा हुने आदि हुन्। हृदयघात भएपछिको अवस्थामा छातीमा हुने दुखाई बढ्छ, ढुकढुकी तिब्र हुने, मन आत्तिने र प्रचण्ड पीडा हुन्छ। 

हृदयघातले मारी हाल्दैन 

डाक्टर मिलन प्रकाश श्रेष्ठ नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत थिए। सन् २००८ ताका पश्चिमको एक मात्र मुटुको डाक्टरको रुपमा परिचित थिए उनी। 

रातको समय हृदयघात भएको मानिस हस्पिटल ल्याइयो। बिरामी थिए ४५ वर्षीय तस्विर बिक। उनको मुटुको चाल निकै कम भैसकेको थियो। 'यो बिरामीलाई जसरी पनि बचाउनु पर्छ भन्ने थियो। तर न आवश्यक सामाग्री थियो, न काठमाडौं ल्याउने अवस्था थियो।' 

हर्ट अट्याक भएकाको ढुकढुकी सामान्य बनाउन 'टेम्पररी पेसमेकर'को प्रयोग हुन्छ। तर नेपालगञ्ज अस्पतालमा पेसमेकर थिएन। त्यसैले तस्विर बिकको मुटुको चाल ठीक अवस्थामा ल्याउन औषधीको प्रयोग गरियो। 'विडम्बना उहाँलाई त्यो औषधीले एलर्जी गरायो। त्सपछि हामीले इलेक्ट्रिक सक प्रयोग गर्न बाध्य भयौं।' डाक्टर मिलनले तस्विर बिकलाई बचाउन गरेको संघर्ष बारे सम्झिए। कम्तिमा ४ घण्टा ३ जना नर्स र आफू एक्लो डाक्टरले उनको प्रेसर, मुटुको चाल, सासको गति र औषधीको मात्र मिलाउन कोसिस। अन्ततः उनी बाँचे। 

यही घटना सुनाउँदै हृदयघातले मान्छे मारी नहाल्ने बताउँछन् डाक्टर मिलन। उनका अनुसार मुटुमा ३ वटा रक्तनली हुन्छन्। हृदयघात हुँदा ती मध्य कतिवटा नली बन्द भए भन्ने कुराले मान्छे मर्ने नमर्ने कुराको निर्धारण गर्छ। तीनवटै रक्तनली बन्द हुनुले बाँच्ने कम सम्भावना संकेत गर्छ भने एउटा मात्र ब्लक हुनुले मर्ने रिस्क कम संकेत गर्छ। भन्छन्,'कति छिटो मुटुको अस्पतालमा पुर्‍याइयो र कस्तो डाक्टरको उपचार पायो भन्ने कुरामा पनि भर पर्छ।' उनले कारण हताए, 'आजभोलि अस्पताल टन्न छन्। तर मुटु विशेषज्ञ सबैमा हुँदैनन्। कतिपय अवस्थामा त बिरामी एउटा अस्पतालबाट मुटु विशेषज्ञ भएको अस्पतालसम्म पुग्दा पनि मर्छन्।' उनका अनुसार मुटु विशेष अस्पतालमा समयमै पुग्न सके धेरै मुटु रोगीलाई बचाउन सकिन्छ। 

गाउँकाभन्दा सहरकालाई बढी हृदयघात 

ग्रामिण क्षेत्रका जनतालाई भन्दा सहरी क्षेत्रका मान्छेलाई बढी हर्ट अट्याकको समस्या भएको उनको दाबी छ। तर गाउँमा बस्नेहरुमा मुटुको अर्को समस्या 'मुटुको बाथ' धेरैमा पाइन्छ। जुन हर्ट अट्याकभन्दा फरक हुन्छ। बाथको समस्या भनेको मुटुको भल्बमा देखिने समस्या हो। जसले मुटु सुन्निने, कमजोर बनाउने गर्छ।

सहरी क्षेत्रका जनतालाई हर्ट अट्याक हुनुको कारण फास्ट फूड, स्ट्रेस, प्रेसर, कोलेस्ट्रोल, सुगर, कम शारीरक व्यायम र समय समयमा चेकजाँच नगर्ने बानी रहेको श्रेष्ठको अध्ययनले बताउँछ। तर गाउँमा बस्नेहरु शारीरिक बल प्रयोग हुने काम धेरै गर्छन्, स्वस्थ वातावरणमा समय बिताउँछन्, कम रसायन प्रयोग गरिएको खानेकुरा खान्छन्, फास्ट फुड खाँदैनन्। भन्छन्,'जीवनशैली र खानपिनले धेरै असर गर्छ।' 

कसरी हृदयघातको सम्भावना कम गर्ने?

वंशानुगत हृदयघातलाई त नियन्त्रण गर्न सकिंदैन तर जीवनशैली र खानपिनमा ध्यान दिएर हृदयघातको खतराबाट जोगिन सक्ने उनी बताउँछन्। धूमपान, मद्यपान, कोलेस्ट्रोल बढी युक्त खानेकुरा कम गर्नु, प्रेसर, सुगर समय समयमा जाँच गर्ने, छाती दुख्ने, चाडै थकाई लाग्ने, सास र ढुकढुकीको गती बढी वा घटी भए डाक्टरको परामर्श लिने गर्नुपर्छ। सहरी क्षेत्रकाले जंक/फास्ट फुड रोक्न सके, शारीरिक काममा लाग्न सके, व्यायम, योगा गर्ने, मानसिक तनाव नलिए हृदयघातबाट बच्न सकिने सुझाव दिन्छन् उनी। 

बङ्गलादेशबाट एमबिबिएस गरेर फर्किएका डाक्टर मिलन प्रकाश श्रेष्ठले केही समय सहिद गङ्गालाल हस्पिटलमा काम गरे। पुन: बङ्गलादेश गएर एमडी इन कार्डियोलोजी गरेका श्रेष्ठ सन् २००८ बाट ५ वर्ष नेपालगञ्ज मेडिकल कलेजमा मुटु विशेषज्ञको रुपमा काम गरे। सन् २०१३ देखि भने उनी काठमाडौं ग्राण्डी इन्टरनेशनल हस्पिटलमा कार्यरत छन्। उनले दिएको जानकारी अनुसार ग्राण्डीमा मात्र प्रत्येक दिन २ देखि तीनजना सम्म हृदयघातको बिरामी आउने गरेका छन्। भन्छन्,'हृदयघात कम गराउन मान्छेको जीवनशैली परिवर्तन र मुटुको नियमित चेकजाँच बारे चेतना फैलाउन पनि अत्यावश्यक छ।' 

(मुटु दिवस सन्दर्भमा गत वर्ष प्रकाशित सामग्री सान्दर्भिक भएकाले पुन: प्रकाशन गरिएको हो। - सं.)
 



सन्दर्भ मुटु दिवस : यसरी बच्न सकिन्छ ह्रदयघातबाट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट